भोटेकोशी बाढीपछि जलविद्युत क्षेत्रमा लगानी गर्ने विषयमा प्रश्नहरू उठ्न थालेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले बताएका छन्।
इप्पानले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई समृद्ध बनाउने ऊर्जा क्षेत्रमा यस्तो प्रश्न उठ्नु दुःखद भएको उनले बताए।
'भोटेकोशीको महाप्रलयले अब जलविद्युत बनाउने हो र भन्ने प्रश्न उठ्न थालेको छ। यो दुःखद हो,' उनले भने।
उक्त महाप्रलयबाट ठूलो जनधनको क्षति भएको स्मरण गर्दै ऊर्जा क्षेत्रबाट देश समृद्ध बनाउने भनेर निजी क्षेत्र लागेकाले निरन्तरता दिने अध्यक्ष डाँगीले बताए।
नकारात्मक कुराहरू चिर्दै अघि बढ्नुपर्ने पनि उनले बताए।
सरकारले पनि यो क्षेत्रमा लगानी प्रोत्साहन हुने किसिमका कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ।
सरकारले १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको स्मरण गराउँदै लक्ष्य पूरा गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान हुने उल्लेख गरे।
निर्माण सम्पन्न र निर्माणाधीन गरेर अहिले नै कुल १० हजार मेगावाट रहेकाले थप २० हजार मेगावाट उत्पादन सम्भव रहेको उनले बताए।
'३० हजार मेगावाटको लक्ष्य टाढा छैन। यो लक्ष्य पूरा गर्न सकियो भने देश समृद्धिको बाटोमा जान्छ,' उनले भने।
अहिलेको घटनाबाट बिचलित नभई फेरि निजी क्षेत्र अघि बढ्ने प्रतिबद्धता समेत उनले गरे।