डिग्रीको सर्टिफिकेट हातमा परेको दिन
उसमा खुसीको सिमा रहँदैन, खुसीले पागल झैं
उफ्रिन्छ, डिग्रीमा प्राप्त गरेको अंकले उसलाई
अलौकिक आनन्द दिन्छ र भौंतारिन्छ सहरका
गल्लीहरूमा
उसले देखेका सपना पूरा गर्ने उदेश्य बोकेर जागिरको
खोजीमा निस्किन्छ, तर नातावाद, कृपावाद, र आशिर्वादमा
जकडिएको समाजमा उसले आफू र आफ्नो डिग्रीको महत्व
धुलो समान पाउँछ
आफूले सजाएका सपनाहरूको मृत्युवरण भएको देख्दा रात्रिको
बत्तीमा घुम्ने पुतलीसरह अस्तित्व गुमेकोदेखि
पलयान हुन्छ
विदेशी भूमिमा पसिना बगाउँदै गर्दा स्वदेशमा
हराएका सपनाहरु सम्झिन्छ,
निद्रा हराएको बेला आफ्नी आमाको मुहार सम्झदै सिरानमुनि
राखेको उसको डिग्रीलाई सुम्सुम्याउँछ
अनि पश्चातापमा तडपिन्छ।