Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, असार १०, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

अथक प्रयास

गोपाल चन्द्र भट्टराई

गोपाल चन्द्र भट्टराई

मंगले तामाङकी स्वास्नी औधी राम्री छे। कमसेकम मंगलेलाई त्यस्तो लाग्छ। २६/२७ वर्षको मध्य जवानीमा उसको शरीर र सौन्दर्य ढकमक्क फुलेको फूल झैं लाग्छ मंगलेलाई।

मझौला कद, पुष्ट छाती, गोरो वर्ण, बाटुलो अनुहारमा टाँसिएका चम्किला साना आँखा र अनुहारकै बीचमा टुसुक्क पलाएको सुलुक्क परेको सानो नाक आदिले उसको रूप लोभलाग्दो बनाएका थिए।

उसको कसिएको, पातलो र सुकुमारी शरीर हेर्दा कसैले अनुमान गर्न सक्दैनथ्यो कि ऊ सात वर्षे छोराकी आमा हो।

राम्री स्वास्नी पाएर मंगले खुसी छ तर उसको भित्री मनमा खुसीभन्दा पनि बढी एउटा डर वा चिन्ता छ। उसमा सधैं एक किसिमको आशंका रहन्छ कि कतै मेरी स्वास्नीलाई कसैले आँखा लगाइरहेको त छैन।

कतै कुनै धनी, प्रभावशाली वा बलिष्ठ व्यक्तिले कुनै प्रलोभन देखाएर, झुक्याएर वा ढाँटेर उसलाई फकाउँदै त छैन? कुनै दिन भगाइदिने त हैन? नभगाए पनि उसको शरीर बिटुल्याइनदिने त हैन? आफ्नी डोल्माको शरीर कुनै पराया व्यक्तिले गिजोलेको कल्पना सम्मले पनि उसको आङ सिरिंग हुन्छ। उसलाई लाग्छ आइमाईको त भर पनि हुँदैन, त्यसै बहकिएर कुनै झिल्के पठ्ठोसँग सल्किन पनि बेर छैन!

तर जब डोल्मा उसको अगाडि हुन्छे, उसको सम्पूर्ण आशंका, डर र चिन्ता त्यसै दूर हुन्छ। डोल्माको निर्दोष बोली, व्यवहार र उसको मंगलेप्रति निर्लिप्त समर्पण र माया देख्दा मंगले सधैं हार खान्छ र उसलाई आफ्नो आशंका ब्यर्थको लाग्छ।

हुनेखानेकी सुखसयलमा हुर्केकी छोरी भएर मंगलेसँग निम्न स्तरको जीवन ब्यतित गर्नुपरेको भए पनि उसले कहिल्यै त्यसको गुनासो गरेकी छैन। उसलाई सधैं मंगलेसँगै गुटमुटिन मन लाग्छ, मंगलेकै काखीको गन्ध मन पराउँछे, मंगलेसँगै हाँसो ठट्टा गर्दा उसको मुहार सबभन्दा बढी उद्विप्त हुन्छ।

मेलम्चीको मंगलेलाई ठेकेदारले घर बनाउने कामका लागि बाह्रबीसे लगेको थियो। घर बनिसक्न लगभग एक वर्ष लाग्यो। यो अवधिमा हँसिलो, खँदिलो र बैंशले भर्भराउँदो भएको मंगलेले त्यही घर मालिककी छोरी पट्यायो र त्यहाँबाट हिँड्दा आफूसँगै भगायो।

त्यसदिनदेखि आजसम्म डोल्मा उसको जीवनको सबभन्दा ठूलो प्राप्तिको रूपमा रहेकी छे। उसको शान, उसको गौरव, उसको आड भरोसा, साथी, मायालु, अर्धाङ्गिनी सबै डोल्मा नै हो।

एउटा भएको छोरो पनि सानैदेखि मावली घरमै बसेर हुर्किरहेको हुनाले उसको बाँच्ने आधार भनेकै डोल्मा हो। त्यसैले त उसलाई सधैं उसकी डोल्मालाई कसैले लगिदेला कि भन्ने डर लागिरहन्छ वा डोल्माले नै पो उसलाई छोडेर जान्छे कि भनेर अत्यास लागिरहन्छ। बेला बेला त ऊ कल्पना गर्छ कि डोल्मालाई लिएर टाढा कतै कसैले नदेख्ने ठाउँमा जान पाए पनि हुन्थ्यो जहाँ ऊ डोल्माप्रतिको आफ्नो एकछत्र स्वामित्व भोग गर्न पाउँथ्यो।

