महाकाली पारि
रातको बाह्र बजे
झल्याँस्स बिउँझियो ऊ
अनि
देश खोज्यो
सरकार खोज्यो
र खोज्यो राष्ट्रिय नेतृत्व
जसले नेपाल मेरो होइन हाम्रो भन्न सकोस्।
चिच्यायो ऊ,
ए आमा, ए देश, ए सरकार,
तर अहँ
कसैले सुनेन उसको चित्कार
ऊ बहकियो भावनामा,
सीमासँगैको भूगोलबाट आएको
उसको पुकार किन सुन्दैन कसैले
जब सात समुद्रपारको
नपोखिएको पीडा बुझ्छ भने
किन छेक्दैछ आफ्नै भूगोलले
मानवरूपी तार र हतियारको त्रास देखाएर
जब ऊ जस्तै परदेशीलाई
प्लेन चढाएर स्वागत गरिन्छ भने।
६ महिना पसिना बगाएर
एक वर्ष जहान पाल्ने जोहोका लागि
कालापहाड हानिएको ऊ
रित्तो हात सही
सयौं कोस दुई खुट्टाको भरमा
आफ्नै घर, आफ्नै देश फर्किंदै छ।
उसले बुझेको छ
व्यक्ति-व्यक्ति हुँदै संसारभर फैलिने
विषम महामारीका विषयमा
सासको आश गर्न नसकिने भएर त ऊ
मर्नै परे आफ्नै देशमा मर्न चाहन्छ
आफ्नै आमाको काखमा अन्तिम सास फेर्न चाहन्छ।
उसको एक गल्तीले
उसको परिवार, समाज
अनि देश विपतमा पर्छ भन्ने
सामान्य ज्ञान छ उसलाई
त्यसैले त उसले
सीमा पारिबाट
सरकारसँग
केबल मागेको यत्ति हो
जहाँसुकै र जोसुकैसँग राख
गाँस र बास देऊ वा नदेऊ
बस् ! मेरो भूगोलमा टेक्न देऊ,
हो ! मेरो भूगोलमा टेक्न देऊ ।।