अमेरिकाले बिजनेस (बी१) र भिजिट (बी२) भिसाका लागि नेपालीहरूलाई कडाइ गर्ने नीति लिएको छ। यी दुई भिसामा अमेरिका जान अब नेपालीहरूले ७ लाखदेखि २१ लाख रूपैयाँभन्दा बढी धरौटी राख्नुपर्ने भएको छ।
अमेरिकी विदेश मन्त्रालयले आउँदो माघ ७ (जनवरी २१) देखि यस्तो नियम लागू हुने जनाएको छ। यसअनुसार यी दुई प्रकारका भिसामा अमेरिका जाने व्यक्ति बढीमा ३ महिनासम्म बस्न पाउनेछन्। नेपालसँगै यो सूचीमा दक्षिण एसियाबाट बंगलादेश र भुटान पनि छन्।
अमेरिकाको यस्तो नीतिले नेपालीहरूलाई कस्तो पर्छ? यसअघि भिसा पाइसकेकाको हकमा के हुन्छ?
यसबारे हामीले अमेरिकाको न्यूयोर्कमा रहेका नेपाली कानुन व्यवसायी बासु फुलारासँग कुराकानी गरेका छौं।
फुलाराका अनुसार अमेरिकी सरकारले 'भिसा बन्ड' सूचीमा नेपाललाई राखेसँगै यसले तत्काल चार वटा असर पार्न सक्छ —
पहिलो, अब अमेरिका जान सीमित व्यक्तिले मात्र प्रयास गर्नेछन्।
फुलाराका अनुसार भिसा प्राप्त गर्ने व्यक्तिलाई अन्तर्वार्ता क्रममा दूतावासका अधिकारीले ५ हजार डलर (७ लाख २२ हजार रूपैयाँ), १० हजार डलर (१४ लाख ४४ हजार रूपैयाँ) वा १५ हजार डलर (२१ लाख ६६ हजार रूपैयाँ) मध्ये कुनै एउटा रकम धरौटी राख्न लगाउने छन्। त्यो रकम तेस्रो पक्षको जमानीबाट पनि तिर्न पाइने उनले बताए।
यस्तो रकम बुझाउँदा अमेरिकी अध्यागयन तथा भन्सार कार्यालय (आइसिई) को फारम भरेर बुझाउनुपर्नेछ। रकम भिसा प्राप्त गर्ने व्यक्तिले नै तिर्नुपर्नेछ। अन्य तेस्रो पक्षबाट रकम तिर्न पाइने छैन।
'यसअघि वर्षमा हजारौं व्यक्तिले अमेरिका जान आवेदन दिन्थे। अब त्यो संख्या सयमा झर्न सक्छ। किनभने, धरौटी राख्ने क्षमता सबैसँग नहुन सक्छ,' उनले भने, 'अब आर्थिक अवस्था तुलनात्मक कमजोर भएकाहरूले अमेरिका घुम्न जाने सोच नै राख्दैनन्। भिसा अफिसरले ५ हजारदेखि १५ हजार डलरसम्म जति पनि माग्न सक्ने भएकाले यति ठूलो रकम जम्मा गर्न गाह्रो हुन्छ।'
यो व्यवस्थापछि अब आफन्तले बोलाएर अमेरिका जान खोज्नेको संख्यामा पनि कमी आउन सक्ने फुलारा बताउँछन्।
'पारिवारिक भेटघाटका लागि जानैपर्ने तर आर्थिक क्षमता कमजोर भएकाहरू समस्यामा पर्न सक्छन्,' उनले भने।
बासु फुलारा।
दोस्रो, अमेरिका जान खोज्नेका लागि आर्थिक भार थपिने छ।
फुलाराका अनुसार भिसा आवेदन गर्नासाथ आफूसँग पैसा भएको प्रमाण देखाउन पर्दैन। तर भिसा अफिसरले भिसाका लागि योग्य ठानेलगत्तै आफूसँग पैसा भएको पुष्टि गर्नुपर्नेछ।
