Ncell
Setopati
x
Honda
Setopati
x
Honda
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, माघ २६, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

पराजित गमन

Nmb
Nmb
गोपाल चन्द्र भट्टराई

गोपाल चन्द्र भट्टराई

gibl
gibl
gibl
gibl
गोपाल चन्द्र भट्टराई।
गोपाल चन्द्र भट्टराई।
Tata box 1
Tata box 1

मंगलेलाई आज दिउँसोदेखि अलि विसञ्चो होला जस्तो भयो। जीउ कट्कटी खायो, नातागत भए जस्तो भयो, आँखा पनि रसाएर आए। कोरोनाको बन्दाबन्दीको कारण उसको काम नभएकोले दिउँसो उ त्यसै टोलतिर बरालिने गर्थ्यो, तर आज त्यसो गर्न पनि उसलाई शरीरले साथ दिएन। आफ्नो छाप्रोमा एक्लै पल्टिरह्यो उ।

मंगले निर्माण मजदूर हो। निर्माणाधीन घरको हेरचाहको लागि त्यही घर बनाउन ल्याइएका इँटा जस्ता आदि भेला पारेर बनाइएको सानो छाप्रोमा उसकी श्रीमती डोल्माको साथमा उ बस्ने गरेको छ। डोल्मा भने वरपरका घरहरुमा लुगा धुने र सरसफाइ गर्ने आदि कामहरु गर्छे।

साँझ ७ बजे तिर डोल्मा आफ्नो कामबाट फर्की। ' हन के-के अचम्म देख्न पर्छ हउ यो टोड्का परेको आँखाले नि, आजु त कोठैमा पो छ त मान्छे त!’ डोल्माले धुम्धुम्ती अँध्यारोमा बसिरहेको मंगलेलाई देखेर ठट्टा गरी।

'भन्छस् नि, त्यसै जीउ दुखेर आयो, कोतै जानु, केही गर्नु मन लागेन, मो त तोईंलाई कैले आउँछ भनेर कुरी बसेको,' मंगलेले आफ्नो हाल बतायो।

'काम न काज बेपत्तासँग चार चौरास बुर्कुसी मार्छौ, अनि जीउ दुखिहाल्छ नि' डोल्माले मंगलेको समस्यालाई सामान्य रुपमा लिदै भनी र खाना बनाउने लगायतका काममा व्यस्त भई। मंगलेले चुपचाप ढल्केर डोल्माका कृयाकलापहरु हेरिरह्यो।

'लु खानु आउ, तातो भात भुडीमा पोसेपछि तिम्रो सिमे भुमे सब भाग्छ, जीउ त्यसै ठिक हुन्छ' डोल्माले केही समयपछि खाना पस्केर मंगलेलाई बोलाई।

'उहुँ, मोलाई खानु मन छैन, तों खा’ मंगलेले सुती-सुती भन्यो।

Laxmi bank
Laxmi bank

'के भन्छ, नखाए त झन् दुख्छ, बेमार पर्छ, थोपक्क आउ, ओम्लेट बोनाइदिउँ?' डोल्माले फकाई। तर मंगलेले केही गरी खान मानेन। त्यसैले रुची नरुची डोल्माले एक्लै खाई।

भाँडा माझेर अन्य सानातिना कामहरु सकेपछि डोल्मा पनि सुत्न भनेर आई। उसले अहिले कस्तो छ भनेर मंगलेको निधार छामी र छक्क परी 'हन, जोरो पो छ त तिम्लाई त!' उसले मंगलेको शरीरको अन्य भागहरु पनि छामी र भनी 'हेर कोस्तो तात्तेको!'

Ncell
Ncell

'ए जोरो पो ओइरिरेछ, तेइ भर पो जाडो भर मोर्दोरछ' मंगलेले खिस्स हाँसेर भन्यो। डोल्माले उसको तातो शरीरमा मायाले स्पर्श गरी, उसको कपाल सुम्सुम्याई र एउटा ओड्ने ओढाइदिई। लोग्नेसँगै ढल्किनलाई उ पनि यसो तर्खर के गर्दैथी, अचानक झसंग भए झैं गरी उ जुरुक्क उठी र भनी, 'अए बुढा, का-का हिंडिबस्छौ दिनभरी कोरोना सोरोना के-के भन्छ, तिम्लाई त लागेन? यस्तै ज्वरो आउँछ रे त्यो लाग्दा नि!'

