जब देश संगीन घडीमा रहँदा
लिपुलेक र कालापानीमाथि धाबा बोल्दा
हेलिकप्टरबाट नक्सा बोकी उल्लाहास मनाउँदै गर्दा
मेरो निर्दोश मनमा सन्नाटा छाएको थियो।
हो, तिमी अगाडि बढ्दै गयौ
हिँडेको पाइला मेट्दै गयौ
आशाका किरण झन् रेट्दै गयौ
अनयासै म अवाक भएँ।
घण्टाघरको सुईको फन्को धेरै घुमेछ
सवारीको आवतजावत चर्कै भएछ
अफसोस, तिमीले देखेनौ कुनै
अनवरत हिँडेका पाइलाहरू
सुनेनौं निरन्तर बोलिरहेका चित्कारहरू।
आज फेरि त्यही दिन रहेछ,
समय फेरिएछ,
छैन कुनै नक्साको केक...
छैन कुनै तडकभडक र भड्किलो वातावरण,
छ त मात्रै खुसी उल्लाहास र हर्षोल्हास सबैतिर,
हो, दीप प्रज्वलित छन् चारैतिर,
आजको दिन जनताको भरोसा बलियो भएको दिन
हो, लोकतन्त्रको आधार मजबुत भएको दिन
जनताले न्यायको उपहार पाएको दिन।