लगतार दुई बर्खा
घरको धुरी चुहिएपछि
थुप्रै साँझ
घरमा चुल्हो नबलेपछि
भोकसँग लाप्पा खेल्दै निदाउने
कयौं असफल प्रयासपछि
सहर पसेको रने
भाइरसको महामारीले
आज गाउँ फर्कंदैछ।
सहरलाई
रनेले धेरै वर्ष
आफ्नो बल र पसिना दियो
चोक-चोक बस्ती-बस्तीको
ठूला ठूला महल, सपिङ मलको
फोहोर उठायो
सहरको लागि उसले
बाटो खन्यो, धारा जोड्यो
रनेको मजदुरीले
धेरैको 'घर', बिल्डिङ ठडियो।
रनेले के मात्र गरेन?
यो अर्कै कुरा हो
सहरले रनेलाई
कहिले आफ्नो ठानेन
आफ्नै लाग्ने यो ठाउँले
रनेलाइ कुनै ठेगाना दिएन।
फेरि अचानक वैरी बनेर
आयो यो महामरी (कोरोना)!
घरभित्रै बसौं भन्दै
'लक-डाउन' भो देश
गज्जबले शान्त बन्यो
सधैँ हल्ला हुने यो सहर
बजार, अफिस, यातयात
सबै रोकिए
तर रोकिएन
गरीबलाई भोकको कहर।
श्रम बेची बाँच्नेको
ठप्प भो कमाइ
त्यसमाथि बन्द भो
उधारोमा चामल खुवाउने
साहुजीको दुकान
कामको खोजीमा
सहरको गल्लीगल्लीमा
निस्केको रने
भाटे कारबाहीमा पर्यो
पिटाइ खाएको आफ्नै तस्बिर
पत्रिकामा देखेपछि
उसलाई लाग्यो
भाइसरले भन्दा पहिले
भोकले मार्छ होला
त्योभन्दा पहिले त
पिटेरै पुलिसले प्राण लान्छ होला।
अनि रनेलाई
यो पनि थाहा थियो
यो सहरमा त ऊ
मरेपछि
आर्यघाटमा
लास बनेर जल्न पनि सक्दैन
त्यसैले
३०० किलोमिटर
पैदल हिँड्दै
गाउँ फर्किँदै छ
आज रने!
(मार्च २९, २०२०)