कविता
ए.. आमा... !
भनेर पारि बारीबाट
छोराले चिच्याउँदा
हजुर भन्ने आमा तिमीलाई
आज छोराले हेलो भन्दा
अनौठो लाग्यो होला है !
तर आमा !
तिमीले कत्ति नबुझेको
मैले थोरै बुझेको
यो प्रविधि र विश्वव्यापीकरणले
आज ए.. बाट हेलो.. बनायो
आमा–छोरालाई कोस दूर बनायो।
आमा!
म–तिमी मात्र छैनौँ टाढा
पल्लाघरे जेठो कालापहाड छ
माथ्लाघरे साहिँलो सात समुद्र पार छ
अझ भनौं आमा
सबका सन्तानहरू आमाबाट पार छन्।
कोरोनाको कहर
महिनौं लामो लकडाउन
र त्रासले समेत
नजिक हुन नपाउँदा
मन भाउँतिन्छ, कुँडिन्छ आमा
तर विधिको विधान न हो।
हो आमा !
तिमीसँगै बसेर
बसन्तको हरियालीमा
वनका रसिला फलहरू टोक्दै
मीठा गफमा गफिन मन थ्यो
तिम्रा दुःख सुख सुन्न मन थ्यो।
विश्वास छ आमा मलाई !
त्यो दिन अवश्य आउने छ
जुन दिन तिमीसँग गफिँदै,
तिम्रा दुःखमा रूने र सुखमा हाँस्ने छु
र फेरि बालापनमा झैं पारि डाँडाबाट
ए.. आमा.. भनेर चिच्याउने छु
हो आमा !
त्यस दिन हेलो होइन
ए.. आमा..! भनेर चिच्याउने छु
मातातीर्थ औंसीको उपलक्ष्यमा
सम्पूर्ण ज्ञात–अज्ञात आमाहरूमा हार्दिक नमन