एमएसपी सलुसनले सफिड्रप नामक अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।
अनलाइन सपिङको प्रयोग बढ्दै गएसँगै उपभोक्ता र व्यवसायीलाई लक्षित गरी विभिन्न अनलाइन प्लेटफर्महरू आइरहेका सन्दर्भमा अर्को अनलाइन सपिङ प्लेटफर्म सञ्चालनमा ल्याइएको हो।
यो प्लेटफर्मले अनलाइन सपिङलाई सहज बनाउने लक्ष्य राखेको छ।
एमएसपी सलुसनका अध्यक्ष रोशन भुसालका अनुसार सफिड्रपले व्यवसायी र उपभोक्तालाई डिजिटल बजारमा जोड्छ।
'अनलाइन कारोबारले व्यवसायीको सञ्चालन खर्च कम गर्छ। तर धेरैजसो प्लेटफर्मले उच्च कमिसन लिने गुनासो छ। हामीले सफिड्रपमा यो समस्या कम गर्न नयाँ शैली अपनाएका छौँ,' भुसालले भने।
व्यवसायीले सफिड्रप साइनइन गरी आफ्नो व्यवसायको विवरण राख्नुपर्ने छ। कम्पनीले प्रमाणीकरण गरेपछि प्याकेज छनोट गर्न सकिने व्यवस्था गरिएको छ।
न्यूनतम प्याकेजमा १५० प्रकारका सामान बिक्री गर्न मासिक एक हजार रूपैयाँ लाग्छ। जुन अहिले निःशुल्क रहेको कम्पनीले जनाएको छ।
प्रिमियम प्याकेजमा २ हजार ५०० भन्दा बढी प्रकारका सामान बिक्री गर्न मासिक ६ हजार रूपैयाँ लाग्छ। विभिन्न ७ प्रकारका प्याकेज मध्ये न्यूनतम बाहेक अन्य प्याकेजमा ५० प्रतिशत छुट दिइएको बताइएको छ।
सामान बिक्रीको २.५ प्रतिशत बजार व्यवस्थापन र ०.५ प्रतिशत उपभोक्ताको रिवार्ड प्वाइन्टका लागि लिइने बताइएको छ।
यो ०.५ प्रतिशत रकम उपभोक्ताले पछि सामान किन्दा प्रयोग गर्न सक्छन्। यो शुल्क महिनाको अन्त्यमा संकलन हुने उल्लेख छ।
सामान बिक्री भएपछि व्यवसायीको खातामा तुरुन्तै पैसा जम्मा हुने कम्पनीका अध्यक्ष भुसालले बताए।
व्यवसायीले आफ्नो ड्यासबोर्डबाट डिजिटल वालेट जोड्न सक्छन्। न्यून शुल्कका कारण उपभोक्तालाई सामानको मूल्य सस्तो पर्छ। प्रत्येक खरिदमा ०.५ प्रतिशत रकम रिवार्ड प्वाइन्टका रूपमा जम्मा हुने र पछि सामान किन्दा प्रयोग गर्न सकिने बताइएको छ।
उपभोक्ताले सफिड्रपडटकममा साइनअप गरेर कम्पनी छनोट गरी सामान किन्न सक्छन्। कम्पनीको ठेगाना हेरेर नजिकै गएर पनि सामान किन्न सकिन्छ।
'हामीले व्यवसायीको गुनासो सुनेर यो प्लेटफर्म बनाएका हौँ। सामान बिक्री भएको लामो समयपछि पैसा आउने समस्यालाई रियलटाइम भुक्तानीले समाधान गरेका छौँ,' कम्पनीका अध्यक्ष भुसाल भुसालले भने।
सफिड्रपले व्यवसायी र उपभोक्ता दुवैलाई सजिलो, सस्तो र पारदर्शी अनलाइन सपिङ अनुभव दिने लक्ष्य राखेको छ।