Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, असार १०, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

चोर पुलिस

गोपाल चन्द्र भट्टराई

गोपाल चन्द्र भट्टराई

गोपाल चन्द्र भट्टराई।
गोपाल चन्द्र भट्टराई।

सहर पूर्णरुपमा कंक्रिटको जंगल जस्तै भैसकेको छ। यसो अलिकति हरियाली भएको, खुल्ला, रमणीय, स्वच्छ हावा आवत-जावत गर्ने र केही क्षण आनन्दसँग खुल्ला आकाशमुनि बस्न पाइने स्थान भनेको सहरको मध्यभागमा रहेको यही एउटा पार्क मात्र हो। त्यसैले यो पार्क र यसको वरपर सदैव मानिसहरुको चहलपहल बाक्लो हुने गर्छ।

तर यो पार्क र वरपरका व्यस्त सडकहरुमा पछिल्लो दुई-तीन महिना यता नयाँ-नयाँ तरिकाहरु अपनाएर गरिएका चोरी, ठगी, पाकेटमारी तथा लुटपाट जस्ता अपराधहरु बढेको तथ्य प्रहरीको ‘क्राइम प्याटर्न एनालिशिस’ र पत्र पत्रिकाका समाचारहरुमार्फत प्रकाशमा आइरहेका थिए।

साधु, चटके, भिखारी, बिरामी, जोगी, अन्धो, भरिया, न्युजपेपर हकर आदि अनेकौं रुप र भेष धारण गरेका व्यक्तिहरुद्वारा मनोरञ्जन र ‘टाइमपास’का लागि पार्कमा आएका मानिसहरुका गहना, पैसा, झोला, पर्स, मोबाइल, साइकल आदि चोरिएका उजुरीका चाङ्ग पनि नजिकको प्रहरी कार्यालयमा अग्लिंदै गएको थियो। यी दैनिकका चोरी र लुटपाटका घटनाहरु प्रहरी र जनसाधारणका लागि ठूलो टाउको दुखाइको विषय बनिरहेको थियो।

हो, यही पार्कमा एउटा सन्दिग्ध चरित्र चलाख स्यालका झैं आँखाले यताउती हेर्दै खुसुक्क गेट खोलेर भित्र पस्यो। अब यो सन्दिग्ध मान्छे कसको वीर्यदानको कारण कसको गर्भबाट कुन मितिमा जन्मेको थियो, उसको नाम के हो, उ कसरी हुर्कियो, बढ्यो, अहिले कहाँ बस्छ, के गर्छ भन्ने सम्बन्धमा हामीलाई तत्कालको लागि कुनै जानकारी नभएको मानिराखौं किनकी यो हाम्रो चासोको विषय पनि हैन।

यद्यपि कथाको सहज र स्वभाविक प्रवाहको लागि उसको यही अज्ञात पृष्ठभूमिलाई आधार बनाएर अहिले हामी उसलाई अञ्जान नाम दिइराखौँ।

त यो अञ्जान पार्कको गेटबाट भित्र पस्दा पस्दै आफू र आफ्नो उद्देश्यलाई कसैले चिने वा बुझेको त छैन भन्ने सम्झेर सचेत र सावधान भयो। उसले गेटकै छेउमा उभिएर एक पटक वरदेखि परसम्म उसको उपस्थिति प्रति चासो देखाउँदै उसैलाई नियालिरहेका आँखाहरु खोज्यो।

तर कसैले उसलाई हेरेका थिएनन्, हेरे पनि देखेका थिएनन् र देखे पनि भीडमा थपिएको एउटा थप मान्छेको रुपमा बाहेक कसैले उसलाई बुझेका थिएनन्। उ सन्तुष्ट भयो र अगाडि बढ्यो। पार्कको उत्तरपट्टि अलि अग्लो पारेको भाग थियो। त्यहाँबाट पार्कको सम्पूर्ण क्षेत्र र क्षेत्रभित्रको गतिविधि अवलोकन गर्न सकिन्थ्यो। उ त्यस तर्फ लम्कियो र त्यहाँ स्थित एउटा बेन्चमा बस्यो।

मानिसहरु पुसको रमाइलो घाम ताप्दै चौरमा बसेर सुन्तला र बदाम खाइरहेका, केटाकेटीहरु खेलिरहेका, किशोर किशोरीहरु स्वप्निल वार्तालाप गरिरहेका, कोही कसैलाई पर्खिरहेका, कोही भेटिएकाहरुलाई अंकमाल गरिरहेका, पत्रपत्रिका पढ्नेहरु, चटपटे बेच्नेका वरिपरि झुम्मिरहेकाहरु, मोबाइलमा कुरा गर्नेहरु, यो चहलपहल कै बीचमा पनि आफूलाई चहलपहलभन्दा अलग्ग राखेर दुनियाँदारीको रमिता हेर्नेहरु आदि अनेकौं रुप, स्वरुप र कृत्यहरुमा विभक्त मानिसहरुद्वारा सृजित पार्कको दृश्य एक किसिमले रमाइलो थियो।

