पश्चिम नेपालको एउटा गाउँ थाप्लु, जहाँ आफ्नै किसिमको रितिरिवाज छ।
केही पहिलाको कुरा हो, जतिबेला नेपालमा पञ्चायतकाल चलिरहेको थियो। थाप्लु गाउँमा एक परिवार छ, रामनारायण जैसीको। उनको विहे भएको लगभग १२ वर्षपछि छोरी जन्मिइन्।
केही पछि रामनारायणका थप २ छोरी र एक छोरा पनि जन्मिए। हिजो छोराले रहर गरेर जोतेको बारीको अवस्था देखेर रामनारायण रिशले चुरचुर हुँदै कराउन थाल्छन् नहुन पनि कसरी?
छोराले जोतेको होइन खेलेको जस्तो थियो। रिशले शरीर ताते पनि सहनशील बन्न खोजिरहे, किनभने उनको एक्लो छोरो थियो। मरेपछि पिन्ड दान गरेर स्वर्ग पुराउँछ भन्ने विश्वास थियो।
भदौमा मकै खेती भित्राइएपछि गहुँका लागि बारी तयार गरिन्छ। रामनारायण पनि आफूसँग भएको आठ रोपनी जमिनलाई गहुँ छर्न तयार गर्छन्।
उनी छोराको उज्वल भविष्यका लागि खुब मेहेनत गरिरहेका छन्। छोरीको खासै चासो राखेका हुँदैनन्। एकाविहानै बरीमा गोरू नारेर जोत्न थाल्छन्। पारीबाट उनकी कान्छी छोरी स्यास्या गर्दै कराउँछे। रामनारायणले छोरीको चिच्याहट सुनेर गोरू रोक्दै सोध्छन् किन कराएकी हँ?
बा म १२ कक्षा पहिलो श्रेणीमा पास भएँ नि!
स्यावास् भन्नु त कता हो कता। रामनारायणले उल्टै छोरीलाई प्रश्न सोधे- भाइ के भो? म फष्ट भाइ सेकेकन्ड डिभिजन, उसले उत्तर दिई। खुसीले गदगद उनी आलीमा बसेर तमाखु तान्छन्।
दमले भकभकीएकी उनकी संगिनीलाई धुँवाले अत्याएको छ, विहान बेलुकी खाना बनाउन पनि सकस। जेठी छोरीलाई खासै नपढाएका परिवारले १२ बर्षमै डोली चढाएर पराइ घर पठाइदिए। कान्छीलाई पनि ५ कक्षासम्म पढाउने विचार राखेका रामनारयणले छोराकै साथीका लागि उनको पढाइलाई निरन्तरता दिएका थिए।
रामनारायणका काँधमा छोराछोरीलाई पढाउनु छ। फरक यत्ति मात्र, छोरालाई रहरले छोरीलाई करले, बाध्यताले। सानो परिवार खान लाउन पुगे पनि अरु आम्दानी थिएन। गाउँका मुखियाहरूले छोरालाई पढाउन सहर र छोरीको विहे गर्न सुझाएका थिए।
पैसाको जोहो गर्न रामनारायणले प्रधानपञ्च लालु साहूकहाँ एक साता धर्ना बसेका हुन्। जग्गा राखेर ५० हजार दाम लिन। त्यो पैसा छोरालाई सहर पठाउन उनले ल्याएका हुन्। ऋण पाएपछि उनी शीर ठाडो बनाएर हिडे।
यो कुरा थाहा पाएकी कान्छी छोरी खिन्न थिइन्। भाइभन्दा राम्रो पढे पनि बाबुले नपढाउने कुराले उसमा पीर थपिएको हुँदो हो। बुधबारको दिन हो, छोरा सहर पठाउन रामनारायणको बुढाबुढी विहानैदेखि हतारमा थिए।
दमको रोगले ग्रस्त भइसकेकी आमाले छोरालाई टीका लगाइदिँदै भनिन्, ‘तँ फर्केर नआउँदै म मर्ने पो हुँ कि! मर्नेबेला मुखमा कसले पानी राखिदिएला।’ रोएकी आमालाई कान्छीले सम्झाइन्। झोला बोकेर बाबु छोरा पुर्याउन अघि लागे।
सल्लीघाटबाट छोरो गाडी चढ्यो। देखुन्जेल बाबु हेरिरहे। छोरा राम्रो पढेर ठूलो मान्छे होला भन्ने विश्वास एकातिर थियो भने बुढेशकालको साहरा होला भन्ने पनि बाबुआमालाई लागेको थियो।
तर अवस्था भिन्न हुँदै गयो। गएको दुई/चार महिनासम्म त चिठी पठाइराखेकै थियो। तर पछि पठाउन छाड्यो। कान्छीको विहेमा घर आएन। दशैंमा पनि आएन। आमा झन् रोगले गल्दै गएकी थिइन्। गाउँमा उपचार गर्ने डाक्टर भएनन्। औषधि भनेजस्तो पाइएन। उपचार गर्न शहर लैजानुपर्ने भयो।
रामनारायण फेरि लालु साहुकहाँ पुगेर धर्ना बस्यो। २ विघा जग्गा राखेर पैसो लियो। कान्छी छोरी पनि घरमा एक्लै थिई। ज्वाइँ प्रहरीका जागिरे थिए। घर छाड्न नमिलेपछि रामनारायणले श्रीमतीलाई लिएर सहर झरे।
सहरको अस्पतालमा भर्ना गरियो। १५ दिन बस्नुपर्छ भने डाक्टरले। उनका जेठा ज्वाइँले आफूसँग पैसा भएको बताएपछि केही पीर मत्थर भयो। तर छोराको याद भने रामनारायणलाई आइराखेको थियो। आमा विरामी हुँदा पनि छोरा घर नआएकोमा चिन्ता थियो।
एक दिन रामनारायण छोरा खोज्दै सहर पुगे। कोठामा छोरो भेटिएन। ताल्चा लगाएको रहेछ। घरबेटीलाई सोधिखोजि गरे तर थाहा छैन भन्ने जवाफ आएपछि निराश हुँदै उनी अस्पतालमा फर्किए।
गाउँले एक भाइ रामनारायणकी विरामी पत्नी भेट्न आए। उनले छोराबारे बेलिबिस्तार लगाइदिए। तपाईंको छोरा एक महिना अघि लागुऔषधको व्यापार केशमा छ महिनाका लागि जेल बसेर छुट्यो भनेपछि रामनारायण छाँगाबाट खसेझैं भए। शरीरमा काँडा उम्रियो। बेन्चमा थचक्कै बसे।
विरामी आमा रून थालिन्। आमा विरामी भएको थाहा पाउँदा पनि किन छोरो भेट्न आएन भन्ने जवाफ बल्ल परिवारले थाहा पायो। उनका दुई छोरी र ज्वाई भेट्न आए तै छोरो आएन। डाक्टरले उपचारपछि डिस्चार्ज गरिदियो। रामनारायण श्रीमती लिएर घर जाने तरखर गर्दै थिए, दुई छोरीले भने बाआमालाई हामी नै पाल्ने हो घर गइराख्नुपर्दैन। उनीहरू कान्छी छोरीको घरमा बस्दै आएका छन्।
छोरालाई मात्र पढाउने र माया गर्ने रामनारायणको परिवार अहिले विगत सम्झेर धरधरी रोइराख्छ।