यो नारी रूपमा म भूमि तलमा जो जन्मिएँ धर्मले
सौभाग्य यसरी मिल्यो म जननी, लक्ष्मी, धरा कर्मले।
खानी मैसित भो दया र ममता माया अझै प्यारको
शंका, छल कहिल्यै हुँदैन कटुता, निर्मोह, पट्यारको।
मै छोरी गहना र दीप सबकी बा-मामुकी जिन्दगी
दाज्युभाइ सरी उहीँ उदरकी एउटै रगत पिण्डकी।
अर्धाङ्गी प्रियकी र संगी हितकी सोह्रै कलाकी धनी
सूसारे घरकी र सैनिकसँगै मैत्री र मालिक पनि।
अड्डामा जन-सेविका हर घडी लिँदै चुनौती खडा
चिर्दै हर पल अग्नि कुण्ड, खुकुरी नाघेर पर्खाल वडा।
मै सामाजिक कर्मकी सहचरी संस्कारकी धारक
धर्मैकी परिचालिका विनयकी मूर्ति र उद्धारक।
हारेको कसले भन्यो म विजया मै श्रोत हूँ शक्तिको
मेरै खून र दूधमा छ गुण जो त्यै हो कडी व्यक्तिको।
मेरै कोख र काखबाट नर भो मै मूल हूँ सृष्टिको
जो देखे अवला र साधन सरी त्यो दोष हो दृष्टिको।