प्रिय साया,
तिमीलाई कस्तो छ? आरामै छौ होला, आरामसहितको कामना गर्दछु। आज म तिमीलाई दोस्रो पटक प्रेमपत्र लेख्न हिम्मत गर्दैछु, स्वीकार ल।
आज पनि तिमीलाई उतिकै प्रेम गर्छु। उतिकै श्रद्धा गर्छु। सम्मान गर्छु। आजभन्दा १५ वर्ष अघि तिमीलाई देखेँ। त्यस दिन तिमीलाई मन पराउन माया गर्न थालेको थिएँ। र, आज पनि उतिकै प्रेम श्रद्धा सम्मान छ।
तिमी मेरो हुन नसकेर के भयो र? सामाजिक संजाल अर्थात फेसबुकमा देख्न पाएको छु। तिम्रो अनुहार मेरो मानसपटलमा अझैँसम्म घुमिरहेको छ। मेरो प्रेम तिमीले जवाफसम्म दिइनौ त्यो दिन। त्यो किशोरावस्थामा हुने प्रेम थियो। अलग्गै अनुभूतिको साथ थियो। सायद त्यो प्रेम सफल भएको भए आज म कति खुसी हुन्थेँ होला!
आज म सन्झिरहेको छु। तिमी अलग्गै संसारमा पुग्यौं। त्यहाँनेर खुसी छौ, रमाएको पनि छौ होला। आज तिम्रो संसार मेरो संसार बेग्लै छ। तिमीप्रतिको प्रेम घटेको छैन। मरेको पनि छैन। पहिला देख्दा जस्तो थियो, आज उहीँ प्रेम छ।
तिमी गयौ अलग्गै संसारमा, बेग्लै भएको छ तिम्रो दुनियाँ। छोडेर जाने निष्ठुरीलाई सम्झिनु बेकार छ र कुनै फाइदा पनि छैन। पाउनु मात्र होइन। प्रेम समर्पण हो, बलिदान हो। त्याग पनि हो। सबैले पाउछन् अनि सफल हुन्छ भन्ने पनि होइन।
प्रेम दिवस नजिकिइरहेको बखत परिस्थितिबस म तिमीभन्दा टाढाको भूगोलमा आइपुगेको छु। अनगिन्ती सम्झना र अलौकिक प्यार, प्रियतम।
तिम्रो प्रेमलाई मैले कसरी ग्रहण गरेको रहेछु, कति अनुभूत गरेको छु भन्ने पढ्न पाउँदा तिमी खुसीले पक्कै गदगद् हुनेछौ। प्रेमलाई विशुद्ध रुपमा अनुभूत गर्न मैले तिमीबाटै सिकेको हुँ।
प्रेमलाई परिभाषित होइन, अनुभूत गर्नुपर्छ भन्ने ज्ञान तिमीले नै त सिकाएको हौ। तिम्रो प्रेमको तुलना अरु कुनै व्यक्ति वा वस्तुसँग हुन त सक्दै सक्दैन नै। र, यस्तो विशिष्ट प्रेमभावलाई तुलना गर्न मेरो आत्माले पनि अनुमति दिँदैन।
तिमी मेरो आत्मादेखि नै नजिक छौ। मेरो हृदयमा टाँसिएर बसेकी छौ। एउटा व्यक्ति के हो? शरीर मनको मिश्रण हो। प्रेम कुनै वस्तुभन्दा पर छ। हामीले देखिरहने हरेक कुरा परिवर्तनशील छ भने प्रेम मात्र अपरिवर्तनशील छ।
कुनै कुरामा फस्नु माया हो। प्रेमभित्र दिव्यता भक्तिपूर्वक श्रद्धा हुन्छ। साँचो प्रेममा भगवानको आशिर्वाद सरह हो। जहाँ कि भगवानको जस्तो दिव्यता मिसिन्छ। प्रेम त दिइन्छ कसैलाई, लिइदैन। प्रेम जति गरिन्छ त्यति नै हामी भित्र खुल्दछौँ। प्रेम शुद्ध ज्ञान हो भनेर परिभाषित गरेका छौँ।
हामीबीचको यात्रा सँगै नभए पनि तिमीलाई हेर्न पाएको छु। टाढाबाट भए पनि तिमीलाई अनुभूत गरेकै छु। पवित्र हृदयले गरेको साँचो माया मर्दैन। म तिम्रो हृदयभित्र राज गरिरहेको हुन्छु।
सायद यो मेरो अम्तिम प्रेमपत्र हुन सक्छ। तिमीप्रतिको शुभेच्छा हो। प्रेम अम्बरत्व छ। आशा, अपेक्षा र गुनासो पनि हुँदैन। यसमा कुनै प्रकारको संघर्ष पनि गर्नु पर्दैन। यो मेरो प्रेम भावना लेख्दै गर्दा कुनै ठाउँमा चित्त दुखेमा म माफी माग्छु। आज छोडी जाने मायालुलाई धेरै धेरै सम्झना छ।
झर्नाले नदीसँग प्रेम गर्छ। पहाडले चट्याङसँग प्रेम गर्छ। चाँदनीले चकोरसँग प्रेम गर्छिन्। नवजात शिशुलाई आमाले कसरी प्रेम गर्छिन्। गाईले आफ्नो बाछाबाछीलाई कसरी दूध खुवाउँछिन्। त्यस्तै निस्वार्थ प्रेम तिमीलाई। आज पनि तिमीलाई प्रेम गर्छु।
तिमीले मेरो प्रेम लत्याएर गयौ। मेरो चोखो प्रेमलाई अपवित्र बनायौ। तिमी गएदेखि पानी बिनाको माछा जस्तै छट्पटाउन थालेको छु। आजसम्म त मेरो प्रेम त भुल्यौ होला। तर पनि मैले तिमीप्रतिको प्रेम भुलेको छैन। तिमी जहाँ पुगे पनि, जस्तो अवस्था पनि तिमी खुसी हुनु। नथाक्नु जीवनदेखि।
तिम्रो हरेक पाइलाहरु शिखर चुमुन। छोडी जानेलाई म अरु के भन्न सक्छु। तिम्रो उपस्थिति नहुँदा खल्लो लागेको मात्र हो तर पनि केही छैन, भोलिका दिनमा पनि उतिकै प्रेम र श्रद्धा मेरो हृदयभित्र जीवितै हुनेछ। प्रेम-प्रणय सप्ताह छ। प्रेमको यो उत्सवमा तिम्रो जीवन प्रेममय बनोस्, शुभकामना।