झ्यालबाट छिरेर आएको बिहानको घामले मेरो आँखामा धेरैबेर हानेपछि बल्ल म ब्यूँझिएँ।
कार्पेटमा सुतिरहेको थिएँ वा पछारिरहेको थिएँ। टाउको भारी भइराखेको थियो, मानौं टाउकोमा भरी ग्यास भएको सिलिन्डर बोकिरहेको छु।
दिनभरी हलो जोतेर साँझमा फर्केको हलीको जस्तो शरीर थकित थियो।
वाक वाक आएको थिएन, तर आउला आउला जस्तो हुन्थ्यो। सुरूमा त म कहाँ छु भन्नेमा नै कन्फ्युज भएँ, आफ्नै डेरामा छु कि साथीकोमा। घोरिएर यताउता हेरेँ।
मलाई आफू आफ्नै साथीको अपार्टमेन्टमा छु भन्ने थाहा पाउन केही मिनेट गहिरो सोच्नु पर्यो। घाम त मज्जाले लागेको थियो तर मैले बिहानको घाम हो कि दिउँसोको भेउ पाउन सकेको थिइनँ।
हतपत देब्रे हातको नाडीमा हेरेँ। नाडीमा घडीको डाम मात्र थियो। किनेर लगाएको दिनदेखि कहिल्यै नफुकालेको घडी खोइ त? म रनभुल्लमा परेँ। त्यसपछि मेरा आँखा भित्ताको घडीमा सोझियो।
‘घडी बिग्रिएको त छैन? अहिले कसरी १० बज्यो त ? घडीको सुइ त चलेको चलै नै छ। मैले भेउ पाउन सकिनँ।
शुक्रबार साँझ मिलनसँग ठमेलको एउटा रेष्टुरेन्टमा गएको सम्झिन्छु। रेष्टुरेन्टको नाम चाहिँ म्यारिगोल्ड हो कि जस्तो लाग्छ तर कन्फर्म थिइनँ। रक्सीको स्वाद थाहा नभएको मलाई त्यही मिलनको दबाबमा एक पेग विस्की पिएको थाहा छ, त्यहाँभन्दा बढी केही सम्झिन सकिनँ।
भोमिटले भिजेको मेरो पाइन्ट ठसठस गन्हाइरहेको थियो र चिसो पनि। करिब १५ मिनेट जति सोच मग्न भएतर उत्तर केही पाइनँ।
‘ह्या म पनि कस्तो, मिलनलाई सोधे पछि त थाहा भइहाल्छ नी त्यसपछि के के भयो। किन बेकार अनावश्यक ठाँउमा दिमाग लगाउने?’ मनमनै सोचें।
मिलनलाई फोन गर्न भनेर मोबाइल निकाल्न गोजी छामें तर मोबाइल साटो ब्रोफिनको खोल थियो।
अघि भर्खर घडी हराएर सातो गएको मलाई फेरि अर्को समस्या आइलाग्यो।
मोबाइल कता गयो त? घडी अनि मोबाइल दुइटै हराए त? घडी केही वर्ष पुरानो भए पनि आइफोन त अस्ति भर्खर किनेको।
एक वर्षको किस्ताबन्दीमा किनेको आइफोनको आधाभन्दा बढी किस्ता त तिर्न बाँकी नै थियो।
म रनभुल्लमा परें।
एकछिन पछि पानी पिएर फ्रेस हुनु पर्यो अनि केही कुराको सम्झना आँउछ कि भनेर किचनमा छिरें। किचनको चकटीमा टाउको अडेस लगाएर मिलन लडिरहेको पो रहेछ।
ऊ मस्त निन्द्रामा घुरिरहेको थियो। ठस्स गन्हाइरहेको उसको हातमा निभेको चुरोटको ठूटो थियो। धेरै कोशिस गरेपछि उसलाई निन्द्राबाट ब्यूँझाउन त सकें तर मिलन मभन्दा पनि बेहोसी थियो।
उसको पनि हातको घडी गायब थियो। एउटा खुट्टामा जुत्ता लगाइरहेको थियो, अर्कोमा मोजा मात्र थियो, कपडा भिजेको थियो, अनि ऊ ‘मलाई एकछिन सुत्न देल न,’ भनेर बर्बराउँदै थियो।
हिजो केके भयो कहाँ कहाँ गयौं थाहा हुन सकिरहेको थिएन।
आज के बार हो, अफिस जानुपर्छ कि पर्दैन आदि कुरा सोच्ने होसै थिएन। तर रातभर मिलनसँगै भएको भने यकिन थियो।
नुहाएपछि केही बढी होस आँउछ कि भनेर म बाथरुम छिरें।
हे भगवान्, ऐनामा हेर्दा त म अर्कै मान्छे जस्तो पो देखिन्छु?
