Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, चैत ९, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

सहिद

Royal Enfield
Royal Enfield
डा. राजु अधिकारी

डा. राजु अधिकारी

gibl
gibl
gibl
gibl
डा. राजु अधिकारी।
डा. राजु अधिकारी।
Tata box 1
Tata box 1

माघको महिना, व्यापार त्यति धेरै थिएन, पारिलो घाममा आफ्नो ढेब्लीको अगाडि राखेको पुरानो र मक्किएको काठको मेचमा बसेर म बदाम खाँदै थिएँ। यो सहर परिवर्तनको संवाहक हो। आफू त्यति धेरै परिवर्तन नभए पनि देशका ठूला-ठूला परिवर्तनमा यसले निर्णायक भूमिका खेलेको छ। सहरको यो चोक ती सबै परिवर्तनको साक्षी हो।

हरेक परिवर्तनका नारा जुलुसहरु यही चोकबाट सुरु भएर यही चोकमै अन्त भएका छन्। यो सहर जस्तै यो चोक पनि वर्षौंदेखि नारा जुलुसहरुमै अस्तव्यस्त भएर आफ्नो जीवन गुजारा गर्दै छ, कुनै ठूलो परिवर्तन नभएर।

३६ सालको विद्यार्थी आन्दोलन होस् या ४६ सालको प्रजातान्त्रिक आन्दोलन अथवा माओवादी विद्रोह या ६२ सालको लोकतान्त्रिक आन्दोलन नै किन नहोस्, यो सहर र यो चोकले सबै आन्दोलनमा योगदान दिएको छ। सानोतिनो योगदान मात्र हैन, आन्दोलनमा यसले आफ्ना कति सन्तानहरुको बलि पनि चढाएको छ। मैले यो सहरमा पाइला टेकेको पनि एक दशकभन्दा धेरै भैसकेको छ। यही सहरलाई मैले आफ्नो कर्मथलो बनाएको छु- चोकमा एउटा ढेब्ली थापेर।

सहरका सबै कुना-कुना त मैले चहारेको छैन तर यो चोकका धुलाका कण कणहरु पनि मसँग परिचित छन्। यो चोकमा घटेका एक-एक घटनाहरु मेरो मानसपटलमा जीवित छन्।

बदामका खोस्टा भुईंमा फ्याल्दै एउटा एउटा गेडा बदाम मुखमा हाल्दै म त्यत्तिकै टोलाइरहेको थिएँ। परबाट एउटा जुलुस आउँदै थियो। जुलुस यो सहरको लागि नौलो थिएन र अझैं पनि नौलो छैन। अहिले अलि कम भएको छ, पहिले-पहिले त महिनामा कति जुलुस निस्कन्थे कति, गनेर पनि साध्य हुँदैनथ्यो। त्यसैले केको जुलुस भनेर खुट्याउन मलाई मन लाग्दैन।

‘आज फेरि केको जुलुस रहेछ?’ मेरो ढेब्ली नजिकै सधैं ठेलामा सुन्तला बेच्नेले मलाई सोध्यो। उसले पनि धेरै वर्षदेखि यही चोकमा फलफुल बेच्ने गरिरहेको छ। हामी दुवै राम्रा साथी बनेका छौं।

मैले सुनेँ, जुलुसमा नारा लाग्दै थियो ‘अमर सहिद जिन्दावाद’।

‘आज सहिद दिवस हो क्या रे’ मैले अचानक सम्झिएँ। ऊ केही बोलेन। तर आफ्नै बोलिले मेरै मन झस्कियो। सहिद भन्ने एक शब्दले मात्रै पनि मेरो मन झस्किन्छ, मुटुको धड्कन बढ्छ।

