नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित पीडितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ।
शुक्रबार संसदीय दलले ३ लाख ६१ हजार ६ सय ६७ रकम कोषमा जम्मा गरेको हो।
भदौ १० गते बिहान आएको बिनाशकारी बाढीपछि यहाँको कांग्रेस संसदीय दलले भदौ १२ गते बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो।
संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले एक महिनाको पारिश्रमिक तथा संसदीय दलका अन्य प्रदेश सभा सदस्यहरूले १० दिनको पारिश्रमिक बराबरको रकम सहयोग स्वरूप प्रदान गरेको बताए।
यसैबीच शुक्रबारको बैठकले विपद्का कारण प्रभावित परिवारप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गर्दै पीडितहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिन सरकारलाई आग्रहसमेत गरेको छ।