‘ए गाँठे यस्तो कसरी हुनसक्छ ? कसरी यस्तो हुनसक्छु ?’ अनुहार एकदम फुलेर आफैं हो कि होइन जस्तो भएको थियो, त्यही माथि मेरो अगाडिको दाँतै थिएन।
‘मेरो दाँत खोइ? कसरी फुक्लियो? दाँतै फुस्किदा कति दुख्यो होला, यस्तो हुँदा पनि मैले थाहा पाइनँ?’
हिजोको २५ वर्षे मणि र आजको जड्याहा मणि मैले तुलना गरें।
फुलेको अनुहारले मेरो उमेर ५ वर्ष बढाइदिएको थियो भने अगाडिको नै दाँत फुस्किएपछि त्यसले अर्को १० वर्ष उमेर बढाइदिएको थियो।
म ठ्याक्कै कान्छा अंकल जस्तै करिब ४० वर्षको जस्तो देखिएको थिएँ। कठै मान्छेको उमेर बढ्न धेरै बेर नै नलाग्दो रहेछ। हिजोको २५ वर्षे मानार्थ आज ४० वर्ष जस्तो देखिएको थिएँ।
‘खैर जे भए पनि आफूले गरेको कर्मको फल आफैंले भोग्नु नै पर्छ’ मलाई हिजो आफैंले रोपेको स्याउ अहिले नै फलेको जस्तो लागेको थियो।
म नुहाउन कपडा खोल्दै थिएँ, म त झन छाँगाबाट खसेजस्तो पो भएँ। मेरो दाहिने नाडीमा त स्लाइन लगाउँदा वा रगतमा औषधि पठाउँ0दा लगाउने इन्जेक्सन निडल टाँसिरहेको पो थियो।
म केही घन्टाभित्र पाँचौ पटक अचम्ममा परें।
‘मेरो नाडीमा सुइ ? यो कसरी हुन सक्छ यार ? मलाई कसरी के भयो र यस्तो नशाबाटै औषधि चलाउनु पर्ने भयो ? अनि एकै रातमा यस्तो कसरी हुन सम्भव छ ? असम्भव, लौ फसाद पर्यो।’
मलाई सपना जस्तो लागेको थियो, तर मैले जे सोचे पनि सत्य सत्य नै हो।
तर कसरी यी सबै घटना भए? मैले सोच्न सकिरहेको थिइनँ।
मिलनलाई केही कुरा थाहा छ कि भन्ने आशा थियो, तर मिलने त अहिलेसम्म बेहोसी नै छ।
कसरी पत्ता लगाउने?
