चौध वर्षकी फूलजस्ती छोरी गर्भवती भएको थाहा पाएपछि छाँगाबाट खसेजस्तो भए मोहनप्रसाद। कति मायाले हुर्काएका थिए। आँखाको नानी बनाएर राखेका थिए। उसका इच्छा र चाहेका सबै पूरा गरिदिएका थिए।
भर्खर नौ कक्षा पढ्दै थिई। राम्री थिई, सोझी पनि थिई सरु।
'तैंलै कसको पेट बोकिस् भन्' भनेर करकाप गरियो तर केही बोल्न सकिन। सरुकी आमा रमिलाले दुई झापड हिर्काइन्।
'कसरी मुख देखाउनु समाजमा हे भगवान्, तैंले यो के गरिस्?'
'यो सब तेरो कारणले गर्दा हो, छोरीलाई पुल्पुल्याएर यस्तो देख्नुपर्यो आज।'
'छोरी कहाँ जान्छे, कोसँग बाल्छे भनेर बाउलाई मतलब छैन। दोष जति मलाई थुर्पानु,' भत्भताउन थालिन् रमिला।
'धेर नबोल्' मोहनप्रसादले थपे।
छोरीलाई पेट दुख्यो भनेर लगेको स्वास्थचौकी, दुईजीउ छ भनेर सुन्दा एकछिन स्तब्ध भए। मनभित्र आँधी चल्यो। मोहनप्रसाद चकित भए। हातखुट्टा कामेका थिए। अविवाहित छोरी, भर्खरै चौध मात्र टेकेकी गर्भवती छ भनेर सुन्दा आफैलाई नै सम्हाल्न नसक्ने भएका थिए।
सरुको भाइ पनि छ- आठ वर्षको। उसलाई थाहा छैन उसको दिदीको बारेमा। छोराछोरी पढाउन, हुर्काउन गाह्रो भयो भनेर उनीहरु सहर पसेका थिए। पुलिसको नोकरी गरेर पेन्सनसमेत पकाएका थिए मोहनप्रसादले।
'छोराछोरीकै लागि भनेर यस्तो दुःख गरियो, आज आएर यो देख्न पर्यो। त्यो केटा को हो? कहाँ बस्छ? भन् तेरो हामी बिहे गर्दिन्छौं,' समेत भने बाआमाले।
अहँ, पटक्कै बोलिन सरु। बर्खाको समय छ। पानी परेको परेकै छ। हप्ता दिन भइसक्यो। साँझको खाना खाएर मोहनप्रसादले भने, 'अब यहाँ बस्नु हुँदैन। अन्तै कहीँ गएर बस्नु पर्छ। समाजमा इज्जत जाने भो। यो घर बेचेर अन्तै कहीँ बस्नुपर्छ।'
उनले फेरि भने, 'छोरीलाई गर्भपतन गराईदिनु पर्छ।'
'त्यो केटा को हो? खोजी गरौं न' रमिलाले भनिन्।
'त्यो केटा को हो भनेर खोज्दै गयो भने समाजमा हाम्रो इज्जत अझ जानेछ। छोरी नाबालकै छे। बिहे गर्ने उमेर पनि भएको छैन,' मोहनप्रसादले भने, 'मैले डक्टर चिनेको छु।'
उतिखेर नै फोन गरेर उनले समस्या भने र भोलि बिहानै भेट्ने निधो गरे। रात छिप्पिँदै थियो। गएर सुत भनिन् आमाले। अँध्यारो मुख पार्दै कोठातिर गई सरु। उसको मनभित्र अनेक कुरा खेल्न थाल्यो।
'अब के हुन्छ? मेरो भविष्य कस्तो हुन्छ? मसँग बिहे गर्लान् कि नगर्लान्? मसँग ठूलो भुल भयो?' प्रश्चाताप गर्न थाली सरु। बिहे गर्छु भन्यो उसले। मायाको संसार देखेर। उसँगै पढ्ने केटासँग शारीरिक सम्बन्ध राखी सरुले कलिलै उमरमा।
यौन र प्रजनन् शिक्षाबारे उसलाई थाहा पनि थिएन। किशोरावस्थामा आउने परिर्वतनमा सजग नभएको कारणले यस्तो भुल गर्न पुगी।
'त्यो केटाको बारेमा भनूँ भने मसँग बिहे गरिँदैनन्, ऊ कामीको छोरा हो। म त ब्राह्मण परिवारकी छोरी।'
सरुलाई लाग्न थाल्यो, म बाँच्नुको औचित्य छैन। मैले बा–आमाको नाक काटेँ। बाबाको मनभित्र ठूलो धक्का लाग्यो। ऊभित्र मर्ने भावना पलाउन थाल्यो। विचारहरूले द्वन्द्व खेल्न थाले मनभित्र। अनेक कुरा आयो दिमागमा।
उसले आमालाई सम्झी, आमाले भनेको। अब समाजमा मुख कसरी देखाउनु भनेको कुरा सम्झी। बा–आमालाई सम्झेर धरधरी रोई। अब मर्दैछु कल्पना गर्न थाली। झ्याल खोलेर हेरी, बाहिर पानी परिरहेको थियो। चिसो बतास पनि चलिरहेको थियो।
पानी देखेपछि बल्ल थाहा पाई, उसलाई प्यास लागिरहेको थियो। जगबाट पानी सारेर खाई। पानी पिएपछि थोरै आराम मिल्यो। सरुले सोच्न थाली, गएको महिना डिसेम्बर अम्तिममा कोरोना भाइरस फैलियो। यो भाइरसले गर्दा लाखौँ मानिस मरे। विश्वभरि नै लकडाउन भयो। बाबाले पसल बन्द गर्नुभयो महिनौंसम्म।
यस्तो महामारीको समय छ। दशैं पनि आइसक्यो। अब केही दिन मात्र बाँकी छ। मैले आत्माहत्या गरेँ भने के हुन्छ? कति पीडा हुन्छ? मर्नु समस्याको समाधान पनि होइन नि।
जीवनमा विभिन्न चुनौतीलाई पार गर्दै अघि बढ्न सकिन्छ। ऊभित्र बाँच्ने चाहना पलाउन थाल्यो। जीवन अझै सकिएको छैन। यति राम्रो संसार छ। मेरो कारणले अझ पीडा दिन म चाहन्नँ बाबा–मम्मीलाई। केही हदसम्म सकारात्मक भई।
रात निक्कै छिप्पिसकेको थियो। उसलाई निद्राले छोपिसकेको थियो। म मर्दिनँ भनेर संकल्प गरी र निदाइ सरु।
बिहानै मोहनप्रसादले डाक्टरको लगेर सुरक्षित गर्भवतन गराइदिए। छोरीलाई सान्तवना दिँदै भने- राम्रोसँग पढ्नु, यस्तो भुल कदापि पनि नगर्नू। केही दिनसम्म आराम गरी सरुले। कोरोना भाइरसले गर्दा बन्द भएको स्कुल पनि खुल्न थाल्यो। लकडाउन पनि खुलेर पसलहरु पनि खुले। घर बेचेर अन्त कहीँ गएनन्।
केही समयपछि त्यो समस्या साम्य भयो। सरु अझ मिहेनत गरेर पढ्न थाली। हेर्दाहेदै दशैँ नजिक आयो। यो घटनाको केही दिनपछि सरुले सुनाइ- त्यो रात मर्न लागेकी थिएँ।
छक्क परेर मुखामुख गर्न थाले मोहनप्रसाद र रमिला, छोरीतिर हेरेर।