Ncell
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, पुस १८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

अथकित थुक

युवराज नयाँघरे

युवराज नयाँघरे

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

ख्वाक्क!

मैले गाडीको छेवैमा बसेका बूढा मान्छेलाई हेरें। उनले सानो फिकदानी खल्तीबाट झिकेर मुखको खकार त्यहीँ थुके। अनि बट्टामा बिर्को लाएर फेरि हाले खल्तीमै।

म त्रिपुरेश्वरबाट कलंकी गइरहेको थिएँ। साझा बसको सिट सजिलो हुनाले निकै बेरदेखि कुरेर चढेको थिएँ। छेवैका बूढा निकै खोक्थे।

हामी कलंकी सँगै ओर्लियौं।

उनको र्‍याले थुक व्यवस्थापन मलाई मन परेको थियो।

‘कहाँ पाउनु भो यो बट्टा?’ मैले उनीसँग हिँड्दा-हिँड्दै सोधेँ।

उनी देब्रे कुनामा बढ्दै ओठ तानेर फिस्स हाँसे।

Laxmi bank
Laxmi bank

‘अमेरिकामा छोराले सिकाएको!,’ उनले भने,‘तर बट्टा मैले बनाएको!’

चोकमा पुगेर उनी ट्याङ्लाफाँटतिर झरे। म एक जना चिनारु कुरिबसेँ। मान्छेको धक्का र भीडभाड बेस्सरी थपिएको थियो।

Ncell
Ncell

थुक!

नेपालीहरूको मुखमा सबभन्दा बढ्ता आउने वस्तु हो जस्तो म ठान्छु। नथुकी बस्नेहरू नि कमै देख्छु हामीकहाँ। थुक्न नपाउँदा बान्ता गर्नेसम्म हुन्छन्।

थुक-मुख रसाएर आउने एक खालको तरल पदार्थ । यो रसिलो पारिरहने आवश्यक तत्व पनि हो। यो बिना सुख्खा होला मुख।

अझ खाद्य पदार्थ निल्न र पचाउनमा थुकको अपरिहार्यता होला । वैज्ञानिकहरुले थुकको वृतान्त धेरै भन्लान्। स्वास्थ्य–विज्ञानले थुकको महात्म्य झन् धेरै बताउला।

म यी दुबै परिनँ।

मात्र थुक पीडित हुँ म।

नेपालीहरूले सधैं गर्ने काममा थुक्नु पनि एक प्रमुख नै हो। हाम्रो उखानले नै थुकको पक्षमा गजबले बोलेको छ- ‘एकले थुकी सुकी, सयले थुकी नदी!’

हामी थुकौं, थुकेर एकताको संकेत दिऔं भन्ने प्रमाण यो उखानले गरेको हो कि भन्ने रिमरिमे ज्ञान कमाएको छु मैले। हुन पनि थुक्नेहरू जहाँसुकै र जस्तै उमेरका पनि हुन्छन्। कुनै जात र धर्मले यी रोकिएका छैनन्। छेकिएका छैनन् कुनै पढाइ र पेशाले। कुनै पद र योग्यताले रोकिएका छैनन्। थुक्नेहरू घटेका छैनन्, बढेकै पो छन् त हुनसम्म।

थुकको परिचय एउटै हो- मुखको रस।

‘थुकले मुख धुनेहरू’ मेरो एउटा साथीले दस वर्ष पढाएपछि छोड्ने बेलामा सहकर्मीलाई गाली गर्दै हिँडेथ्यो। जसलाई उसले त्यहाँ ल्याएको थियो, उही नै पछि त्यो साथीको विपक्षी भएछ।

उसले गरेको गाली गहिरो रहेछ- पर्गेल्दै छु आजभोलि।

‘थुकेको थुक चाट्ने’ भन्नेहरूले पनि थुकलाई घृणा गरेरै भनेका हुन्। उनीहरूको भनाइमा ‘थुक’ घिनलाग्दो फोहोर वस्तु हो।