***

Ncell
Ncell

त्यो दिन पनि त्यसैगरी जुलुस आउँदै थियो। माघ कै महिना थियो, त्यस्तै पारिलो घाम। तर नेपाल बन्दको दिन थियो। त्यो बेला नेपाल बन्द हुनुभन्दा नहुनुमा आश्चर्य हुन्थ्यो। बन्द भएकोले ढेब्ली खोल्ने मेरो आँट थिएन। तर बन्द भए पनि सुनसान थिएन। अरु दिनभन्दा झन् बढी रौनक थियो। म यो सहर पसेर ढेब्लीमा बस्न थालेपछि नारै नाराले मात्र गुन्जिएको देखेको थिएँ यो सहर। कुनै न कुनै निहुँमा केही न केही नारा गुन्जिरहन्थे।

त्यो दिन पनि त्यसैगरी नै नाराजुलुस गर्दै भीड अगाडि बढेको थियो। जुलुसलाई रोक्न प्रहरीहरु लामवद्ध उभिएर मानव साङ्लो बनाएका थिए। तर जुलुसको शक्तिको अगाडि विचरा प्रहरीहरु निरिह लाग्थे। तैपनि आफ्नो सबै शक्ति लगाएर उनीहरुले जुलुसलाई रोक्ने प्रयत्न गरिरहेका थिए। त्यो दिन नेपाल बन्द आयोजनासँगै दलहरुले राजाको शासनको विरोधमा नारा जुलुस र सभा गर्ने कार्यक्रम थियो। हरेक घरबाट कम्तीमा पनि एक जना सहभागी हुनुपर्ने अघोषित उर्दी थियो।

राजाको विरुद्ध आन्दोलन सुरु भएको धेरै भैसक्दा पनि आन्दोलनले कुनै आकार र गति लिन नसकेपछि पिरमा परेका दलहरुले कि वार कि पारको नीति लिएर राज शाही विरुद्ध अन्तिम युद्ध छेंड्दै थिए। हजारौं मान्छे मारेर शान्ति प्रकृयामा आएका माओवादीदेखि शान्तिको आन्दोलन गर्ने प्रजातन्त्रवादीहरुले एउटै मोर्चा बनाएर आन्दोलनमा होमिएपछि आन्दोलनले गति लिँदै थियो।

‘साहुजी एक पोका गुट्खा दिनुस् त’ भनेर खल्तीबाट दश रुपैयाँ निकालेर मलाई दिंदै उसले भन्यो। मैले ढेब्लीमा ऊ जस्ता ग्राहकहरुको लागि चाहिने सबैजसो सामानहरु राखेको हुन्थें। ऊ मेरो नियमित ग्राहक थियो। म जस्तै यो सहरलाई आफ्नो कर्मथलो बनाएको एउटा अर्को मान्छे। मैले ढेब्लीमा पसल गरेको थिएँ, ऊ भने त्यही चोकमा भरियाको काम गर्थ्यो। भरियाको काम गर्ने भएकोले काँधमा नाम्लो उसको चिनारी थियो।

त्यही २५-३० जति उमेरको हुँदो हो तर उमेरभन्दा अलि बुढो देखिन्थ्यो। मैलो टोपी, दुई तीन ठाउँमा च्यातिएको पुरानो ज्याकेट, त्यो भित्र एउटा सर्ट अनि कम्मरमुनि पुरानै देखिने मैलो पाइन्ट। जस्तो जाडोमा पनि जुत्ता लगाएको मैले देखेको थिइनँ, सधैँ नै चप्पलमा हुन्थ्यो।

उसको काँधमा सधैं देखिने नाम्लो नदेखेपछि मैले सोधेँ ‘आज तेरो बरियो कता-कता गयो नि?’ मैले नाम्लोलाई उसले बरियो भन्छ भन्ने सिकिसकेको थिएँ। आफ्नो नियमित ग्राहक भए पनि मलाई उसको नाम समेत थाहा थिएन। आफूलाई ऊभन्दा ठूलो जस्तो ठानेर मैले उसलाई ‘तँ’ नै भनेर सम्बोधन गर्थें, ऊ चाहिँ मलाई ‘साहुजी’ भन्थ्यो।

‘नेपाल बन्द भएपछि मेरो बरियो पनि बन्द गर्नु परेन? आज नेपाल बन्द भन्ने थाहा पाएर पनि किन बरियो बोकेको भनेर जलाइदिए भने अनि भोलिदेखि केले हो खाने?’ उसले बन्दकर्ताहरुलाई राम्रै व्यङ्ग्य गर्दै मेरो प्रश्नको उत्तर दियो।

उसको कुरा व्यङ्ग्यात्मक लागे पनि सत्य थियो। गरि खानेहरुलाई नेपाल बन्दले निकै सताएको थियो। आफू पनि ढेब्ली बन्द गरेर त्यत्तिकै बस्नुपर्दा मनमनै म बन्दकर्ताहरुसँग मुर्मुरिएको थिएँ। उ जस्ता नियमित ग्राहकहरुको लागि चुरोट, खैनी, गुट्खा जस्ता केही सामानहरु मैले बाक्लो ज्याकेटको गोजीमा राखेको थिएँ। त्यसैबाट निकालेर मैले उसलाई गुट्खा दिएँ।

स्कूल, क्याम्पस, अस्पताल, पसल सबै बन्द थिए। यातायातको नाममा साइकल पनि चल्न पाएका थिएनन् तर गाउँ गाउँबाट बन्दकर्ताहरुले बसका बस आफ्ना कार्यकर्ताहरु जुलुस र आम सभाको लागि उतारेका थिए, त्यसमा बन्दले केही असर गरेको थिएन।

‘नेपाल बन्द भएको भए घरमै नबसेर किन यहाँ आइस् त?’ मैले उसलाई जिस्काउँदै सोधें।

‘घरमा बसेर पनि के गर्ने? न स्वास्नी छे, न छोराछोरी छन्। न काम गर्नको लागि जग्गा जमिन छ। बरु बजारमा यसो जुलुस हेर्न पाइन्छ’ गुट्खा मुखमा हालेर छेउतिर फर्केर प्याच्च थुक्दै उसले भन्यो।

मैले उसको व्यक्तिगत जीवन बारेमा उसलाई केही सोधेको थिइनँ तर जब रक्सीले मातेर ऊ कराउन थाल्थ्यो, आफ्ना सबै कुरा आफै बताउँथ्यो। कसैले सोध्नै पर्दैनथ्यो।

मलाई थाहा भएअनुसार खोला पारी पर्ती जग्गामा उसले सानो झुपडी बनाएको थियो। बिहे गरेर ल्याएको एक वर्ष पनि नपुग्दै श्रीमती चार महिना जति पहिले आवारा केटोसँग पोइल गएकी थिई। आफ्नो स्वास्नी भगाउने जारलाई ‘भेटें भने काट्छु’ भन्थ्यो रक्सीको झोंकमा।

फेरि एकपटक प्याच्च भुइँमा थुक्दै म बसेको मेचको खालि ठाउँमा बस्दै उसले भन्यो, ‘यी बन्द गराउनेहरुलाई मैले पिट्न पाउने हो भने त मैल उल्टो झुन्ड्याएर सिस्नो पानीले चुट्थें होला। न आफूले काम गरेका छन् न हामी जस्ता काम गरी खानेलाई काम गर्न दिन्छन्।’

हो, उसले आफूलाई काम गरी खानेको वर्गमा राख्थ्यो। रक्सीको नशा लागेको बेला मलाई समेत उसले ‘ठगेर खाने व्यापारी’ भनेर गाली गर्थ्यो।
‘खासमा आफ्नो पाखुराको कमाइ खाने भनेको हामी मात्रै हो। तिमीहरु व्यापारी पनि एक रुपैयाँको सामान दश रुपैयाँमा बेच्छौ। कामै नगरी खान्छौ। माओवादीको त झन् के कुरा? लुटेर खान बानी लागेको छ। सम्पत्ति मात्रै लुटे त हुन्थ्यो, मेरो त स्वास्नी नै लुटे पापीहरुले।’

हो, उसकी श्रीमती लुट्ने पनि माओवादी हुन् भन्थ्यो उसले। उसको तर्क थियो- यिनीहरुले देश अस्तव्यस्त पारे अनि ऊ जस्ता दिनदिनै काम गरेर मात्र चुल्होमा आगो बाल्न पाउनेहरुका लागि बन्द हड्तालले निकै सताएको थियो। स्वास्नी पाल्न पनि नसक्नेले किन बिहे गर्नु भनेर घरमा श्रीमतीले सुनाउन थालेपछि एकदिन रीसको झोंकमा दुईचार झापड लगाइदिएछ। श्रीमती पनि के कम? जन अदालतमा गएर लोग्ने विरुद्ध मुद्दा हालिछ।

एक दिन राति जन अदालतका तीन जना न्यायाधिसहरु आएर उसलाई पिटेछन् र अबदेखि श्रीमतीलाई पिट्ने छैन भन्ने कागतमा सही छाप गर्न लगाएर गएछन्। त्यो दिनदेखि श्रीमतीसँग उसको सम्बन्ध झन् बिग्रियो, अन्तमा तिनै ‘न्यायाधिस’ मध्येको एक जनासँग उसकी स्वास्नी पोइल गई।
‘एक बोतल सुटुक्क निकालेर दिनुस् न साहुजी, आज त सुख्खै छ बिहानैदेखि’ कानेखुशी गर्दै उसले मलाई भन्यो।

‘अहिले तेरा बाउहरुले देखे भने मेरो ढेब्ली जलाउँदैनन्?’ मैले दिन इन्कार गरें।

‘नखाएपछि त दिनै अध्यारो हुन्छ के मेरो। सुटुक्क दिनुस् न, कसले थाहा पाउँछ र?’ उसले मलाई फकाउन खोज्दै भन्यो।

‘एक दिन नखाए तेरो पैसै बच्छ। न खा आज’ मैले सल्लाह दिएँ। मलाई पनि त्यस्तो बेलामा ढेब्ली खोलेर खतरा मोल्नु थिएन।

‘पैसा बचाएर के गर्ने? कस्को लागि बचाउने?’ उसले मेरो सल्लाहलाई चुनौति दिँदै सोध्यो।

‘आफ्नै लागि बचाउने नि। अझैं कति बाँच्नु छ’ मैले भने।

‘मलाई त बाँच्न पनि मन मरिसकेको छ साहुजी। के को लागि बाँच्ने? कस्का लागि बाँच्ने? कहिले कहिले त मरूँ भनेर ‍बरियो पनि हेर्छु तर डर लाग्छ। बरु कुनै ठूलै रोग लागेर मर्न पाए पनि हुन्थ्यो’ उसले आफ्नो निराशा र दिक्दारी पोख्यो।

‘एक दिन रक्सी खान नपाए मर्ने कुरा गर्न थालिस् हैन? रक्सी खाइस् भने सारा संसार नै मेरो हो जस्तो गर्छस् त।’

‘रामो राम साहुजी, मर्न पाए आनन्द हुन्थ्यो भन्ने लाग्छ। त्यही भएर त रक्सी खाएर दुःख बिर्सन खोज्छु।’

‘राजनीतीीमा लाग न, रामाइलो पनि हुने, पैसा पनि आउने’ मैले फेरि अर्को सल्लाह दिएँ। आफूले केही नगरे पनि सल्लाह दिनमा म खप्पिस थिएँ।
‘राजनीति हामी जस्ताको लागि हैन हजुर। पैसा हुनेले राजनीति गर्छन्, हामी जस्ता त यस्तै जुलुसमा रमाइलो गर्न जाने अनि प्रहरीको कुटाइ खाने मात्रै हो’ उसले वास्ताविकता बुझे जसरी भन्यो।

‘जा न त आज पनि रमाइलो गर्न। धेरै अगाडि नगए त प्रहरीको कुटाइ पनि खाइन्न। जुलुसमा जानेलाई पैसा पनि दिन्छन् रे हो?’ मैले उसको कुरा बुझ्ने प्रयास गर्दै सोधें।

