उपभोक्ताले नेपाल आयल निगमको काठमाडौंको टेकुस्थित कार्यालयबाट खाना पकाउने (एलपी) ग्यास खरिद गर्न पाउने भएका छन्।
खाना पकाउने ग्यासको सहजीकरणका लागि निगमले टेकु कार्यालय परिसरमै ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको हो।
निगमले सम्बन्धित ग्यास उद्योगहरूसँग समन्वय गरेर टेकु परिसरमा नेपाल ग्यास, एभरेष्ट ग्यास र सुगम ग्यासका छुट्टाछुट्टै काउन्टर राखेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए।
'नेपाल ग्यासको काउन्टर सुरू भइसकेको छ। केही समयमै एभरेष्ट र सुगम ग्यासको पनि काउन्टर सुरू हुन्छ,' उनले भने।
उनका अनुसार उपभोक्ताबाट यी ब्रान्डका ग्यास सहज रूपमा उपलब्ध नभएको भन्ने गुनासो आएकाले थप काउन्टर राखेर बिक्री सुरू गरिएको हो।
विशेषगरी ग्यास अभाव वा बजारमा असहजता देखिँदा उपभोक्तालाई प्रत्यक्ष सेवा दिने उद्देश्यले यो व्यवस्था गरिएको निगमले जनाएको छ।