'भिसा अफिसरले हामीले अमेरिका पठाउन योग्य ठान्यौं भनेर ५ देखि १५ हजार डलर जम्मा गर्न भनेलगत्तै त्यसको फारम भर्नुपर्छ,' फुलाराले भने, 'भिसा अफिसरले ५ देखि १५ हजारको बीचमा जति रकम पनि माग्न सक्छ।'
भिसा अफिसरले मागे अनुसार रकम नभए भिसा पाइँदैन। भिसा अफिसरले ५ हजारभन्दा कम र १५ हजारभन्दा बढी पनि लिन नपाउने उनले बताए।
कुनै व्यक्ति भिसा प्राप्त गरेभन्दा बढी समय अमेरिका बसेको अवस्थामा धरौटीबाट रकम काटिनेछ। धरौटी तिर्दैमा भिसा प्राप्त गर्ने सुनिश्चतता भने हुने छैन। अमेरिकी काउन्सिलर अफिसरको निर्देशनबिना कसैले धरौटी बुझाए त्यस्तो धरौटी फिर्ता हुने छैन।
त्यस्तै, बिजनेस वा ट्राभल भिसामा गएका व्यक्तिले अन्य प्रकारको भिसा आवेदन दिए वा शरणार्थी बन्न गए धरौटी जफत हुनेछ।
तेस्रो, अमेरिकी भिसा पाए पनि अब नेपालीका लागि अमेरिका बस्ने समय सीमित हुनेछ।
नयाँ नियम अनुसार एक पटकमा तीन महिनाका लागि मात्र भिसा पाइने फुलाराले जानकारी दिए। तर बोर्डरमा भने एक महिना मात्र बस्न पाउने गरी अनुमति दिइएको हुन्छ।
'यसअघि धेरैले ५ वर्षको भिसा पाउँथे भने एक पटकमा ६ महिनासम्म बस्न पाउने गरी अध्यागमनले अनुमति दिन्थ्यो। त्यो भिसा पाएपछि पटक पटक आउजाउ गर्न पाइन्थ्यो,' उनले भने, 'अब एक पटक पाएको भिसा एक पटकका लागि मात्र हुनेछ।'
चौथो, अमेरिकी भिसा पाइसकेपछि यात्राको झन्झट पनि उत्तिकै छ।
नयाँ नियम अनुसार अमेरिका जाने नेपालीले अब निश्चित विमानस्थलबाट मात्र प्रवेश पाउने छन्। उनीहरूले अमेरिका छाड्दा पनि तोकिएका विमानस्थल नै प्रयोग गर्नुपर्नेछ।
अमेरिका प्रवेश गर्न र बाहिरिन तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको छ — बोस्टनको बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थल, न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल र वासिङ्टनको डुलिस अन्तर्राष्ट्रिय विमानस्थल।
अन्य विमानस्थलबाट यात्रा गर्ने व्यक्तिलाई अमेरिकाले नियन्त्रणमा लिन सक्ने उल्लेख गरिएको उनले बताए।
'अमेरिका आउनेहरूको रेकर्ड राख्न सजिलो होस् भनेर यस्तो गरिएको हो। यसले पनि कतै न कतै समस्या पारेकै हुन्छ,' उनले भने।
यति मात्र होइन, अमेरिका प्रवेश गर्दा नै यस्तो भिसा प्राप्त गर्ने व्यक्तिको फर्कने दिन रेकर्ड गराउनुपर्नेछ।
धरौटी राखेको रकम के हुन्छ?
भिसा अफिसरले भिसा दिएपछि मात्र धरौटी रकम देखाउनुपर्ने भएकाले भिसा नपाउँदाको अवस्थामा धरौटीको कुरा आउदैन। तर कुनै तेस्रो पक्षलाई पैसा बुझाएको छ भने त्यसको जिम्मेवारी भिसा अफिसरले नलिने फुलाराले बताए।
त्यसैले भिसा अफिसरले भने अनुसारको प्रक्रिया पुर्याएर धरौटी बुझाउन उनको सुझाव छ।
भिसा अफिसरले भिसाका लागि योग्य ठान्यो र उसले भनेअनुसार धरौटी बुझायो भने उसले पैसा फिर्ता पाउने तीन तरिका हुन्छन् —
पहिलो, कुनै पनि व्यक्ति अमेरिका गएर सही तरिकाले फर्कियो र तोकिएका सबै सर्त पालना गर्यो भने स्वदेश आएपछि उक्त रकम फिर्ता पाइन्छ।
अमेरिका गएर उतै पलायन हुने प्रवृत्ति रोक्न यस्तो नीति लिएको फुलाराको भनाइ छ।
दोस्रो, भिसा पाउनासाथ अमेरिका जान पाइन्छ भन्ने हुँदैन। अमेरिका पुगेर त्यहाँको विमानस्थलबाट अध्यागमनले फर्काइदिन पनि सक्छ। अध्यागमनका कर्मचारीलाई शंका लागेर विमानस्थलबाटै फर्काइदियो भने पनि धरौटी रकम फिर्ता पाइने फुलाराले बताए।
तेस्रो, भिसा पाएर पनि अमेरिका नगए धरौटी रकम फिर्ता हुने फुलाराले बताए।
'कोही व्यक्तिले अमेरिका जाने भिसा पाइसक्यो तर विभिन्न कारणले जान मिलेन भने त्यस्तो अवस्थामा भिसाको समय सकिएपछि धरौटी रकम फिर्ता पाइन्छ,' उनले भने।
त्यस्तै, कोही व्यक्ति भिसाका लागि योग्य भयो र भिसा अफिसरले भनेको रकम जम्मा पनि गर्छु भन्यो, तर उसले जम्मा गर्न सकेन भने पनि अमेरिका जान नपाउने फुलाराले बताए।
अमेरिकाको यस्तो नीतिले साँच्चिकै अमेरिका घुम्न जाने योजना बनाएका नेपालीहरूले अन्य देश रोज्न सक्ने उनको अनुमान छ।
'जो साँच्चिकै घुम्न जाँदैछ भने पनि उसले आफ्नो गन्तव्य अरू देश बनाउन सक्छ। किनभने, अमेरिका जान दुई कुराको परीक्षण हुन्छ। एउटा व्यक्तिको योग्यता अर्को आर्थिक विषय,' उनले भने।
नेपाल कसरी 'भिसा बन्ड' सूचीमा पर्यो?
'भिसा बन्ड' सूचीमा नेपाल पर्नुको मुख्य कारण अमेरिका गएर नफर्किनेको संख्या बढेर हो।
सन् २०२४ को तथ्यांक अनुसार अमेरिका गएकामध्ये ३.१२ प्रतिशत नेपाली 'ओभर-स्टे' गरेर बसेका छन्।
'ओभर-स्टे नै प्रमुख कारण हो। अहिलेको सूची अस्थायी हो। अगस्ट ५ सम्मका लागि नेपाललाई यसमा राखिएको हो,' उनले भने, 'पाइलट प्रोजेक्टका रूपमा रहेको यो सूची थपघट भइरहन्छ। अर्थात् नेपाललाई यो सूचीमा राखिराख्न पनि सक्छ र हटाउन पनि सक्छ।'
भिसा लगाइसकेकालाई के हुन्छ?
यसअघि भिसा लागिसकेको हकमा भने अहिलेको नियमले असर नगर्ने फुलाराले बताए।
'जसको अमेरिका जाने भिसा छ, उसलाई यो नियमले असर गर्दैन। तर भिसाको समय सकियो भने उसलाई पनि यही नियम लागू हुन्छ,' उनले भने, 'अमेरिकी विमानस्थलमा शंका लागेर अध्यागमनले फिर्ता पठाउने सम्भावना त जहिले पनि रहन्छ। त्यो पुराना र नयाँको हकमा एउटै नियम हो।'
अहिले आएको नियम विद्यार्थीबाहेक पर्यटक तथा बिजनेस भिसामा अमेरिका जानेहरूका लागि रहेको फुलाराले बताए।
***