कविता
उसैगरी आज पनि
खोलाको छेउमा उभिएको
होला बेलको रूख
मेरा बाल्यकालका सम्झनाहरूलाई
बोकेर
वैशाख-जेठका रापिला घामहरूमा
छहारीमा सुस्ताउँदै खेलेका
खोपी र खोपिल्टेका
खेलहरू
बाघचाल र बुद्धिचालका
अनेक चालहरू
चलचित्रको दृश्यझैं घुमिरहन्छ
मानसपटलमा
तिखा काँडाहरूले चप्पल
छेडेर पैतालामा बनाएका
घाउका खतहरू
चस्किरहन्छ अझैसम्म
बेलको जराझै मेरो
पनि जरो गाडिएको
थियो यही माटोमा
वैशाख-जेठका तापहरू
खपेर
असार,साउनका भेलपानी
पिएर
माघ,फागुन शिशिरमा
नाङ्गिएर
प्रत्येक बसन्तमा नयाँ
पालुवासँगै बेललाई
नयाँ जीवन दिने त्यो
माटो र म खेलेको
माटो एउटै थियो।
तर यो माटोले मलाई
बेललाई झैं किन फुलाउन सकेन
मेरा सपनाहरूलाई साचेर किन
नयाँ पालुवा उमार्न सकेन
मेरो नाङ्गिएको तनलाई
किन बसन्त उपहार दिन सकेन
सायद,
मेरा जराहरूले माटोको
वैभवलाई बुझ्न सकेनन्
बेलको जराझै माटोसँग
अटुट प्रेम गास्न सकेनन्
आज अरबको यो मरुस्थलमा
म जराविहीन भएर बेलको
रूखलाई सम्झिरहेछु।
मनोज लम्साल