रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४१ लाख रूपैयाँ सहयोग गरेको छ।
अग्रवाल सेवा केन्द्रका सदस्यहरूको तर्फबाट अध्यक्ष गिरधारी अग्रवालले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
बाढीबाट प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग रकम कोषमा जम्मा गरिएको सेवा केन्द्रले जनाएको छ।
यसै क्रममा अग्रवालले युवा मञ्चमार्फत थप १० लाख रूपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने योजनाबारे पनि अर्थमन्त्री वाग्लेलाई जानकारी गराएका थिए।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुटिरहेका बेला अग्रवाल सेवा केन्द्रको यो सहयोगले प्रभावित परिवारलाई आवश्यक राहत पुर्याउन थप योगदान पुग्ने अपेक्षा गरिएको छ।