तर यो चहलपहल, रमझम र रमाइलोसँग अञ्जानलाई कुनै सरोकार छैन। उसले त बस आफ्नो सीप र अनुभव प्रयोग गरेर यी विविध रुप र स्वरुपका मानिसहरु मध्ये कसैलाई आफ्नो शिकार बनाउनु छ।

उसको ‘टार्गेट’ पक्कै पनि यही भीड मध्येमा कोही छ- उ त्यो कलेज पढ्ने केटो हुन सक्छ, त्यो पत्रिका बेच्ने मान्छे हुन सक्छ, त्यो खैनी माड्दै गरेको मान्छे, त्यो पानीको बोटल बोकेर ट्वाल्ल परिरहेको बुढो, त्यो केटीलाई हसाउँदै गरेको पठ्ठो, पिरो चटपटे खाएर अताल्लिइरहेकी गर्भवती आइमाई, वा चाहिनेभन्दा बढी लिपिस्टिक र गाजल लगाएर विभिन्न हाउभाउ गरिरहेकी त्यो यौवना- कोही पनि हुन सक्छ उसको ‘टार्गेट’।

बेन्चमा बसी-बसी उसले मानिसलाई नै छेडौंला झैं दृष्टिले पार्कको चहलपहलाई स्क्यान गरिरह्यो। प्रत्येक व्यक्तिलाई, उसका गगिविधि र क्रियाकलापलाई आफ्ना दृष्टिले छाम्दै, ओल्टाइ पल्टाइ गर्दै वरदेखि परसम्म, ओल्लो कुइनेटोदेखि पल्लोसम्म र तलदेखि माथिसम्म नियालिरह्यो।

उसले त्यस्ता व्यक्तिहरुलाई विशेष ध्यान दिएर हेर्‍यो जो ठाँटवाटयुक्त देखिन्छन्, पैसावाला र मालदार देखिन्छन्, जो आफूसँग महत्वपूर्ण चिजवस्तु, झोला वा पर्स साथमा भएर पनि निस्फिक्री र बेपर्वाह भइरहेका छन्, जो गरगहनाले भरिपूर्ण देखिन्छन् वा जो गाउँबाट भर्खर सहर पसेकाजस्तो सोझा र सरल देखिन्छन्।

उसले यी विभिन्न प्रकारका व्यक्तिहरु र तिनीहरुका साथमा रहेका अन्य व्यक्तिहरुलाई सूक्ष्म रुपले नियाली रहेको भए पनि आफूले खोजेको जस्तो ’टार्गेट’ लाई भने ठ्याक्कै ठम्याउन अझै सकेको थिएन। एकपटक आफ्नो शिकारलाई निश्चित गर्न मात्र पाए उ यो सम्पूर्ण दृश्य, परिदृश्य र यी विविध प्रकारका रंगीचंगी मानिसहरुलाई हेरिरहने थिएन।

बस् त्यही शिकारको पछि लाग्ने थियो। जसरी सयौं मृगहरुको बथानमा कुनै एउटा मृग उपर आफ्नो लक्ष साधे पश्चात् बघिनी अन्य सबैलाई छोडेर त्यही लक्षका पछि मात्र दौडन्छे र अचुक तवरले त्यो शिकारलाई जकड्छे, ठीक त्यस्तै गरी उ पनि लक्ष निक्र्यौल गरे पश्चात आफ्नो सारा अनुभव, शीप, बुद्धि र बल प्रयोग गरेर, सारा हत्कण्डाहरु अपनाएर त्यसै लक्षको शिकार गर्ने थियो।

उ ‘टार्गेट’ खोज्न तल्लीन थियो। ठीक त्यति खेरै आफ्नो सिधै अगाडि पन्ध्र/बीस गजको दूरीमा त उ देख्छ कि एउटा पुलिस पो ठिंग उभिएर यताउता हेरिरहेको छ। अरे, पार्कमा पुलिस! अञ्जानले हतारमै सोच्यो कि उसले यो पुलिसको आँखाबाट बच्नु पर्छ। कतै लुक्नु पर्छ। उसले पुलिसलाई देखिरहने तर पुलिसले उसलाई देख्न नसक्ने स्थानमा लुक्नपाए ठिक हुने थियो। उ बेन्चबाट उठेर भाग्ने तरखरमा लाग्दैथियो तर चाखपूर्वक मानिसहरुको चहलपहल हेर्दै गरेका पुलिस आँखाहरु घुम्दै-घुम्दै आएर उसैमाथि ठोक्किन पुगिहाले।