तर कल्पना गरेको जस्तो कहाँ हुन्छ र जिन्दगी!  गुजारा चलाउन मान्छेले सम्झौता गर्नैपर्छ। कामको शिलशिलामा हरेक दिन डोल्माले मान्छेका बन्द घरभित्र घण्टौं बिताउनु पर्छ।

‘के चैं गर्नु त आबो, देउताले निधारमै लेखेको छ भोने मोइले के नै गर्नु सक्छ र ?’ भनेर मंगलेले पनि सम्झौता गरेको छ।

अहिले पनि डोल्मा कामको शिलशिलामा बाहिर नै छे। मंगले मनमा अनेक तर्कना गर्दै डोल्मालाई नै पर्खेर बसिरहेको छ। उसको सधैंको आउने समय भैसक्यो तर आज अझै आइपुगेकी छैन।

‘हैन काँ मुन्टेको थ्यो र यतिखेर झुल्किँदैछ यो आइमी ? भोकले भुँडी खोल्मा भैसको, केही अत्तोपत्तो छैन यो बेलासम्म’ छाप्रो भित्रको अँध्यारोमा धुम्धुम्ती बसिरहेको मंगले टाउको निहुँराएर भित्र पस्दै गरेकी डोल्मालाई देख्ने बित्तिकै भुत्भुतायो।

‘अनि मोइलाई ढुकेर बस्नुपर्छ? भोक लाको मुन्छेले स्टोप बालेर भात बसाउँदै गर्दा त्यो डुँडुलो भाँच्थ्यो ?” भुइँमा पडिराखेको नाङ्लोमा आफूले लिएर आएको सागको मुठो राख्दै डोल्माले जवाफ फर्काइ र कोठाको बीचमा तुद्रुङ्ग झुण्डिएको स्विच थिचेर बत्ती बाली।

‘नगर्नु खोजेको हो र मोइले, तों नै हो एकछिन चुरुट बेगर बस्नु नसक्ने, सलाई लाइटर जति सप्पै आफ्नो पोल्टोमा राखी हिँड्ने, अनि के ले बाल्नु स्टोप? बाइर दोकान नि ड्यामडुम बन्द छ, अनि ढुक्नु परेन तोंलाई ’, मंगलेले स्पष्टिकरण दियो।

डोल्मा चुप लागी र हतार हतार पोल्टाबाट सलाई निकालेर स्टोभ बाल्न थाली। मट्टितेलको गन्ध कोठाभरि फैलियो र स्टोभ भररर आवाज निकाल्दै बल्यो। उसले नजिकै कुनामा रहेको पोलिथिन झोलाबाट दुई ट्वाक चामल निकालेर डढेर कालो भएको प्रेसर कुकरमा हाली, एकपटक पखाली र स्टोभमा बसाई।

घर बनाउन ल्याइएका इँटा र फल्याकहरू मिलाएर भुइँभन्दा अलि अग्लो खाट जस्तो बनाइएको ठाउँमा बसेर मंगले डोल्माका सबै कृयाकलापहरु हेरिरहेको थियो।

डोल्मा ऊ भएतिरै आई र पोल्टाबाट एउटा सानो पोलिथिन निकालेर उसको छेउमा राख्दै भुइँमा बसेर नजिकै भएको काठको बाकस खोल्न थाली।

मंगलेले पोलिथिन खोलिहेर्‍यो र सोध्यो, “हैन, यो नाग्रिता लेर काँ गाको थिस् हव, कि यो छाप्रोमा कति बस्नु भनेर घडेरी किन्नु लागिस् घर बनाउनुलाई ?” मंगले आफ्नो ठट्टामा आफैं हाँस्यो।

‘त्यो सुपिर्या दिदी छ नि, त्यो पुलिसको बुडी क्या त, हो उसले नाग्रिता लेराउनु भनेको थ्यो घरमा, तेइ भर लेर गाको नि, इन्सुरिन गर्देको रे तिम्रो र मेरो, कोरोना लागो भने एक लाख दिन्छ रे।’ डोल्माले गज्जबको कुरा सुनाई।

मंगलेलाई भने डोल्माको कुरामा अविश्वास हो कि शंका हो लागेर तुरुन्तै आफ्नो उत्सुकता दर्शायो, “ इन्सुरिन अरे? अनि कल्ले दिन्छ अरे कोरोना लागो भने एक लाख? कल्लाई लागो भने दिन्छ अरे?”

