'जब सत्यले आफूमाथि प्रहार गर्दछ, त्यतिबेला आफूसँग बचेका असत्यका पोकाहरू फुटेर छताछुल्ल भै दिन्छन्। असत्य/असत्य नै हो, जति लुकेर बस्न खोजे पनि बाँच्नको लागि सत्यताको पन्तुराबाट श्वास फेर्न चिहाइरहनु पर्दछ।
श्वास प्रश्वासको लागि आफैले च्यातेर बनाएको तिनै प्वाल अन्ततः सत्यताका लागि गोरेटो बनीदिन्छन् र त्यही गोरेटोबाट छिरेर सत्यले गरेको प्रहार सहनु पर्ने हुन्छ। त्यसैले त संसारमा जहिले पनि असत्यमाथि सत्यले बिजय प्राप्त गर्दछ। सत्य यही हो।' अनवरत पढ्दै थिएँ, बत्ती झ्याप्प निभ्यो।
'कसलाई सुनाइरहेकी छौ तिमीले अरुद्वारा लेखिएका तथाकथित नैतिकताका पाठहरू?' म झसंग भएँ।
मैले यसरी पढिरहँदा म कोसँग छु मैले हेक्का नै नराखी पुस्तकमा लेखिएका वाक्यांश एकनासले भट्टाइरहेकी थिएँ। पढ्दै जाँदा शब्द शब्दहरूमा मेरा ओठहरू सल्बलाईरहेका थिए भने दिमागका हरेक संयन्त्रहरू काल्पनिक युद्ध मैदानमा पुगेर सत्य र असत्यबीच भएको घमासान युद्धको आँकलन गरिरहेका थिए।
तिक्तता भरिएका उसका भनाइहरुले मेरा काल्पनिक सपनाहरू सबै भताभुङ्ग भैदिए। मानौँ म नै त्यो सिपाही थिएँ जसले कमाण्डरको आदेश कुरिरहेको थियो।
रिस र आवेगले रन्थनिएर अघिदेखि मेरो कोठामा तमासा देखाइरहेको त्यो शरीर अरु कोही नभएर मेरै मान्छे थियो। मेरो मान्छे अर्थात् मेरो लोग्ने। पति परमेश्वर, जीवनदाता, जीवन साथी हुँदै 'त्यो' भनेर निसंकोच सम्बोधन गर्न लायक आफ्नै मान्छे यतिबेला मेरा नजरले युद्ध मैदानको खलनायक देखिरहेको थियो।
कोठाको दराजमा सजिएका पुस्तकका ठेलीहरू हामी बीचको मौन युद्धको तमासे बनेर विगत र वर्तमानमा देखिएको फराकिलो अन्तरविरोधका साक्षी बनेर कर्तुत नियालिरहेका थिए।
शंकाको बीउ रोपेर अविश्वास उमारेपछि मान्छे आफै सशंकित बनेर तर्सिदो रहेछ। त्यसैले होला मैले अध्यन गर्ने पुस्तक पनि उसका लागि तथाकतित भै दिएका थिए। शंका र अविश्वास उसका खेलौना थिए, उ त्यसलाई खेलाईरहन्थ्यो अनि त्यसैमा तड्पिरहन्थ्यो।
जब जलन पैदा भएर उ आत्तिन्थ्यो अनि हर्कत देखाएर तर्साउथ्यो। बुझ्न नसकिएका उसका मानसिक हर्कतहरू मेरा निश्चल र र्स्वार्थरहित मनले अदृश्य भएर अंगाली दिन्थे र आफूसँग समाहित गरी दिन्थे। बाध्यता र परिस्थितिका भोगाइहरू मैले यसै गरी केही समयदेखि निरन्तर भोगिरहेकी थिएँ।
नितान्तमा एक्लो भएर म बस्ने मेरो कोठा निर्जीव थियो। कोठामा सजाइएका हरेक बस्तुहरू निर्जीव थिए। तर म सजीवतामा बाँच्ने कोशिस गरिरहेकी थिएँ। मलाई थाहा थियो, यिनै निर्जीवताहरूबाट नै मसँग भएको मेरो सजीवता हुर्किरहेको छ अनि बाचिरहेको छ।
'तिमीले पुस्तकमा सल्बलाएका शब्दहरू छाम्यौ तर केलाउन सकेनौ। त्यसैले तिम्रा लागि तथाकथित भैदिएका हुन सक्छन्।' अपांग शरीरको सपांग मन भित्र थन्किएको आवेश छताछुल्ल पारेर पोखिदिए। हरपल शंकामा बाँचेको मान्छेले के बुझोस् मैले पोखेका अभिव्यक्तिहरुमा पनि वास्ताविकताका यथार्थहरू पोखिएका छन् भनेर!