'हँ' मंगलेको मुटु पनि अप्रत्याशित डरले चिसो भयो, एककिसिमले आत्तियो उ र विस्तारै भन्यो, 'यस्तो ट्याम छ, हुनु नि के बेर!' अचानक बढेको मुटुको ढुक्ढुकीलाई एकछिनको लागि शान्त पारेर विचार गरेपछि उसले फेरि भन्यो 'का हुनु? जोरो आउँन्देमा तेस्सै आत्तिन्छ यो आइमी।'

एकछिन दुवैमा मौनता छायो, डोल्मा त्यसै उभिइरही। केही क्षणको सोचाइ पश्चात् मंगलेले नै ज्वरोले स्याँ, स्याँ गर्दै भन्यो, 'आबो जे नि हुनुसक्छ, तेइ भर तों चैं अलि दिन अलग्गै सुत्।'

डोल्मालाई कुरा ठिकै हो जस्तो लाग्यो। उसले भुइँमा तीन-चार वटा सिमेन्टको खाली बोरा ओछ्याई, त्यसमाथि एउटा राडी बिछ्याई, सिरानीको लागि दुई वटा इँटाहरु राडीमुनी घुसारी र यसरी आफ्नो बेड तयार गरी। उसको दिल दिमाग नैराश्यता र विपद्को भावले भरिएको थियो, शरीर त्यसै गलेको जस्तो भएर उ थचक्क आफ्नो बेडमा बसी।

अचानक उसका आँखा भरिएर आए, रोक्नै नसकेपछि उ सुँक्क-सुँक्क गर्दै भनी, 'दशा लागो च्याङ्बा हाम्लाई, आबो के गर्ने होला, यल्ले तो ज्यानै लिन्छ भन्छ!'

मंगले चुपचाप थियो तर जब डोल्मा पुरै हताश भएर रुन थाली, उसले अलि कडा स्वरमा डोल्मालाई करायो, 'केन रुन्छ यो आइमी? ऐले तो मो मोरिहालेको छैन नि, जाबो जोरो आको छ, के-के न भैहाले जोस्तो पो गर्छ, तो कोरोना लागे नि केइ हुँदेन, जो रोगी छ तेइ मोर्ने हो, सद्दे मुन्छेलाई केइ हुँदेन, चुप लागेर सुत्, ब्यानसोम्म ठिक हुन्छ।'

तर ठिक भएन, राति उसको ज्वरो झन् बढेर आयो। डोल्माले बेसारपानी पकाएर दिई, उसले अलिकति पियो, तर केही बिसेक भएन। ज्वरो र केही नखाएकोले नातागत भएको उ, रातभरी हँ, हँ गर्दै कोल्टे फेर्दै छटपटाइरह्यो। डोल्माले पनि झिमिक्कै नगरी रात काटी।

बिहान हुने बित्तिकै डोल्मा हुत्तिंदै सुप्रियाको घर गई र गेटको घण्टी बजाई। सुप्रियाका श्रीमान बिहानैदेखि काम परेकोले अफिस गइसकेका थिए, छोरो पनि सुतिरहेकोले उ नै गेट खोल्न ओर्ली। गेट बाहिर डोल्मा उभिरहेको देखेर छक्क पर्दै उसले सोधी, 'डोल्मा के भो, यति बिहानै कसरी आयौ?'

'दिदी, मंगले...' उसले बोल्नै सकिन, आँखाबाट बरर आँशु खसे, उ केही नभनी रुन पो थाली।

'मंगले? के भो मंगलेलाई? किन रोएकी?' उत्सुकता र आश्चर्यले डोल्मालाई झक्झकाउँदै सुप्रियाले सोधी। डोल्माले हिजोदेखिका सम्पूर्ण वृत्तान्त सुनाई। डोल्माका कुरा सुन्ने बित्तिकै सुप्रिया सतर्क भई र डोल्मासँग पनि केही दूरी बनाएर उभिई।

आफूलाई आपत् परेको बेला आफूले चिनेजानेका र मनले खाएका ठूलाबडा मान्छेकहाँ सल्लाह र सहयोग माग्न आएकी थिई डोल्मा। सुप्रियालाई भने मंगलेलाई हेर्ने उत्सुकताले यसरी उत्साही बनायो कि उ तुरुन्तै डोल्माको साथ लागेर मंगलेको छाप्रो तिर दौडी किनकि उसले अहिलेसम्म कोरोना लागेको मान्छे देखेकि थिइन र यति सजिलै त्यस्तो मान्छे देख्न पाउनु उसका लागि एउटा अवसर जस्तो भएको थियो।

सुप्रिया मंगलेका तिर लागेको परै बाट हेरिरहेकी खत्रिनी बज्यै पनि उत्सुक भएर पछि-पछि आइन्। छाप्रोमा झ्याल थिएन, प्रवेशद्वारमा झुण्ड्याइएको पुरानो तन्नाको ढोका यसो पन्छाएर सुप्रियाले भित्र हेरी, मंगले धुसामा गुटुमुटु परेर सुतेको थियो।

'मंगल दाइ, कस्तो छ अहिले तपाईलाई?' उसको हाल बुझ्नभन्दा पनि उसलाई हेर्ने उद्देश्यले सुप्रियाले अलि ठूलो स्वरमा सोधी। मंगलेले ओढ्ने हटायो, सुप्रियालाई देखेर विस्तारै उठ्यो र अलिकति हाँस्न कोशिस गर्दै भन्यो, 'जोरो छ, यो खप्पर पनि दुख्नु थालेको छ...' अरु पनि केही बोल्न खोजे जस्तो गर्‌यो तर त्यत्तिकै चुप भयो उ।