“सर्खारले दिन्छ नि, तिम्लाई लागे नि, मलाई लागे नि, तेई भन्थ्यो क्यारे दिदीले।”

“अनि सर्खारले कसरी था पाउँछ तोंलाई कोरोना भाको? कोरोनाले मोरी नै हाल्यो भोने के गर्नु एक लाखले ?” मंगले जान्ने पल्टियो।

“मोलाई के था त, सोध्नु नि आफैंले।” डोल्माले धेरै बोलिराख्न चाहिन र नागरिकता बाकसमा राखेर नाङ्लोको साग केलाउन थाली।

मंगले मनमनमा यो ‘इन्सुरिन’ बारे शंका उपशंका निकाल्दै उत्सुक भइरह्यो।

सुप्रिया अफिस जाँदा मंगले बसेको छाप्रोको छेउबाटै जाने हुनाले ऊ ९ बजेदेखि नै बाटोमा अल्याङ्टल्याङ् गर्दै सुप्रियालाई पर्खेर बस्यो। सवा ९ बजेतिर सुप्रिया स्कुटर चढेर आइपुगिन्। मंगलेले नमस्कार गर्‌यो। सुप्रियाले स्कुटर रोकेर भनिन्, “डोल्माले भनिन् होला नि, मैले तपाईंहरुको कोरोना इन्स्युरेन्स गरिदिएको छु।”                                                                         

मंगलेले टाउको कन्याउँदै भन्यो, “भन्न त भन्दैथ्यो तर तेस्ले केही कुरा बुझेछ जस्तो लागेन, यो के हो, कति पैसा लाग्छ केही थाहा भएन।”

सुप्रिया हाँसी र भनी, “यसमा केही बुझ्नु पर्दैन, तपाईंहरू दुई जनाको १२ सय लाग्ने हो, त्यो मैले नै तिरिदिएँ। यो इन्स्युरेन्स अबको १५ दिनपछि मात्र लागू हुन्छ। १५ दिनपछि एक वर्ष भित्रमा तपाईंहरुलाई क्यै गरी कोरोना संक्रमण भइहाल्यो भने त्यसको रिपोर्ट देखाएपछि एक जनाले एक लाख रुपैयाँ पाउँछ । केही थप कुरा बुझ्नु पर्‌यो भने म यहीँ छु, तपाईंहरूले सोधे भैहाल्छ।”

कुरा बुझेर मंगले खुसी भयो। उसको मनमा सुप्रिया प्रति जागेको कृतज्ञताको भावलाई उसले शाब्दिक अभिब्यक्ति दिने कोशिस गर्‌यो, “मैले कुरा बुझ्यो, हामी जोस्तो मन्छेको लागि हजुर्ले तेत्रो गर्देछ, मन भरेर आयो।”

“हैन मैले त्यत्रो ठूलो कुरा केही गरेकी छैन, इन्स्योरेन्स मै काम गर्ने भएकोले मैले सक्ने सानो सहयोग मात्र गरेकी हुँ । तपाईंले पनि त हाम्रो घर बनाउँदा कति सहयोग गर्नुभाको छ, डोल्माले पनि घरको काम पर्दा मलाई सहयोग गर्छिन् ”, सुप्रियाले हँसिलो पाराले भनी र तुरुन्तै स्कुटरमा हुँइकिई।

मंगले निर्माण मजदूर भएकोले कोरोनाको बन्दाबन्दीको कारण हाल फुर्सदिलो भएको छ।

उसको अहिलेको काम भनेको बन्दै गरेको घर र सोको लागि ल्याएर राखिएका सामानहरूको रखवाली गर्नु मात्र हो। सोही प्रयोजनका लागि निर्माणाधीन घरको कम्पाउण्डमा त्यही घर निर्माणका लागि ल्याइएका इँटा, जस्ता आदि सामानहरू भेला पारेर एउटा छाप्रो बनाइएको छ र त्यहीँ बस्छन् मंगले र डोल्मा। यसकारण कमसेकम उनीहरूले घरको भाडा तिर्नु पर्दैन।

यसरी आफू जहाँ काम गर्‌यो, त्यहीँ छाप्रो बनाएर बस्ने उनीहरूको जीवन शैली नै बनेको छ केही वर्षयता । एउटा घर बनिसक्न लगभग एक वर्ष लागिहाल्छ।

