काठमाडौंको चक्रपथमा चाबहिल चोक र महाराजगन्जको बीचतिर चप्पल कारखाना भन्ने ठाउँ छ। त्यहीँबाट चक्रपथबाहिर करिब ५० मिटर हिँड्दा एउटा यस्तो घर फेला पर्छ जसले परम्परागत गाउँले घरको झल्को दिन्छ।
जस्ताको छानो हालिएको एकतले घर छ। घर परम्परागत ढंगले सजाइएको छ। भित्तामा नाङ्लो, डोको, डालो इत्यादि झुन्डाइएका छन्।
आँगनको एक छेउमा जाँतो र ढिकी देखिए। घरको ढोकामाथि 'रैथाने एग्री प्रोडक्ट्स नेपाल' लेखिएको छ।
आँगनको अर्को छेउमा केही महिलाहरू नाङ्लोमा दाल केलाइरहेका थिए।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/raithane%20%289%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/raithane%20%283%29.jpg)
भित्र पस्नसाथ फलफूल, तरकारी, खाद्यान्न इत्यादि सामग्री मिलाएर राखिएका थिए। 'रैथाने एग्री प्रोडक्ट्स नेपाल' का अध्यक्ष तिलक ढकालका अनुसार यस घरमा कृषि उपज र हस्तकला गरी ४३ जिल्लाका १५० भन्दा बढी सामग्री उपलव्ध छन्।
करिब सय किसिमका कृषि उपज रहेको र बाँकी हस्तकलाका सामग्री रहेको तिलकले बताए। उनका अनुसार यी सबै सामग्रीहरू स्थानीय उत्पादन हुन्।
'रैथाने एग्रीले स्थानीय उत्पादनको संरक्षण, उत्पादन प्रवर्द्धन र बजारीकरण गर्छ,' उनले भने, 'सबै जिल्लाका उत्पादन समेट्न हामी लागिपरेका छौं।'
खाद्य सामग्रीमा डोल्पाको ओखर, जुम्लाको स्याउ, संखुवासभाको सखर, सोलुखुम्बुको पहेँलो मकै, रोल्पाको भटमास, दाङको आलु, भोजपुरको अकबरे खुर्सानी इत्यादि उपलब्ध छ। तोरीको तेल, चिउरीको र रूदीलोको मह, गाईको घ्यु, काला नमक चामल, समुद्र फिनी चामल, बेतको सर्बत, क्यामोमाइल टी; गेडागुडीमा मास, सिमी पनि पाइन्छ। बेसार र लसुन पनि उपलब्ध छ।
हस्तकलाका सामग्रीमा मकवानपुरका चेपाङ समुदायले बनाएको नाङ्लो; ताप्लेजुङको ठेकी, डोको, घट्ट, डालो, नाङ्लो, चाल्नो, ओखली, ठेकी, कप, गुन्द्री, जाँतो, घुम, चकटी, दुनाटपरी र हाते झोला पाइन्छ।
'यी सबै सामग्रीहरू विभिन्न जिल्लाका रैथाने हुन्,' हस्तकलाका सामानहरू देखाउँदै तिलकले भने, 'अझै अन्य जिल्लाका सामग्रीहरू थप्दै छौं।'
उनका अनुसार ढिकीको मूल्य १० देखि १५ हजार रूपैयाँ पर्छ। त्यस्तै ठेकी दुई हजारदेखि १२ हजारसम्म र घट्ट ४० हजारदेखि ५० हजार रूपैयाँसम्म पर्छ। तोरीको तेल, घ्यु, जौको र चनाको सातु, मह र कोदोको पिठोको माग धेरै छ।
यस्ता सामग्री किन्न चाहने धेरै ग्राहकहरू रैथाने घरमै पुग्छन्। कोहीले फोनबाट र अनलाइन अर्डर पनि गर्छन्। कम्पनीले फेसबुक पेज र इन्स्टाग्रामबाट अर्डर लिने प्रबन्ध गरेको छ। अर्डर डेलिभरीका लागि एउटा गाडी, एउटा मोटरसाइकल र एउटा स्कुटर छन्। काठमाडौं उपत्यकाभरि डेलिभरी हुन्छ। अर्डरको मात्राअनुसार धेरै भए स्कुटर/मोटरसाइकल वा गाडी प्रयोग हुन्छ।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/raithane%20%282%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/raithane%20%281%29.jpg)
'एक किलोदेखि माथि जतिसुकै अर्डर आउँदा पनि निःशुल्क डेलिभरी गर्छौं,' तिलकले भने।
हाल कम्पनीमा ३० जना रोजगार छन्।