जे-जे भइरहेको भए पनि यो कोरोना लागेको हो, यसमा धेरै बुझिराख्नु पर्ने कुरा केही थिएन। त्यसैले सुप्रियाले केही नबोली एकछिन उसलाई हेरिरही र एकछिनपछि त्यहाँबाट हटी। खत्रिनी बुढीले पनि त्यसैगरी केही नबोली मंगलेलाई हेरिन् र त्यहाँबाट हटिन्।

सुप्रियाको उत्सुकता शान्त भयो, अब बल्ल कामको कुरा आयो। उसले डोल्मालाई भनी, 'अब जतिसक्दो चाँडो अस्पताल लानुपर्छ, तत्कालको लागि ज्वरो घटाउनलाई सिटामोल र टाउको दुखेको कम गर्नलाई ब्रुफेन ख्वाउनुपर्छ, मसँगै हिँड, मेरोमा त्यो दुईटै औषधी छ।'

डोल्माले औषधी लिएर आउञ्जेलसम्ममा खत्रिनी बुढीले टोलभरी खबर पुर्‌याइ सकिछन्। मंगलेको छाप्रो बाटोको छेवैमा थियो, अलिअलि गर्दै वरपर घरका मान्छेहरु बाटोभरी भेला हुन थाले। आफ्नै टोलमा आइपुगेको कोरोना हेर्न सबैजना उत्सुक र लालयीत देखिन्थे।

केटाकेटीहरुलाई ठूलाले र लोग्नेहरुलाई स्वास्नीहरुले त्यो छाप्रोको छेउछाउमा धेरै बेर नबस्नलाई कराइरहेका थिए तर कोही मान्नेवाला थिएनन्– सबैलाई आफ्नै टोलमा आइपुगेको कोरोना प्रत्यक्ष रुपमा देख्नु थियो। टोलका अलि बुझक्कड र बोलक्कड व्यक्तिहरुका वरिपरि झुण्ड-झुण्ड भएर गम्भीर अनुहार बनाउँदै मानिसहरुले यो समस्याको बारेमा आ-आफ्ना प्रभावशाली धारणाहरु व्यक्त गरे, कोरोना नियन्त्रण गर्न नसकेकोमा सरकारको आलोचना गरे र सबैले टोलमा आफ्नो सामाजिक सकृयता प्रदर्शन गर्न कोशिस गरे।

आफू सुरक्षित स्थानमा रहेर अरु अप्ठ्यारो वा जोखिममा परेको हेर्न ख्याल मजा हुँदैन मान्छेलाई। मंगलेलाई आइपरेको विपत्ति हेरेर आफ्नो भाव बिरेचन (कथार्सिस) गरिरहेका मान्छेहरुको चहलपहल छाप्रो वरिपरि बाक्लो हुँदै गयो।

वरिपरिका अग्ला अग्ला घरका झ्याल, बरण्डा र छतबाट दुर्लभ दृष्य हेर्ने उत्कट अभिलाशा लिएर छाप्रोमा नजर गढाइरहेका वृद्ध वृद्धा, महिला वा केटाकेटीहरुको संख्या पनि उल्लेख्य नै थियो।

सुप्रियाले दिएको सिटामोल र ब्रुफेन खाएपछि मंगलेलाई ज्वरो आउन र टाउको दुख्न अलि कम भयो तर उसलाई हाडजोर्नी दुख्ने, पेट दुख्ने, वाक्‌वाकी आउने आदि भइ नै रहेको थियो। जतिसक्दो चाँडो अस्पताल पुर्‌याएमा नै बिरामीको पनि उद्धार हुन्छ र टोल पनि कोरोना संक्रमणबाट मुक्त हुन्छ भन्ने भेला जम्मा भएका मानिसहरुले निश्कर्ष निकाले। सो प्रयोजनको लागि सुप्रिया र केही अरु छिमेकीहरु मिलेर केही हजार रुपैयाँ चन्दा संकलन पनि गरे।

तर अस्पताल लैजाने पो कसरी त! बिरामी हिंडेर जाने अवस्थामा थिएन, लकडाउनको कारण कुनै ट्याक्सी वा अन्य सवारी साधन पनि उपलब्ध थिएन। आफ्नो व्यक्तिगत गाडीमा कोही कोरोना संक्रमितलाई लिएर जान तयार भएन।

टोलमै एउटा ट्याक्सीवाला मान्छे थियो, उसलाई बिरामीलाई अस्पताल पुर्‌याउन मद्दत गर्नलाई अनुरोध गरियो। तर उसले ठाडै कोरोना लागेको बिरामी बोक्दिन भनेर नकार्‌यो। अब एउटै बाँकी उपाय भनेको एम्बुलेन्स बोलाएर लैजाने रह्यो। एम्बुलेन्सवालाहरुसँग चिनजान भएका वा एम्बुलेन्सको फोन नम्बर भएका चार/पाँच जना व्यक्तिहरु त्यहाँ उपस्थित भेलामा निस्किए।