फोहोर वस्तुलाई जथाभावी फ्याक्नु हुन्न, गन्हाउँछ। फोहोरले दुर्गन्ध फैलाउँछ वा फोहोरले रोग ल्याउँछ भन्ने सत्यता मानिसहरू बिर्सेर थुकिरहेकै हुन्छन्- पिच्च... पिच्च...।

नेपालीहरूका मुखमा कुनै सपना, योजना वा लक्ष्यले चिमोटेको हुँदैन। ती थुक्नका लागि यस्तो भावको मुखाकृति बनाइरहेका हुन्छन्- लाग्छ : करोडौं सियोले तिनको मुख घोचिरहेको छ, लाखौं बोरा कर्कलाले तिनको जिब्रो पाछिरहेको छ, हजारौं बोतल अमिलो चुकले तिनको दाँत खुइल्याइरहेको छ, सयौं थान टर्रा चिजबीजले तिनको ओठ डामिरहेको छ।

चुच्चो न चुच्चो मुख बनाएर थुकिरहेका हुन्छन् ती।

दक्षिणकाली गइरहेको थिएँ- मेरो छेउमा बसेको थियो एउटा सिरुपाते जुँगे केटो। ऊ भुइँतिर निहुरेर दुई दाँतका चेपबाट थुक निकाल्दै थुकिरहेथ्यो सिर्र... सिर्र...। म झ्यालको हावाको लोभ गरेर उसको चर्तिकला हेरिरहेथें।

एक छिनपछि आफ्नै ज्याकेटभित्र ह्वात्त बान्तै गर्न थाल्यो ऊ। असिनपसिन भएँ म।

लौ बर्बाद हुने भो।

‘भाइ झ्यालमा बस, बस!’

म उसको सिटमा गएर बान्तेलाई झ्यालतिर पठाएँ।

तर उसको सिटमा पुगेपछि पो थाहा भो, उसले त आफ्नो सिटमुन्तिर यति धेरै थुकेको रहेछ- मेरो जुत्ता पिलित्तै चिप्लियो। औधी दिगमिग लाग्यो मलाई। बसुम् कि उठुम् भइरहें।

पत्रिका मागेर थुकको आहालमाथि राखेर बसे पनि जिउमा बिसन्चो भने कुदिरह्यो। आङमा घिनले धावा बोल्न छोडेन कत्ति नि।

थुक्नेहरू थुप्रै छन् हाम्रो वरपर।

२०४६ सालको प्रजातन्त्र आएपछि संसद सचिवालयमा जागिर खाएका मेरा मित्र वसन्तप्रकाश उपाध्याय उनको कर्मथलोमा डाकिरहन्थे। फोन गर्न निर्वाध पाउने र खाजा खान पाइने आशमा प्रतिनिधिसभा गइरहन्थें म।

त्यहाँ एक जना सभासद् पटक/पटक बाहिर जान्थे। उनी गएतिर चिहाएर हेर्दा मैले थुक लीला देखेको थिएँ। ती थुकुन्जेलमा भित्र नियमावली संशोधन भएर ताली बजिसकेको हुन्थ्यो। बल्ल ती भित्र पस्थे।

थुक्नेहरूलाई कुनै ठाउँ नै नचाहिने!

वीरगञ्जका धेरै कार्यालयका कुनाकानीमा देवीदेउताका फोटा टाँसेका देखें। सोध्दा पछि पो थाहा भो-पान खाएर नथुकून्। थुक रोक्न पनि देउता देखाएर तर्साउनु पर्ने। थुक छेकथुन गर्न कहाँको सजिलो र फेरि! यो त सभ्यता भइसक्यो, संस्कृति भइसक्यो, जीवनपद्धति भइसक्यो।

थुक्नेहरू थुकिरहेका हुन्छन् जतासुकै। उनीहरूलाई थुक्न नपाउँदा वा थुक्न निषेध गर्नेहरू असामाजिक लाग्दा रहेछन्। उनीहरूले थुक्ने ठाउँ नपाउने बितिक्कै ‘क्या हो, थुक्ने ठाउँसम्म नराखेर’ भनिरहेका हुन्छन्।

दाइका छिमेकी भनिरहेका थिए मलाई- ‘तपाईंका दाइले थुक्ने ठाउँसम्म बाँकी नराखी घर बनाउनु भयो!’

