कोटेश्वर चोक सधैँ झैँ अस्तव्यस्त छ। टन्टलापुर घामको परवाह नगरी सब आ-आफ्नो गन्तव्यमा हतारिएका छन्। म पूर्वनिर्धारित समयभन्दा अलिक छिटो छु। तत्काल कतै गइहाल्नु छैन।
आज प्रतिक्षालय पनि खाली छ, सायद ऊ पनि कसैको प्रतिक्षामा हुँदो हो। करिब पाँच मिनेट प्रतिक्षालयलाई एक्लोपनबाट मुक्त गराउछु। थुप्रै मान्छेहरु आवतजावत गरिरहन्छन् तर म कसैलाई चिन्दिनँ। कहिलेकाही मान्छेहरुको भिडमा पनि एक्लो भइन्छ।
मोबाइलको म्यासेज बक्समा एउटा रातो अकं देखा पर्छ। 'कता होइसिन्छ? म हजुरलाई कलंकी जाने रुटमा कुरिराछु!'
म हाम्रो दूरी घटाउछु। ऊ ट्राफिक प्रहरी वृत अगाडि उभिएकी छे। घामको विकिरणबाट बच्न ऊ छाता ओढेर बसेकी छे तर मेरो नजरका विकिरणहरु उस्को शरीरभरी यत्रतत्र पोखिन्छन्। सायद ऊ यसबाट बच्न चाहान्न। मलाई देख्नासाथ उस्को मुहारमा मुस्कानको एक टुक्रा आएर टासिन्छ, ऊ त्यसलाई बचाइराख्छे।
हामीलाई स्वयम्भु जानु छ। लहरै गाडीहरु उभिएका छन्। पहिलो गाडी छिटो जान्छ, सहचालक दाजुले हातमै समाउला झैँ गरी बोल्छन्। हामी त्यसैमा चढ्छौँ। अगाडि महिला सिटमा दुई वयोवृद्ध बा बसेका छन्।
अन्तिम तिर एक जोडि सिट बाहेक सबै गाडी फुल प्याक छन् र पनि खलासी दाजुले ढोकामा बसेर खाली छ, आउनुस् सबैलाई मिलाएर लानुपर्छ बाहेक केही बोल्दैनन्। सायद हाम्रा प्रम र यिनमा केही समानता हुनुपर्छ।
ऊ त्यही अन्तिमको खाली सिटमा गएर बस्छे। म पनि उसैको छेउमा बस्छु। महिला सिट छोडेर पछि बस्नुको कारण सोध्छु। 'सत्तरी वर्षको बुढो मान्छेलाई उठाएर बीस वर्षकी युवती बस्नको लागि बनाएको हैन महिला सिट' ऊ बोल्छे, म चुप।
ऊ छाता पट्याएर ब्यागमा राख्छे। 'पट्याउने कलामा खुब माहिर छौ हगी' केहीबेरको शून्यतालाई चिर्दै बोल्छु।
'मैले हजुरलाई पट्याएको हैन, आफै पट्टिएको' उस्ले यस्तै केही भन्थी होला तर ऊ यतिबेला केही बोलिन। मैले पनि दोस्रो पटक सोधिनँ। एकपछि अर्को गर्दै आउने स्टेशनमा मान्छेहरु झर्ने र चढ्ने त्रम चलिरहन्छ। गाडीले बेलाबेलामा नमज्जाले उफार्छ, हाम्रो टाउको एकआपसमा जुध्छ।
ऊ फेरि उस्को टाउकोलाई विस्तारै मेरो टाउकोमा ठोक्काउछे। तर त्यतिबेला गाडी राम्रोसँग चलिरहेको हुन्छ। उस्ले किन यस्तो गर्छे, त्यो थाहा छैन तर मलाई उस्ले यस्तो गरेको खुब रमाइलो लाग्छ। अनि कहिलेकाही आफै ठोक्किन पुग्छु।
हामी स्वयम्भु स्टेशनमा झर्छौँ। बाटोभरी प्रशस्तै माग्नेहरु भेटिन्छन्। मन्दिर मात्रै एउटा यस्तो ठाउँ हो जहाँ बाहिर भित्र दुवैतिर माग्न मिल्छ। धेरैजसो माग्नेहरुले हात फौलाउछन् तर कसैमाथि पनि दया लाग्दैन। सायद भगवान पनि म जस्तै कठोर हुँदा हुन्, त्यसैले मान्छेहरुले मागेका कुरा सायदै पूरा गरिदिन्छन्।
बाटोको आसपास थुप्रै बाँदरहरु छन्। ऊ बाँदरदेखि असाध्यै डराउछे। बाँदर देख्नेबित्तिकै ऊ मेरो नजिक आएर मेरो हात समाउछे अनि छिटोछिटो हिड्छे। म उस्लाइ विस्तारै बाँदरको हुल भएतिर मात्रै लग्छु।