तिनीहरु मध्ये केही समय अगाडि आफ्नै घरमा एम्बुलेन्स बोलाएर छोरीलाई अस्पताल लैजाने शैलेन्द्र कार्कीले एम्बुलेन्सवालासँग सम्पर्क गरे। हाल एम्बुलेन्स अन्यत्रै बिरामी बोक्न गएको र अन्य ठाउँहरुबाट समेत अनुरोध भइ आएकोले आज पठाउन नसकिने उताबाट जानकारी आयो।

राजेश प्रधानले नगरपालिकामा एम्बुलेन्स भएको र अनुरोध गरेमा तुरुन्तै पठाइदिने कुरा सुझाए, सम्पर्क गरियो तर जवाफ आयो कि एम्बुलेन्स चालक हिजैदेखि सम्पर्क विहीन छ। त्यसपछि विभिन्न अस्पतालहरुमा एम्बुलेन्सको लागि अनुरोध गरियो, सबैले कुनै न कुनै कारण देखाएर पठाउन नसकिने बताए।

एउटा के सेवा समिति भन्ने रैछ, त्यसलाई रोगको बारेमा खासै नबताइकन आउनलाई अनुरोध गरियो र बल्ल यो आउन सहमत भयो। यतीबेरसम्ममा मध्यान्ह भइसकेको थियो। बिरामी इन्तु न चिन्तु भएर छाप्रो भित्र लडिरहेको थियो। दश बजे तिर जाउलो बनाएर डोल्माले अलि अलग्गै बसेर दिएकी थिई, उसले अलिकति खायो पनि तर तुरुन्तै बान्ता गरेर सबै फाल्यो।

खाना नखाएकोले नातागत भएको उसको शरीर ज्वरो र अन्य शारीरिक दुखाइको कारण थिलथिलो भएको थियो। तुरुन्तै अस्पताल नपुर्‌याए अवस्था झन् गम्भीर हुँदै जाने निश्चित थियो।

लगभग चार बजे तिर बल्ल भनिएको एम्बुलेन्स आइपुग्यो। एमबुलेन्स देख्ने बित्तिकै प्रारम्भिक उत्सुकता शान्त भए पश्चात् छाप्रो वरिपरिबाट हराइसकेको भीड फेरि एकपटक देखा पर्‌यो। अहिलेसम्म एम्बुलेन्सवालालाई उद्‌घाटित नगरिएको कोरोना प्रसंग भीडमा कसले हो कसले सुनाइदि हालेछ, ड्राइभर त ‘कोरोना बिरामीलाई बोक्दिन’ पो भन्न थाल्यो।

'अघि नै भन्नुभाको भए म आउने नै थिनँ, मसँग पिपिई छैन, आफ्नो ज्यान जोखिममा पारेर कसरी लानु मैले?' उसले ठाडै इन्कार गर्‌यो। तर भेला भएको भिडले एकमुख भएर करायो ‘एम्बुलेन्सले बिरामी बोक्दिनँ भन्न पाइन्छ, ल यो बिरामीलाई नलिइकन यो एम्बुलेन्स यहाँबाट गएको हेरौं त!’

भीडले एक किसिमले ड्राइभरलाई धम्की नै दियो। जबर्जस्ती गरेपछि आफ्नो केही नलाग्ने देखेर बल्ल उ सहमत भयो र ‘स्ट्रेचर लिएर आउँछु’ भनेर एम्बुलेन्स पार्किङ गरिएको ठाउँमा गयो।

सबैजना उत्सुक भएर हेरिरहेका थिए, अकस्मात एउटा अनपेक्षित दृष्य देखियो, हेर्दा हेर्दै अचानक त्यो एम्बुलेन्स फनक्क घुम्यो र बिजुली गतिमा त्यहाँबाट फरार भयो। भीड आश्चर्यचकित भयो, केही हाँसे, केही क्रोधित भए तर यी प्रतिकृयाहरुले परिस्थितिमा कुनै तात्विक फरक पारेन, परिस्थिति बदल्न त जसरी भए पनि एउटा एम्बुलेन्स ल्याउनै पर्थ्यो।

सुप्रियाका श्रीमान् प्रद्युम्न प्रहरी अधिकृत थिए। केही नलागेपछि सुप्रियाले श्रीमानलाई उसको अफिसमा फोन गरी। 'ए बिहानै मलाई भनेको भए हुन्थ्यो नि, १०२ नं मा फोन गर्नु, म पनि भनिदिन्छु, आउँछ एम्बुलेन्स' प्रद्युम्नले भने।

भने अनुसार गरियो। नभन्दै लगभग बेलुका ६ बजे तिर एम्बुलेन्स देखा पर्‌यो। शिरदेखि पाइतालासम्म ढाक्ने सेतो पहिरन र बडा बडा पारदर्शी चस्मा लगाएका दुई जना मान्छेहरु एम्बुलेन्सबाट ओर्लिए। चारैतिरबाट मानिसहरु फेरि छाप्रो वरिपरि जम्मा भए। एम्बुलेन्सवालाहरुले धेरै बेर त्यहाँ रहन चाहेनन्, उनीहरु मानिसहरुले देखाएको छाप्रोमा फटाफट प्रवेश गरे र एकैछिनमा स्ट्रेचरमा राखेर मंगलेलाई लिएर बाहिर आए।

