पट्यारलाग्दो नहोला भन्न सकिन्न यदि मैले सुरूदेखिको मेरो कुरा सुनाउन थालें भने।
इतिहास,आत्मकथा,जीवनी यसै पनि सर्वथा सत्य हुन सक्दैनन्। अभिमानले भरिएका हुन सक्छन्।
आत्मरतिमा बेढंगसँग उठान गरिएका हुन सक्छन्। तिनीहरू सदैव रसिला पनि हुँदैनन्। तिनीहरू सबैलाई रुचिकर पनि हुँदैनन्।
यसैले मेरो कुरा धेरै नगरौं। तै पनि विषय प्रवेशका लागि संसारमा सनसनी मच्चाउनेहरूको पङ्क्तिमा म पनि थिएँ मानौं।
नपत्याउँदा नपत्याउँदै चर्चाको शिखर उक्लिएको, चिरपरिचित भएको, संसारलाई मुठ्ठीमा कस्न सफल भएको, विश्वलाई चकमन्न पारिदिएको म साना-ठूला, धनी-निर्धन, टाढा-नजिक केही नभनी विश्व भ्रमणमा निस्किएको थिएँ।
मेरो पछिपछि लागिरहेका वैज्ञानिकजनहरूले मेराविरूद्ध अनेक बहसहरू चलाए।
प्रतिरोधका अनेक उपायहरू सुझाए भने- यसो गरे कोरोना सर्दैन। यसो गरे कोरोनाको फैलावट रोक्न सकिन्छ। यसो गरे नियन्त्रणमा लिन सकिन्छ। उनीहरू पनि आखिर अनुमान न गरिरहेका थिए।
उनीहरूका तथाकथित अनुसन्धान, परीक्षण र व्याख्याहरू शतप्रतिशत मिल्नुपर्छ भन्ने थिएन। उसो त उनीहरूका सबै अनुमान मिल्नु पर्ने के थियो र?
अनुमानहरूले मेरो बारेमा बताइएका लक्षणहरू समेट्न सकेनन्। कतिलाई मैले कुनै लक्षण दिइनँ। कसैको नाकलाई असर भयो, कसैको कानलाई, कसैको पेटलाई, कसैको फोक्सोलाई।
यस्तै एकचोटि बिरामी परेको कुनै मान्छेलाई चार दिनमा मुक्त गरिदिएँ, कसैलाई चार महिनामा। सबभन्दा गोप्य कुरा मान्छेहरूले अनुमान गरेजस्तो म केबल नाक, मुख र आँखाबाट मात्र होइन अरु थुप्रै तरिकाले फैलिन सक्थें र फैलिरहेको थिएँ।
मैले उनीहरूलाई खुसुक्क यसो गरे सर्छु, यति मिटर फैलिन्छु, यस्ता ठाउँमा रहन्छु भनेर भनेको थिइनँ। तर उनीहरूले मेरो जीवनीको व्याख्या गर्न छोडेनन्।
मेरोबारे जम्मै कुरा त मलाई मात्र थाहा हुनु स्वभाविक थियो। मैले भनिहिँड्ने कुरा पनि त भएन।
केसम्म भयो भने नि स्वास्थ्य मन्त्रालयले मेरोविरूद्ध विधेयक तयार पाऱ्यो। स्वास्थ्य मन्त्रालयले तयार पारेको त्यो विधेयक संसदमा विचाराधीन थियो। यो विधेयकको मूल ध्येय ममाथि प्रतिबन्ध लगाउनु थियो।
ममाथि नेताहरू खनिएका थिए। मलाई सुरूमा बेवास्ता गरेको स्वास्थ्य मन्त्रालयले अकस्मात् बनाएको विधेयकमा सधैं दशथरि बखेडा गर्ने सबै सांसदहरू एकमत भएका थिए। शतप्रतिशतले पक्षमा मतदान गर्ने पक्कापक्की थियो।
त्यसैगरी सडक तातेको थियो। जनलहर उठेको थियो। जनदबाब मेरो विरोधमा होइन कि यो विधेयकको प्रतिरोधमा थियो। यस्तो जनविरोधी विधेयकको कुनै तुक नभएको भनी आमरण अनसन बस्ने युवाहरूले सहरका सडक भरिन थाले।
यस्तैमा केही बाठाहरूले अदालतमा मुद्दा हाले। तत्कालै विधेयक रोक्ने अन्तरिम आदेशको माग गर्दै। तर अदालतले सार्वजनिक हितमा आएको यस्तो विधेयक रोक्न नमिल्ने भनेर दर्ता नगरी फर्काइदियो।
