खस्किँदो घरजग्गाको कारोबार, घट्दो सेयर बजार र निक्षेपको ब्याजदरबीच गत वर्ष २०८२ मा आम नेपालीले लगानीको नयाँ क्षेत्र भेटिरहेका थिए, चाँदी।
'सेतो धन' भनेर समेत चिनिने चाँदीमा आक्रामक खरिददारी बढिरहेको थियो।
चाँदीकै कारोबारमा केन्द्रीत हिमालयन बुलियनमा चाँदी किन्नको लागि ताँती लाग्नेको संख्या निकै बढेको थियो।
चाँदी किन्नकै लागि सर्वसाधारणहरू २७-२८ दिन अगाडिदेखि बुकिङ नै गरिरहेका हुन्थे।
मुलुक भित्रका लगानी क्षेत्रहरू सुस्ताइरहँदा चाँदीमा एकाएक यस्तो बहार आएको थियो।
तर, यस्तो बहार आउनुको कारण भने यहाँ लगानी क्षेत्र अभाव हुनु मात्रै थिएन। सो समय चाँदीको मूल्य दिन दुई गुणा रात चौगुणा भनेझै बढिरहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य भन्छन्, 'विश्व बजारमा चाँदीको मूल्यले नयाँ रेकर्ड बनाइरहेको थियो, मूल्य थप बढ्ने नयाँ नयाँ प्रक्षेपण आइरहेका थिए, नेपालमा पनि मूल्य १० हजारसम्म पुग्ने अनुमान गर्न थालिएको थियो।'
२०८२ वैशाख २ गते चाँदी प्रतितोला १९ सय ४५ रूपैयाँमा कारोबार भइरहेकोमा माघ १४ गते ७ हजार ३०० रूपैयाँसम्म पुगेको थियो।
यो अवधिमा मूल्य करिब करिब चार गुणाले बढेको थियो।
विश्व बजारमा चाँदीको मूल्य प्रतिऔंस ३० डलरबाट बढेर ११३ डलरसम्म बढेको थियो।
यही कारण नेपालमा चाँदीको माग बढेर गयो र आयात पनि वृद्धि भयो।
२०८१ फागुनसम्ममा चार अर्ब ६२ करोड रूपैयाँ बराबरको चाँदी आयात भएकोमा २०८२ फागुनसम्मका यो दर बढेर २८ अर्ब १२ करोड पुगेको थियो।
अहिले अवस्था भने फेरिएको छ। बढेको मूल्यबाट चाँदी प्रतितोला ३७ प्रतिशत (दुई हजार ७१० रूपैयाँ) ले घटिरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि चाँदी प्रतिऔंस ६२ डलरमा कारोबार भइरहेको छ।
मूल्य उच्चले बढ्दा सर्वसाधारणहरूले ५-१० केजीदेखि ४-५ सय केजीसम्म चाँदी किनेको हिमालयन बुलियनका एक प्रतिनिधि बताउँछन्।
सो समय धेरै सर्वसाधारणले ठूलो परिमाणमा चाँदी किनेकोले उनीहरूको लगानी डुबेको शाक्य बताउँछन्।
अहिले भने यसरी ठूलो परिमाणमा चाँदी किनेका सर्वसाधारणले बिक्री गर्न समेत सकिरहेका छैनन्।
महासंघका पूर्व अध्यक्ष शाक्य भन्छन्, 'अहिले किन्न चहाने त कोही छैनन्, बेच्ने धेरै छन्, तर हामीहरूको पनि त्यति क्षमता छैन अहिले किनेर थुपार्न।'
हिमालयन बुलियनले भने आफुहरूबाट यसअघि चाँदी किनेकाहरूले अहिले बिक्री गर्न आउँदा पनि किनिदिएको दाबी गरेको छ।
तर, यसरी बिक्री गर्न आउँनेको संख्या नै कम रहेको उसको दाबी छ।
'मानिसहरू मूल्य फेरि पनि बढ्न सक्छ भन्ने अपेक्षामा छन्,’ बुलियनका एक अधिकारीले भने, 'त्यसैले धेरैले बिक्री गर्न आइरहनु भएको छैन, हाम्रोबाटै चाँदी किनेकाहरूको भने हामीले अहिले पनि किनिरहेका छौं।'
यसअघि विश्वव्यापी आर्थिक अनिश्चितता, सुरक्षित लगानीको रूपमा चाँदीप्रति बढेको आकर्षण, सौर्य ऊर्जा तथा इलेक्ट्रोनिक उपकरणजस्ता उद्योगबाट बढेको माग र आपूर्तिमा देखिएको दबाबले चाँदीको मूल्य बढीरहेको थियो।
अमेरिकामा भइरहेको मूल्य वृद्धि र त्यहाँको केन्द्रीय बैंकले ब्याजदर घटाउने अपेक्षाले पनि लगानीकर्ताहरू चाँदीतर्फ आकर्षित भइरहेका थिए।
अहिले भने चाँदीमा नाफा सुरक्षित गर्ने क्रम बढेको छ।
अमेरिकी डलर बलियो बनेको र इरान अमेरिकाको द्वन्द्व अन्त्य हुँदै गर्दा पनि मूल्य घटेको छ।
विश्वमा द्वन्द्व, युद्ध बढ्दा सुरक्षित लगानी माध्यमको रूपमा सुन र चाँदीमा लगानी गर्ने परिपाटी छ।
साथै, विश्वमा चाँदीको औद्योगिक मागको वृद्धिदर घट्ने अनुमानमा पनि चाँदीको मूल्यमा दबाब बढेको छ।
सन् २०२६ अन्त्यसम्ममा चाँदीको मूल्यमा फेरि केही सुधार देखिनसक्ने भएपनि २०२७ मा प्रति औंस ७२ डलरसम्ममा आउनसक्ने बैंक अफ अमेरिकाको प्रक्षेपण उदृत गर्दै केही दिन अघि द स्ट्रिटले आफ्नो समाचारमा उल्लेख गरेको छ।