रमितेहरुले अघाउञ्जेल यो दृष्य हेरे। मंगलेलाई एम्बुलेन्समा राखियो। सुप्रियाले अघि चन्दा संकलन गरेको पाँच हजार रुपैयाँ डोल्मालाई दिई र भनी, 'यसैमा जानु तिमी पनि, उनीहरुले नै अस्पतालमा भर्ना गरिदिन्छन्, नआत्तिनु, केही पर्‌यो भने मलाई फोन गर्नु, म र सर भोलि बिहानै अस्पतालमै आउँछौं।'

मंगले र डोल्मालाई लिएर एम्बुलेन्स हिंड्यो र केही समयपछि अस्पतालमा रोकियो। अस्पतालमा बिरामीलाई ओराल्नु अगाडि नै एकजना व्यक्तिले के कस्तो बिरामी ल्याएको भनेर पुछताछ गरे। यथार्थ कुरा बताउने बित्तिकै ती व्यक्तिले भने, 'यो प्राइभेट हस्पिटल हो, हामी कोरोना संक्रमितको उपचार गर्दैनौ, सरकारी अस्पताल लैजानुस्।'

अब अस्पताल वालाले नै हुँदैन भने पछि के लाग्छ र? डोल्मा रुन मात्र सकिन। धन्न एम्बुलेन्सवालाले सरकारी अस्पताल पुर्‌याइदिन सहमती जनाए र उ अलि ढुक्क भई।

सरकारी अस्पतालमा गएर एम्बुलेन्स रोकियो। मंगलेलाई स्ट्रेचरमा राखेर सिधै इमर्जेन्सीमा लगियो। त्यहाँ दुई तीनवटा बेडहरु खाली नै थिए। एम्बुलेन्सका मान्छेहरुले बिरामीलाई बोकेर सिधै बेडतिर लगेर के बेडमा राख्न मात्र खोज्दैथे, रिसेप्सन काउन्टरमा बसेकि एउटी नर्सले रोकी र कराई, 'कहाँ बिरामीलाई सिधै बेडमा लगेको, यहाँ मलाई देख्नु भएन? बिरामी को हो, के बिरामी हो, यहाँ इन्ट्री गर्नु पर्दैन?'

'खै के बिरामी हो त्यो त तपाईंहरुलाई पो थाहा हुन्छ त, ज्वरो आको छ, सिरियस छ बिरामी, त्यही भएर पो ल्याको त' एम्बुलेन्सको मान्छेले जवाफ दियो।ज्वरो आको छ भनेको सुन्ने बित्तिकै त्यो नर्स त अताल्लिंदै कराउन पो थाली, 'के रे, ज्वरो आको छ रे? ज्वरो आको बिरामीलाई सिधै बेडमा लाने?

पिसिआर रिपोर्ट छ? पिसिआर रिपोर्ट नेगेटिभ छैन भने यहाँ एड्‌मिशन हुँदैन, बिरामीलाई तुरुन्त यहाँबाट हटाउनुस्, उ त्यहाँ कुनामा राख्नुस्...'
त्यो नर्सको तिक्ष्ण र आक्रामक स्वर सुनेर डोल्मा त डरले कुचुक्कै भई। के गर्नु न के गर्नु भएर उसले निरीह पाराले एम्बुलेन्सवालाहरुको मुख ताकी। उनीहरुले बिरामीलाई उचाले र देखाइएको कुनातिर लगे। रिसेप्सन काउन्टरको सिधा अगाडिको त्यो कुनामा दुई वटा बेन्चहरु थिए, त्यसै मध्ये एउटामा लगेर स्ट्रेचर राखियो। त्यो नर्स एक्लै भुतभुताइरही, के भन्दैथी कसैले बुझेन।

एम्बुलेन्सवालाहरु एकछिन त्यसै उभिए र एकछिनपछि डोल्मातिर फर्केर भने, 'अब हामी जान्छौं।' डोल्मा त त्यसै आत्तिई, अब के गर्नु उसले एक्लै। उसले केही भन्न सकिन। एम्बुलेन्सवालाहरुले चुपचाप मंगलेलाई बेन्चमा सुताए र स्ट्रेचर लिएर हिंडे। यो बिरानो, अप्रीय र निर्दयी भवसागरमा उ एक्ली निरीह अबला, उसका आँखा भरिएर आए। तर उसको पीडा, रोदन र असहायपन देख्ने, सुन्ने बा बुझ्ने त्यहाँ कोही थिएन।

मंगले अप्ठ्यारो गरी बेन्चमा लडिरहेको थियो। ज्वरो र अन्य दुखाइको कारण हँ हँ गर्दै उ छटपटाइरह्यो। डोल्मा भने आशालाग्दो नजरले केही गरिदिहाल्छन् कि भनेर काउन्टरकी उही नर्सतिर बेला बेलै हेरिरहेकि थिई। तर त्यो नर्स भने या त उनीहरुको कष्टसँग पूर्णरुपमा उदासिन भएर आफ्नै मोबाइलमा व्यस्त देखिन्थी या अचानक डरलाग्दा आँखाले डोल्मातिर हेर्थी। यसरी हेरेको बेला हप्काइहाल्छे कि भनेर डोल्मा आफैं आफ्ना नजर बचाएर अर्कै तिर हेर्थी।

लगभग एक घण्टा जतिपछि सेतो लुगा लगाएका एक हुल मान्छेहरु त्यो काउन्टर छेउमा आए। त्यो नर्सले मंगलेतिर देखाउँदै केही भनी। मंगलेले पनि सुति सुति हेरिरहेको थियो, ती मान्छेहरु उ भए तिरै आए।

एउटाले सोध्यो, 'के भाको छ? ज्वरो आको छ?' मंगलेले 'अँ' भन्यो।

'घाँटी दुखेको छ?'

'श्वास फेर्न गारो भाको छ?'

'...?'

मंगलेले आफ्नो उपचार चाँडै गरिदेलान् र यो कष्टबाट मुक्ति पाइएला भनेर जे सोधे पनि 'हो, त्यस्तै भाको छ' भन्यो। तर ती मानिसहरु त्यसपछि केही नभनी त्यहाँबाट हिँडे। मंगले र डोल्मा हेरेको हेर्‌यै भए। ज्वरोले शरीर तातिएको छ, सोही कारणले खपिनसक्नु जाडो भइरहेको छ, जीउ दुखिराको छ, त्यसमाथि यो बेन्चको सुताइ- जिन्दगीको सबैभन्दा कठोर र कष्टकर समय बिताइरहेको थियो मंगले।

असहाय डोल्मा लोग्नेकै अगाडिको बेन्चमा लोग्नेको पीडा हेर्दै बसिरही। बेलाबेला अघिकै सेता लुगा लगाएका मानिसहरुको हुल आउँथ्यो, उनीहरु तिर हेरेर के-के कुरा गर्थ्यो, डोल्मा आशा लाग्दो नजरले उनीहरुलाई हेर्थी तर त्यो हुल एकैछिनमा बिलउँथ्यो।

केही गर्न नसकेर, केही उपाय नदेखेर डोल्मा बेलाबेला सुँक्क-सुँक्क गरेर रुन्थी र आफै शान्त हुन्थी। हृदयविदारक कष्ट र पीडा सहेरै त्यो रात उनीहरुले तिनै दुई वटा बेन्चमा गुजारे।

बिहान ६ बजे तिर डोल्मालाई सुप्रियाले फोन गरी। डोल्माले रुँदै-रुँदै सम्पूर्ण बृत्तान्त बताई। त्यसको एकघण्टा पछि सुप्रिया र प्रद्युम्न अस्पताल नै आइपुगे। अस्पतालले बिरामी प्रति गरेको व्यवहारबाट क्षुब्ध र आक्रोशित भएका उनीहरुले काउन्टरमा बसिरहेकि उही नर्ससँग बिरामीलाई किन भर्ना र उपचार नगरेको भनेर सोधे। त्यो नर्सले उस्तै उदासिनताका साथ भनी 'यहाँ कोरोनाको उपचार हुँदैन, अन्तै लैजानु भनेको...'

नर्सले पूरा बोल्न नपाउँदै प्रद्युम्नले सोधे, 'बिरामीलाई कोरोना भएको तपाईंले कसरी थाहा पाउनुभो? कुनै परीक्षण गर्नुभो?'

'हिजो डक्टरले बिरामीसँग सोधपुछ गरेर भन्नुभाको'

'ए, सोधपुछ गर्दा कोरोना पत्ता लाग्न थालेछ हिजोआज नेपालमा? यो केही होइन, अस्पतालको लापर्बाही हो बुझ्नुभो। तपाईंहरु स्वास्थ्यकर्मी भएर एउटा मराणाशन्न बिरामीलाई यो हदसम्मको चरम बेवास्ता कसरी गर्न सक्नुहुन्छ, हँ? यो क्रिमिनल अफेन्स हो, बुझ्नुभो, कानुनी कारबाही हुन्छ।'

प्रद्युम्नका कुरा सुनेर नर्स केही डराई र भनी, 'मलाई के भन्नुहुन्छ त, डक्टरलाई नै भन्नुहोस्।'

'बोलाउनुस् त्यसोभए डक्टरलाई, म कुरा गर्छु' आवेशमा अनुहार नै रातो बनाएर प्रद्युम्न कराए।

एकछिन पछि सेतो पहिरन लगाएका एक हुल मानिसहरु फूर्ति र तामझामका साथ इमर्जेन्सीमा आइपुगे। 'मलाई कसले भेट्न खोजेको हो?' हुलको अगुवा जस्तो लाग्ने एउटा मान्छेले दम्भयुक्त स्वरमा बोल्यो।

'हामीले हो' भन्दै सुप्रिया र प्रद्युम्न अगाडि आए।

'भन्नुस्, म एचओडि, विभागको प्रमुख, के हो तपाईंहरुको कन्सर्न?' त्यो मान्छेले भन्यो।

प्रद्युम्न र सुप्रियाले बिरामीलाई भर्ना र उपचार नगरिएको कारण सोधे। एचओडिले बडो बुज्रुक पारामा भन्यो, 'हेर्नुस्, सरकारले कोरोना उपचारका लागि भनेर छुट्टै अस्पतालहरु तोकेको छ, यो त्यो मध्येको अस्पताल हैन...'

