अचानक विनोद परियार आफ्नो विदेश बसाइँलाई स्थगित गरेर घर फर्किन लागेको सुनी सबै साथीभाइहरू अचम्मित भए।
सबैले प्रश्न तेर्स्याए, आखिर काम पनि ठीकै छ,तलब पनि राम्रै छ,खान,बस्न सुविधा छ किन फर्किनु पर्यो घर,त्यस्तो के पर्यो?"
विनोदले भने,"हेर चारैतिर फैलिरहेको कोरोनाले मान्छेहरूलाई त्राही त्राही बनाएको छ। आफ्नो देशमा पनि यो संकट नहोला भन्न सकिन्न। यो समयमा त म आफ्नो देशमा गएर आफ्नै पेशा सुरू गर्छु,अब बस्दिनँ म यहाँ।"
उसको कुरा सुनेर सबैले जिल्याएका थिए।
‘अहो.....त्यस्तो के नै उन्नति गर्ने विचार छ?त्यही मेसिन खटखट पार्ने काम त होला नि?जाबो त्यति सिलाइको कामले कत्ति नै कमाउँछस्?’
साथीहरूको कुरालाई ध्यान नदिइ उसले राजीनामा दियो। केही दिनपछि कन्फर्मेसन लेटर पनि आयो।
ऊ घर जान तयार भयो। यत्ति दिनभित्र उसले साथीहरूको अनेकौं वचन खप्यो।
विनोदको हिँड्ने दिन आयो। सबै साथीहरूले धेरै दुर्वचनको साथ नै बिदाइ गरे।
उसले ती सब मनमै लिएर गयो। देशमा हल्ला चलिरहेको थियो कोरोना भाइरसको।
बजारमा मास्कको कालो बजारी सुरू भइसकेको थियो।
विनोद घर पुगेर आफ्नो बुवासँग मास्क उत्पादन गरेर बजारमा सप्लाइ गर्ने विचारमा लाग्यो र बाबु/छोरा भएर मास्क उत्पादनको तयारीमा धमाधम लागे।
मान्छेहरू मास्कको बढ्दो भाउले आजित भइरहेकाबेला उसले मास्क उत्पादन सुरू गर्यो।
विनोदले मास्क सस्तो शुलभ दाममा विक्री गरे।सबैमा मास्कको पूर्तिले ठूलो राहत मिल्यो।गाउँ/समाज सबैबाट विनोदले स्याबासी पाए अनि उसको आयस्रोत पनि राम्रै हुन थालेको थियो।
यत्तिकैबीचमा आफूसँगै काम गरिरहेका साथीहरू पनि कोरोनाको त्रासले सधैंको लागि बिदा पाएर स्वदेश फर्किए। उनीहरूलाई चिन्ता थियो- "अब गाउँ गएर फेरि बेरोजगारी हुने भइयो भनेर।"
जब स्वदेश फर्किए उनीहरू दंग परे। उनीहरू विनोदलाई भेट्न जाँदा उसको उन्नति,प्रगति देखेर। सम्झिए आफुहरूले उसलाई ब्यंग्यबाण गरेका शब्दहरू।
जब भेटे साथीहरूलाई। त्यो समय विनोदले उनीहरूलाई गज्जबले जवाफ दिए,‘भन्दैथियौ नि त्यही मेसिन खटखट गर्न त जाने होला नि ?भनेर। देख्यौ त्यही मेसिनको खटखटले आज देशको संक्रमणकालमा कत्रो मद्दत गर्यो? आफ्नो आयश्रोत पनि भयो। गाउँ,समाज,देशको सेवा पनि भयो।आफ्नो पेशाको कदर गरौं ।विदेशमा ज्यान सुकाएर कमाएको पैसाभन्दा त आफ्नै आँगनमा आफ्नो पुर्ख्यौली पेशाबाट कमाएको पैसाबाट कत्ति आत्मसन्तुष्टि हुन्छ। लौ!भन अब तिमीहरू चाहिँ के पेशा गर्छौ?जीवन त धान्नै पर्छ।आफ्नो काममा लजाएर हुन्न।’सब साथीहरू मौन बनेर एकार्काको मुख हेर्दै टोलाइरहे।