विधेयक पारित गराउन मन्त्रालयले आन्दोलनमा पनि घूसपैठ गराएको थियो। सरकारले हर तरहले सडकमा उठेका नाराहरू दबाउनु थियो। साम, दाम, दण्ड, भेद सारा नीति अख्तियार गरिएको थियो।
ज्ञानी पाठकवृन्द, समय समयको कुरा न हो। समयले कोरोनालाई समेत कहाँ-कहाँ पुऱ्याउने तागत राख्दोरहेछ। म के थिएँ र के भएँ।
समयको चक्रमा भाइरसको म्युटेशन हुनु स्वभाविक हो। तर यस खालको म्युटेशन होला भन्ने मैले सपनामा पनि सोचेको थिइनँ।
मेराविरूद्ध उभिएका सारा विवेकी जनहरू मेरो निषेधमा आएको विधेयकको विपक्षमा हुनुको कारण यही म्युटेशन थियो। उत्परिवर्तन अथवा म्युटेशन आम भाइरसहरूको नियति हो।
म पनि सदा एकै रहन सक्तिनथें। विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो वक्तव्य पढ्नुभएका प्यारा पाठकहरूलाई जानकारी नै होला एक्कासि ममा रहेको प्रोटिन र मानव शरीरमा त्यो प्रोटिनले ग्रहण गर्ने रिसेप्टर तन्तुको सम्बन्धमा असोचनीय उत्परिवर्तन भएको थियो।
यसैले त मेरो आन्तरिक गुणहरू, लक्षणहरू र संक्रमणका पुराना अवस्थाहरू फेरिए। म जे थिएँ त्यो रहिनँ। त्यसैले त गन्यमान्य सदस्यहरू एक्कासि एकमत भएर रातारात विधेयक तयार पार्न पुगेका थिए र विधेयकको पक्षमा कर्मचारीतन्त्र, अदालत र सम्बन्धित निकायहरूलाई वशमा पार्न अहोरात्र खटेका थिए अनि आम सर्वसाधारणहरू मेरो पक्षमा खुलेआम लागिपरेका थिए।
यता मानव सभ्यताकै पतनका लागि कोरोना लागिपरेको नकारात्मक प्रचारबाजी गर्दै थिए भने रसातलमा डुब्न लागेको देशलाई उकास्न कोरोना बादलको बीचमा चाँदीको घेरा बनी आएको भन्नेहरू थिए।
विधेयकका बुँदाहरूमा मेरा लागि वातानुकूलित तमाम कार्यालयहरू निषेधित क्षेत्र थिए।
व्यापारिक केन्द्रहरूमा प्रवेश निषेध थियो। मलाई गाउँपाखा, खेतबारी, साना टोलहरू, सडकका छेउहरू, झुप्रे गल्लीहरू, खोलाका बालुवाविहीन बगरहरू, रूखका छहारीहरू, पसिनाले भिजेका ठाउँहरूजस्ता स्थानहरू छोडेर एक इञ्च पनि दायाँबायाँ नगर्न र नगराउन परिपत्र गरिने उल्लेख थियो।
पछिल्लो उत्परिवर्तनको कारण म यस्ता ठाउँहरूका आम मान्छेहरूमा पस्न र संक्रमण गर्न असमर्थ भइसकेको थिएँ।
यसको विपरीत भ्रष्टाचारी सोचाइ मेरो रिसेप्टर तन्तु भएकोले भ्रष्टाचारीहरू रोगको उच्च जोखिममा थिए। त्यस्ता मान्छेहरू लक्षित वर्ग भए जो भ्रष्टाचार गर्दथे, गर्ने ध्याउन्नमा थिए वा गरिसकेर पनि सुशासनका प्रवचन दिन व्यस्त थिए। उत्परिवर्तनको दोस्रो दिनसम्म पैंतालीस जना यस्तै व्यक्तिहरू लक्षणै नदेखिई मरिसकेका थिए। अनि भएनन् त सबै त्राहिमाम?
आन्दोलनहरू मत्थर पार्नका लागि जनमत संग्रहमा सहमति जुट्यो। अन्ततः प्रायोजित जनमत संग्रहमा विधेयक पारित गर्नैपर्ने निर्णय सार्वजनिक गरियो र प्रायोजित खुसियाली सभाहरूमा मेरो समाप्तिको घोषणा गरियो।
***
पाठकवृन्द, तर म सकिएको छुइनँ। म भेटिएको छु, एउटा हावादारी लेखकको लेखिँदै गरेको आख्यानमा, जसको एक अंश भर्खरै पढिहाल्नुभयो, प्रतीक्षा गर्नुहोला है!