'तपाईंहरु नचाहिंदो कुरा गर्ने? सरकारले त कुनै अस्पतालले उपचार नगर्ने हो भने उपचार गर्ने अस्पतालसँग समन्वय गरेर सबै व्यवस्था मिलाएर बिरामीलाई सम्बन्धित अस्पतालमा पुर्‌याइदिनुपर्ने भनेर निर्देशन गरेको छ, तपाईंले त्यसो गर्नुभो? बडो सरकारको कुरा सिकाउनुहुन्छ, यो बिरामी कोरोना संक्रमित भन्ने कुरा तपाईंले परीक्षण गरेर पत्ता लगाउनुभो?' प्रद्युम्नले ठाडै कुराले झम्टिए।

'कुरा बुझ्नुस्न, के भने...' एचओडि अकमकाउँदै केही बोल्न खोज्दै थियो, प्रद्युम्नले फेरि आक्रामक हुँदै कराए, 'के कुरा बुझ्नु? सबै श्रोत साधनले सम्पन्न सरकारी अस्पतालमा ल्याउँदा पनि अलिकति मानवीय सम्वेदना समेत नदेखाउने तपाईंहरुको कुरा के बुझ्नु हामीले? अरु कुरा हैन, तुरुन्त यो बिरामी यहाँ भर्ना भएर उपचार पाउन सुरु गरेन भने म यहाँ पत्रकार सम्मेलन गर्छु।'

उनले सुप्रिया तर्फ देखाउँदै अझै भने, 'देख्दै हुनुहुन्छ नि, उहाँले तपाईंको भिडिओ रेकर्ड गरिरहनु भएको छ, तपाईंको यही जवाफ, अस्पतालको यही बेवास्ता र लापर्बाही अनि बिरामीको यस्तो बेहाल, सबैको बारेमा भिडिओ बनाएर म युट्युबमा पोष्ट गर्छु, अनि हेर्नु होला परिणाम...'

प्रद्युम्न क्रोधले राँको भएका थिए। उनको स्वर र स्वरको वजनले त्यहाँको वातावरण एककिसिमले थिचिएको महशुस भयो। एचओडि र उसका सेनामेनाहरु हच्किएको प्रष्टै देखियो। उनीहरु केही नबोली अलि पर गए, झुण्डमा एकछिन सल्लाह गरे। एचओडिले नर्सलाई बोलाएर केही निर्देशन दियो र त्यो झुण्ड केही नबोली अलप भयो।

पछि कुरा बुझियो, बल्ल अस्पताल प्रशासन मंगलेलाई अस्पतालको आइसोलेसन वार्डमा राख्न सहमत भएछ। अन्तत: प्रद्युम्नको झोंकले सकरात्मक परिणाम ल्यायो।

मंगले बेन्चमा पीडाले छटपटाइ नै रहेको थियो। केही क्षणमै सुरक्षित आवरणमा आएका केही मानिसहरुले कोरोना परीक्षणको लागि नाकबाट उसको स्वाब संकलन गरे र उसलाई ह्विलचेयरमा राखेर आइसोलेसन वार्डमा लिएर गए। डोल्मा हेरेको हेरै भई किनकि उसलाई मंगलेको साथमा जान दिइएन।

सुप्रियाले उसलाई सम्झाई कि अब बिरामीलाई अस्पतालले जिम्मा लिइसकेको हुनाले कुनै चिन्ता लिनु पर्दैन। तैपनि अस्पतालको अँध्यारो प्यासेज हुँदै कहाँ हो कहाँ अलप भएको आफ्नो श्रीमान गएको दिशा तर्फ आँसु टम्म भरिएका आँखाहरुले हेरिरही उसले। केही समय पश्चात् सुप्रिया र प्रद्युम्नले मंगलेको अवस्था बुझ्न भोलि आउँला भनेर डोल्मालाई पनि आफू सँगै लिएर गए।

मंगलेलाई मानिसहरुको आवतजावत नहुने कुनाको एउटा अलग्गै कोठामा राखियो। कोठामा एउटा बेड, एउटा खानेपानीको जार र नजिकै शौचालय थियो। धेरै पछि उसले कमसेकम सजिलो गरि बेडमा सुत्न पायो।

तर सुत्न मात्र पायो उसले, बाँकी केही भएन। न कसैले आएर उसको ज्वरो नाप्यो, न उसलाई के कष्ट छ भनेर कसैले सोध्यो। सुनसान कोठामा उ एक्लै तड्पिरह्यो, उसलाई ज्वरो निरन्तर आइरह्यो, उसका जोर्नी र मांशपेशीहरु दुखिरहे र सबैभन्दा पीडादायक तरिकाले उसको टाउको र पेट दुख्यो, वाक्‌वाकी लागिरह्यो।

शरीरमा जताततै घोचिरहेजस्तो, पोलिरहेजस्तो भयो मानौ कि उ तिखा वाणहरु माथि सुतेको छ। अतिसय पीडा व्यहोर्न नसकेर उसले मृत्युको समेत कामना गर्‌यो। तर मृत्यु पनि सायद भाग्यमानीहरुले मात्र वरण गर्दछन् ,अभागी विचरो सबै सबै सहन अभिसप्त थियो।

दिनमा दुई-तीन पटक कोही आएर ढोका बाहिर प्लाष्टिकको प्लेटमा खानेकुरा राखेर जान्थ्यो। तर उसको छाप्रोमा जस्तो उसलाई खान कर गर्ने, उसको चिन्ता गर्ने डोल्मा यहाँ थिइन, उसले एक/दुई पटक यसो मुख जुठो पार्ने बाहेक त्यो खाना खाएन, खान सकेन।

यसरी नै एक दिन, दुई दिन हुँदै तीन दिन बिते। डोल्मा हरेक दिन अस्पताल आउँथी, आफ्नो श्रीमानलाई कस्तो छ सोध्थी र ठिकै छ भन्ने जवाफ पाएर फर्किन्थी। उसको श्रीमानको बेहालतको बारेमा उसले कुनै जानकारी पाइन।

मंगलेलाई भने विस्तारै पीडा पनि दुख्न छोड्यो। मान्छेलाई त्यतीबेरसम्म मात्र दुख्ने रैछ जबसम्म उ पीडालाई जित्ने कोशिस गर्छ, जब पीडासँग हार्छ मान्छे तब दुख्न पनि छोड्ने रैछ। उसले विस्तारै आफ्नो वरिपरिको परिवेश सपना हो कि विपना हो, छुट्याउनै सक्न छोड्यो, आफू छु कि छैन भनेर आफैंलाई छाम्दा भेट्टाउनै सक्न छोड्यो, उ आकाशमा कतै उडिरहेको छ कि, पानीमा कतै तैरिरहेको छ कि खुट्याउनै सक्न छोड्यो।

उसलाई आइसोलेसन वार्डमा राखेको चौथो दिन पिसिआरको ल्याब रिपोर्ट आयो, उसलाई कोरोना संक्रमण नभएको पुष्टि भयो। केही मानिसहरु आएर उसलाई आइसोलेसनबाट जेनेरल वार्डमा सारे। डाक्टरहरुले उसको शरीरको चेकजाँच गरे र भने, 'इट्स अ सिभियर डेंगी फिभर केस।'

जेसुकै केस होस्, मंगलेलाई त्यसको कुनै मतलब भएन किनकि उसलाई त यहाँबाट जानु थियो। त्यसको लगभग एक घण्टा जति पछि उ साँच्चै गयो पनि, यो निर्दयी संसारलाई सधैंको लागि छोडेर।
समाप्त।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १४:३८
सिफारिस
भारतीय क्रिकेटर र आइपिएल टिमहरूले गरे नेपाली खेलाडीको प्रशंसा
भारतीय क्रिकेटर र आइपिएल टिमहरूले गरे नेपाली खेलाडीको प्रशंसा
'आन्दोलनको भिडिओ बनाउँदै थियो, ढुंगा हान्न आयो भनेर प्रहरीले गोली चलाएछ!'
'आन्दोलनको भिडिओ बनाउँदै थियो, ढुंगा हान्न आयो भनेर प्रहरीले गोली चलाएछ!'
नेपालले अन्तिम ओभरमा जित नजिक पुगेर पनि गुमायो इंग्ल्यान्डविरूद्धको खेल
नेपालले अन्तिम ओभरमा जित नजिक पुगेर पनि गुमायो इंग्ल्यान्डविरूद्धको खेल
नेपाल भर्सेस इंग्ल्यान्ड : दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य
नेपाल भर्सेस इंग्ल्यान्ड : दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य
नेपाल भर्सेस इंग्ल्यान्ड– काठमाडौंका ७ ठाउँमा महानगरले गर्दैछ प्रत्यक्ष प्रसारण (हेर्नुहोस् तस्बिरहरू)
नेपाल भर्सेस इंग्ल्यान्ड– काठमाडौंका ७ ठाउँमा महानगरले गर्दैछ प्रत्यक्ष प्रसारण (हेर्नुहोस् तस्बिरहरू)
शेर मल्लको 'ड्रिम डेब्यू'
शेर मल्लको 'ड्रिम डेब्यू'
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

रातो कपको लाली!
तिमीसँग त्यहाँ, त्यही समयमा!
शब्दभित्रको प्रेम
बा, म बिहे गर्दिनँ!
अनि! बा-आमा खै त?
तिमीलाई भुल्न, तिम्रो सहर छोड्नै पर्छ!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP