यो कथा अदिति र अमनको हो। उनीहरू एकअर्कालाई साह्रै माया गर्थे। उनीहरूको भेट ल क्याम्पसमा भएको थियो। ल क्याम्पसको नमूना संसद अभ्यास कार्यक्रममा जाँदा उनीहरूले उत्कृष्ट सांसदको अवार्ड नै जितेका थिए।
क्याम्पसमा हुँदा त्यति साह्रो भेट हुँदैन्थ्यो तर उनीहरूले कार्यक्रममा भने नजिकिने मौका पाए। समय अवस्था एवं योजनाहरू त्यसै त्यसै बनिदिँदा रहेछन्। आवासीय उक्त कार्यक्रम पनौतीको डाइमन्ड हिल रिसोर्टमा आयोजित थियो। उनीहरू दुवै जना एउटै ग्रुपमा सामेल थिए। एकअर्कालाई नजिकबाट बुझ्ने अवसर त्यही पाए भनौं न। कानुनले प्रमाण र विवेकी धागोको सहारा खोज्थ्यो भने उनीहरू प्रेमको भूलभुलैयाको अन्धकारमा रूमल्लिन खोज्दै थिए।
कार्यक्रमबाट फर्किएपछि पनि क्याम्पसमा जोडीको चर्चा चुलिँदै गयो। लाग्छ! हरेक भित्ताहरू यिनै प्रेमका साँची भएर उभिरहे लामो समयसम्म।फूलबारीका फूलहरूले यी जोडीकै निमित्त शाीतमय बास्ना निकालिरह्यो। प्राध्यापकहरूदेखि लिएर लाइब्रेरी र क्यान्टिनसम्म पनि पुगिरह्यो जोडीको चर्चा परिचर्चा।
किनकि त्यो प्रेममा दुइटा मनमात्र मिसिएको थिएन। दुइटा भूगोल, दुइटा वेशभूषा, दुइटा भाषा संस्कृति सब मिसिएको थियो। अदिति पहाडकी छोरी थिइन् भने अमन मधेसको छोरा थियो। कुम्भकर्ण जस्तो निदाएको थियो यस्तो अन्तर भूगोलको प्रेम सम्बन्घ जो आजसम्म देखिएको थिएन।
मानव जातिका निम्ति हरहमेशा प्रशंसनीय नै रहन्छ यो। जनकपुरको विवाह पन्चमी देखाउँदै अमन भन्ने गर्थ्यो, 'हाम्रो बिहे पनि यस्तै गर्नुपर्छ ल!' अदिति मुसुक्क हाँस्थी।
स्नातक कानुनको अन्तिम वर्षमा आइपुग्दै गर्दा उनीहरूले सँगै इन्टर्न गरे सर्वोच्च अदालतमा। त्यहाँ देख्थे भूगोल र जात नमिल्दा टुटेका सम्बन्धहरू। तर पनि एक भइ छाड्ने बाचा कसम भने गर्न छोड्दैन्थे। कानुन र प्रेमका अनेकौं परिभाषामा आफूलाई अभ्यस्त बनाउँथे।
प्रेमको फूलबारीमा भूगोलको अनेकताको फर्माइस राम्रै सुनिनेमा उनीहरू दंग पर्थे। उनीहरूको जोडी अरू जस्तो त थिएन जहाँ मात्र प्रेमका रस सवार होस्। उनीहरू त विलासता, आलस्यता र श्रृंगारभन्दा माथि उठेर सभ्यतामा राज गर्न खोज्थे। हृदयको अन्तरबाट निस्किएको भावना कतै मगजको द्वेषपूर्ण शून्य जस्तो कारखानामा बिलाइपो जाने हो कि भन्नेमा दुवै जना एकदम सशंकित थिए।
स्नातक अध्ययन सकेपछि दुवै जनाले लाइसेन्स पास गरे अनि आफ्नो इच्छा अनुसारको कार्यमा लागे। अदिति आफ्नो प्राइभेट ल फर्म खोलेर जाने निर्णय गरी भने अमनले न्याय सेवामा छिर्नको लागि लोक सेवा तयारी गर्ने निर्णय गर्यो। यसै बीचमा दुवै जनाले अब बिहे गरेर अघि बढ्ने निर्णयमा पुगे। तर यो निर्णय घर परिवारसम्म नपुगेको हुनाले यसलाई परिवारमा लैजाने र सक्दो मनाउन प्रयास गर्ने मूडमा थिए।
अदितिले कुरा घरमा लैजाँदा उसको बुवाबाट ठाडै अस्वीकार भयो।
बुवाले झर्किंदै- कस्ता कस्ता नाताहरूमा सन्तुष्ट हुन सकिन्छ भन्ने दृष्टान्त पस्किए। अदितिको बुवा आफै पनि गोरखा जिल्ला अदालतका कर्तव्यनिष्ठ कर्मचारी थिए। तै पनि छोरी अदितिको प्रेमका लागि उनी समाजले स्वीकार नगर्ने नियमहरूलाई नाघेर जान सकेनन्।
अदिति यी सबै कुरा सुनाउन अमनलाई बानेश्वरको एउटा क्याफेमा डाकिन्। सत्य भावमा झल्किएका लालटिनहरू लाग्थ्यो जीवनको एउटै ध्येय छ भने झैं गरी सन्देश दिन खोजिरहेथे। तर दुवै जना चुपचाप र मौन थिए। इच्छा गरेर वा विचार गरेर मात्र पनि त कतिपय भावनाहरूलाई जीवित बनाइराख्न नसकिँदो रहेछ। यस्तै यस्तै महसुस गरे दुवै जनाले।
अमन अदितिको घरबाट आएको त्यस्तो सन्देशलाई मान्न कदापि तयार थिएन। त्यसैले एकदिन आफैले भेट्ने र बिन्ती भाव गर्ने योजना सुनायो अदितिलाई। उसले पनि नाइँ भन्न सकिन।
जब अदितिको घर एक्लै पुग्यो अमन। लाग्यो उसलाई कि संसार संग्रामयुक्त छ। यहाँ प्रेम पाउन समेत हरेक क्षण लडिराख्नुपर्छ। हाँसोहरू विलय छन्, भावनाहरू चंगुलमा छन् अनि बचेखुचेको सम्बन्ध मजबुत बनाउन पनि रून्चे मुख लाएर वीरता देखाउनुपर्छ। यस्तै यस्तै भावसहित पुग्यो अदितिको बुवाको सामुन्ने।
चिनाजानी र शिष्टाचार गर्यो अमनले। उति साह्रो उही भावमा फर्काएनन् अदितिका बुवाले। अगाडिको कालो कफीभन्दा पनि तितो मन लिएर बसेका थिए अदितिका बुवा। अमन भन्दै गयो, 'म मधेसमा जन्मिनु मेरो दोष होइन न त मैले अदितिसँग प्रेम गर्नु नै मेरो दोष हो। चेतनालाई अँध्यारोमा फ्याँकेर म आज तपाईंसामु आएको पनि होइन। आफूले गरेको प्रेमलाई प्रमाण सहित दर्शाउन आएको हुँ। आफैले गरेको प्रेमलाई तुच्छ बनाएर म बाँच्नै सक्दिनँ। परिवार, भूगोल र जात तब मात्र आउँछ जब दुवै जना खुसी हुन्छन्। माया एउटासँग र बिहे अर्कोसँग गरेर कोही पनि खुसी हुनै सक्दैनन्। र कुनै सम्बन्ध टिक्दैन पनि।'
