राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ को चुनावका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा डा. रामजी राम पनि परेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको टिमबाट उनी समानुपातिक सूचीमा परेका हुन्।
रामजी राम उनै डाक्टर हुन्, जसलाई सरकारले मधेसी दलित कोटाबाट एमबिबिएस गर्न पूर्ण छात्रवृत्ति दिएको थियो। राज्यको लगानीमा डाक्टरी पढेका रामजी रामले अहिले एकाएक राजनीतिमा आएपछि राज्यले उनीमाथि गरेको लगानी खेर जाने भयो भनेर प्रश्न उठ्न थालेका छन्।
यद्यपि सरकारी छात्रवृत्तिमा एमबिबिएस गरेर डाक्टर बनेकाहरूले दुई वर्ष सरकारी अस्पतालमा काम गर्नुपर्ने सर्त भने उनले पूरा गरिसकेका छन्। उनले दुई वर्ष रौतहटको चन्द्रनिगाहपुर अस्पतालमा काम गरे। त्यसपछि डाक्टरका रूपमा काम नगरी बसेका छन्।
समानुपातिक सूचीमा नाम पर्नु र त्यसले उत्पन्न गरेको विवादबारे हामीले डा. रामजी रामलाई सोध्यौं, 'तपाईंलाई त राज्यले डाक्टर बनाउन लगानी गरेको थियो, राजनीति गर्ने नै भए त्यो लगानीमा अरू कसैले पढ्न पाउँथ्यो भन्ने प्रश्न उठेको छ नि?'
जबाफमा उनले भने, 'म पूर्णकालीन राजनीतिमा आएको होइन। आफ्नो काम छाडेर पूर्ण रूपमा गर्दिनँ।'
त्यसो भए उनले किन राजनीतिमा आउन चाहे त?
उनी आफूले डाक्टर भएर दुई वर्ष काम गर्दा धेरै समस्या देखेको र ती समस्याको नीतिगत समाधान राजनीतिले नै सक्ने रहेछ भन्ने लागेपछि अघि सरेको बताउँछन्।
'अस्पतालमा चप्पल समेत लगाउन नसक्ने गरिबहरू आउँछन्, तर उपचार गर्नुअघि उनीहरूसँग 'गरिबीको सर्टिफिकेट' खोजिन्छ,' उनले भने, 'यस्ता थुप्रै समस्या छन्। यो समस्याको उपचार गर्न अलि बृहत ठाउँमा जानुपर्ने रहेछ भन्ने लाग्यो।'
एक जना मानिसले ५० हजार रूपैयाँ तिरेर अपरेसन गराउँदा उसको परिवार १० वर्षसम्म ऋणमा डुब्ने समस्या समाजमा रहेको र त्यसको समाधान राजनीतिले नै गर्न सक्छ भन्ने आफूलाई लागेको उनको भनाइ छ।
'डाक्टरी भनेको ट्याब्लेट वा इन्जेक्सन दिनु मात्र होइन, बोल्नु पनि डाक्टरी हो। स्वास्थ्यको एउटा पक्ष क्लिनिकल साइन्स होला। तर सोसल साइन्स (सामाजिक विज्ञान) र पब्लिक हेल्थ (जनस्वास्थ्य) अर्को पक्ष हो। जब एउटा डाक्टरले व्यक्तिभन्दा माथि उठेर समुदाय र देशको उपचारबारे सोच्ने अवस्था देख्छ, तब उसलाई नीति र स्रोतको आवश्यकता महसुस हुन्छ। उसको निम्ति राजनीति नै अर्को बाटो बन्छ,' डा. रामले भने, 'नीतिगत तहमा जान सके नेतृत्वमा स्वास्थ्य क्षेत्रको सुधारको चिन्तन जगाउन सकिन्छ कि भन्ने हो। त्यसैले एड्भोकेसी गर्ने डाक्टरको भूमिकामा जान खोजेको हुँ।'
डाक्टर बनेरै एड्भोकेसी गर्न नसकिने रहेछ? भन्ने प्रश्नमा उनले डाक्टर बनेर मात्र आवाज उठाउँदा नीति निर्माण तहमा त्यो आवाज नपुगेको बताए।
'बिरामीको उपाचार मात्र होइन, स्वास्थ्यकर्मीका आफ्नै कुरा छन्। समग्र स्वास्थ्य सेवा प्रणाली सुधार गर्नुपर्नेमा डाक्टरहरूले आवाज उठाएकै छन्। तर त्यो आवाज माथिसम्म नपुग्ने रहेछ,' उनले भने, 'त्यसैले पनि म राजनीतिमा जान खोजेको हो।'
महिनादिन अघिदेखि नै आफू काठमाडौंका मेयर बालेनको टिमसँग संवादमा रहेको र समानुपातिकमा पनि त्यही टिमबाट परेको उनले बताए।
'देशलाई निकास चाहिएको छ र नैतिकवान नेतृत्वले नै निकास दिन सक्छ भनेर हामीले कुरा गरेका थियौं। व्यक्तिलाई ब्रान्डिङ गर्नेभन्दा सिस्टम बनाऊँ भन्ने हाम्रो सोचाइ छ,' उनले भने।
रास्वपाको आन्तरिक चुनावमा दलित क्लस्टरका लागि सबभन्दा धेरै भोट पाएका विजय जैरू निर्वाचन आयोगमा बुझाइएको सूचीमा नपरेपछि डा. रामले पनि सार्वजनिक रूपमै त्यसको विरोध जनाएका छन्। आफ्नो नाम हटाएर भए पनि विजयलाई राख्नुपर्ने उनको सुझाव छ।
सेतोपाटीसँगको कुराकानीमा पनि उनले समानुपातिक सूची बनाउँदा नेताहरूले त्रुटि गरेको बताए। त्यसलाई सच्याउन आफूहरूले दबाब दिइरहेको उनको भनाइ छ।