एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन निर्माण सकिएको छ।
तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले २०८२ मंसिर १० गते यो प्रसारणलाइनको शिलान्यास गरेका थिए।
मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने प्रसारण लाइनको यो खण्ड निर्माण गरेको हो।
यो निर्माण ठेक्का भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडले लिएको थियो।
एमसिए नेपालले २०८१ भदौमा ठेक्का सम्झौता गरेपनि १५ महिनापछि मात्रै शिलान्यास भएको थियो।
यति ढिला शिलान्यास भएर पनि करिब तोकिएकै समयमा निर्माण पूरा गरेको हो।
निर्माण सकिएको अवसरमा न्यू बुटवल सबस्टेसनमा कार्यक्रम आयोजना गरिएको थियो।
अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले यो उपलब्धिले विद्युत पूर्वाधार र सीमापार ऊर्जा सञ्जाल विस्तारमा सहयोग पुग्ने बताए।
'यस प्रसारण लाइनको निर्माण सम्पन्न हुनु नेपालको विद्युत पूर्वाधारको सुदृढीकरण र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि महत्वपूर्ण उपलब्धि हो,' उनले भने।
उनले नेपाल, संयुक्त राज्य अमेरिका र एमसिसीबीचको साझेदारीबाट नेपालको विकासमा सहयोग पुगेको बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले प्रसारण लाइन निर्माण पूरा भएपछि नेपालको विद्युतीय पूर्वाधार र सीमापार विद्युत सम्पर्क विस्तारमा प्रगति भएको बताए।
'नेपालले आफ्नो विद्युत उत्पादन तथा प्रसारण क्षमतालाई निरन्तर सशक्त बनाउँदै लगेको छ,' उनले भने, 'सीमापार विद्युत सम्पर्क यस प्रयासको अभिन्न अंग हो।'
उनले प्रसारण लाइन निर्माणमा सरकार, कार्यान्वयन गर्ने निकाय, विकास साझेदार र स्थानीय समुदायबीचको समन्वयबाट काम पूरा भएको बताए।
नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले प्रसारण लाइन निर्माण पूरा हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए।
'यस प्रसारण लाइनको निर्माण नेपालको ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो,' उनले भने।
एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपाल सरकारको प्राथमिकताअनुसार निर्माणलाई तीव्रता दिइएको बताए।
'१८ किलोमिटर लामो यस खण्डको निर्माण कार्य सम्पन्न गर्न सफल भएका छौँ,' उनले भने, 'नेपाल सरकारले निर्माण कार्यलाई तीव्रता दिन गरेको आग्रहअनुसार आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी तथा साझेदारलाई एकीकृत गरी काम अघि बढाएका थियौँ।'
अब प्रसारण लाइनमा विद्युत प्रवाह गरी सञ्चालनमा ल्याउन बाँकी काम अघि बढाइने उनले बताए।
एमसिसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले प्रसारण लाइन निर्माणमा सबैको सहयोग भएकाले समयमा काम भएको बताइन्।
उनले नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण, एमसिए–नेपाल, निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरकार र स्थानीय समुदायलाई धन्यवाद दिइन्।
नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन निर्माण पूरा भएसँगै सीमापार प्रसारण लाइनअन्तर्गत एमसिए–नेपालले गर्नुपर्ने निर्माण कार्य सकिएको छ।
अब नेपाल–भारत सीमापार विद्युत प्रवाहका लागि आवश्यक काम र स्वीकृति प्राप्त गर्ने प्रक्रिया अघि बढाइने एमसिए–नेपालले जनाएको छ।
यो १८ किलोमिटर खण्ड एमसिए–नेपालको विद्युत प्रसारण आयोजनाअन्तर्गत पर्छ। आयोजनाअन्तर्गत ३१५ किलोमिटर लामो उच्च भोल्टेज प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण भइरहेका छन्।
विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणलाई प्राविधिक सहयोग गर्ने काम पनि आयोजनाअन्तर्गत भइरहेको छ।
मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि नेपाल सरकारले गठन गरेको निकाय हो।
एमसिसी नेपाल कम्प्याक्टमा नेपाल सरकारको १९ करोड ७० लाख अमेरिकी डलर र अमेरिकी सरकारको एमसिसीबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान रहेको छ।
कुल कार्यक्रम ७४ करोड ७० लाख अमेरिकी डलरको हो। जसको आजको मूल्य एक खर्ब १४ अर्ब रूपैयाँ बढी हुन्छ।
विद्युत प्रसारण सञ्जाल विस्तार, यातायात लागत घटाउने र निजी क्षेत्रका लागि नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले कम्प्याक्ट कार्यान्वयन भइरहेको एमसिए–नेपालले जनाएको छ।