यति भनिसकेपछि अदितिका बुवा अलि झोक्किएर बोले- 'तिमी मेरो घरमा छिर्नु नै महान कार्यमा दर्ज हुन्छ। आफू बाँचेको रीति थिति संस्कृति सबै भुलेर दुई दिनको मायाजालमा फसेका हौ तिमीहरू। कदापि तिमीहरूलाई स्वीकार गर्न सकिँदैन। र आइन्दा यो घरको ठाडो खुड्किला काटी काटी तिमी यहाँसम्म आउने साहस गर्ने छैनौ भन्नेमा म अडिग छु। किनकि तिम्रो प्रेम मेरी छोरीका निम्ति एउटा प्रयोग भएको अन्दाज मात्र थियो।त्यहाँ न विवेक छ न सभ्यता छ न त भविष्य नै। यसले पुर्याउने भनेको क्षति मात्र हो जसको आकलन अहिले नै गर्न सकिन्छ। तिमीलाई म ज्वाइँको दर्जामा त के घरमा काम गर्ने नोकर समेत राख्न सक्दिनँ। मानवताका कुरा गरेर हुँदैन तिम्रो मधेसको झुपडीमा कसरी रमाउँछे मेरी छोरी जो स्वर्गको सुनौलो सुख पाएर हुर्किएकी छे। त्यसैले आजदेखि आफ्नो अनुहार देखाउने चेष्टा नगर्नू।'
यति सुनिसकेपछि अमन त्यहाँबाट सरासर आफ्नो घर गयो। अदिति सँगको सम्बन्ध अब कुनै हालतमा अघि नबढ्ने निचोडमा पुग्यो। अदितिले गरेका फोन र म्यासेजहरूलाई इन्कार गर्दै ऊ आफ्नो पढाइमा लाग्यो किनकि यो समाजले निम्ताएको लडाइँ ऊ अदितिलाई भगाएर लगेर कुनै द्वेषले होइन पढेर ठूलो ठाउँमा पुगेर इखले जित्न चाहन्थ्यो।
नभन्दै पनि त्यो समय गुज्रेको एक वर्षपछि नै न्याय सेवाको अधिकृत बन्न सफल भयो। संयोगहरू बाजा बजाएर आउँदा रहेनछन्। गोरखा जिल्ला अदालतमा पदस्थापन भएपछि ऊ त्यसतर्फ निस्कियो।
उसलाई थाहा थिएन, अदितिका बुवा त्यहाँ तामेलदार पदमा कार्यरत छन् भन्ने कुरा। तर जब आफू अधिकृत भएर पुग्यो र आफ्नो हाजिरी गराउन हाजिर किताब सहित अदितिका बुवा अगाडि आइपुगे उनी तीन छक्क परे। अमन एकदम नवीन रूप रंग, खदिलोपना सहित मोहनी भावमा उपस्थित थियो भने अदितिका बुवा निन्याउरो भएर नमस्कार भावमा अमनका अघि शिर झुकाइराखेका थिए।
अमनको लडाइँ सायद एक जना व्यक्ति मात्र नभएर प्रवृत्ति र सोचसँग थियो। त्यसैले त नमस्कार गरेका अदितिका बुवाका हातहरूलाई तल झार्दै मुस्कुराहट भावमा भन्दै थियो, 'पहिला ज्वाइँ साब भन्नुहोस् भन्दा मान्नु भएन अब हाकिम साब भन्न पर्ने भो!'
अदितिको बुवाको मुहारको आकृतिमा उनकी पूर्वप्रेमिका मुटुकी टुक्रा अदिति बारम्बार नजर आइराखिन् तर पनि अमनले एक कल फोन गर्ने हिम्मत गरेन। लड्नु, उठ्नु, भेट्टाउनै सकिँदैन भनेकाहरूलाई भेट्टाउनु, जित्न नसक्नेहरूलाई जित्नु त्यो आस त्यो प्यास अझै बाँकी नै थियो अमनमा। सायद, ऊ त्यो बिछोडको घटनापश्चात सफलताको भोकबाट कहिल्यै तृप्ति हुन सकेन।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)