‘खै मैले पनि सुन्या त हो। तर मैले त लिएको छैन। लिनु पनि परेको छैन र लिन पनि नपरोस् त्यो लुटको धन’ उसले जुलुसतिर नजर लगाउँदै भन्यो।

उसले त्यति भन्दा जुलुस धेरै अगाडि आइसकेको थियो। जुलुसमा मानिसहरु थपिंदै थिए। प्रहरीको नजिकै पुग्नै लाग्दा जुलुस उत्तेजित हुँदै थियो। जुलुसका सहभागीहरुले चर्का नाराहरु लगाउँदै थिए तर पनि प्रहरीले संयम गुमाएको थिएन। तर प्रहरीलाई ठेल्दै भीड अगाडि बढ्न थालेपछि प्रहरीले पनि हातमा दही जमाएर बस्ने कुरा भएन। उनीहरुलाई माथिबाटै आदेश थियो- त्यो दिनको विरोध सभा हुन नदिन जस्तो बल प्रयोग गर्नु परे पनि प्रयोग गर्ने।

आफूलाई धकेल्न थालेपछि प्रहरीले लाठी चार्ज गर्‍यो केही आन्दोलनकारीहरु त्यहीँ ढले। कोही भने ज्यान बचाएर भाग्न थाले। अलि पछाडिका आन्दोलनकारीहरुले सडकका भेटेका ढुङ्गा र डल्ला उठाएर प्रहरीलाई नै हान्ने थाले। कसैले प्रहरीकै लठ्ठी पनि खोस्न भ्याए र उल्टै प्रहरीलाई नै बर्साउन थाले।

त्यसपछि प्रहरीले हवाइ फाएर गर्‍यो। बन्दुकको आवाज सुनेपछि जुलुसका मान्छेहरु धेरैजसो तितर वितर भए। तर पनि केही जोसिलाहरुले भने आफूलाई भक्ति थापा नै जस्तो सम्झेर प्रहरीकै बन्दुक खोस्न जान थाले।

उता हामी भने उनीहरु झडपको रमीता हेरेर रमाउँदै थियौं। ऊ पनि निकै रमाएको थियो। प्रहरीले लाठी बर्साउँदा ‘ठोक सालेहरुलाई’ भन्दै जोसिंदै थियो। सायद आन्दोलनकारीहरुलाई कुटेको देखेर उसले आफ्नै हातले उनीहरुको कुटेको गरेको जस्तो ठान्दै थियो होला। आफूलाई कुटेको र आफ्नी श्रीमती भगाएको बदला प्रहरीकै माध्यमबाट पनि उसले लिंदै थियो। मैले देख्न सक्थें कि मलाईभन्दा उसलाई निकै रमाइलो भैरहेको थियो।

हवाइ फायरपछि तितर-वितर भएको भीड एकैछिनमा फेरि जम्मा हुन थाल्यो। खै कताबाट ढुङ्गाहरु खेरेर ल्याएछन्, आन्दोलनकारीहरुले प्रहरीहरुमाथि धमाधम ढुङ्गा बर्साउन थाले।

प्रहरी पनि के कम, आफ्नो शक्ति देखाउनै पर्‍यो। धेरैबेर निकै संयमीत देखिएको प्रहरीले पनि आफूमाथि ढुङ्गा बर्सन थालेपछि भने आफ्नो संयम तोड्यो। आन्दोलनकारीहरु मध्ये एक जनालाई ताकेर गोली हान्यो। खै गोली कता हुईँकियो, कसैलाई लागेन किनभने कोही आन्दोलनकारी पनि ढलेको देखिएन। यता ऊ भने निकै उत्तेजित भएर ‘ठोक सालेहरुलाई’ भन्दै मेचबाट उठेर कराउँदै थियो।

मेचमा बसेर म उसको रमिता र प्रहरी र आन्दोलनकारीहरुको भिडन्त हेर्दै मनोरञ्जन लिँदै थिएँ। कराउँदा कराउँदै अचानक ऊ भुईँमा लड्यो। मैले ऊ तिर नजर लगाएँ।

