धेरै पटक उमारियो धानको बिउसँगै मन। असारको उमंगमा मन गाँजिएर झप्झपी भयो। असारे झरीले मन पनि हिलाम्मे भैदियो। लहलह हृदयको ब्याडमा अगणित बयली खेल्दै गयो अल्लारे बतास।
मनभरी असारे भाकाले छोयो। गीतका गेडा स्वर नलीमा आएर बाँस बसे। मन दबदबे हिलोझैँ हिलियो। रोपारेहरुका मुखबाट फुत्तफुत्त निस्किए गीतका थुङ्गा-थुङ्गा:
'असारै मासको दबदबे हिलो छुँ भने घिन लाग्यो
पातली तिम्लाई फरिया किन्दा छ बीस रिन लाग्यो!
न भित्र खोक्रो, न बाहिर बोक्रो गुलियो कसार
पूर्वको ढोका उघारी हेर्दा लागेछ असार!
गैरी खेतको रोपाइँ, आउनु होला तपाईं
छाता हैन घुम लेर
पोहोर पनि आको मुयाँ पिरिम ला'को
आउ है मुयाँ उम्लेर...!
सिमलका भुवाजस्ता स्निग्ध भुइँकुहिरोले छोप्यो आँखा। परेलामा रुझ्यो झमझम असार। सलहझैं हुरुरुरु उडेर खेतमा पुग्यो मन। रोपारहरुसँगै छुपुछुपु रोप्यो धान। समाहबाट छ्ङछङाँउदै झर्यो रहर। रोपार र ब्याडेहरुबीच उत्ताउलियो उमेरको रङ्ग। कहिले पानी छ्यापियो, कहिले हिलोमा हेलियो ज्यान। बीउका मुठ्ठामा मन पोको पारेर रोपारलाई रुझाउनुको मजा अर्कै हुन्छ।
गोरुले हिल्याएको हिलोमा दाँदे लागाउँदै हिलोमा छप्लङ्ग-छप्लङ्ग गोरु कुदाउनुको मज्जा अर्कै हुन्छ। बेठी बाजाको... डङ्कु!... डङ्कु!! आवाजमा रम्नुको मजा कुन शब्दमा वर्णन गर्न सकिएला र खै?
मुठ्ठ खाएर मुरी उब्जाउने महिना हो, असार। पसिना रोपेर, समृद्धि फलाउने महिना हो, असार। म हरेक दिन पसिनाका थोपाले धानका गाँजमा सिंचित गर्थें। मलाई खेतका गह्रा-गह्रामा समृद्धि उमार्ने रहर छ। मलाई मेरा उर्वर फाँटहरुमा सुनौला सौन्दर्य झुलाउने रहर छ। झरिमा लुथ्रुक्क भिजेर पसिनाको दबदबे हिलोमा रोप्न मन छ, हिउँदे सपनाहरू।
मन सधैं असार कहाँ हुन्छ? मन सधैं उर्वर कहाँ हुन्छ? यद्यपि मन कहिले भैदिन्छ पानी। कहिले-कहिले भैदिन्छ आगो। मन न हो, कहिले स्थिर बस्दैन। परिवर्तन भैरहन्छ मनको स्वरूप। आज मन असार बनेको छ। झरी, बादल र वर्षा बनेको छ। मन न हो, म कसरी बाँधेर राख्न सक्छु र? आज मन रोपाइँ गर्न झरिरहेको छ, गाउँखेत। मन रुझ्दै-भिज्दै बनेको छ, असार!
हल गोरु फुकाएर म झरिरहेको छु खेतका गह्राहरुमा। सारा दु:खहरु भुलिरहेको हुन्छु यतिबेला। माटोका सौन्दर्यमा सम्मोहित हुँदै गर्दा म साँच्चै पुलकित हुन्छु हावासँग। धर्तीभरी छरिएका सुकिला भुँइकुहिरोहरुसँग। प्रेमले मुस्कुराइरहेको प्रिय असारे कुमारी माटोसँग। म, हलोको अनौ समातेर कोरिरहेको छु खेतका सुनौला पानाहरुमा आशाका लहलह कविताहरु।
मलाई कविताका सुन्दर पंक्तिहरु र झरीमा छ्पक्कै भिजेको खेतका गह्राहरु उस्तै लाग्छन्। असारमा धानका गाँजहरुमा रोपिन्छ प्रेम। असार किसान र माटोबीच प्रेम मौलाउने महिना। असार धर्तीले हरियो पछ्यौरा पहिरेर समृद्धि मुस्कुराउने याम। असार धर्तीले शृङ्गार गर्ने महिना।
म सधैं असारमा भावुक हुन्छु। मेरो स्मृतिमा आइरहन्छ असारको सौन्दर्य। सधैं कानमा गुन्जिरहन्छ बेठीबाजा। पञ्चेबाजाको साइत गरेर रोपिन्थ्यो धान। बेठीको तालमा नाच्थे हली, लाठे, बाउसे, रोपार र ब्याढेहरु। आलि ठोक्नेहरु हुन् या बीउ बोक्नेहरु असारको दु:ख भुलिरहेका हुन्छन्। हलीहरुले हिलाम्मे पार्थे दबदबे हिलो। साउनेहरुले हुर्र-हुर्र गर्दै दौडाउँथे हलगोरु। फरियालाई घुँडासम्म सारेर रोपारहरु निरन्तर घन्काउँथे असारे गीत-
रोप न रोप रोपारै रानी म पँज्याईदिउँला बीउ
हलिलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घिउ।
असारै मास कुटेका च्युरा म कति साचुँला
सौताका हातका दुई कुडेकी भातमा म कति बाँचुला?
छिन्-छिनमा मौसमले आँसु चुहाउँथ्यो। म मुठ्ठीमा बीउको मुठा समातेर कल्पना गरिरहेको हुन्छु असार। मलाई खेतका गह्राहरु आवाद गरेको मनपर्छ। मलाई धानका हरिया फाँटमा हावाले बयेली खेलेको मनपर्छ। आज पनि जब झरीले मकैका पातमा मिठो संगित बजाउँदै धर्तीमा हिलाम्मे बनाउँछ, म असार सम्झन्छु।
कृषकहरुको महान् चाँड हो, असार। सारा दु:ख, वेदनाहरु हिलोमा गाडेर उमारिन्छ खुशी। सारा रीस, राग, द्वैष पर राखेर मैत्रीपूर्ण पालुवामा पल्ववित हुन्छ असार। हातमा हात जोडेर साथमा साथ जोडेर धानका गाँजमा मौलाउँछ एकता। हिलोसँग होली खेलेर जीवनलाई रङ्गमय बनाउँछ असार। असार ह्र्दयको चाड हो। एकताको महान प्रतीक हो, असार।
असार, समृद्धिको शिखारोहण गर्छ। असार वैभवको मिठो संकेत गर्छ। असार, प्रेमको अगणित पालुवा अङ्कुराउँछ। असार, जीवनमा जाँगर र उत्साहको सिञ्चन गराउँछ। असार, महिनाहरुको पनि गतिशील महिना।
आहा! कत्ति रमाइलो हुन्छ असार। कत्ति हार्दिक र स्मरणीय हुन्छ असार। प्रकृतिले जत्तिखेरै प्रेमको घुम्टो ओढेर लुकामारी खेलिरहेको हुन्छ आकाशसँग। आकाश पनि कहिले गडगडाउँदै कहिले हडबडाउँदै छल गरिरहेको हुन्छ धर्तीसँग। धर्ती र आकाशको प्रेमिल महिना हो यो असार। घाम र बादलभित्र अनेकौं लिलामा लिप्त हुन्छ प्रकृति।
यो धर्ती र आकाशको प्रेम विचित्रको हुन्छ असारमा। लैला-मज्नु, रोमियो-जुलियट, मुना-मदनझैं एक अर्कामा प्रेमालिङ्गनमा मस्त हुन्छ प्रकृति पनि।
म कल्पना गर्छु। जीवन किन असार बनेर रङ्गिन सक्दैन? असार र जीवनको तारतम्य खै कहाँनेर मिलिरहेको छैन? पटक-पटक बिग्रिएको हिसाबको उत्तरझैँ किन मिलिरहेको छैन, जीवन र असारको तारतम्य?
