अगेनो खनि दाउरा खोज्यौं
आगो सल्काइ पकवान बनायौं
पेट चर्किउन्जेल खुवाएकै त हो कमरेड।
हजुरले हात चाटी चाटी खाएको,
आफ्नालाई छाँटी छाँटी भाग लगाएको,
आँखा बन्द गरी भएपनि हेरेकै त हो कमरेड।
परन्तु,
कमरेड हजुरले सोधिबक्सेन,
मनको भावना कहीँ कतै बुझिबक्सेन,
हामी रमिते भएकै हो,
स्ट्राइकरको गोटी बनेकै त हो।
हजुरलाई साथ दिएका काँध दुख्न थालेका छन्
हजारौँ सपनाका बिस्कुन सुक्न लागेका छन्।
अनयासै, कमरेड
फेरि उही पुरानो चोटिलो भाषण याद आयो:
'युद्धको मैदान छोड्नु कायरता हो' याद आयो!
वीर सहिदहरूको रगतले सिन्चित भूमि हो,
वीरता र गौरवपूर्ण इतिहास बोकेको जमिन हो।
कमरेड,
कसरी धृतराष्ट्रको शरणमा पुगिस्यो?
युधिष्ठिर भनि अर्जुन दृष्टि लगाइ हिडेको
उफ!
किन कैकेइ र गान्धारीको धोती समाउनु भो!
धन्य कमरेड!
हामी यसै पनि खुसी छौँ
कागजकै पानी जहाज र रबरको रेलमार्ग नै समृद्धिको आधार रहेछ।
किनकी
हामी लड्यौँ स्वाभिमानका लागिराष्ट्रियता, स्वाधिनता र समानताको लागि
धन्य कमरेड!
हजुरले सिकाएको बन्दुक चलाउन, बम बनाइ दुस्मनलाई ढलाउन,
अफसोस! आज हजुरको हातमा बन्दुक देखेँ
हजुरको औँला ट्रिगरमा छ तर निशाना आफ्नै छातीमा!
बिन्ती अघि नबढ्नु
त्यो कायरता हो, आँखा खोल्नु कमरेड
च्यातिदिनु त्यो कालो पर्दा,
हो, आँखा खोल्नु कमरेड
बाँकी कमरेडको जो इच्छा।