कम्पनीले सिधै किसानबाट उत्पादन ल्याउँदैन। गाउँका सहकारी र संगठित समूहसँग सम्झौता गर्छ। तिनले त्यहाँका कृषि उपज रैथाने एग्रीमा पठाउँछन्। यसरी रैथाने एग्रीमा हालसम्म नौ हजारभन्दा बढी किसान आबद्ध भएको उनले बताए।
नयाँ पुस्तालाई नेपाली मौलिकता चिनाउन सबै सामान स्थानीय स्तरबाट सहरसम्म ल्याएका हुन् उनले। ग्राहकहरू काठमाडौंका विभिन्न ठाउँबाट रैथाने घर खोज्दै पुग्ने गरेका उनी बताउँछन्। विद्यालय र क्याम्पसका विद्यार्थीहरू पनि रैथाने सामग्री अवलोकनका लागि पुग्छन्।
'लोपोन्मुख रैथाने उपजको संरक्षणसँगै नयाँ पुस्तालाई नेपाली मौलिकता चिनाउन पाउँदा खुसी लागेको छ,' तिलकले भने, 'कतिपय शिक्षकहरूले विद्यालयमा देखाउन र महत्त्व बुझाउन हलो, ठेकी लगायतका सामानहरू लैजानुभएको छ।'
कम्पनीले रैथाने सामग्रीको प्रवर्द्धन र बजारीकरणका लागि केही ठाउँमा 'घुम्ती हाट' सञ्चालन गरेको पनि उनले बताए। घुम्ती हाट ठाउँठाउँमा हुन्छ। गाडीमा रैथाने सामान राखेर देखाउने कामलाई कम्पनीले 'घुम्ती हाट' भनेको छ।
तिलकले चाँडै रैथाने घरको आँगनमा ढिकी राखेर धान कुट्ने योजना रहेको बताए। यसरी कुटेको चामल बिक्रीमा राखिने छ।
'यसपालि दसैंमा यही आँगनमा ढिकीले धान कुटेर डेलिभरी गर्छौं,' ढिकीजाँतो देखाउँदै उनले भने, 'जाँतोमा दाल पनि पिसेर बेच्ने सोचेका छौं।'
गाउँघरमा दसैंतिहार जस्ता चाडपर्वमा ढिकीमा कुटेको चामल, चिउरा; जाँतोमा पिसेको मसला, दाल खाने चलन थियो। गाउँघरमा अझै पनि यस्तो चलन छ। सहरमा भने हराइसकेको छ। तिलक यस्ता खानेकुराको रैथाने स्वाद सहरवासीलाई खुवाउन चाहन्छन्।
'सहरमा मात्र होइन, गाउँघरमै पनि रैथाने खाना हराउँदै गएको छ,' उनी भन्छन्, 'यस्तो चलन संरक्षण गर्न सकेनौं भने आगामी पुस्ताले हाम्रो मौलिकता नै थाहा पाउँदैनन्।'
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/raithane%20%286%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/raithane%20%285%29.jpg)
स्थानीय कृषि उपजको एउटै घरबाट बजारीकरण गरिरहेका तिलक नुवाकोटका हुन्। उनले दुई दशकभन्दा बढी समय विश्व वन्यजन्तु कोष, नेपालमा काम गरे। सेवानिवृत्त हुन पाँच वर्ष बाँकी रहँदै तीन वर्षअघि उनले स्वेच्छिक अवकाश लिए। विश्व वन्यजन्तु कोषको कामको सिलसिलामा तिलकले देशका ६८ जिल्ला पुग्ने अवसर पाए। यसै क्रममा स्थानीय उत्पादन र बजारबारे जानकारी पाएका थिए।
उनले भने, 'वन्यजन्तुको क्षेत्रमा काम गर्दै जाँदा विभिन्न जिल्ला पुगेँ। त्यहाँका मौलिकताबारे बुझेपछि कुनै दिन यही क्षेत्रमा काम गर्छु भन्ने लागेको थियो।'
काम सुरू गर्नुअघि उनले आफ्ना केही साथीसँग र जिल्ला घुम्दा चिनेका केही व्यक्तिहरूसँग सल्लाह गरे। साथीहरू सकारात्मक भए। तिलक ७७ जिल्लाका एकएक जना समेटेर सहकारी मोडलमा व्यवसाय चलाउन चाहन्थे। यसरी सहकारी संस्था दर्ता नहुने भएपछि प्राइभेट कम्पनी सुरू गरेको उनले बताए।
उनका अनुसार रैथाने एग्रीमा २५ जिल्लाका ४९ जनाको समूह छ। उनीहरूले संयुक्त रूपमा दुई करोड २५ लाख रूपैयाँ लगानी गरेका छन्।
'गाउँको उत्पादन सहरमा, रैथाने खाना घरघरमा' भन्ने नारासहित २०७७ सालमा 'रैथाने एग्री प्रोडक्ट्स नेपाल' सुरू भयो। उनीहरूले चितवनबाट चिउरीको तीन सय किलो मह ल्याएर काम थाले। सुरूमा तीन जना कर्मचारी राखेर व्यावसायिक ढंगले रैथाने अघि बढ्यो। त्यो समय कोभिडका कारण मुलुक लकडाउनमा थियो।