जीवन पनि असार भएर समृद्धि रोपिए हुने। धानका गाँजझैँ मौलिए हुने मानवीयताको लहलह गाँज। प्रकृतिका हजारौं उत्सवहरुमध्येको महाउत्सव हो, असार। धनधान्यको पाइतला हो असार। कृषकको पौरख र गौरव हो प्रिय असार।माटो रुमानी र कोमल बन्छ असारमा। माटो प्रेमिल र उर्वर बन्छ असारमा। कहिले पानीमा रुझिदिन्छ माटो, कहिले माटोमा डुबिदिन्छ पानी। बैंसले धप्प-धप्प बलेकी हुन्छे धर्ती। मात्तिएर गडगडाउँदै तप्प-तप्प चुहिरहेकी हुन्छे पानी। यो असार पृथ्वीले पनि गर्वाधारण गर्ने महिना। जहीँ-तहीँ हिलै-हिलो हुन्छ। जहीँ-तहीँ हरियै-हरियो हुन्छ। के युवा, के प्रौढ, के बालबालिका सबैलाई माटोको ममताले तान्छ। माटो शालीन, शान्त स्निग्ध र हार्दिक बन्छ असार।
दही-चिउरा पेटभरी खान पाइन्छ असारमा। असार आस्थाको प्रिय चाड हो। असार १५ मा खेतका आलीमा बसेर खाएको दही-चिउराको स्वाद भुलेर कहाँ भुल्न सक्छु र म?
आहा! कति मिठो स्वाद हुन्छ दही-चिउरा।
हा! कति रमाइलो हुन्छ असार महिना। हातमा होस् या पातमा, कति मिठो हुन्छ त्यो असारको भोक। बर्खे भिजेका ढुङ्गामाथि बसेर होस् या आलीमा टुसुक्क बसेर खेतलाहरुसँग बसेर खानुको मिठास छुट्टै हुन्छ। भोकमा जे पनि मिठो हुन्छ। आमाले पटक-पटक भन्नुहुन्थ्यो- 'भोजन होइन, भोक मिठो हुन्छ।' वास्तवमा यो भोक र भोजनको दर्शन म असारमा पढिरहेको हुन्छु।
म असारमा भोकबाट टाढा रहन्छु। मलाई धानका बीउले खेत रङ्गाउन मन पर्छ। मकैका पातमा उत्साह गाउन मन पर्छ। कोदाको लहलह बीउ भएर धर्तीको शोभा हराभरा बनाउने ध्याउन्न हुन्छ। मात्रै म सोचिरहेको छु, आहा! सधैं प्रिय छ मेरो जीवनमा असार महिना। म धर्तीको सौन्दर्य र मानिसहरुका समृद्धि जगाउने असारको महिना कसरी गरुँ?
मलाई जीवनको असार पहिल्याउनु छ। मैले हेरेक समय असार बनेर जीवनलाई उर्वर बनाउनु छ। पलपल जीवनलाई असारमा अनुवाद गर्नुछ।
जीवनको सौरव बनोस् असार।
जीवनको गौरव बनोस् असार।
जीवनको पौरख बनोस् असार।
मसँग असारलाई कुद्न सक्ने जोस, जाँगर र शिल्प छ। हृदयभित्र असारसँग जुध्नसक्ने अनुप ऊर्जा छ। अक्षय शक्ति र स्रोत छ। मनमा हरेकक्षण असार बनेर मंसिर भित्र्याउने आकांक्षा छ। बाह्र महिनामा म माग्थे भने असार रोज्थे/माग्थे। यो हृदयमा असारका असंख्य आशाहरु छन्। ती पिउरी-पिउरी परेका बादलझैँ हरदम यो मनमा मडारी रहने नौरङ्गी स्मृतिहरु छन्।
जब रेडियोमा बज्छ असारे गीत, म रोपाइँमा पुग्छु। बाहिर झमझम झरी परे म सम्झन्छु, असार। मेरो चेतनामा गहिरोसँग कुँदिएको छ, असार। असारका अनेकौँ यादहरु पिङ खेलिरहन्छ मनभित्र। सधैं तँछाड मछाड गरेर मनभित्र असारमा मडारिरहन्छ।
जीवनका तरङ्गहरुमा तैरँदै म सहर छिरेँ। सहरमा असारको रहर गर्नु व्यर्थ छ। कङ्क्रिटको यो घना जङ्गलमा हाम्रो धेरै संस्कृति ओइलिसके/खुइलिसके।
बाँचेका पिलन्धरे संस्कृतिहरु पनि केवल परालका खुट्टा टेकेर अर्धमुर्छित भएर बाँचेका छन। ब्यूँताउने जाँगर कसलाई पो छ र? सहरमा परसंस्कृतिको मौल्याई द्रुत छ।
पानी झमझम परिरहेछ। म आँखाभरी-आँखाभरी असार ब्युताएर सहरका सयनकक्षमा स्वान निन्द्रा निदाइरहेछु। यौवनकालीन असारमासका दिनहरु स्मरण गरिरहेछु। चनौटे बेसीमा असारको रमझम विशेष हुन्थ्यो। म चनौटे बेसीमा कहिले लाठे भएर आली ठोकिरहेको हुन्छु। कहिले हलि भएर झुले र माले गोरु कुदाइरहेको हुन्छु। मलाई रोपाइँमा रोपारसँगै असारे गीत गाउन मन छ। ब्याडेहरुसँगै ब्याडमा लहलह धानको बीउ काड्न मन छ। म हरेक गह्राहरुमा पानी पज्याँई रहेको हुन्छु। हिलो चलाइरहेको हुन्छु। रोपाइँको दिन बेठीबाजाको तालमा हिलोमा नाचिरहेको हुन्छु।
आज एकाबिहानै म झसङ्ग हुन्छु। बिहान सखारै भाउजू बसुन्धराले आज असार १५ दहीचिउरा खाने दिन होइनभन्दा! बसुन्धरा भाउजूले दहीको जोहो गर्न सम्झाएको बिहान म यो सिमेन्टको सुख्खा फाँटमा दहिचिउराको स्वाद कसरी लिउँ? खै उर्वर खेतीयोग्य जमिन? खै कहाँ छन् मेरा अर्मपर्मका रोपारहरुका सुकिला मुस्कान? लाठेहरुको हँसिलो मुहार?