घर बनिसक्ने  बेलामा अर्को ठाउँमा काम खोजिराख्यो र त्यही ठाउँमा यसैगरी छाप्रो बनायो, बस्यो। पाँच वर्ष अघि सुप्रियाको घर बनाउँदा पनि उनीहरू यसरी नै एक वर्ष सुप्रियाकै कम्पाउण्डमा बसेका थिए। त्यही टोलमै लगातार निर्माण कार्यहरू भइरहेकोले उनीहरू सात आठ वर्षदेखि त्यहीँका रैथाने जस्ता भएर बस्दै आएका छन्।

 डोल्माको काम, ब्यस्तता र कमाइमा भने यो बन्दाबन्दीले कुनै प्रभाव पारेको छैन। वरपरका कुनै घरमा नियमित, कुनैमा हप्तामा एक दुई पटक लुगा धुने, सरसफाइ गर्ने लगायतका काम गर्छे ऊ।

एउटा घरमा लगभग दुई वा तीन घण्टा काम गर्दा सकिने भएकोले दिनमा तीन वटासम्म घरमा काम गर्न भ्याउँछे ऊ। श्रम  बापत सहमति अनुसार पाउने पैसाबाहेक कुनै घरले लुगाफाटो, कुनैले सब्जी, कुनैले खानेकुरा आदि पनि दिने भएकाले उसको कमाइ मंगलेको भन्दा बढी नै हुन्छ।

अहिले बन्दाबन्दीको बेलामा त उसैले मात्र घरखर्च धानेकी छ। मंगले त बस खायो, लुडो र बाघचाल खेल्यो, मोबाइलमा बज्ने एफ. एम. को समाचार सुन्यो, सुत्यो, टोलमा यताउता बरालियो –त्यत्ति छ उसको काम।

सुप्रिया गइसकेपछि जब मंगले एक्लै भयो, उसलाई त्यसै त्यसै यो एक लाख पाउने कुराले उद्विग्न बनायो। कसो कसो यो एकलाख आफ्नो एकदम नजिक भएजस्तो, आफूले सहजै पाउन सकिने सम्भावना भएको जस्तो उसलाई लाग्यो।

कोरोना लागेको रिपोर्ट देखाउनासाथ पैसा पाइने भन्ने इन्स्योरेन्स पोलिसी आकर्षक लाग्यो उसलाई।

नेपालमा कोरोना प्रवेश गरेको तीन महिना भन्दा बढी भइसकेकोले यससम्बन्धी चर्चा, बहस, सचेतनाका सन्देश, संसारभरिका समाचार उसले यति सुनिसकेको छ कि हिजोआज त उसलाई यो रोग खासै भयावह लाग्नै छोडेको छ।

उसले सुने बुझे अनुसार यो रोग लागेका एक सय जनामध्ये एक वा दुई जना मान्छे मात्र मर्छन्, , त्यसमाथि पनि त्यस्ता मान्छे मात्र मर्छन् जो पहिले नै अन्य गम्भीर रोगहरूले ग्रसित हुन्छन्, बलियो हट्टाकट्टा मान्छेलाई त कतिपय अवस्थमा रोगको लक्षण समेत देखा पर्दैन, लक्षण देखिए पनि चौध पन्ध्र दिनमा आफैं ठीक हुन्छ।

त्यसबाहेक अस्ति ऊ आफैंले एफ. एम. मा देशका प्रधानमन्त्रीले नै भाषणमा भनेको सुनेको थियो ‘नेपालीहरुको रोगसँग लड्ने क्षमता उच्च भएकोले कोरोनालाई सहजै परास्त गर्न सक्छन्, जो नेपालीहरू हालसम्म यो रोगले मृत्यु भएका भनिएको छ, उनीहरू पनि वास्तवमा अरु नै रोग लागेर मृत्यु भएका हुन्।’

आज बिहानमात्र उसले सुनेको समाचार अनुसार नेपालमा ८ हजार बढीलाई कोरोना लाग्दा २२ जना मात्र मरेका छन्, तीन सयमा एक जना जस्तो पनि भएन मृत्यु दर।

समग्र कुराहरू विश्लेषण गर्दा मंगले निचोडमा पुग्यो कि कोरोना लागिहाले पनि ऊ मरिहालिने हैन रहेछ।