उनीहरूको काममा कोभिडले असर गरेन। बरू बजार बढाइदियो। कोभिडमा घरबाहिर निस्कन नपाएका उपभोक्ताहरूले अनलाइनमार्फत अर्डर गरे। कम्पनीले डेलिभरी गर्यो।
तिलकका अनुसार सुरूदेखि नै कम्पनीले बजारमा राम्रो स्थान बनायो।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/raithane%20%287%29.jpg)
'सबै जिल्लाका साथीहरूले आफन्तहरूलाई कम्पनीबारे बताउनुभयो। त्यसकारण पनि बजार राम्रो पहिचान बन्यो,' उनले भने।
कम्पनीले लोपोन्मुख कृषि उपजको बिउ संकलन गरेर बिउ बैंक पनि खडा गरेको छ। संकलित बिउ बट्टामा प्याक गरेर दराजमा राखिएको छ। यो बिउ कृषि अनुसन्धान परिषद (नार्क) लाई बुझाउने तिलकले बताए। बिउ संकलनसँग उनको बाल्यकाल जोडिएको छ।
'घरमा सप्रेको काँक्रो खाना पाइँदैन थियो। पाकेपछि आमाले त्यसको बियाँ घरको भित्तामा टाँसेर राख्नुहुन्थ्यो,' उनले भने, 'वैशाख लागेपछि त्यो बिउ आफू रोप्नुहुन्थ्यो र छिमेकीलाई पनि बाँड्नुहुन्थ्यो। त्यो बिउभित्र त समाज पनि रहेछ।'
खास गरी रैथानेले ग्रामीण क्षेत्रका साना किसानसँग सहकार्य गरेर काम गर्छ। किसानको जीवनस्तर उकास्न सघाउने पनि आफ्नो उद्देश्य रहेको तिलकले बताए। रैथाने सुरू गरेपछि किसान प्रत्यक्ष लाभान्वित भएको र उनीहरूले उत्पादनको उचित मूल्य पाएको उनी बताउँछन्।
'हामीले किसानलाई उत्पादनको उचित मूल्य दिएका छौं,' उनले थपे, 'यसमा किसान खुसी छन्। उत्पादन पनि बढाउँदै छन्।'
तिलकका अनुसार आधुनिक प्रविधिको विकाससँगै रैथाने कृषि उपज संकटमा परेको छ। रैथाने उत्पादनमा आधुनिक प्रविधि उपयोग गरेर उत्पादन बढाउनुपर्ने उनको भनाइ छ।
उनले भने, 'आजको दिनमा पानीघट्ट लोप भइसक्यो। तर त्यही घट्ट बिजुलीबाट चलाउन सकिन्छ। यसको प्रवर्द्धन गर्न आवश्यक छ।'
रैथाने उत्पादनबाट 'फुड टुरिजम' विकास गर्न सकिने तिलकको विश्वास छ। रैथाने उत्पादनको अभिलेखीकरण गर्न पनि आवश्यक छ। यसो गर्दा नयाँ पुस्तालाई रैथाने उत्पादनबारे बुझाउन सजिलो हुनेछ।
तिलक हाल ६१ वर्षका भए। उनी होम–स्टे महासंघका केन्द्रीय सल्लाहकार पनि हुन्। होम–स्टे मार्फत 'फुड टुरिजम' विकास गर्न सकिने पनि उनलाई लाग्छ। 'रैथाने कला र संस्कृतिको देश' भनेर पनि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिन्छ भन्ने पनि उनको विश्वास छ।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/raithane%20%288%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/raithane%20%2810%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/raithane%20%2811%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/raithane%20%2812%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/raithane%20%2813%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/raithane%20%2814%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/raithane%20%2815%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/raithane%20%2816%29.jpg)
(रैथानेको फेसबुक पेजका लागि यहाँ र इन्स्टाग्रामका लागि यहाँ क्लिक गर्नुहोस्। सम्पर्क- ९८५१०८९९९४)