खै कहाँ खोजुँ ती बुढी-बुढी ब्याढेहरुले गाएको जीवनका दु:खद असारे भाखा? कहाँ खोजुँ चिल्ला-चिल्ला सालको पातका बोहोता? कहाँनेर हेरौं दिनभर हलो र दाँदे कुदाएर उग्राई रहेका झुले र माले गोरुको हल? खै, कहाँ सुन्न पाउँछ यी दुई कानमा निरन्तर गुन्जी रहने बेठीका डङ्कु-डङ्कु लय?
सहरको फुक्को असार। बाबाले गाउँमा भन्नुहुन्थ्यो- 'असारमा प्रकृति रोइ-रोइ बस्छिन्, फकाउने त हाम्रो पाखुरीले हो।' कस्तो जीवन्त र यथार्थ छ यो वाक्यांश! आज रुन त सहरमा पनि प्रकृति रोइरहेकी छिन् तर प्रकृतिलाई कुन पौरखीले फकाउन सक्छ? कस्ले गर्न सक्छ धर्ती हराभरा पार्ने आँट?
गाउँमा कत्ति रमाइलो हुन्छ, असार। स्वर्गीय आनन्द, अनुपम र जीवन्त। यो सिमेन्टको घनघटाभित्र कहाँ खोजुँ असारको त्यो अनुपम क्षण।
मेरो आँखाको भित्री तहमा एउटा गहिरो र अमिट छाप कुँदिएको छ। त्यो हरेक साल असारमा कुनै फिल्मको चक्काबाट दृश्यहरु फुकेझैँ यसैगरी फुकिरहन्छ। हरेक असारमा म आँखाका तहमा कुँदिएको तस्वीर हेर्छु र सम्झन्छु प्रिय असार।
प्रत्येक क्षण हार्दिक छ असार। प्रत्येक पल स्वर्णिम छ असार। म त्यो धर्तीको सिर्जनशीलतालाई नमन गर्छु। हामीलाई प्राणदान गर्ने अन्नदाता पृथ्वीमा आस्थाले शीर झुकाएर नतमस्तक हुन्छु। मनभित्र सघन रूपमा मौलिरहेको छ असार! अनन्तः फैलिरहेको छ, असार।
असार उत्साह र उमंगको विशाल दर्शन हो। हरेक समय म धराभरी असार कुँदेर समृद्धिको मुस्कान मुस्कुराएको हेर्न चाहान्छु। हाम्रा हरेक चेतनाका गह्रा-गह्रामा फैलाउन चाहान्छु, सभ्यताको असार दर्शन। असार धर्तीको यौवन हो। यो असार सिर्जनाको सौरव हो। यो असार किसानहरुको गौरव र पौरख पनि हो। म बारम्बार घनचक्करमा डुब्छु, यो असार घनघटाको श्वेत पछ्यौरा ओडेर रुँदै-रुँदै किन आउँछे हरेक वर्ष? म निरुत्तर हुन्छु। कहिले घाम, कहिले पानी त कहिले बादल भएर हामीसंघ निस्फिक्रि जिस्किन आउँने हराभरा असारलाई स्वागत।
असार, पहरामा लहरा-लतिका भएर झुलिदिन्छे। पाखा पखेरामा अनेकौं रङ्गमा फूल भएर फूलिदिन्छे। पहाड-पार्वतमा झरना र छाँगाभइ झरिदिन्छे। हरिया कल्पवृक्षहरुका सुनौला मुनाहरुमा खुशीका सौन्दर्य बनेर खुलिदिन्छे। म असार देख्छु सधैं हराभरा! म जीवनलाई असारै-असार देख्छु सदासर्वदा।