केलाएर निफन्न सक्ने उसको क्षमता भै दिएको भए शंकाको ऐजेरुमा जेलिएर किन तड्पिन्थ्यो होला र! ढोका छेउमा भर्खर फुलेको क्याक्टसको फूल ठुन्काएर दुई टुक्रा पारेपछि उसको मूर्खतालाई खुसी बनाएर उ बाहिरियो। विचारी फूल आफ्नो निर्दोषीतामा छटपटाउदै रोइरहेकी थिई।
आपसी सम्बन्धमा यति लामो समयपछि किन यसरी दरार पैदा भै रहेको छ मैले बुझ्न सकेकी छैन। हिजोका सबै राम्रा पक्ष दिन प्रति दिन नराम्रोमा परिणत हुँदै गइरहेका थिए। उज्यालो घर क्रमशः अँध्यारो हुँदै थियो तर पनि भोग्नु थियो, भोगिरहेकी थिएँ।
विचरा क्याक्टस आफ्नै दुनियाँमा आफ्नै स्वतन्त्रतामा आफ्नैहरूसँग हुर्किएकी थिई। कसैका भोक मेटाउनका लागि उ बेचिइ र कसैको खुसीको लागि गुम्सिएर भए पनि फुली दिई। फुल्नु उसको रहर थिएन, बाध्यता थियो। नफुलेको भए आफ्नो यौवनता देख्दिनथी, देखी।
खुसीमा रमाई तर आज जसले सजाएर बाध्यतामा फुल्न सिकायो, उसैले ठुन्काएर गयो। अब रुनुको अर्थ उसले कसरी बुझोस्। हेर्दा हेर्दै ठुन्किएर दुई टुक्रा भएको क्याक्टस फुत्रुक्क भुइमा खसेर एकनासले मलाई गिज्जाइरहेकी थिई।
जब मानिसमा अहंकारले राज गर्छ त्यतिबेला सत्य अनि यथार्थ पनि तितो भैदिदो रहेछ। वर्तमानका भोगाइहरूले मलाई यही सिकाइरहेको थियो। हिजो उसैले सजाएका पुस्तकका ठेलीहरू आज तथाकथित हुँदै गइरहेका थिए।
कुरुप र काँढै काँढाले घेरिएको क्याक्टसमा पनि लोभ लाग्दो फूल फुल्न सक्छ भनेर उसैले सजाएर हुर्काएको क्याक्टस ठुन्किएर दुई टुक्रा हुँदा पनि आज रत्तिभर आत्मग्लानिको अनुभूतिसम्म गर्न सकेको छैन।
मेरो के गल्ती थियो र आज मलाई यसरी रूहाइरहेको छ! अनभिज्ञताले सिथिल मेरो मानसपटल मेरो मौनता माथि विद्रोह गर्न उस्काइरहन्छ र पनि उज्यालो भविष्यको सपना देख्दै म भने विद्रोहलाई थुम्थुमाइरहन्छु। हिजो भर्खर त हो आज जस्तै लाग्छ। मेरो अपूर्णतामा उ पूर्ण भएर आएको थियो।
अपांग मेरो भौतिक शरीरमा उसले दिएको पूर्णताले म खुसीमा रुदै उसको सपांग शरीरलाई रहर पुग्दासम्म अंगालेकी थिएँ। ठानेँ, यही रहेछ मेरो भाग्यको विधाता। तर आज म मेरो अगाडि भर्खर ढलेकी क्याक्टसको फूल जस्तै निरिह भै बाँचिरहेकी छु।
प्रेम बाँच्नुको आधार थियो खोजियो। प्राप्तिपछिको सम्बन्ध, आवश्यकता थियो गाँसियो। अपनत्व केबल स्वार्थ रहेछ, आवश्यकतामा बाचिदिने। के थाहा कुनै बेला म पनि तथाकथित भै दिने पो हुँ कि वा यही क्याक्टस जस्तै ठुन्किएर पछारिने पो हुँ।
प्रेम र सम्बन्ध लेख्ने देख्ने र भोग्नेमा फरक हुँदो रहेछ। लेख्नेले सफा मन बनाएर लेख्दो रहेछ, त्यसैले संयोगान्तका कथाहरू धेरै लेखिदा रहेछन्। देख्नेले निर्दोष आँखाले हेर्दो रहेछ, त्यसैले जताततै मुना र मदन मात्रै देख्दा रहेछन्। भोग्नेहरू सायद म जस्तै बाध्यतामा बाँच्दा रहेछन्, त्यसैले भोगाइहरू बन्दी बनेर सीमित घेरामा थुँनिदा रहेछन्।
एकअर्काको चालढाल र हिडाइबाटै मनोदशा बुझ्न सक्ने हामी बीचको सम्बन्ध आज शिरदेखि पैतालासम्म हेरेर टोलाईरहँदा पनि खुत्याउन नसकिने भएको छ। कहाँ कसरी के कारणले यो भै रहेको छ। बुझ्न सकिरहेकी छैन।
बुझ्ने कोशिससम्म गर्ने हिम्मत पनि जुटाउन सकेकी छैन। हामी बीचको यो असमझदारीको सजाय विचरा कोठाका निर्जीव बस्तुहरूले दिनानुदिन भोग्न बाध्य भै रहेका थिए। यो देखेर मलाई हरपल प्रेम सम्बन्ध र अपनत्वको परिभाषा बुझ्न मन लागिरहन्छ। त्यसैले त पलपल दराजमा सजाइएका तिनै पुस्तकका ठेलीहरू सुम्सुमाइरहन्छु।
'किन हो किन आजभोलि मेरो अपांग शरीर दुखिरहन्छ।' एक रात मैले उसलाई जानकारी गराएकी थिएँ।
'सपांग शरीर त दुख्छ भने अपांग दुख्नु कुन ठूला कुरा भयो' प्रेमशून्य भावमा व्यक्त उसको कठोर बोली सुनेर एकरात म बेस्करी रोएकी थिएँ। मेरा रुवाइबाट झरेका आँशुहरूमा हिनताबोध र खुम्चिएका छायाहरू छरपष्ट देखिरहेकी थिएँ। मानौँ मेरा आँसुहरू जल सागरमा परिणत भैसकेका छन् र त्यसमाथि काला बादलहरू बेफिक्री मडारिरहेका छन्।
'मेरो खुसी अनि मेरो जिन्दगी तिमीसँग छ। शरीरले मलाई के गर्छ र!' फुरुङ्ग पार्दै मलाई उसले लोभ्याएको थियो।
म लोभिएँ। लोभिनुमा मेरो चाहा थियो र आवश्यकता पनि थियो। शरीर अपांग भए पनि यौवनाता बोधो नहुँदो रहेछ। पुलुकित हुँदै स्वीकारेर बाँच्ने कोशिस गरेँ। सुरुआती दिन मिठा थिए, दुवैले ग्रहण गर्यौँ। जे थियो बाडीचुडी गर्यौँ, जे थिएन स्वीकार गर्यौँ। लाग्थ्यो यही नै जिन्दगी रहेछ।
दिनहरू बित्दै गए, अपनत्व स्वार्थको घेराबन्दीमा पर्दै गए। दृष्टिकोण फरक/अनुभूति फरक/चाहना फरक/हुँदाहुँदै आभास समेत फरक। लाग्छ आजभोलि त अब हामी बीचको सम्बन्ध पनि फरक हुँदै गइरहेको छ।
अव्यक्त, अदृश्य हामी बीचको असमझदारी क्रमस झाङ्गिदै गर्दा अब आचरणमा पनि परिवर्तन देखा पर्दै थिए। सँगै रहनुको अर्थ अब एकले अर्कोसँग खोजी गर्दै थियो। परिणाम आवेग बनेर निर्जीव बस्तुहरूमा पोखिन्थे। अब भने मलाई महशुस हुँदै थियो- यो पो रहेछ त असली जिन्दगी।
हरेक दिन जिन्दगीका दृश्यहरू क्रमशः बदलिदै गर्दा हामीले एक अर्कोलाई देख्न पनि नसक्ने भयौँ। दरार परेका जिन्दगीका यात्राहरूमा ठूला-ठूला भ्वांगहरू पर्दै थिए। अब कोठा बदलियो, सोच बदलियो गर्दा गर्दै एक दिन संयुक्त ओच्छ्यान समेत बाँडिन पुग्यो। लाग्थ्यो अब हामी एक नदीका दुई किनारा भएका छौँ।
दायित्व, कर्तव्य र बोध अब हाम्रा दिमागी शब्दकोषमा रहेनन्। इर्ष्या,डाहा प्रतिसोध र अधिकार मात्रै लावा लस्कर लागेर दिमागमा आइदिन थाले। आरोप र प्रत्यारोप बीचको हाम्रो सम्बन्ध हुर्किरहँदा हरेक पल मैले पुस्तकका ठेलीहरूमा जीवन र जिन्दगीका परिभाषाहरू खोजी गर्थेँ।
समय पायो कि उसले भने उसैगरी निर्जीव बस्तुहरू माथि आकर्षण गरेर मलाई तर्साइरहन्थ्यो। अपांग शरीर लिएर म उसका हर्कतहरू हेरी दिन्थेँ र मनमनै भन्थेँ- कास! ती दिनका प्रेमिल रस रंगहरू फेरि पूनर्जीवित भै दिए।
झमक्क परेको साँझ झरी बादलले वातावरण क्रमशः चिसो हुँदै थियो। माया र अपनत्वको अभावले चिसाम्य मेरो शरीर आगोको न्यानो रापमा चित्त बुझाउदै थियो। अचानक उ ढुनमुनिदै मेरो कोठामा आयो र मलाई गम्लङ्ग अँगालो मारेर भुइमा लम्पसार पल्टियो।
यतिन्जेल उ शिथिल भैसकेको थियो। मुखबाट फिजै फिजको गाँज निस्किरहेको थियो। खुल्ला किताबका पन्ना जस्तै उघ्रिएका उसका प्रायश्चित एक जोडी नयनहरुमा मेरा निर्दोष नयनहरुले उसका कुण्ठित भावनाहरू देखिरहेको थियो। वर्षौदेखि थन्किएका अव्यक्त उसका कुण्ठाहरू मैले सरसर्ती पढेँ र भनेँ-
'तिमी पुरुष यतिसम्म कम्जोर मनका हुँदा रहेछौ, मैले सोचेकीसम्म थिइनँ। समर्पण भावले समर्पित हुने एउटी नारीको अस्मितालाई जुन दिनदेखि तिमीले आफ्नो स्वार्थ अनुकुल परिभाषित र व्याख्या गर्न खोज्यौ, त्यही दिनदेखि तिमी अविश्वासको मन्द विष पिएर जिउन खोज्यौ।
संयुक्त जीवन जिउनु रहर होइन, आवश्कता हो। आवश्यकता चाहनाले मात्र प्राप्त हुँदैन। समर्पणको पनि खाँचो पर्दछ भन्ने बुझ्न सकेको भए आज जीवन र जिन्दगीदेखि यसरी भाग्ने पनि थिएनौ होला।'
विष सेवन गरेर ढलेको उसको नाजवाफ शरीर क्रमशः निलो हुँदै थियो। शंकालु उसका नयनहरुले अँझै पनि मेरो पवित्र अस्मितामाथि बहस गर्न खोजेको भान भै रहेको थियो। नजिकै रहेको पुस्तकहरू पल्टाएर फेरि अध्यन गर्न मन लाग्यो- के असत्यमाथि सत्यको विजय अवश्य भावी भए जस्तै साचो प्रेमको पनि सधैं जित हुन सक्छ?
निस्तब्ध कालो रातको चिसो कोठामा बलेको आगोको रापिलो न्यानोमा म बेस्करी तात्तिएको थिए भने मेरो छेवैमा मेरो जीवन र जिन्दगीको आधार चिसाम्मै भएर ढलिरहेको थियो। लामो समयदेखि थुनिएर रहेका मेरा नयनका आँसुहरू लगातार बगिरहेका थिए। आखिर उ जस्तो भए पनि मेरै त थियो नि।