उनको चित्त दुखानी अथाह थियो, अपार थियो र अगम थियो। तर म मनैदेखि खुसी थिएँ, रमाएको थिएँ र पुलकित थिएँ।

थुक आफैंमा रह्यो।

अथवा थुकले मुखबाट फोहोर मिल्काइने ठाउँमा फ्याँकिने भयो । व्यवस्थित पारामा थुक थन्किने भयो भनि म सन्तुष्ट थिएँ- दाइले सबै जग्गामा घर बनाएको देख्दा।

कुनै कार्यालय, प्रतिष्ठान, आयोग र विद्यालय बाँकी छैनन्- थुक व्यवस्थित गरिएको। थुक उच्छिटिने त स्वभाविक प्रक्रिया हो। तर थुक थुक्दै सबैलाई व्यवस्थित पार्छु भन्नु चैं- यो युगमा बर्बर हो, पशु हो, स्वाँठ हो।

धेरै अघिको कुरा हो, त्रिभुवन विश्वविद्यालयको घडी भएको भवनमुनि बसिरहेको थिएँ। एउटा तस्वीर लिन उभिएको के मात्र थिएँ। मास्तिर ख्वाक्क खोकेको सुनेर तर्किन खोज्दै थिएँ- मेरो देब्रे काँधमा फिँजे थुकको ठूलो थोप्लो ढलपल गरी खस्यो।

शिक्षा र संस्कृतिको महान् विश्वविद्यालयमा थुकको हलचल देखेर कटक्क दुखें म। मन नमज्जाले चिमोटियो।

आज पनि त्यो घडी भएको भवन हेर्दा म ‘थुक गोली’ सम्झना गर्छु।

थुक्कः गाली मात्रै भएनछ यो। थुक्कः सराप मात्रै बनेन छ यो। थुक्कः बोलीको चरित्र, व्यवहारमा ओर्लिएर हाम्रो अर्को हुलिया भएछ आजभोलि।

हजुरबुबाको श्राद्धमा आमाले चोलो फुकालेर अनि फरियाले सबै आङ छोपेर चुलोमा पिण्डको भात पकाउनु भयो।

‘आमा, चोलो चैं किन खोलेको?’

‘चोलो सिउँदा दमाईंले औंलामा थुक लाएर धागो छिराएका हुन्छन्। त्यै भएर सिएको लुगा फुकालेकी। बिटुलो लुगाले कसरी पितृकर्म गर्नू? फरिया त मेसिनले सिउँछ नि बाबु!’

आमाले यसरी विमति जनाउनु भयो थुकलाई।

आमाको यो ‘थुक अस्वीकार’ ले लिएको बाटो भने मलाई चित्त बुझेको छैन आज पनि। हो, थुक चाट्नेहरूको भिडन्तमा मात्र मेरी आमाले थुकलाई बहिष्कार गर्नु भएको ठानेको छु।

थुक्नेहरूले आफूले गरेको काममा कमी नआओस् भन्दा रहेछन्। यो देशैभरिको महारोग हो कि जस्तो लाग्छ कहिलेकाहीँ।

मेरा घर छेउमा एक जना बूढा मान्छे पिँढीमा बसेर थुकी–थुकी आफूले लडाइँमा मान्छे मारेका कथा खुबै सुनाउँथे। उनी पाँच–छ पटक थुकिसकेका हुन्थे एउटा मान्छे मार्दा। हरेक पटक आठ–नौ जना मान्छे सिध्याएको कथा सुनाउँथे उनी।