असारमा हाम्रा आँखाहरु पल्लवित र हृदयहरु उद्वेलित हुन्छन्। यो असारमा मन लहलहाइरहेको हुन्छ। हातका रेखाहरुमा कर्मको मुस्कान मुस्कुराइरहेको हुन्छ। पहाडले इन्द्रेणीको गलबन्दी कसेर ठाँट्टिने महिना हो, असार। घाम-पानी र बादलको प्रेमिल लुकामारी चल्ने महिना हो, असार।
म अनुभूतिका अनेकौं भुल्काबाट भुल्भुलाउँदै उम्रन्छु असार। ती हजारौं असार स्मृतिहरुका बेर्नाहरु आम मानिसका पाखुरीमा सार्न पाए कस्तो हुन्थ्यो? असारका अनुपम खुसीहरु जोगाइरहन पाए कस्तो हुन्थ्यो? असारको सान्निध्यमा घुमिरहन पाए कत्ति आनन्द हुन्थ्यो। तर विडम्बना! आज मसँग असार असारजस्तो छैन। सहरमा असार निस्तो, फुक्को, बुकुल्टो र निस्सार छ।
यो सहरमा असारको कुनै उमंग हुँदैन। असार असारजस्तो हुँदैन। असार अनुभूत गर्न त अर्म-पर्म र मेलापात धाउनुपर्छ। खोला-खोलेसोमा बुर्कुसी मार्दै झरीमा-झमझम रुज्नु भिज्नुपर्छ। हस्तरेखा खियाएर हात भरी-भरी ठेला उठाउनु पर्छ।
सालको पातमा दही, चिउरा र आलुको तरकारी खाँदै बेठीको तालमा नाच्नुपर्छ। लहरै रोपारहरुसँगै हातमा हात र साथमा साथ मिलाउँदै गह्रामा हिलो खेल्नुपर्छ। ब्याडे बुढी आमाहरुको जीवन दर्शनका असारे गीत सुनेर रमाउँनुपर्छ। झमझम झरीमा रुझ्दै गाउनु पर्छ-
हरियो डाँडामाथि
हलो जोत्ने साथी
हह माले ह ह!
हो हो तारे हो हो हो .......
जनकवि केशरी धर्मराज थापाको यो चर्चित गीतले सधैं असार र रोपाइँ सम्झाउँछ। म निक्कैबेर भावुक हुन्छु। गीतमा पनि कत्ति शक्ति छ। यो कालजयी रचनालाई मनमनै नमन गर्छु।
असार अलिकति श्रमले सिँगार्नु पर्छ। असार अलिकति प्रेम र सद्भावनाले रङ्गाउनु पर्छ। असार अलिकति अर्मपर्म र अन्तर्सम्बन्धहरुले बचाउनुपर्छ। असार अलिकति संस्कृतीले जोगाउनु पर्छ। साँच्चै असार उत्पादन र उद्धमसँग जोड्नु पर्छ। अनि पो असार असार जस्तै हुन्छ।
म जीवनलाई असारभन्दा पर लैजान सक्दिनँ। असारमा म देख्छु आफ्नै जीवनको प्रतिच्छाया। असार जीवनको एक बिम्ब हो।
गम्छु, यो असारझैँ जीवन भइदिए कस्तो हुँदो हो? कर्ममा विश्वास गर्ने महिना हो, असार। अर्म-पर्म र पाखुरीमा विश्वास गर्ने महिना हो असार।
म सहरका हरेक नौ जवानहरुमा असार रोप्न चाहान्छु। माटोमा सिर्जनाका रङ्ग भर्दै मंसिरमा समृद्धिको भकारी कस्न चाहान्छु।
आज म बिर्सेर पनि बिर्सिन सकिरहेको छैन, गाउँको असार। हृदयमा उम्लिरहेको छ असार। आँखामा स्मृतिका अनेकौं भुल्काहरु उर्लिरहेको छ। यो निर्जन सहरका बन्द कोठाबाट स्यालुट, प्रिय असार!