अब पनि भाग्नु भनेको उसको लागि प्रत्युत्पादक नै हुन सक्थ्यो। त्यसैले उ पुनः बेन्चमै थच्चियो। जब पुलिसले उसलाई हेर्दै औपचारिकताको मसिनो मुस्कान ओठमा ल्यायो, अञ्जानले प्रतिक्रिया स्वरुप त्यही प्रकृया नदोहो्याई सुखै पाएन। अरे वाफरे, त्यो पुलिस त के सोचेर हो कुन्नि अञ्जान भएतिरै पो लम्कियो।

अब भने अञ्जान सतर्क र सावधान भयो। आफू पुलिसको ध्यान आकृष्ट गर्ने खालको भेष, पहिरन वा हुलियामा त छैन भनेर हतार-हतार उसले आफैलाई नियाल्यो। पुलिसले देख्नु अगावै हतारमै उसले आफ्नो लामो कपाल मिलायो, फ्रेन्च कट दारी सुम्सुम्यायो र लुगा तानतुन गरेर मिलायो। अब खासै डराइराख्नु पर्ने अवस्थामा आफू नभएको विश्वासका साथ उसले आफ्नो बसाइलाई व्यवस्थित गर्‍यो र अप्रत्यासित रुपमा आइलागेको त्यो पुलिसलाई सामना गर्न तयार भयो।

कुममा एउटा तारा सहितको युनिफर्म पातलो शरीरमा नसुहाउँदिलो तरिकाले लगाएको त्यो पुलिस विस्तारै आयो र अञ्जान बसिरहेको बेन्चको छेउमा पुगेर अडियो। अञ्जानलाई बोल्न करै लाग्यो, उसले भन्यो'आउनुस् न, बस्नोस्'।

'तपाईलाई डिस्टर्व हुन्छ कि, मलाई यत्तिकै पनि ठीकै छ' पुलिस बोल्यो। अञ्जानले आफ्ना आँखालाई उज्याला र उत्सुक बनाएर पुलिस तर्फ हेर्दै भन्यो'हैन, केको डिस्टर्ब नि म कामै नपाएर बसिरहेको मानिसलाई? आउनुस्, बस्नुस्।'

'धन्यवाद। बुझ्नुभो म मानिसहरुसँग तपाईको जस्तै सामान्य व्यवहारको अपेक्षा गर्छु तर मानिसहरु पुलिससँग तर्सिएको जस्तो, अप्ठेरो मानेको जस्तो कस्तो-कस्तो अस्वभाविक व्यवहार गर्छन्' बेन्चको एकछेउमा बस्दै पुलिसले भन्यो। अञ्जान यो थाहा पाएर खुसी भयो कि उसको ‘बडील्याङ्ग्वेज’ वा हाउभाउ शंकास्पद रुपमा अभिव्यक्त भैरहेको रहेनछ, सामान्य नै रहेछ।

तैपनि उसले नबुझे झैं गरेर पुलिस तर्फ उत्सुक आँखाले हेरिरह्यो। पुलिसले थप प्रस्ट्यायो'बुझ्नु भो, यो पुलिस हुन पनि गाह्रो छ, युनिफर्म लगाएर यसो मानिसहरुका बीचमा पुग्यो भने के-के न अर्कै ग्रहको मान्छे आए झैं गरेर हेर्न थाल्छन्। बिनापत्तामा सबैको चासो र आकर्षणको केन्द्रबिन्दु बनेपछि आफैंलाई कस्तो असजिलो महशुस हुन्छ।

हुन त युनिफर्मले आफ्नो ठाँट र सान बढेजस्तो र सिभिलियनहरुका बीचमा आफ्नो उपस्थिति बजनदार भएको जस्तो महशुस पनि हुन्छ। तर सबैले आफूलाई उच्च रुपमा ग्रहण गरिरहेको पाउँदा त्यो उच्चता मेन्टेन गर्नलाई आफू सदैव सचेत वा साबधान भइरहनु पर्ने कुरा चैं मलाई बोझ जस्तै लाग्छ। तपाई पढेलेखेको मान्छे जस्तो देखिनु हुन्छ, सायद मेरो फिलिंग बुझ्नु हुन्छ होला, त्यही भएर तपाईसँग चैं म त्यो नाटक गर्दै छैन है, उन्मुक्त र स्वतन्त्र रुपमा म जे हुँ त्यही रुपमा प्रस्तुत हुँदैछु।'

पुलिसको सुरुआती बातचित नै चाखलाग्दो लागेर अञ्जान अलिकति हाँस्यो र भन्यो,'तपार्इलाई अझै युनिफर्मको बानी परिनसकेको जस्तो लाग्यो। तर युनिफर्मले आफूलाई बजनदार, शानदार, अरुको छेउमा आफू रोल मोडल भएको जस्तो अनुभूति दिलाउँछ भने त्यो त सकरात्मक नै हो नि, त्यसले तपाईलाई जिम्मेवार बनाउँछ, आफ्नो व्यक्तित्वलाई प्रखर बनाउन, बोली व्यवहारलाई उच्च स्तरमा कायम राख्न तपाई आफैमा एककिसिमको दबाब महशुस गर्नु हुन्छ र त्यसका लागि थोरै भए पनि मेहनत गर्नु हुन्छ।'