अब भन्नुस्, त्यत्तिका मान्छे मारिसक्दा थुक कत्ति हुँदो हो बूढाको छेउमा! सानो–सानो दह नै भइसक्दो हो। तर मैले उनको ‘थुक दौड’ धेरै बेर हेर्न सकिनँ।

भाइ उत्तम भट्टराईसँग लुक्ला गएको थिएँ म। दिउँसो हामी एउटा बेलायती कुइरेसँग वरपरका हिउँचुली हेरी रमायौं। राति दुई कोठामा बाँडिएर सुत्यौं। रातको तीन बजेतिर कुइरे अत्तालिँदै हाम्रो कोठा ढकढकाउन आइपुग्यो।

‘के भयो?’ मैले सोधें कुइरेलाई।

‘डिस्टर्ब, डिस्टर्ब!’ उसले भन्यो।

हामीले अलिक तलको धारामा हेर्‍यौं- दुई भरिया निकै जोडले खाकखाक खुकखुक गर्दै मुख धोइरहेका थिए। एक जना त बेस्सरी कराई–कराई स्याँकस्याँक सुँकसुँक गर्दै थुकिरहेको थियो। 

‘म यो थुक्नेको कम्प्लेन गर्छु एजेन्सीलाई!’ उसले हाम्रो छेउमा भन्यो।

मैले मनमनै भनें- ‘थुक्ने एउटालाई हैन, सिंगो प्रवृत्तिलाई नै कम्प्लेन गर्नु पर्नेछ हामीले!’

थुक्नेहरूसँग कुनै असहजता हुँदो रहेनछ। थुक्नु नै सर्वस्व हो जस्तो, तिनको चलन देख्छु म।

एक पटक निर्वाचन आयोग गएर हितैषी भेट्न जाँदा ‘थुक हमला’ डरलाग्दो भएको थियो। दुई जना प्रहरीले थाथा... थुथु... लगातार गरिरहेका थिए। जोगिनलाई हामी भर्‍याङबाट तल ओर्लंदै थियौं। निसोधार पानी परिरहेको थियो। कतिखेर ती उक्लेछन्, हामी परेछौं तलै।

पानीको थोप्लाथोप्ली होला भनेको त अघिदेखि तिनकै ‘थुक वर्षा’ भइरहेको रहेछ। मैले केही पछिमात्र देखें। चुरोट खाएर ती मास्तिर बसिरहेका देखिए।

म हतार-हतार घर गएर नुहाएँ । थुक वर्षाले मलाई बिरामी नै पार्‍यो त्यो बेला।

थुक- एउटा आदत हो कि? थुक- एउटा स्वभाव हो कि ? थुक- एउटा आवश्यकता हो कि ? थुक- एउटा परिचय हो कि?

थुकिरहेका अनुहार पढिरहँदा मेरा मनमा उर्लिन्छन् हजार तर्कका छाल। मसँग थुकका बारेमा सकारात्मक तथ्य छन् निकै नै कम।

विदेशीहरू भन्छन्- ‘थुक मुखको एउटा अंग हो। यसको व्यवस्थापन मुखभित्रै गर्नु पर्छ!’

‘किन एसियालीहरू पेटभित्र र मुखको फोहोर बाहिर ओकल्छन्?’

उनीहरूले यो प्रश्न हामीलाई हुत्याएको धेरै भयो।

तर हामीहरू यसलाई सुनेको–नसुनेकै गरिरहेछौं। थाहा पाएको–नपाएकै गरिरहेछौं। अनि जहाँसुकै थुकिरहेछौं थुइक्क... थुइक्क...। 

थुक्नेहरूका अघिल्तिर हामी रोगी, कमजोर, शिथिल र पत्रु। थुक्नेहरूका सामुन्ने हामी लुला, थकित र नालायक। यदि बलिया हुन्थ्यौं भने त मस्तले थुक्नु पर्थ्यो हामीले। आवाज निकाली–निकाली थुक फ्याँक्नु पर्थ्यौं हामीले। कराई–कराई थुक हुर्‍याउन सक्नु पर्थ्यौं हामीले।

