त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी आर्थिक वर्षबाट अन्तर्राष्ट्रिय टर्मिनल भवन बन्ने भएको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार करिब ४० अर्ब रूपैयाँ लगानीमा यहाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बन्न लागेको हो। यसका लागि फ्रेन्च कम्पनी एडिपिआइले सन् २०१६ मै टर्मिनलको डिजाइन तयार पारेर बुझाएको थियो।
विभिन्न कारणले निर्माण रोकिएको अन्तर्राष्ट्रिय टर्मिनल भवनको काम आगामी आर्थिक वर्षबाट सुरू हुने जानकारी दिएको हो। प्राधिकरणका अनुसार यो भवन पाँच वर्षमा बनाइसक्ने योजना छ।
नयाँ भवन बनेसँगै हाल प्रयोगमा रहेको अन्तर्राष्ट्रिय टर्मिनल भवन आन्तरिक पर्यटकका लागि प्रयोगमा ल्याइने हवाइ यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इञ्जिनियर दीपेन्द्र श्रेष्ठले बताए।
प्राधिकरणले तयार पारेको गुरुयोजना अनुसार हाल निगम र सेनाको जहाजहरू राख्ने ह्यांगर भएको क्षेत्रलाई खाली गरिनेछ। यही ठाउँमा नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाइनेछ।
यो ठाउँ विमानस्थलको उत्तरपट्टि ७५ हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ।
डिजाइन ६ वर्षअगाडि नै तयार भए पनि ह्यांगर भएको र बजेट अभाव हुँदा काम अगाडि बढ्न सकेको थिएन। निर्देशक श्रेष्ठका अनुसार ह्यांगर स्थान्तरणका लागि चिनियाँ निर्माता कम्पनी सिसिइसिसी केडिएन एयरपोर्ट इञ्जिनियरिङ जेभीलाई ठेक्का दिइसकिएको छ।
'विमानस्थलको पूर्वपट्टि हेलिकप्टर पार्किङका लागि हाल प्रयोग भइरहेको जग्गामा सेना र निगमको ह्यांगर स्थानान्तरण गर्न लागेका छौं,' उनले भने।
हाल सञ्चालित अन्तर्राष्ट्रिय टर्मिनल भवनको यात्रु क्षमता वार्षिक ३० लाख हो। तर कोरोना महामारी अघिसम्म वार्षिक ४३ लाख बढी यात्रुले सो टर्मिनलको प्रयोग गर्थे। अब बन्ने टर्मिनलको क्षमता अहिलेको भन्दा तीन गुणा बढी हुने श्रेष्ठले जानकारी दिए।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/sabina%20karki/tia%20terminal%20design%20%284%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/sabina%20karki/tia%20terminal%20design%20%283%29.jpg)
'अब बन्ने अन्तर्राष्ट्रिय टर्मिनलको यात्रु क्षमता एक करोडको हुनेछ,' उनले सेतोपाटीसँग भने, 'हालको अन्तर्राष्ट्रिय टर्मिनललाई आन्तरिक बनाउँदा यात्रुको संख्या र क्षमताअनुसार ठिक्क हुन्छ।'
अहिले आन्तरिक टर्मिनलबाट पनि वार्षिक ३० लाखभन्दा बढी यात्रु आवतजावत गरिरहेकाले हालको अन्तर्राष्ट्रिय टर्मिनललाई आन्तरिकमा रूपान्तरण गर्ने योजना बनाइएको हो।
टर्मिनल भवनअगाडि अन्तर्राष्ट्रिय पार्किङ हुनेछ। पार्किङमा ठूला जहाज (वाइडबडी) मात्र राख्ने हो भने ६ वटा पार्किङ गर्न मिल्नेछ। त्यस्तै साना जहाज (न्यारोबडी) मात्र राख्ने हो भने १२ वटाको पार्किङ क्षमता हुनेछ।
स्टिल स्ट्रक्चरमा निर्माण गरिने नयाँ टर्मिनल भवन ब्यागेज ह्यान्डिलिङसहित अत्याधुनिक सुविधायुक्त हुनेछ। यो भवनको अर्को विशेषता भनेको टर्मिनलको छाना हिमशृंखला आकृतिमा हुनेछ।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/sabina%20karki/tia%20terminal%20design%20%281%29.jpg)