महिनौं प्रयोग नगरेको कम्प्युटर र ल्यान्डलाइन फोन अहिले काम लाग्यो।
रेस्टुरेन्टको मान्छेलाई पक्कै पनि हाम्रो बारेमा थाहा हुन्छ भनेर म्यारिगोल्ड भन्ने रेस्टुटेन्टको नम्बर गुगल गर्न थालें। कही भेटिएन। बल्लतल्ल म्यारिल्यान्ड भन्ने एउटा ठमेलको रेस्टुरेन्टको फोन नम्बर भेटाएर त्यहाँ फोन गरें।
रेस्टुरेन्टको फोन धेरैबेर पछि मात्र उठ्यो, तर पनि त्यहाँ राति काम गर्ने कर्मचारीहरू भेटिएनन्। अनेक विन्ति गरेपछि साहुले राति ड्यूटी गर्नेलाई फोन गरेर सोध्यो।
नाम त थाहा भएन तर दुई जना केटाहरू त्यहाँ आएको, एक बोतल विस्की खाएको, रेस्टुरेन्ट बन्द गर्ने बेलासम्म घर जान नमानेपछि उनीहरूलाई जाउ भनेर फोर्स गरेपछि मात्र बाहिर गएको भन्नेसम्म खबर पाएँ।
त्यहाँबाट कुनै डिस्को जाने कुरा गर्दै थिए तर डिस्कोको नाम थाहा भएन रे।
‘रेस्टुरेन्टमा पनि कस्ता कस्ता कर्मचारी राख्छन भन्या, कमसेकम आफ्ना ग्राहक पछि कहाँ जान्छन् भनेर नोट गर्नु पर्दैन ?’ मिलन निधारभरि गाँठा पार्दै चिच्यायो।
त्यत्तिकैमा मेरो आँखा दाहिने नाडीमा परेछ, सुइ टाँस्न प्रयोग गरेको टेपमा केही अक्षर लेखिएको थियो। अरु कुरा बुझ्न नसके पनि अस्पताल भन्ने प्रष्ट बुझिन्थ्यो।
‘हामीहरू राति कुनै न कुनै बेला अस्पताल गएका थियौं,’ मिलनले भन्यो।
तर कुन अस्पताल?
काठमाडौंमा थुप्रै अस्पताल छन्।
आखिर मणिको दाइ बनेर भए जति सबै अस्पतालको इमर्जेन्सीमा फोन गर्ने निधो गरियो। करिब पचास ठाँउमा फोन लगाइसकेपछि एक ठाँउबाट खबर पाइयो।
एक जना नर्सले भनिन्,‘इमर्जेन्सीको रजिस्टरमा एक जना मणि भन्ने मान्छे आज बिहान ३ बजे आएको भन्ने लेखेको छ। मलाई मेरो साथीले हयान्डओभर गर्ने बेलामा भनेको अनुसार एक जना केटा राति घाइते भएर आएको थियो उसलाई दुई जना केटीले लिएर आएका थिए।
उनीहरूले त केही भनेनन्, तर तिनीहरूको कुरा सुन्दा कतै ग्याङ फाइटमा घाइते भएजस्तो बुझिन्थ्यो। ती केटीहरू लगत्तै फर्किहाले। केहीबेरपछि अर्को एक जना केटा आएको थियो। उसलाई चिन्छु भने पछि गार्ड दाइले भित्र छिर्न दिनुभएछ। एकछिन पछि हेर्दा त स्लाइनको पाइप नै चुँडाएर भगाएर पो लगेछ। उसको बेडमा हामीले एउटा जुत्ता र एउटा औंठी फेला पारेका छौं र जतन साथ राखिदिएका छौं। नाइटको डयूटीमा भएकी नर्स आएपछि सबै कुरा बुझेर प्रहरीलाई खबर गर्ने कि नगर्ने भनेर विचार गरिराखेकाछौं।’
मिलनले भन्यो,‘प्रहरीलाई खबर गर्न पर्दैन। मणि मेरो भाइ हो। हिजो रक्सीको कारणले समस्या परेको रहेछ, अहिले सबै ठीक छ। म जुत्ता र औंठी लिन आँउछु। कृपया यो कुरा अरुलाई नभन्नुहोला, बुवाले थाहा पाउनुभयो भने खुब गाली गर्नुहुन्छ।’
‘कुन दुई जना केटीले मलाई अस्पतालमा लिएर गए त ? जुत्ता त मिलनको थियो किनभने उसले भर्ख सम्म एउटा मात्र जुत्ता लगाइरहेको थियो तर औंठी कसको थियो?’ अझैसम्म दुबैले सम्झन सकेका थिएनौं।
