कविता
मेरो छोरो मलाई सूर्यझैं लाग्छ।
सम्झन्छु
ऊ जन्मनु र सूर्य उदाउनु
एकैसाथ भएको थियो।
छातीमा टाँस्नुअघि मैले उसलाई
धेरै बेर एक टकले नियालेकी थिएँ।
रगतमा लत्पतिएको त्यो निर्मल
निष्कलंक, कलिलो अनुहारमा
उदाउँदै गरेको सूर्यको झैं कान्ति थियो।
म उसलाई सूर्य नै भनेरै बोलाउँथें।
साँच्चै ऊ सूर्यझैं पारिलो भएर हुर्किंयो
सूर्यझैं तेजिलो भएर निस्कियो।
एकदिन फुरुङ्ग हुँदै उसले भनेको थियो
आमा, सूर्य त नौ ग्रहहरूको केन्द्र रहेछ
ब्रम्हाण्डको केन्द्र रहेछ
सूर्यको प्रकाश भएकोले नै
संसार धानिएको रहेछ।
मैले भनेकी थिएँ
मेरो सूर्य तिमी पनि आकाशको सूर्यझैं हुने छौ
तिमी हाम्रो ब्रह्माण्डको केन्द्रमा हुने छौं।
तिमीले कहिल्यै नभुल्नू
ब्रम्हाण्डको केन्द्रमा हुनु भनेको
ब्रम्हाण्ड नै हुनु किमार्थ होइन।
ख्याल राख्नू
प्रकाश दिनु र राप दिनु
किमार्थ एकै होइन।
त्यो सूर्यले झैं अरूलाई
बेहिसाब प्रकाश दिनू
अनन्त शक्ति दिनू।
तिमीलाई अनन्त दिन पुगोस्
दिएको हिसाब कहिल्यै नराख्नू
तिमी पुसको पारिलो घाम नै बन्नू
पुसको घाम बन्न सकेनौ भने
मरूभूमिको प्रचण्ड सूर्य किमार्थ नबन्नू।
एकदिन उसले सोधेको थियो
आमा, म सूर्य भए तिमी के हौ त?
म धर्ती हुँ।
आकाश माथि उक्लिँदै गरेको घाम देखाएर
मैले भनेकी थिएँ
मेरो सूर्य पनि एकदिन धर्ती छोडेर अग्लिने छ।
तिमी हिमालझैं अग्लिनू
बिहानीको घामझैं अग्लिनू
तर, मसँग कहिल्यै नअलग्गिनू।
ऊ मैले सोचेभन्दा धेरै अग्लियो
सोच्दै-नसोचेको अलग्गियो।
मेरो छोरा
तिम्रो रापले मेरो आँखाको पानी जमेर
यो मन बर्फिलो भएको कसलाई भनौं?
म त धर्तीजस्तै मान्छे
आँखाको पानी लुकाएरै
यो धर्तीमा बिलाइ जाने छु।
मेरो छोरा
जब तिमी रातो आकृति लिएर
यो धर्तीमा विलीन हुने छौं
कसैले नठाँनून् तिमी लज्जित हुँदै
रातो पिरो भएर डुबेका हौ।
म चाहन्छु मेरो सूर्य त्यस्तै निर्मल
निष्कलंक अनुहार लिएर धर्तीमा मिलोस्
जस्तो निर्मल, निष्कलंक अनुहार लिएर ऊ
यो धर्तीमा उदाएको थियो।