'वास्तवमा मान्छेलाई आफूसँग जे छैन, त्यही महत्वपूर्ण लाग्छ। तपाई युनिफर्मलाई विशिष्ट ठान्दै हुनुहुन्छ, म भने तपाईको जस्तो निस्फिक्री जिन्दगी व्यतित गर्न पाए यो युनिफर्मको झन्झट र नाटक कहिल्यै गर्ने थिइनँ भन्ने निष्कर्षमा पुगिसकेको छु अहिले।'

'तपार्इले ठिक भन्नुभो, म पुलिस युनिफर्मलाई विशिष्ट ठान्छु, यस प्रति एक किसिमको लगाव र आशक्ति नै छ मेरो। त्यही भएर म यसको बारेमा थोरै जानकारी र चासो पनि राख्छु। तपाई गलत ठान्नु हुन्न भने तपाईको युनिफर्ममा एउटा कुरा मलाई नमिल्दो जस्तो लाग्यो। मैले प्रहरीले लगाएको युनिफर्म देखेअनुसार सिठ्ठी झुन्ड्याउने डोरी बायाँ लगाइएको हुनुपर्ने हो, तपाईको दाहिने पट्टि छ। कि यसलाई जता लगाए पनि हुन्छ?'

'ओहो तपाईले कस्तो ख्याल गर्नु भएको! हैन, यो बायाँ नै लगाउनु पर्छ। यो सब केटाहरुमा भर परेर भएको हो बुझ्नुभो? माथिल्लो अफिसरको युनिफर्म सबै जुनियर केटाहरुले तयार पार्छन्, उनीहरुले जस्तो तयार गर्दियो, त्यै लायो हिंड्यो। यसरी आफ्ना ‘रनर’ र ‘असिस्टेन्ट’हरुसँगको निर्भरता एकदमै बढ्दै जाँदो रहेछ ओहोदा बढ्दै गएपछि।'

पुलिसले हतार-हतार सिठ्ठी सहितको डोरी दायाँ कुमबाट फुकाएर बायाँ तर्फ भिर्दै भन्यो,'तर यो मेरो पनि गल्ती हो, कमसेकम एक पटक ऐना त हेर्नु पर्ने नि बाहिर निस्कनु अघि। तर तपाईको पुलिस युनिफर्म सम्बन्धी चासो र ज्ञानलाई माने मैले। तपाईलाई धेरै-धेरै धन्यवाद मेरो गल्ती देखाइदिनु भएकोमा।'

उनीहरु दुवैजना केही हाँसे।

बातचित र भलाकुसारी लम्बिदै गएपछि उनीहरुबीच सौहार्दता कायम भयो र दुवैजना सहज मित्रहरु जस्ता भए। विविध विषयहरुमा छोट्करी चर्चा परिचर्चा चलिरहेको थियो। यस्तै बेलामा हाम्रो अञ्जानलाई पछिल्ला दिनहरुमा पार्कमा बढ्दै गएको चोरी र ठगीहरुको विषयमा प्रहरीको राय वा विचार जान्ने खस्-खस् बढेर आयो। एक किसिमले यो पुलिसको मन चोर्न वा अझ भनौं पुलिससँग खेल्न मन लाग्यो केहीबेर। त्यसैले उसले होशियारीपूर्वक शब्द चयन गर्दै कुरा छेड्यो,'हिजोआज पार्कमा चोरी बढेको जताततै चर्चा छ, तपाई पनि त्यसैको लागि यहाँ खटिनु भाको होला नि?'

'हो, म यो चोरी कै शिलशिलामा यहाँ आएको हुँ' पुलिसले हँसिलो भएर जवाफ दियो,'हुन त आफैं प्रहरी भएर मैले तपाईसँग यस्तो कुरा नगर्नु पर्ने हो, तर बुझ्नुभो प्रहरीले जतिसुकै गरे पनि यस मामलामा केही लछारपाटो लगाउला जस्तो मलाई लाग्दैन।'

पुलिसको यो विचार अञ्जानलाई चाख लाग्दो लाग्यो। यस सम्बन्धमा उसको धारणा जति स्पष्ट रुपमा बुझ्यो उती आफूलाई फाइदा हुने ठानेर अन्जानले हल्का प्रतिवाद गरे जस्तो गर्‍यो,'त्यसो त कहाँ भन्न मिल्ला र? तपाईहरु यस्तो महेनत गर्दै हुनुहुन्छ, दिनरात नभनी ड्यूटीमा खट्नु भएको छ, त्यत्रो साधनश्रोतहरु परिचालन भएका छन्, त्यो सबै कहाँ खेर जाला र?'