त्यसपछि मबाट ऊ दूरी बनाएर बस्दिन। ऊ बाँदरसँगको डरले मसँग नजिकिन्छे अनि मान्छेहरुले देख्छन् झै गरी मबाट पनि थोरै दूरी बनाउछे। उस्ले कहिल्यै डर भगाउदिन बरु उस्लाइ डरले भगाइरहन्छ।
केही समय अगाडि मात्रै स्वयम्भु मन्दिरमा पुननिर्माणको काम चलिरहेको थियो, अहिले सकिएछ। मान्छे अनि भगवानको सम्बन्ध अलि विरोधाभाष जस्तै छ। एकथरि मान्छेहरु मन्दिर बनाउछन्, ढुंगालाई मूर्तिको रुप दिन्छन्, अर्को थरि मान्छे त्यहि मूर्तिलाई भगवान मानेर पूजापाठ गर्छन् अनि बाँकी तिनै मूर्ति, भगवानको किनबेच गर्छन्। वास्तममा भगनावले मान्छेलाई हैन, मान्छेले मान्छेलाई नै मूर्ख बनाको रहेछ।
उस्ले मेरा अनि उस्का गरेर करिब दुई दर्जन जति फोटा खिच्छे। स्टोरेज क्यापसिटी आउट भएको म्यासेज देखा पर्छ। फोटाहरुलाई सजिलोसँग छाटकाँट गर्न मिल्छ। तत्काल मन नपरेका केही फोटाहरु हटाइदिन्छु।
ऊ फोटो मात्रै हैन, यादहरु पनि कैद गरिदिन्छे स्मृतिमा। तर यादहरु हटाउनु असम्भव जस्तै हो, ती त रहिरहन्छ। यादहरुले न कुनै स्पेस ओग्टछन् न त मेमोरी नै फुल हुन्छ।
घाम विश्राम कक्षमा प्रवेश गरिसकेको हुन्छ। 'दुइचोटि घरबाट फोन आइसक्यो, अब फर्कनु पर्छ' ऊ हतारिन्छे। 'खाजा खाएर जाने है त' म बोल्छु। उ नकार्न सक्दिन।
नजिकैको होटलमा पस्छौँ। 'तपाईहरु के लिनुहुन्छ?' मेन्यु पल्टाउदै वेटरले सोध्छ।
'मम...' उस्ले म तर्फ फर्किदै बोल्छे। मैले आँखैले हुन्छ भनिदिन्छु।
'बफ, भेज, चिकेन...' वेटरले हतारहतारमा बोल्छ।
'बफ!' सुरुमै मुखबाट फुत्किन्छ।
'हैन हैन, २ प्लेट भेज' आत्तिए झैँ ऊ बोल्छे। वेटर हाँस्दै पल्लो टेबलका जुठा प्लेटहरु उठाउन लाग्छ।
'मुखबाट फुत्किएका कुराहरु त उठाउनै नसकिने हगी।'
'बाहुन भएर बफ खाइसिन्छ हजुर?' उस्ले म तर्फ प्रश्नवाचक नजर फर्काइ दुई आँखा चार भए।
'बाहुन अनि बफ, यो पनि सोध्ने कुरा हो। म बफ आइटमलाई हातसम्म लगाउदिनँ' चुप हुन्छे झैँ लाग्यो तर यस्तो भएन।
'चम्चा अनि काँटाले खाइसिन्छ होला' ऊ इत्तरिदै बोली।
'साथीहरुले मलाई झुक्याएर खुवाएका नि छन् एक पटक तर मैले खाइनँ। सुरुमै थाहा पाएँ' उस्ले नाक फुलाइ।
अब ऊ साँच्चिकै बाहुनी जस्तै देखिइ।
'मैले पनि झुक्किएर धेरैपटक खाएको छु नि' म बोलेँ। उस्ले हाँसो थाम्न सकिन। उस्को हाँसोमा सबैले एकपटक हामी तिर आँखा पुर्याउन भ्याए।
उस्को फोन तेस्रो पटक बजिसक्यो। ऊ पहिलेभन्दा अलि निराश देखिइ। अनुहारमा डरका स-साना धर्साहरु दौडिए।
'फोन उठाउ न, किन नउठाएको?'
'कहाँ छेस भन्दा के भन्नु, मलाई झुट बोल्न आउदैन' मसिनो स्वरमा ऊ बोली।
सबै गाडी प्याक छन्, खुट्टो टेकाउने समेत ठाउँ छैन। कुनैमा बल्ल आधा घण्टापछि एउटा माइक्रो आइपुग्छ। हामी त्यसैमा चढ्छौँ। साँझ झम्क्कै परिसकेको छ। झ्यालबाट बाहिर हेर्दा सडक लाइटहरु विस्तारै पछाडि छोडिएको जस्तो भान हुन्छ। गाडीले विस्तारै आफ्नो गति लिन्छ।