अमेरिका-इरान युद्धका कारण भारतले हालसम्मकै उच्च मात्रामा रूसी तेलको खरिद गरेको छ।
जुन र जुलाई महिनामा भारतले प्रतिदिन २६ लाख ब्यारेलभन्दा बढी रूसी तेल आयात गरेको व्यापार परामर्शदाता कम्पनी केप्लरका प्रमुख विश्लेषक सुमित रितोलियाले बताएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
यो फेब्रुअरीमा आयात भएको न्यूनतम १० लाख ब्यारेल प्रतिदिनको तुलनामा उल्लेख्य वृद्धि हो। रूसी तेलले भारतको कुल कच्चा तेल आयातको आधाभन्दा बढी हिस्सा ओगटेको छ।
खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण तेलको आपूर्ति प्रभावित भएपछि भारतलाई रूसमाथिको आफ्नो निर्भरता घटाउन झन् कठिन भएको छ।
केप्लरको तथ्यांक अनुसार भारतले समग्रमा प्रतिदिन ५० लाख ब्यारेल तेल आयात गरिरहेको छ। यो फेब्रुअरीको अन्त्यमा अमेरिका र इसराइलले इरानमाथि बमबारी सुरू गरेयताकै उच्च स्तर हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल किनेको भनेर २०२५ जुलाईको अन्त्यमा भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए।
त्यसपछि भारतले रूसी तेलको आयात क्रमश घटाएको थियो। तर अमेरिका-इरान युद्ध शुरू भएपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेका कारण खाडी क्षेत्रबाट भारतको तेल आयात घटेको छ।
त्यसैले रूसी तेलको आयात ह्वात्तै बढेको हो। इरान युद्ध शुरू भएपछि तेलको अन्तर्राष्ट्रिय भाउ नबढोस् भनेर अमेरिकाले रूसी तेलको आयात खुला गरेको थियो। त्यस कारण पनि रूसी तेलको आयात बढेको हो।
भारत आफ्नो कच्चा तेल र ग्यासको आवश्यकताको ९० प्रतिशतभन्दा बढीका लागि आयातमा निर्भर छ।
खाडी क्षेत्रमा जारी छ महिनादेखिको द्वन्द्वले विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको भारतको ऊर्जा सुरक्षामा रहेका कमजोरीहरू उजागर गरेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)