त्यसैले ‘नथुक्ने’ हामी नालायक।

रसुवामा एउटी बूढीले र्‍याले बाक्लो थुक हातमा थुकिन्। अनि पाँच–सात पाइला हिँडी बारीका डिलमा गएर फ्याँकिन्। म उनका घरको आँगनमा पुगेको मान्छे। उनको ‘थुक पारा’ देखेर घिनाएँ। रात बास भयो मेरो अन्तै।

‘आँगनमा थुके फोहोर हुन्छ नि नानी!’

उनले हातको थुक फ्याँकेर आउँदा भनेको मेरा कानले सुने। उनी फेरि थुक थाप्न हत्केला साँघुर्‍याएर गोलो पारिरहेकी थिइन्।

मेरा मित्र शेखर ढुङ्गेल आफू प्रायः अर्को मोटरको आमने सामने बस्दैनन्। पछाडि नै बस्छन् उनी।

‘छेउमा बस्दा कुन बेला झ्याल खोलेर थुकिदिन्छन् ड्राइभरहरूले। थाहै हुँदैन!’

शेखरका कुरा धेरैचोटि सुनेको छु।

थुक्नेहरूको बाध्यता एउटा होला- जता र जति बेलै थुक्न पाऊँ। थुक्नेहरूको चिन्ता पनि एउटै होला- जहाँ र जुनै बेला पनि थुक्न सकूँ।

अस्पताल, मसानघाट, मन्दिर वा विद्यालयमा पनि थुक्ने थुतुनाको जगजगी देख्छु। सप्ताह, जन्ती, मलामी, श्राद्ध वा पास्नीमा थुक ओकल्नेको लर्को घटेको छैन। जुनै वेदना, गुनासो, चोट र अत्यासमा नि थुकको हकारपकारले घेरिएकै छ। जुनै हर्ष, पुलकित, आनन्दी र उमंगमा पनि थुकको अँगालोले गुटुमुटु छोप्न छोडेकै छैन।

हिमाल, पहाड वा मधेश- थुकको गतिमा कमी छैन। थुक्नेहरू जहाँ पनि हुन्छन्। थुकसँग भूगोलको बाधा छैन। थुकसँग हावापानीको सीमा छैन। थुकसँग संस्कृतिको छेकाबार छैन। थुकसँग राजनीतिको व्यवधान छैन।

नेपालीहरूले कति थुक्दा रै’छन्- यसलाई निहाल्नेहरूले गजबले नक्कल गरिसकेका हुँदा रहेछन्।

एक पटक अमेरिकाको पेन्सिलभेनियामा भेटिएको रबर्ट बेडसँग म घुम्न गएको थिएँ।

ऊसँग धेरै कुरा हुने भएकोले उसले मलाई प्रायः घुमाइरहन्थ्यो आफ्नो फुर्सदीमा। नेपाल आएर मिसिनरीमा नि काम गरेको रहेछ उसले।

एक पटक घना जंगलको छेउमा पुग्दा झ्याल खोलेर थुक्यो अनि भन्यो- ‘यो नेपाली पारा हो!’

अनि हलुका हाँस्यो।

म नि हाँसें ऊसँगै।

बिस्तारै हाँसोसँगै म भित्रभित्रै खिन्न भएँ। नेपालीको आनीबानीलाई उसले गजबले थप्पड हानेको थियो। नेपालीका स्वभावलाई उसले मज्जाले चड्कन बर्साएको थियो।

थुकसँग स्वास्थ्यको कुनै अन्तःरोगको नाता हुन्छ? थुकसँग शरीरको कुनै दबाब हुन्छ? थुकसँग स्वभावको कुनै गति जोडिएको हुन्छ?

मैले आजसम्म बुझेको छैन।

थुक्नेले जति बेलै पनि हाम्रो समाजमा छुट पाएका छन्। रात, साँझ, बिहान वा मध्यान्ह- कुनै समय अछुतो छैन।

कुनै प्रश्न नि किन कतैबाट यो थुकलाई नभएको? 