राती निन्द्रा लागेन मंगलेलाई, छटपट गर्दै, कोल्टे फेर्दै अनेक थरि कुरा सोचेरै आधारात सम्म जागा बस्यो ।

आहा, उसलाई पनि कोरोना लाग्नु, रिपोर्ट देखाएर एक लाख लिनु अनि केही नभई निको हुनु, कस्तो गज्जब हुन्थ्यो ! एक लाख सानो तिनो रकम हो र, सय हजार ! त्यत्रो पैसा त उसले कमाएर जिन्दगीभरि पनि बचत गर्न सक्दैन होला।

ओहो, अहिले ऊसँग एक लाख हुने भए त ऊ के के गर्थ्यो होला! साँच्चै के गर्थ्यो होला ? के गर्नु नि, खुरुक्क गएर खर्दार बाजेको चार रोपनी जग्गा किन्ने थियो नि गाउँमा।

उसको जग्गासँगै जोडिएको एकदमै मलिलो तीन बाली लाग्ने खेत। खर्दार बुढाले मंगलेलाई केही समय अगाडि भनेका थिए, “ म सहरमा बस्छु, त्यो खेत मैले के गर्नु र? मलाई एक लाख दे,  त्यो जग्गा तेरो भयो, तेरो बाउ मेरो मिल्ने साथी र सहयोगी थियो, त्यसैले तँ किन्छस् भने दिन्छु, अरुलाई त पाँच लाख दिए पनि दिन्न, पुर्खाको सम्पत्ति, रहोस् त्यत्तिकै।”

त्यस पछिका केही दिनहरूमा मंगलेले अरु केही कुरा सोचेन, उसको मन मस्तिष्कमा बस यही एक लाख रुपैयाँ र त्यही गाउँको जग्गाले अड्डा जमाएर बसे।

यो जग्गामात्र उसको हुन्थ्यो भने ऊ यसरी अर्काको दास जस्तो भएर सहरमा भौंतारिने थिएन। तुरुन्तै गाउँ जान्थ्यो र मिहिनेतपूर्वक खेती किसानी गरेर बस्ने थियो।

उसको आफ्नो जग्गाको मात्र उब्जनीले गुजारा नचल्ने भएर पो ऊ गाउँ जान नसकेको हो,  खर्दार बाजेको यो जग्गामा समेत खेती गर्ने हो भने त वर्षभरि खान लाउन उसलाई कुनै समस्या हुने थिएन।  

मंगलेलाई सहर छोडेर गाउँमा गएर बस्न मन लाग्नुको मुख्य कारण चाहिँ उसकी डोल्मा नै हो।

उसलाई लाग्छ – सहरमा डोल्मा उदाङ्ग छे, जो कोहीले पनि आँखा लगाउँछ, आशक्त र कामुक नजरले हेर्छ, जिस्किने चेष्टा गर्छ र मौका मिल्यो भने फकाएर लैजान वा हातपात गर्न पनि बेर लगाउँदैन । जुन बाटो डोल्मा हिँड्छे, त्यहाँ टोलका लोग्ने मान्छे उभिएका छन् भने डोल्मालाई दुषित नजरले हेर्दै खासखुस गरेको जस्तो, हाँसेको जस्तो लाग्छ उसलाई।

कतिले त मंगलेलाई नै हाकाहाकी भन्छन्, ‘ कहाँ बाट ल्यायौ हो मंगले यति राम्री भाउजूलाई ?’ यो सोधाइमा डोल्माको सौन्दर्यको प्रशंसाभन्दा उनीहरूको कलुषित र फोहोरी अभिष्ट अभिव्यक्त भएको जस्तो लाग्छ उसलाई।

जवाफमा केही गर्न नसकेर ऊ ङिच्च हाँस्छ तर उसको मनमा क्रोधको महाअग्नी बलिरहेको हुन्छ। दुई वर्ष अगाडि डोल्मा एउटा घरमा काम गर्न गएकी थिई।

घरकी मालिक्नी बाहिर गएको मौका पारी मालिकले ढोका थुनेर डोल्मालाई हातपात गर्न खोजेछ, डोल्मा कसो कसो गरेर उम्केर आइछ। जब डोल्माले उसलाई यो सब कुरा बताई, उसको रगत उम्लेर आयो, तुरुन्तै गएर त्यो मान्छेलाई खुकुरी छप्काउन मन लाग्यो । तर यथार्थमा उसले डोल्मालाई त्यो घरमा काम गर्न नपठाउनबाहेक केही गर्न सकेन।

ऊ जस्तो सामान्य मजदूरले त्यत्रो भयंकर सामाजिक र आर्थिक हैसियत भएको मान्छेलाई के नै गर्न सक्थ्यो र ! आखिरमा ऊ निरीह भएर खुम्चिएर बस्यो। उसलाई आफू नामर्द भएको ग्लानीले अझै पोल्न छोडेको छैन।

त्यसैले एक लाख रुपैयाँले ऊ आफ्नी डोल्मालाई सहरका काला फोहोरी नजरबाट दूर लगेर सुरक्षित राख्न सक्छ। उसको सपना पूरा गर्न सक्छ । जिन्दगीको कायापलट गर्न सक्ने यो एक लाख उसको जीवनमा पहिलो पटक यति नजिकै आइपुगेको छ।

दुई हप्ता जतिको माथापच्चिसी र निरन्तरको आत्मबिश्लेषण पछि मंगले एकदिन निश्कर्षमा पुग्यो। उसले दायाँ बायाँ थप केही नसोची मनमनै दरिलो भएर निर्णय गर्‌यो- अब जसरी भए पनि ऊ आफूमा कोरोना संक्रमण गराउनेछ। उसले आफ्नो निर्णयमा अब अविचलित र दृढ रहने निश्चय  गर्‍यो। कोरोना संक्रमण तत्कालको लागि अब उसको एकमात्र लक्ष्य बन्यो – एकदमै निजी र गोप्य मिसन ।

मंगलेलाई थाहा छ के गर्दा कोरोना सर्छ। उसले अब आफूलाई फुक्काफाल छोड्यो । कोरोनाको डरले संसार त्राहीत्राही छ, चारैतिर लकडाउन छ, सबै आत्तिएका छन्, खुम्चिएका छन्, आ-आफ्नै घर, कोठा, चोटामा निसास्सिँदै थुनिएका छन्, अर्को मान्छेसँग भेट्न, बोल्न, हात मिलाउन, अंकमाल गर्न छोडेका छन्, यहाँसम्म कि आफ्नै श्रीमान् वा श्रीमतीलाई पनि मनमनै शंका गर्दै घुलमिल हुन हिच्किचाइरहेका छन्।

ऊ भने कोरोना संक्रमित हुने उत्कट अभिलाषाका साथ बेलगाम बुर्कुसी मार्न थाल्यो। बिहानै उठेर चोक गल्लीमा मान्छे जम्मा भएका छन् कि भनेर  खोज्दै हिँड्न थाल्यो, एकछिन खाना खान आफ्नो छाप्रोमा आएपश्चात् फेरि दिनभरि भौंतारिन थाल्यो, जहाँ मानिसको भीडभाड र चहलपहल छ, ऊ त्यहीँ गएर मिसिन थाल्यो।

बिहान-बेलुका खाद्यान्न र तरकारी पसलहरूमा लाग्ने हुलमा बिनाकाम उभियो, अस्पतालहरूमा संक्रमणको सम्भावना बढी भएको बुझेर ऊ नजिकैका अस्पतालहरूका इमर्जेन्सी वा अन्य मानिसहरूको ओहोर दोहोर हुने ठाउँहरूमा त्यसै अल्याङ् टल्याङ् गरेर बस्यो।

हुँदाहुँदा सहरको एउटा कुनामा मानिसहरूलाई  क्वारेन्टिनमा राखिएको स्थानसम्म पुग्यो, वरिपरि कम्पाउण्ड लगाएको हुनाले ऊ गेटबाट भित्र प्रवेश गर्न खोज्यो तर त्यहाँ उभिएको प्रहरीले लखेटेपछि ऊ निराश भएर फर्कियो।

उसले मास्क लगाएन, हात धोएन, पटक पटक नधोइएको हातले मुख सुम्सुम्यायो, आँखा मिच्यो, रुपैयाँका नोट हात पर्दा सबै भन्दा पहिले आँखा र मुख छेउछाउ दल्यो, चिसो पानी मात्र पियो, श्रीमतीलाई केही दिन तरकारीमा बेसार र अदुवा नहाली पकाउन मनायो र अन्य के गर्दा संक्रमणको सम्भावना हुन्छ भनेर उसले जानेका सबै काम गर्‍यो।