'किन त्यसो भन्न नमिल्नु नि, वास्तविकता नै यही हो। पुलिसले डयूटी गरिरहन्छ, चोरी पनि भइ नै रहन्छ। पुलिस भनेको सामान्यतया अपराध भएको एक घण्टा पश्चात् मात्र घटनास्थलमा पुग्ने जन्तु हो। यस अर्थमा अपराधीहरु जहिल्यै पुलिसभन्दा एक कदम अगाडि हुन्छन्। नयाँ-नयाँ प्रविधि, टेक्निक र उपकरणहरुका बारेमा पुलिसभन्दा पहिले अपराधीहरुले जानकारी हासिल गर्छन्, तिनीहरुको प्रयोग गरेर नयाँ-नयाँ तरिका अपनाउँदै अपराध गर्छन्।

प्रहरीले त पछि घटनास्थलमा अपराधीले छोडेका एक दुई वटा चिज वस्तुहरुलाई के-के न ठूलो प्रमाण भेटें भनेर त्यसैको आधारमा यसरी अपराध भएछ भनेर अनुमानसम्म गर्छ र त्यही अनुमानको भरमा अपराधीको तलास गर्छ। यता पुलिस अन्धो मान्छेले हराएको सियो खोजे झैं अनुसन्धानको चुरिफुरि गर्दै हुन्छ, उता अपराधीले अरु पाँच वटा अपराध गरिसक्छ।

अन्तमा कुनै तरिकाले पुलिसले त्यो अपराधी पक्रिहालेछ भने पनि त्यतिखेरसम्ममा अर्कै नयाँ तरिका अपनाएर अर्को अपराधीले आफ्नो कला देखाउन भ्याइसकेको हुन्छ। त्यसैले भनेको बुझ्नुभो, चोरका अघि पुलिसको केही लाग्दैन।'

'हुन त तपाई पुलिस, म सामान्य नागरिक, त्यसैले पुलिस र अपराधीको बारेमा मभन्दा तपाईलाई नै बढी थाहा होला। तै पनि म ठान्छु कि समाजमा अपराधिक घटना घटनाहरु घटे भन्दैमा प्रहरीभन्दा अपराधीहरु अगाडि हुन्छन् भनिहाल्न मिल्दैन। किनकी पुलिस ‘रियाक्टिभ’ मात्र नभई ‘प्रोयाक्टिभ’ पनि हुन्छ। पुलिसले अपराधको अनुसन्धान मात्र गर्दैन अपराध रोकथामका लागि पनि उत्तिकै मेहेनत गरिरहेको हुन्छ।

नयाँ-नयाँ ‘टुल्स’ र ‘टेक्नोलोजी’ प्रयोग गरेर सम्भव भएसम्म समाजलाई ‘क्राइम प्रुफ’ बनाइरहेको हुन्छ। घटिसकेका अपराधहरु तर्फ मात्र नसोचेर प्रहरीको दमदार उपस्थितिका कारण अपराधीले घटाउन नसकेका अपराधहरु तर्फ विचार गर्ने हो भने अपराधीभन्दा प्रहरी नै अगाडि देखिन्छ।'

'प्रत्यक्ष रुपमा देख्न र भोग्न सकिने ठोस काम गरेर देखाउने अपराधीहरु भन्दा नघटेका अपराधहरुको लागि पुर्‍याएको अमूर्त र काल्पनिक योगदानको कारण प्रहरीलाई अगाडि देख्ने तपाईको तर्कदेखि म पटक्कै सहमत छैन। हेर्नुहोस्, प्रहरीको संख्या र उनीहरुका साधन र श्रोतहरु सदैव सिमित हुन्छन् तर त्यसको तुलनामा अपराधी र अपराधका सम्भावनाहरु असिमित हुन्छन्।

कोही पनि अपराधी हुनसक्छ र जहिले र जहाँ पनि अपराध घट्न सक्छ। त्यसलाई रोक्न प्रहरी सर्वत्र सर्वकाल कहिल्यै खडा रहन सक्दैन। त्यसैले प्रहरीभन्दा अपराधी नै अगाडि हुन्छन्। उदाहरणको लागि यही पार्कमा हेर्नुहोस्, म यहाँ अनगिन्ती चोरीका सम्भावनाहरु देखिरहेको छु। म एउटा प्रहरीले, जो एकछिन यहाँ आएको छु र तुरुन्तै अन्तै खटिन पनि सक्छु, कसरी यी अनगिन्ती सम्भावनाहरुलाई रोक्न सक्छु?'