अथकित छ थुक हाम्रा मुखमा। हामी थुकी–थुकी युद्धमा लडिरहेका छौं। हामी मरी–मरी थुक्न खोजिरहेका छौं। हामी चम्की–चम्की थुकिरहेका छौं।

थुकसँग डराएर हैन-डराउने अस्त्र बनाउन खोज्छौं हामी। थुकेरै हामी हराउन खोजिरहेका छौं- नयाँ संसारलाई। थुकेर भगाउन खोजिरहेका छौं- हामी नवीन व्यवहारलाई।

थुक- ठूलो हतियार हो हाम्रो!

रामायण पढ्दा छेउको कचौरामा पानी राख्नु हुन्थ्यो बुवा। पाना पल्टाउँदा औंलामा थुक लाउनु महापाप हुन्थ्यो उहाँका लागि। आमाले स्वस्थानी व्रतकथा पढ्न लाउँदा मलाई त्यही गर्न सिकाउनु भयो।

यही ज्ञानको मह र चरैतो खाएर होला आजसम्म थुक्न सक्दिनँ म जहाँसुकै। मेरो मुखले अरु भाका निकाले नि सिर्र... सिर्र..., ख्वाक... ख्वाक..., थुइ्यया... थुइ्यया..., थाथा... थुथु... बोलेको छैन।

अमेरिका डुल्दा एक जना साथी मलाई सम्झाउँथे- ‘जहाँसुकै थुक्नु हुँदैन है! यहाँ त सडकमा थुके नि जरिवाना तिर्नुपर्छ। जहाँसुकै क्यामेराले फोटो खिचेको हुन्छ। नथुक्नु है!’

उनी यसो भनेर मलाई सम्झाउन्जेलमा दुई–तीन पटक थुकिसकेका हुन्थे।

थुक्ने उनको नजानिँदो बानी भइसकेको रहेछ। मेरो त त्यो स्वभाव अहिलेसम्म भएकै थिएन। उनी आफैंले बोलेको कुरा आफ्नै व्यवहारले काटिरहेका थिए।

थुक- एउटा रोगै हो। हामी त जति बेरै थुक्न जमजमाइरहेका हुन्छौं। हामी त जुनै बेला नि थुक्न हतारिरहेकै हुन्छौं। थुकसँग हामी बिछोडिन नसक्ने पो रहेछौं!

मीठो खान छोडे पनि, राम्रो बोल्न बिर्से पनि हाम्रा मुखले थुक्न भने छोड्दैनन्। हामी थुक्न नपाएका दिन पूरै थल्लिन्छौं, लत्रिन्छौं।

‘आकाशतिर थुके आफ्नै मुखाँ छिटा’ भनेर पुस्तकका पानामा पढे पनि यो चेतना सुल्ट्याउनु पर्ने देख्छु म त। अब धर्तीमा पनि थुके शरीरमै दाग भनेर बोल्न थाल्ने हो कि!  

थुकको अरू महादेश र महासागरसँग नाता भएको देखिनँ।

नजिकसँग सबै खालका भाइरस र ब्याक्टेरियाको नातो गाँसिएको हुन्छ। साँधको पानीले नै आफ्नो घरको बलेँसी भिजेको हुन्छ ल्याफल्याफी।

छिमेकी भारतीयको सिको पो हो कि नेपालीको थुक्ने बानी!

सबै कुरा थाके पनि अथकित छ थुक हाम्रा लागि। थुकसँग थाकेका छैनौं हामी। गलेका छैनौं, भागेका छैनौं, आत्तिएका छैनौं थुकसँग् ।

हरेक अभावले आँखा तरे पनि थुकबाट गरिब रहने छैनौं हामी। र्‍याले थुकको कमी र खाँचो हाम्रो समाजमा छैन कत्ति पनि। मगन्ते कसले भन्छ हामीलाई थुकमा? समृद्धि र सम्पन्न पो छौं त थुक्कः थुकाइमा।

थुकसँग गहिरो साइनो नबनोस् हाम्रा लागि!

०००

प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १७:४२
सिफारिस
ट्रेकिङ जाँदै हुनुहुन्छ? लेक लाग्नबाट यसरी जोगिनुस्
ट्रेकिङ जाँदै हुनुहुन्छ? लेक लाग्नबाट यसरी जोगिनुस्
सुन बेचेर विदेशिएका थिए, अहिले पाँचतारे होटलमा छन् हेड–सेफ
सुन बेचेर विदेशिएका थिए, अहिले पाँचतारे होटलमा छन् हेड–सेफ
'यो व्यवसायबाट यति राम्रो आम्दानी होला भन्ने सोचेकै थिइनँ'
'यो व्यवसायबाट यति राम्रो आम्दानी होला भन्ने सोचेकै थिइनँ'
'गोरखाबाट छोरालाई सघाउन आएको थिएँ, उही मलाई एक्लो पारेर गयो'
'गोरखाबाट छोरालाई सघाउन आएको थिएँ, उही मलाई एक्लो पारेर गयो'
एमाले छाडेका वासुदेव घिमिरेलाई प्रश्न– बालेनसँग निकट हुनुहुन्थ्यो, उहाँसँगै लाग्न पार्टी छाड्नुभएको हो?
एमाले छाडेका वासुदेव घिमिरेलाई प्रश्न– बालेनसँग निकट हुनुहुन्थ्यो, उहाँसँगै लाग्न पार्टी छाड्नुभएको हो?
धर्म र राजसंस्थाबारे दुर्गा प्रसाईंलाई सरकारको सुझाव– चुनावी म्यान्डेट लिएर आउनू
धर्म र राजसंस्थाबारे दुर्गा प्रसाईंलाई सरकारको सुझाव– चुनावी म्यान्डेट लिएर आउनू
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

कुर्सीको खेलमा
नयाँ पृथ्वी!
मत्त हात्ती र बुद्ध!
नयाँ वर्ष 'नयाँ' बनेर आओस्!
चिसो रात!
हात्तीको देशप्रेम!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

चेतनाथ आचार्य
हजारभन्दा बढी सञ्चार माध्यममा एकैचोटि बजेको सी चिनफिङको सन्देश चेतनाथ आचार्य
केशव दाहाल
हामी जसलाई नेता मानिरहेका छौं, कतै ऊ झिल्के अभिनेता त होइन? केशव दाहाल
नारायण वाग्ले
नयाँ वर्षको एउटा नयाँ तस्बिर नारायण वाग्ले
प्रकाश रेग्मी
संघीयता महँगो कि राज्यले गर्ने खर्च गैरजिम्मेवार? प्रकाश रेग्मी
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

अर्जुन अर्याल
अँ के, म त बैंकर पो! अर्जुन अर्याल
National life inner
National life inner
नकुल चौलागाईं
कोही किन छुट्छन्? नकुल चौलागाईं
अर्जुन मोहन भट्टराई
कम्पनीले इमानदार होइन, स्मार्ट कर्मचारी रोज्छन्! अर्जुन मोहन भट्टराई
होमनाथ न्यौपाने
स्वर्गको घर! होमनाथ न्यौपाने

साहित्यपाटी

धरणीधर अधिकारी
कुर्सीको खेलमा धरणीधर अधिकारी
Hardik
Hardik
नरेन्द्रनाथ भट्टराई
नयाँ पृथ्वी! नरेन्द्रनाथ भट्टराई
side bar 17- shivam inner
side bar 17- shivam inner
रणभीम
मत्त हात्ती र बुद्ध! रणभीम
मनोजकुमार कँडेल
नयाँ वर्ष 'नयाँ' बनेर आओस्! मनोजकुमार कँडेल

केटाकेटीका कुरा

शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP