नेपाल गुणस्तर तथा नापतौल विभागले टायलको मापदण्ड बनाउने भएको छ।
टायल उत्पादकको अनुरोधपछि मापदण्ड बनाउन लागिएको विभागका विभागका उपमहानिर्देशक तथा प्रवक्ता प्रभात कुमार सिंहले जानकारी दिए।
उनका अनुसार टायलको मापदण्डको मस्यौदा अन्तिम चरणमा पुगेको छ।
टायलको पानी सोस्ने क्षमताका आधारमा टायलको वर्गीकरण गरिएको उनले जानकारी दिए।
'हामीले सरोकारवाला व्यक्तिहरूलाई राखेर एउटा कमिटी गठन गरेका थियौं,' उनले भने, 'मस्यौदा तयार भइसक्यो। सम्बन्धित व्यक्तिको प्रतिक्रिया मागिरहेका छौं।'
प्रतिक्रिया अनुसार मस्यौदामा थप छलफल गरी नेपाल गुणस्तर परिषदमा पठाउने उनको भनाइ छ। परिषदले पास गरेपछि गुणस्तर मापदण्ड तयार हुन्छ।
हाल नेपालमा ५/६ वटा उद्योगले टायल उत्पादन गरिरहेका छन्।
हालसम्म टायल बनाउने कुनै मापदण्ड बनेको छैन। अहिले बजारमा भिट्रिफाइड र सेरामिक टायल बढी चल्तीमा छन्।
यी टायल गुणस्तरका आधारमा क्रमशः राम्रा मानिन्छन्।