प्रहरी अगाडि कि अपराधी भन्ने तर्क गफै गफमा निस्केको मात्र हो, त्यो तर्कले अन्जानलाई वा उसको पार्क आगमनको उदेश्यलाई कुनै फरक पार्ने वाला थिएन। तर चोरीका संभावनाहरु बारे, जो उसले नजानेका वा नसोचेका पनि हुन सक्छन्, थप बुझ्नु उसको लागि फाइदाजनक हुन सक्थ्यो। त्यसैले यी सम्भावनाहरु बारे बुझ्न अञ्जानले साँच्चैको अञ्जान जस्तै बनेर सोध्यो, 'त्यस्तो के सम्भावना देख्नुहुन्छ र सर यहाँ, म त केही पनि देख्दिन त!'

जवाफमा चोरीको एउटै सम्भावना नदेख्ने अञ्जानको बुद्धुपना प्रति पुलिस एक पटक हास्यो र चोरिन वा ठगिन सक्ने थुप्रै सम्भावित पीडितहरुको बारेमा विस्तारमा बतायो। उसका अनुसार ‘त्यो लिपिस्टिक र गाजलले लतपत भएर मस्किरहेकी केटीसँग जिस्किने मान्छे माडवाडी व्यापारी हो तर बुद्धि नभएको, त्यही केटीसँग मिलेर त्यसलाई सहजै लुट्न सकिन्छ।

त्यो मैलो र झुत्रे देखिने कालो मूर्ति तरकारी बेच्ने मान्छे हो, एक बोतल गिलमेरी लिएर यहीं पार्कको एउटा कुनामा खान बोलाउने हो भने त्यसको पाईजामामा मुठो बनाएर राखेको आठ/दश हजार कतिखेर हरायो त्यसले भोलि मात्र थाहा पाउँछ। त्यो अधवैंशे मान्छे ल्यापटप सहितको झोला आफ्नो पछाडि राखेर कविता लेख्दैछ, डाईरेक्ट ल्यापटप मै टाइप गर्नु नि, तर दशा लागेपछि कसको के लाग्छ र?

त्यसले हिड्ने बेलामा मात्र थाहा पाउँछ आफ्नो झोला गायब भएको। त्यो गाउँले आइमाई देख्दै हुनुहुन्छ नि, त्यो कति सोझी छे भने ‘तपाईको गहना मैलो भएछ म सफा गर्दिन्छु’ भन्यो भने खुरक्क नाक, कान, घाँटी सबै बुच्चै पारेर तपाईको हातमा राखिदिन्छे...’

उसले यस्ता सम्भावित पीडितहरु दश जनाभन्दा बढी त्यहीं बसी-बसी देखायो। कसैको मोबाइल, कसैको पर्स, कसैको घडी चोरले सहजै ढाँटेर, झुक्याएर, ठगेर विभिन्न तरिकाले उम्काउन सक्ने सम्भावनाहरु देखायो। अन्जानले दंग परेर उसको कुरा सुन्यो। यत्तिका धेरै मान्छे यत्तिका धेरै तरिकाहरु द्वारा चोरिन वा ठगिन सक्छन् भन्ने कुरा जान्न पाएर अञ्जान खुसी भयो। तर चोरीका थप सम्भावना र तरिकाहरु जान्ने उसको लालच अफै तृप्त भएन।

त्यसैले पूर्ण सफाईका साथ ‘फूल्ली पुलिस प्रुफ मोडस ओपराण्डी’ प्रयोग गरेर सफलतम तरिकाले चोरी गर्ने र कहिलै पक्राउ नपर्ने विधी र तरिकाहरु जान्ने लालसाले पुलिसलाई अझै थप कुराहरु भन्न उक्साउने मनसायका साथ आफ्नो विचार प्रस्तुत गर्‍यो 'तपाईले देखाउनु भएका यी सबै सम्भावनाहरु यो अनुमानमा आधारित छन् कि पुलिसहरु पूर्ण रुपमा निकम्मा छन्। तपाई कसरी भन्न सक्नुहुन्छ कि चोरहरु चोरी रहन्छन् अनि तपाई जस्ता प्रहरीहरु चै चुपचाप यो सबै हेरेर बस्नुहुन्छ, तपाईका सम्भावनाहरु पुलिस प्रुफ छैनन्।'

यस पटक भने पुलिसलाई उक्साएर उसबाट कुरा धुत्ने अन्जानको प्रपञ्च फेल मात्र खाएन, एक किसिमले प्रत्युत्पादक नै बन्न पुग्यो। आफ्ना विचारहरु प्रति अन्जानले असहमति मात्र प्रकट गरेको कारणले हो या अन्जानले जान्न चाहेको सबै कुरा बताउन उसको व्यवसायिक धर्मले अनुमति नदिएर हो, पुलिस त रिसायो पो!

उसले तिखा आँखाले अन्जानलाई हेर्दै झर्किएर जवाफ फर्कायो,' हत्तेरिका, तपाई पुलिस कि म? तपाईले यहाँ तर्क गरेर जबरजस्ती पुलिसलाई ठूलो बनाउँदैमा हुन्छ? चोर वा पुलिसको बारेमा तपाईभन्दा मै बढी जान्दछु होला नि! ल ठिक छ, तपाईलाई जे ठिक लाग्छ त्यही सोच्नुहोस्, मलाई चैं पुग्यो तपाईको कुरा।'

पुलिस रिसाएजस्तो लागे पछि अन्जानलाई अब त्यहाँ बसिरहन उचित लागेन र हिँड्ने मनसायले जुरुक्क उठ्यो। पुलिस केही नबोलिकन ट्वाल्ल परेर हेरिरहेको थियो, अन्जान भने आफ्नो झोला टिप्न हल्का निहुँरिदै बोल्यो 'ल तपाई बस्दै गर्नुहोस्, मेरो हिड्ने बेला भयो' र आफ्नो झोला बोकेर सरासर हिंडिहाल्यो। तर अन्जान निहुरेर उठ्दै गर्दा उसले लगाइराखेकको ज्याकेट केही माथि सर्न गयो जसको कारण उसले कम्मरमा भिरिरहेको पिस्तोलको अलिकति भाग देखिन पुग्यो।

पुलिस त आश्चार्य चकित भयो ‘गाँठे, यो मान्छे त हाई प्रोफाइल क्रिमिनल पो रहेछ त, बन्दुकै बोकेर हिंड्ने गुण्डा हो कि डाका हो। त्यही भएर पो उसको कुरा सुन्न उल्टो पुलिसको पक्ष लिएर यत्तीका बेर कुरा गरिरहेको रहेछ उसँग। धत्तेरिका, कस्तो अन्दाजै गर्न नसकेको उसले।’

तर पुलिसले केही गर्नै भ्याएन। उसले छक्क परेर हेर्दा हेर्दै र उसको बारेमा धारणा बनाउँदा बनाउँदै त्यो मान्छे हिडिहाल्यो र छिटो-छिटो हिँड्दै पार्कको गेटमा पुगिहाल्यो। उ हेर्दै थियो त्यो मान्छेले हतार-हतार गेट बाहिर निस्केर यसो टाउको छाम्यो र कसो-कसो गरेर खर्लप्प टाउकाको एक पत्रै पो निकाल्यो।

‘मेरी बास्सै नि, त्यसको लामो कपाल त नक्कली पो रहेछ, कस्तो साच्चैको कपाल जस्तै देखिने ‘विग’ लगाएको रहेछ’ उ एक्लै गुन्गुनायो 'यस्तो नक्कली भेष धारण गरेर सायद कसलाई लुट्न आएको थियो पार्कमा, मलाई देखेर भाग्यो'।

पुलिसले त्यो मान्छेको पछि-पछि दौडेर गएर उसको गतिविधि बुझ्न सकिन्छ कि भनेर सोच्यो। तर अब ढिलो भइसकेको थियो। आफ्नो नक्कली कपाल झोलाभित्र कोचेर एकैछिनमा त्यो गुण्डा पार्क बाहिरको मानिसको चहलपहलभित्र पस्यो र कता बिलायो कता।

पुलिसले एकछिनको लागि आफ्नो लक्ष, उद्देश्य, काम सबै बिर्सियो र त्यही बेन्चमा बसेर यो अनौठो, आश्चर्यजनक र रहस्यमयी गुण्डाको हुलिया, उसँगको भेटघाट, वार्तालाप आदिको बारेमा सोचिरह्यो। उसलाई एककिसिमले रमाइलो र रोमाञ्चक लाग्यो यो गुण्डासँग बिताएको छोटो समय।

त्यो गुण्डा हिंडेको तीन/चार मिनेट पश्चात पनि उसको चक्कराइ रहेको दिमाग शान्त भैसकेको थिएन। उ त्यहि बेन्चमा बसेर सबै घटनाक्रमहरु सम्झँदै मुस्कुराइरहेको थियो। तर यस्तै बेलामा अचानक त्यो पुलिसले थाहा पायो कि उ पाँच जना अन्य पुलिसहरुद्वारा घेरिएको छ। उसले केही सोच्ने, बोल्ने वा गर्ने मौकै पाएन। आएका पुलिसहरुले फूर्तिका साथ उसलाई हत्कडी लगाए, तान्दै-तान्दै गेट बाहिर निकाले र त्यहीं नजिकै रहेको पुलिस भ्यानमा हाले।

भ्यानको अघिल्लो सिटमा बसेर इन्स्पेक्टर रञ्जित कसैलाई रिपोर्ट गरिरहेका थिए 'सर, हि इज अन्डर आवर एरेष्ट। टार्गेट आइडेन्टिफाई गर्न खासै प्रोब्लम भएन। दैनिक अलग-अलग भेषमा चोर्ने गरेको, आज पुलिसकै भेषमा आएको रहेछ। तर उसलाई सायद थाहा भएन कि रिल्याक्सेसन र मनोरञ्जनका लागि आउने मानिसले अप्ठ्यारो महशुस गर्लान् भन्ने ठानेर हामीले पार्क भित्र युनिफम्र्ड पुलिसको प्रवेशलाई निषेध गरेका थियौँ।

यो युनिफर्म यसले कहाँबाट कसरी पाएको रहेछ, म बुझेर रिपोर्ट गर्छु.....'

पछिल्लो सिटमा दुई प्रहरीहरुको बीचमा बसेको चोरले इन्स्पेक्टरको अनुहार अझै देख्न पाएको थिएन तर आवाज उसले स्पष्टै चिन्यो- ओहो, उही पार्कको बन्दुकवाला गुण्डा!

रिपोर्ट गरिसके पश्चात् अगाडिको सिटबाट यसो ढल्केर इन्स्पेक्टर रञ्जितले पछाडि पट्टि खिस्रिक्क अनुहार लगाएर बसिरहेको चोरलाई हेरे र मुसुक्क हाँस्दै आँखा झिम्क्याए। चोरले जिल्ल परेर इन्स्पेक्टरलाई हेर्‍यो र सोच्यो, ‘ल हेर, अहिले त यसको अनुहार सपाट पो छ, मोराको दारी पनि पो नक्कली रहेछ!’

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १२:४३
सिफारिस
अब इरानको आणविक कार्यक्रम के हुन्छ?
अब इरानको आणविक कार्यक्रम के हुन्छ?
किन बोलायो एमालेले सचिवालय बैठक
किन बोलायो एमालेले सचिवालय बैठक
अब ऋणीलाई समय दिनु नै उत्तम विकल्प
अब ऋणीलाई समय दिनु नै उत्तम विकल्प
आज स्थानीय तहको बजेट, काठमाडौं महानगरले भने अझै बोलाएन बैठक
आज स्थानीय तहको बजेट, काठमाडौं महानगरले भने अझै बोलाएन बैठक
उडान रद्द भएपछि विमानस्थलमा यात्रुको बिचल्ली (तस्बिरहरू)
उडान रद्द भएपछि विमानस्थलमा यात्रुको बिचल्ली (तस्बिरहरू)
कानको फोहोर किन फाल्नु हुँदैन?
कानको फोहोर किन फाल्नु हुँदैन?
कतारको अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल
कतारको अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, छानबिनको जिम्मा पूर्व मुख्यसचिव वैरागीलाई
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, छानबिनको जिम्मा पूर्व मुख्यसचिव वैरागीलाई
अरनिको खोज्दैछ बेइजिङ
अरनिको खोज्दैछ बेइजिङ
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

त्यो ढिला थाहा पाएको प्रेम!
घमण्डी आभा!
म रुखसँग कुरा गर्न सक्छु!
बिरामी समय!
म शरणार्थी!
एक्लो मान्छे!

विचार

चेतनाथ आचार्य
अरनिको खोज्दैछ बेइजिङ चेतनाथ आचार्य
जीवन क्षेत्री
तीन गुरूहरू कृष्णमूर्ति, ओशो र आचार्य प्रशान्तलाई सुनेपछि... जीवन क्षेत्री
गोकर्णप्रसाद उपाध्याय
यहाँको बट्टारदेखि त्यहाँको उलानबटारसम्म गोकर्णप्रसाद उपाध्याय
डा. नूतनधर शर्मा
ललितपुरमा देखिने बौद्ध चारधाम यात्राको झलक डा. नूतनधर शर्मा

ब्लग

अमृत ढकाल
मकै, ट्याम्पो, चिया पसल र इन्ड्राइभका गुनासा... अमृत ढकाल
विश्व पाण्डे
यदि म सरकारी जागिरे भएको भए! विश्व पाण्डे
गिरीश ठगुन्ना
पढ्ने भनेको पुस्तक मात्र हो, पढाउने भनेको शिक्षकले मात्र हो! गिरीश ठगुन्ना
दीपशिखा अर्याल
सबै जना अट्ने समिना दिदीको एक कोठे घर! दीपशिखा अर्याल

साहित्यपाटी

शान्तिप्रसाद जोशी (मुस्कान)
त्यो ढिला थाहा पाएको प्रेम! शान्तिप्रसाद जोशी (मुस्कान)
कविता कार्की
घमण्डी आभा! कविता कार्की
सन्दीप बस्याल
म रुखसँग कुरा गर्न सक्छु! सन्दीप बस्याल
नवराज जोशी
बिरामी समय! नवराज जोशी

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली
विदुर दाहाल
आगामी बजेटमा स्वास्थ्य बिमाको दायरा बढाई बिमा कार्यक्रम प्रभावकारी बनाऊ सरकार! विदुर दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP