भो! नभन अबदेखि
तिमीहरूले मलाई
'आमा भनेर' !
कति जलाउँछौ यो मुटु,
कति दुखाउँछौ यो मन ?
मलाई थाहा छ
तिमीहरू सँग छैन यस्को जवाफ !
मेरा छोराछोरी हुनै सक्दैनौ तिमीहरू
रमिते हौ तिमीहरू
मुकदर्शक हौ/कम्जोर पात्र हौ
दुस्मनका खातिर मार्ग प्रदायक हौ
तिमीहरू नालायक हौ!
म जलि रहें..
टुलुटुलु हेरिरह्यौ तिमीहरू
म च्यातिएँ/काटिएँ/भाचिएँ म...
प्रतिवाद गरेनौ! उल्टै अपवाद
बनेर निस्कियौ तिमीहरू !
हिजो तिलाठी माथि लाठी बज्रियो
सुस्ताको सुस्केरा सुस्ताउन नपाउँदै
आज लिपु दुखेको छ
लिम्पिया दुखेको छ अनि कालापानी दुखिरहँदा
चोट मैले खप्नुपर्छ
आज मेरो छातीमा दुस्मनले बुट बजार्दै गर्दा
तिमीहरू मौनता साँधि रहेछौ
आगनीमा उसले परेड खेल्दै गर्दा
तिमीहरू गोडा फाट सतर्क गरि रहेछौ...
धिक्कार छ मेरो कोखलाई
जसले यस्ता सन्तानलाई जन्म दियो !
हिजो उसले नङ काट्यो
जाबो नङै त हो भनेर चुप रह्यौ
अनि फेरि औंला काट्यो
जाबो औंलै त भनेर वास्तै गरेनौं
आज ऊ हातै काट्न उद्धत छ
भोलि मुटु हत्याउन सक्छ उस्ले
कलेजो फोक्सो हुँदै सिंगो शरीर माथि
धावा बोल्न सक्छ उस्ले
तवसम्म पनि बोल्ने छैनौ तिमीहरू
कारण तिमीहरू जिउँदो शालिक हौ
जस्को न मन हुन्छ न त मुटुनैं
हुन्छ त केवल ढुंगाको शरीर !
कति गौरवान्वित थिएँ म !
जतिबेला यही कोखमा
बलभद्र कुँवर, वीर अमर सिं थापा,
भक्ती थापाहरूले जन्म लिएथे
जस्ले आफ्नो प्राणको आहुती दिएर
नालापानीमा पानीसम्म नपिई
स्वाधीनताको रक्षा गरेथे
त्यसैले त आजसम्म पनि तिमीहरू
स्वाधीनछौ र भन्न पाएका छौ
साम्राज्य दुई हारे, हारेन सान हाम्रो...
तर आज...
छैनन् ती विभूतिहरू
छन् त केवल तिमीहरू जस्ता
नमीठा अनुभूतिहरू...
भो अब ढिलो गर्नु हुन्न तिमीहरूले
जाओ बलभद्र सँग आशिर्वाद मागेर आओ
उद्याओ खुकुरी अनि खुँडा...
छिनाल दुस्मनको गर्दन र परास्त गर तिन्लाई
जसरी किल्ला छोडेर भागेथे कप्तान किनलोकहरू
र गर रक्षा मेरो एकमुट्ठि ढुकढुकी सासको !