मिलनले जुत्ता र औंठी आफ्नै हो भनेर प्रमाणको लागि एउटा जुत्ता लिएर गएको थियो। केही बेरमा जुत्ता र औंठी लिएर आयो। आए आँप, गए झटारो भनेर मिलनले आफ्नो हो कि होइन थाहा नभइकनै औंठी पनि लिएर आएछ। सुन वा पित्तलको जस्तो देखिने त्यो बेरुवा औंठी मिलनको साँहिली औंलामा ठीक्क मिल्थ्यो भने मेरो पैतिऔंलामा मिल्थ्यो। धेरै बेरसम्म औंठी कसको हो त भन्ने थाहा पाइएन।
भित्ताको घडीमा ४ बज्न १५ मिनेट बाँकी थियो। यति बेलासम्म हामीहरू धेरै नै फ्रेस भइसकेको थियौं। झलक्क मैले नजिकै बस्ने अनि एकदम मिल्ने बच्चा बेलादेखिको साथी अमनलाई सम्झिएँ।
हामी दुबै उसको कोठातिर लाग्यौं।
अमनलाई सुटमा देखेर पहिला हामी दुवै छक्क पर्यौं।
‘के हो आज कतै पार्टी सार्टी छ क्याहो ?,’ हामीले जिस्क्यायौं।
त्यो भन्दा दश गुणा छक्क त अमन पो परेछ, मलाई रुजेको बिरालो जस्तो भएर एउटा हाम पेन्ट, टिसर्ट र चप्पल देखेर।
‘मणि तेरो खुस्किएको त छैन ? चार बजे तेरो बिहे छ बानेश्वरको मन्दिरमा, मलाई यहाँ हतार भयो भनेर कस्तो आत्तिराखेको छु, तँ भने यो हालतमा त्यसै हल्लिइराखेको छस् ? अनि तेरो अनुहार ऐनामा हेरेको छस् ? ए राम , तैले त एउटा दाँत पनि फुस्काएछस्, के भएछ तँलाई ?’, ऊ कराउन थाल्यो।
‘के भन्छ यो दमन (हामी अमनलाई जिस्काएर दमन पनि भन्थ्यौं)। मेरो बिहे आज हो र ?’
‘ल नपत्याए हेर कार्ड’ भनेर अमनले निमन्त्रणा कार्ड देखाइदिएपछि त मेरो सातो गयो।
११ रेक्टरको भूकम्प जाँदा जस्तो सबै पृथ्वी हल्लिए जस्तो भयो, म थचक्क बसें। एउटा ह्याङओभर माथि अर्को थपियो।
‘ए हो त आज शनिबार हगि। ए मिलन, त्यो औंठी पनि त मेरो हो नि इन्गेजमेन्टको’, बल्ल सम्झिएँ।
अमन त अघिदेखि नै तयार थियो। मैले र मिलनले पनि अमनकै सुट लगायौं। खाँचो परेको बेलामा साइज मिल्यो कि मिलेन, रंग मन पर्यो कि परेन आदि केही पनि हेरिएन।
लगत्तै अमन र मिलनको साथ लागेर म मन्दिरतर्फ गएँ।
दुबै तर्फका थुप्रै मानिसहरू हामीलाई नै पर्खिएर बसिरहेका थिए। धेरै जसो मान्छेहरू ‘केटी मन परेनछ क्याहो, केटो भागेछ, हिजैबाट डेरामा पनि थिएन रे’ भन्दै थिए।
पण्डित ‘मेरो सत्य नारायणको पूजामा जानुपर्ने छ, लगनको टाइम पनि घर्किसक्यो, बेहुला पनि अहिलेसम्म आएनन् , अब म पाँच मिनेट भन्दा कुर्न सक्दिनँ” भनेर धम्की दिँदै थिए।
बेहुली चाहिँ ‘मणि त्यस्तो छैन, ऊ पक्कै आँउछ’ भनेर पण्डित बाजेसँग हात जोडिराखेकी थिइन्।
मलाई देखेर सबैजना खाँउला जस्तो गरेर मैतिर झम्टिए। नारा लाए जस्तो सबैजनाको ठूलो आवाज आयो ‘तँ कहाँ मुन्टिएको थिइस्?’
म ज्यान जाला मुख खोल्ने वाला थिइनँ। यो मेरो भिष्म प्रतीज्ञा थियो।
करिब एक महिना जति मैले बोल्दा खेरी पनि मुख खोलिनँ, बोल्दा खेरी हातले मुख छोपेर मात्र बोलें।
एक महिनाभित्रै मेरो मुखमा पँहेलो टिलिक्कै टल्कने सुनको दाँत पलाइसकेको थियो।