नहुनेलाई दैबले पनि साथ दिँदैनन्। एक महिना भयो, अथक प्रयासको बावजुद पनि अझैसम्म मंगलेले आफूलाई कोरोना संक्रमित तुल्याउन सकेको छैन। तर ऊ हार्ने वाला छैन, यही कोरोनाबाट संक्रमित हुने बाहेक तत्काल उसको अर्को केही काम पनि छैन, त्यसैले अब लक्ष्य प्राप्त नभएसम्म उसले दत्तचित्त भएर आफ्नो कर्तव्य पथमा लम्किरहने निश्चय गरेको छ।

प्रकाशित मिति: शनिबार, असार ६, २०७७  १२:४१
सिफारिस
अमेरिकाबाट डिपोर्ट गरिएका भुटानी शरणार्थी भन्छन्– नेपाल सरकारको निर्णयले फिनिनी घुमेजस्तै भएँ!
अमेरिकाबाट डिपोर्ट गरिएका भुटानी शरणार्थी भन्छन्– नेपाल सरकारको निर्णयले फिनिनी घुमेजस्तै भएँ!
अब इरानको आणविक कार्यक्रम के हुन्छ?
अब इरानको आणविक कार्यक्रम के हुन्छ?
किन बोलायो एमालेले सचिवालय बैठक
किन बोलायो एमालेले सचिवालय बैठक
अब ऋणीलाई समय दिनु नै उत्तम विकल्प
अब ऋणीलाई समय दिनु नै उत्तम विकल्प
आज स्थानीय तहको बजेट, काठमाडौं महानगरले भने अझै बोलाएन बैठक
आज स्थानीय तहको बजेट, काठमाडौं महानगरले भने अझै बोलाएन बैठक
उडान रद्द भएपछि विमानस्थलमा यात्रुको बिचल्ली (तस्बिरहरू)
उडान रद्द भएपछि विमानस्थलमा यात्रुको बिचल्ली (तस्बिरहरू)
कानको फोहोर किन फाल्नु हुँदैन?
कानको फोहोर किन फाल्नु हुँदैन?
कतारको अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल
कतारको अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, छानबिनको जिम्मा पूर्व मुख्यसचिव वैरागीलाई
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, छानबिनको जिम्मा पूर्व मुख्यसचिव वैरागीलाई
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

त्यो ढिला थाहा पाएको प्रेम!
घमण्डी आभा!
म रुखसँग कुरा गर्न सक्छु!
बिरामी समय!
म शरणार्थी!
एक्लो मान्छे!

विचार

चेतनाथ आचार्य
अरनिको खोज्दैछ बेइजिङ चेतनाथ आचार्य
जीवन क्षेत्री
तीन गुरूहरू कृष्णमूर्ति, ओशो र आचार्य प्रशान्तलाई सुनेपछि... जीवन क्षेत्री
गोकर्णप्रसाद उपाध्याय
यहाँको बट्टारदेखि त्यहाँको उलानबटारसम्म गोकर्णप्रसाद उपाध्याय
डा. नूतनधर शर्मा
ललितपुरमा देखिने बौद्ध चारधाम यात्राको झलक डा. नूतनधर शर्मा

ब्लग

अमृत ढकाल
मकै, ट्याम्पो, चिया पसल र इन्ड्राइभका गुनासा... अमृत ढकाल
विश्व पाण्डे
यदि म सरकारी जागिरे भएको भए! विश्व पाण्डे
गिरीश ठगुन्ना
पढ्ने भनेको पुस्तक मात्र हो, पढाउने भनेको शिक्षकले मात्र हो! गिरीश ठगुन्ना
दीपशिखा अर्याल
सबै जना अट्ने समिना दिदीको एक कोठे घर! दीपशिखा अर्याल

साहित्यपाटी

शान्तिप्रसाद जोशी (मुस्कान)
त्यो ढिला थाहा पाएको प्रेम! शान्तिप्रसाद जोशी (मुस्कान)
कविता कार्की
घमण्डी आभा! कविता कार्की
सन्दीप बस्याल
म रुखसँग कुरा गर्न सक्छु! सन्दीप बस्याल
नवराज जोशी
बिरामी समय! नवराज जोशी

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली
विदुर दाहाल
आगामी बजेटमा स्वास्थ्य बिमाको दायरा बढाई बिमा कार्यक्रम प्रभावकारी बनाऊ सरकार! विदुर दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP