हर्के र म ठ्याक्कै दामल,
एउटै गाउँ एउटै मावल ।
ऊ कृष्ण पक्षमा र म शुक्लपक्षमा जन्मिए पनि,
ऊ दक्षिणायनमा र म उत्तरायनमा जन्मिए पनि ,
हाम्रो जन्म एउटै बार, एउटै तिथि,
एउटै नक्षत्र, एउटै काल घडी ।
म आफ्नो भाग खाएर नसक्दै,
ऊ अरुको भाग पनि खान भ्याउँथ्यो ,
म लुरे दाउरे थिएँ ,
ऊ चाहिँ हट्टाकट्टा भुसतिघ्रे थियो।
म सधैँ पढ्नमा फर्स्ट हुन्थें,
उ सधैँ लड्नमा फर्स्ट हुन्थ्यो।
म सधैँ गुरुहरूलाई खुसी बनाएर पास हुन्थें ,
उ सधैँ धम्क्याएर कक्षा चढ्थ्यो।
म सधैँ कक्षामा पहिलो हुन्थें,
ऊ पनि सधैँ पहिलो हुन्थ्यो उल्टोतिरबाट।
उसलाई पढ्ने बेलामा खेल्न मन लाग्थ्यो,
खेल्ने बेलामा सुत्न मन लाग्थ्यो।
रातभरि जागा बसेर, बिहान चार बजे सुत्थ्यो,
बिहानभरि सुतेर १० बजे उठ्थ्यो।
म कोचिङ पढ्न जाँदा,
ऊ सितोरियो सिक्न जान्थ्यो ।
कहिल्यै किताब नखोल्ने ऊ,
परीक्षाको अघिल्लो दिन, सुत्दै नसुती पढ्थ्यो।
अरुले थप कापी माग्ने बेलासम्म,
ऊ डट्पेन पड्काउँदै बस्थ्यो,
पाँच मिनेट बाँकीको घन्टी बजेपछि,
पहिलो प्रश्नको उत्तर लेख्न थाल्थ्यो।
कौरव र पाण्डव भन्ने त खुबै पढेको थियो,
तर पाँच भाइ कौरव हुन कि, पाण्डव भन्नेमा कन्फ्युज थियो ।
आइफोन त बोकेको थियो,
तर सामसुङको हो कि एप्पलको नै कन्फ्युज थियो।
मैले साइन्समा आइ ए पढ्दा,
उसले गाउँकै केटीसँग बिहे गरेछ।
मैले काठमाडौंबाट पाँच वर्षे डाक्टरी सकेर फर्कंदा,
ऊ चार वर्षे कैदी जीवन बिताएर जेलबाट फर्किएछ।
मैले काउन्सिलको परीक्षामा लाइसेन्स ननिकाल्दै,
उसले नेताको जागिर पाएछ।
मलाई यस्तो गर् , उस्तो गर् भनेर सिकाउँछ,
काउन्सिलको जाँच दिनु पर्दैन,
घरमै लाइसेन्स ल्याइदिन्छु भन्छ।
मलाई तँ नेता बन् भन्छ,
तेरै छोरालाई बना भन्दा,
उसलाई त डाक्टर बनाउँछु भन्छ।
मन्त्री बनेर गाउँमा आउँदा,
उसको गलामा मालै माला ,
मेरो गलाले एउटा माला पाएन ,
त्यसपछि त मलाई नि डाक्टर बन्न मनै लाएन।
हस् हर्के हस् , म पनि नेता बन्छु ,
तँ जे जे भन्छस् , म त्यसै त्यसै गर्छु।
भाषण गर्छु, टेबल ठटाउँछु ,
लडाइँ गर्छु, झगडा गर्छु,
डाक्टरी सर्टिफिकेट च्यातेर,
मार्शल आर्ट सिक्छु,
कसैको बंगारा फुस्काएर जेल जान्छु।
तँ जे जे भन्छस् , म त्यसै त्यसै गर्छु।
म पनि नेता बन्छु , म पनि तँ जस्तै नेता बन्छु।