उत्तानो परेर भुइँमा पल्टेको उसले आफ्नो देब्रे छातीमा हात लगायो र ‘ऐया’ भन्यो। मैले सुरुमा त के भयो भन्ने अनुमान नै लगाउ‍न सकिनँ। तर छातीबाट भलभल्ती बगेको रगत देखेपछि मेरो सातो पुत्लो उड्यो। मलाई थाहा भयो उसलाई प्रहरीको गोली लागेछ। प्रहरीले अझैं अन्धाधुन्ध गोली चलाउँदै थियो। म उसलाई उठाउन चाहन्थें तर मलाई डर लाग्यो, हात खुट्टा काँप्न थाले। मेरो मुखबाट अचानक निस्क्यो, ‘गोली लाग्यो’।

वरिपरिका मान्छे जम्मा भए। उसलाई उठाउन थाले। तर रगत निकै बगिसकेको थियो। छातीमा हात राखेर छट्पटाउँदै एकैछिनमा ऊ अचल भयो। उसका फेरि कहिले नझिम्कने अचल नजरहरुले एकोहोरो मलाई नै हेरिरहेका थिए।

आन्दोलनकारीहरुले उसलाई उठाए। जुलुसमा आफूसँग ल्याएको आफ्नो दलको झन्डाले बेरेर उसको लाशलाई लिएर गए। त्यसपछि के-के भयो मलाई केही थाहा भएन। मलाई उसको बारेमा जान्न बुझ्न पनि डर लाग्ने भैसकेको थियो। त्यसैले मैले उसको समाचारबाट आफूलाई टाढा नै राखें।

केही समयपछि देशमा लोकतन्त्र स्थापना भयो। त्यसपछि नारा जुलुस अलि कम भए, मेरो डर पनि कम हुँदै गयो तर पनि त्यो विभत्ष दृष्य सम्झँदा मेरो मन काँप्थ्यो। हरेक जुलुसले मलाई उसकै याद दिलाउँथ्यो।

***

मैले त्यति सोच्दा सोच्दै सहिद दिवसको त्यो जुलुस नजिकै आइसकेको थियो। जुलुसले बोकेको ब्यानरमा देखिएको ठूलो फोटोले म फेरि एक पटक झस्किएँ।

‘त्यो ब्यानरमा फोटो हेर्नुस् त’ शंका र जिज्ञासाको भावमा मैले आफ्नो ठेला व्यापारी साथीलाई देखाएँ।

‘अँ, त्यही हो। यहींनेर ढलेको’ उसले भन्यो।

‘अनि सहिद?’ मैले विश्वाश नलागेर सोधें।

‘हो नि त, ऊ त सहिद बनिसक्यो नि। तपाइँलाई थाहा छैन? ऊ त लोकतन्त्र स्थापनाको लागि आफ्नो ज्यानको समेत परवाह नगरी तानाशाही शासनसँग लड्ने अमर सहिद हो’ उसले मेरो अनभिज्ञताको खिसी उडाउँदै भन्यो।

म विचार शून्य भएँ। अलिकति हाँसो पनि लाग्यो अनि ब्यानरमा कोरिएको उसकै ठूलो तस्बिरलाई एकोहोरो हेरेर टोलाइरहें।

प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १३:५३
सिफारिस
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
विवादै विवादको भूमरीमा नेपाली फुटबल
विवादै विवादको भूमरीमा नेपाली फुटबल
एमाले संसदीय दलको नेता बादल कि सुहाङ?
एमाले संसदीय दलको नेता बादल कि सुहाङ?
रास्वपाले चाहेजस्तो १५ वटा मन्त्रालय राख्न विज्ञहरूको 'ग्रिन सिग्नल'
रास्वपाले चाहेजस्तो १५ वटा मन्त्रालय राख्न विज्ञहरूको 'ग्रिन सिग्नल'
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

अधुरो प्रेम!
टोकियोको भिडमा एक्लो म!
फुल टाइम गिटारिस्ट!
छोरी!
प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!
बसमा भेटिएको अपरिचित मानिस!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP