'मिस सरिताको 'महिला र दमनचक्र' उपन्यासलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिइएछ नि!' उत्साह हो वा आक्रोश मिश्रित स्वरमा दाँत कट्कटाउँदै सुस्मिता बोली।
'अँ अँ! म अटो पाइलटमा आउँदा एसिस्टेन्टले मलाई ब्रिफिङ गरिसक्यो।' कुनै नौलो कुरो नभएको जस्तो भावमा भङ्गीहीन अनुहारमा प्रतिक्रिया दियो सार्मनले।
यस वर्ष, अर्थात सन् ६०६० को साहित्यतर्फको नोबेल पुरस्कार सरिता शशिको उपन्यासलाई दिने निर्णय भएपश्चात नेपाली भाषामा प्रकाशित उनको पुस्तक 'महिला र दमनचक्र' संसारका २१६ देशमा सत्ताइस करोडप्रति बिक्री भैसकेको थियो।
किताब छाप्न स्वचालित यन्त्र मानवहरू अनवरत खटिरहेका छन्। ड्रोनहरू घर घर पुस्तक वितरण गर्न उडिरहेका छन्। यन्त्र मानवमा जडित पखेटाको माध्यमले बिजुलीको गतिमा विश्वभर पुस्तकहरू पठाइरहेको छ।
मान्छेको मस्तिष्कमा जडित इन्टरनेटको सहायताले हातमा जडित स्क्रिनमा हेरेर पुस्तक पढ्न असहज मान्ने ग्राहकहरूका निम्ति स्वचालित ध्वनी तरंग उत्पादन गर्ने मेसिनबाट समेत उपन्यास वाचन भैरहेको छ। समग्रमा सो उपन्यासले संसारभर तहल्का पिटेको छ।
खोजमुलक र ऐतिहासिक पुस्तक भएको दावी लेखक, प्रकाशकको छ। सो उपन्यासमा महिलामाथि चार हजार वर्ष पहिले चरम दमन र उत्पिडन हुने गरेको दावी गरिएको थियो। तर मानव समाजको पूर्ण स्वचालित प्रणालीमा आवद्ध मानिसहरू भने उनको कुरामा विश्वास गरेका छैनन्।
कपोकल्पित लेखक जसले महिलालाई विगतमा पछाडि पारेको झुट्टो दावी गर्दै छ, उसैलाई विश्व प्रसिद्ध नोबेल पुरस्कार प्रदान गरिएको भन्दै सरिताको आलोचना पनि भैरहेको छ।
'के सरिताले लेखेजस्तै कुनै समय महिलामाथि पुरुषको उपभोक्तावादी नजर थियो र सार्मन?' सुस्मिता बोली।
'तर होइन भन्ने आधार पनि त छैन हामीसँग' अन्यौलमिश्रित भावमा कण्ठबाट ध्वनी तरंग बाहिर पठायो सार्मनले।
'मलाई लाग्छ, यो महिला र पुरुषबीच भाँडभैलो मच्चाउन रचित कपोकल्पित उपन्यास हो। के यसका प्रमाण छन् त हामीमाझ?' सुस्मिताको चिड्चिडाहट सुनेर टाइम मेसिनको बेटा भर्सनको सफ्टवेयरमा अन्तिम पटक सिस्टम टेस्टिङ गर्दागर्दै उसको पनि ध्यान भंग हुन्छ।
आफू अगाडि रहेको क्वान्टम रोबर्टलाई बाँकी काम गर्ने इसारा गर्दै आफूसँगको अल्गोरिदम जिम्मा लगाउँदै ऊ श्रीमतीको समिप पुग्छ।
'हामीसँग उसको कुरा झुटो हो भन्ने यथेस्ट प्रमाण पनि त छैन सुस्मी। फेरि उनले त पृथ्वी ग्रहको कुरा पो गरेका छन्। जो जलवायु परिवर्तनको चोट खप्न नसकेर तीन हजार वर्ष अगाडि नै चोइटिएको र पछि कालो छिद्रमा समाहित भएको भन्ने पनि त हामीले बुझेका छौँ होइन?' सार्मन बोल्यो।
'तर यसरी भ्रमित पार्ने उपन्यासले नोबेल पुरस्कार पाउनु शोभायमान छैन प्रिय!' सुस्मिताको लवजमा उपन्यासप्रतिको अविश्वास स्पष्ट झल्किन्थ्यो।
'तिमी र म अवश्य सत्य पत्ता लगाउने छौँ' सार्मनले दृढतापूर्वक बोल्यो।
चोरी औँलाले क्वान्टम कम्प्युटरले गरिरहेको प्रोग्रामिङतर्फ देखाउँदै उसले फेरि स्वरयन्त्रबाट कम्पन उत्पति गरायो 'अब केही हप्तामै सायद हामी दुई समय परिभ्रमण गर्ने यन्त्र निर्माणमा सफल हुनेछौँ। तत्पश्चात हामी समय यात्रा गरेर चोइटिनु अघिको पृथ्वीमा पुग्नेछौँ।'
सुस्मिता मौन रहेर क्वान्टम कम्प्युटर जडित रोबर्टका दश हातका सय औँलाले किबोर्ड थिचेको हेरिरही।
सरितालाई नोवेल पुरस्कार दिने निर्णयको सत्रौँ दिनमा, सुस्मिता र सार्मन समय यात्रा गर्ने मेसिनमा प्रवेश गरे। एउटा गोलाकार मेसिन, जो प्रकाशको गतिको वर्गफलको रफ्तारमा विश्वको परिभ्रमण गर्न तत्पर देखिन्छ।
मध्य युगीन जमानाका चक्काहरू त्यहाँ छैनन्। ड्राइभर नामधारी मानिस पनि उपस्थित छैन उनीहरूसँग। मेसिनको अगाडि बटनहरू छन्। आकस्मिक रुपमा मस्तिष्कसँग मेसिनको कनेक्सन छुट्न गयो भने आइपर्ने भवितव्यबाट बच्न बनाइएका बटनहरू।
कुनै दुर्घटनाबाट मेसिनमा खराबी उत्पन्न भए अर्को मेसिन बनाउन अल्गोरिदम्, सिउडो कोड र पिभट टेबल सहितको क्वान्टम कम्प्युटर जडित आर्टिफिसियल इन्टेलिजेन्स तम्तयार भएर बसेको छ। सुस्मिता र सार्मन दुवै जना एउटै लाइनमा छन्।
ती दुई बीचको दूरीलाई अत्याधुनिक पारदर्शक वस्तुले छेकेको छ। उनीहरू एकअर्कालाई देख्न सक्छन्। तर सुन्न सक्दैनन्। संवादका लागि उनीहरू अत्याधुनिक भ्वाइस ट्रान्सफर एयर प्रोटोकलको प्रयोग गर्दै छन्।
सुस्मिताले मस्तिष्कमा जडित ध्वनी स्थान्तरण प्रविधिको सहायताले सार्मनलाई बोलाउँछे। सार्मनको मस्तिष्कमा जडित रिसिभरले सो आवाज ग्रहण गर्छ र उसको श्रवण्यन्त्रसम्म पुर्याइदिन्छ। सार्मनले तुरुन्त प्रतिक्रिया दिन्छ।
यसै प्रक्रियाले दुईबीच संवाद चल्नेगरी प्रविधिको विकास गरेकी छे सुस्मिताले। दुवै मिलेर बनाएको यो समय परिभ्रम गर्ने मेसिनलाई उनीहरूको मस्तिष्कमा जडित कम्प्युटरको माध्यमबाट नियन्त्रण र सञ्चालन गर्न सकिन्छ। त्यसमा क्वान्टम कम्प्युटर पनि सहयोग गर्न बसेको छ।
सुस्मिताले सार्मनलाई 'तयार छौ?' भन्ने प्रश्न गरी। प्रत्युत्तरमा सार्मनले 'छु' भन्ने जवाफ पठायो। उनीहरू आदिम वैज्ञानिकहरूले गरेको परिकल्पनाअनुरुपकै मेसिन बनाएका थिए।
सुस्मिताले मेसिनलाई भूतकालको यात्रा गर्ने आदेश दिई। पहिले मेसिनले जोडले आवाज निकाल्यो। अनि त्यो ठाउँबाट अलप भयो र अज्ञात तरहले प्रकाशको गति समान भूतकालको परिभ्रमणतर्फ लाग्यो।
'पहिले हामी कहाँ जाँदा उत्तम हुन्छ सेरेना?' सुस्मिताले मेसिनको अग्रभागमा रहेको सेरेना नामधारी आर्टिफिसियल इन्टेलिजेन्स यानिकी कृतृम बुद्धिमतासँग जिज्ञासा राखी।
सेरेनाले यन्त्रवत रुपमा मस्तिष्कमा रहेका हजारौँ सर्भरमा भण्डारण गरिएका खर्बौं तथ्यांकहरूलाई एकैपटक प्रशोधन गरी र तत्काल जवाफ दिई।
हामी पहिले पृथ्वीको आदीम समयदेखिको परिभ्रमण गर्नेछौँ। मुख्य मुख्य समय र खास खास घटनाक्रमहरूमा मात्र अवलोकन गर्दै हामी अगाडि बढ्नेछौँ।
हामीलाई छोटो समय छ। धेरै कुरा नियाल्नु पर्छ। त्यसैले हामी ती समयमा मात्र यात्रा गर्छौं, जसले हाम्रो यात्रा सार्थक बन्न सहयोग पुग्नेछ। सार्मन बोल्यो। प्रत्युत्तरमा सहमतीको संकेतक सूचक मन्टो हल्लाई सुस्मिताले।
उनीहरूले मेसिनलाई दिएको निर्देशनबमोजिम मेसिन तीव्र रफ्तारमा समयलाई अघिल्तिर धपाउँदै आफू भूतकालतर्फ लाग्यो।
सार्मन र सुस्मिता, मानव सभ्यताले सबैभन्दा अन्तिम पटक पत्ता लगाएको समानान्तर ब्रम्हाण्डको पृथ्वीमा रहेको नेपालबाट मनुष्य जगतको उत्पति भएको पुर्ख्यौली पृथ्वीमा आइपुगे। समय यात्रा गरेर। अदभूत मेसिनको सहायताले।
अहो! विज्ञानको चमत्कारले। बितिसकेको समयमा पुनः पदार्पण गरे उनीहरू। उनीहरू जो पृथ्वीबाट विस्थापित भैसकेका थिए, पूर्खाको उत्पतिको थलो हेर्न आइपुगे। मानव जातिको आविष्कार गर्ने धरातलको अवलोकन गर्न तत्पर छन् दुवै जना।
चारैतिर पारदर्शक काँचले बनेको मेसिन पृथ्वीमा देखा पर्यो। रुखका हाँगा र पात मिसाएर शरीर छोपेका अर्ध मानवको जस्तो आकृति सार्मन र सुस्मिताले ठम्याए।
त्यो अदभूतको मेसिनबारे अनविज्ञ आधा शरीर बाँदर जस्ता देखिने ती जीवहरूले मेसिनलाई शिकार भन्ठाने। भाला र ढुंगा लिएर मेसिनको दायाँ बायाँबाट घेरा हालेका ती जीवहरूलाई उल्लाउँदै मेसिन त्यहाँबाट अनौठोसँग गायब भयो।
सुस्मिता र सार्मनले मेसिन सञ्चालनको पूर्ण अधिकार सेरेनालाई सुम्पिए। दुवैले मस्तिष्कमा जडित क्यामेराको सहायताले पृथ्वीका आदिम मान्छेको तस्बिर लिए। सेरेनाले मेसिनलाई इपु १० हजार तर्फ मेसिनको यात्राक्रम अगाडि बढाई।
दुई थरीका मानिसहरू देखिन्छन्। अझ भनौँ दुई भिन्न लिंगका मान्छेहरू। महिला र पुरुषहरूका सामूहिक जत्थाहरू देखिन्छन्। भुइँमा दारका खम्बा गाडेर माथितिर घाँसका छाप्राले पानी र घाम छेक्ने गरी निर्माण गरिएको छ बासस्थान।
रुखका बोक्राले शरीर छोपेका लोग्ने मान्छे र स्वास्नी मान्छेहरू काठको लस्करै मुढामा बसेको दृष्य क्यामेरामा कैद गर्छे सुस्मिताले।
मानिसहरू समूहमा बसेका छन्। स-साना बच्चाबच्चीहरू पनि छन्। महिलाले छाप्रोको काम गर्ने, सन्तान हुर्काउने र सेहार गर्ने कार्यमा आफूलाई व्यस्त राखिरहेका छन्।
पुरुषहरू शिकार खेल्न जाने, मिलेर मासु ल्याउने र सामूहिक बासस्थानका महिला सदस्यहरूलाई जिम्मा लगाउँने कार्यमा तल्लीन छन्। त्यहाँ झगडा देखिएन। त्यहाँ लेखकले भनेको जस्तो महिलाहरू दबिएको अवस्था थिएन।
सेरेनाले मेसिनलाई अलि अगाडिको समयमा पुर्याइ। छाप्राहरू पहिलाको भन्दा अलि सुन्दर र आकर्षक, मान्छेको शरीरबाट कत्ला गायब हुँदै गएका थिए। अनौठा दृश्यहरू देखा पर्दै थिए। पुरुषहरूलाई महिलाले अह्राइरहेका थिए।
पुरुषहरू महिलाको आदेशको सिरोपर गर्दै थिए। महिलाहरू स्वतन्त्र छन्। पुरुषहरू पनि स्वतन्त्र छन्। बच्चाबच्चीहरू पनि स्वतन्त्र छन्। ती सबै स्वतन्त्र प्राणीहरू एउटा समूहमा बस्छन्। समूहमा खान्छन्। समूहमै काम गर्छन्।
बच्चाबच्चीलाई बाबु भन्ने जिनिश के हो पत्तो छैन। आमा भन्ने ममतामयी स्नेहबाट टाढा हुनु परेको छैन। पुरुषहरूलाई आफ्नो बच्चा कुन हो वास्ता छैन। महिलाहरू पनि कोसँगको समागमबाट आफ्ना सन्तानहरू जन्मिएका हुन्, प्रवाह गर्दैनन्।
अनौठो दृश्य छ त्यहाँ। सबै पुरुषहरूलाई सबै महिलाहरूले उपभोग गर्ने स्वतन्त्रता छ। सबै महिलालाई सबै पुरुषले उपभोग गर्ने स्वतन्त्रता छ। तर पनि त्यहाँ लेखकले दाबी गरेजस्तो हिंसा देखिएन। न त महिलाहरू लेखकले भनेजस्तो बलात्कारको चपेटामा नै परेका छन्।
'सरिता गलत छिन् सार्मन। ऊ हेर त! सृष्टिको आरम्भमा त यति सहिष्णुता छ, अझ चेतनाको विकासले के मान्छेहरू त्यो हदसम्म क्रुर बन्न सक्छन् त?' सुस्मिताका लवजहरूलाई भ्वाइस ट्रान्स्फर एयर प्रोटोकलले क्वान्टम फ्रिक्वेन्सीमा परिणत गर्दै सार्मनको मस्तिष्कसम्म पुर्यायो।
'म पनि त्यही सोँचिरहेछु सुस्मिता' सार्मनले सुस्मितासंग संवादको जवाफ पठायो।
'तपाईहरू धैर्य गर्नुहोस्। लेखकले सन् २००० को विषयवस्तुलाई केन्द्रित गरेर उपन्यास लेखेकी हुन् भनिएको छ। हामी अझै इसा पूर्व ९९८८ मा छौँ। लेखकले भनेको समयभन्दा बाह्र हजार वर्ष पछाडिको समयमा' सेरेनाले दुवैलाई मौन राखी।
कृतिम बुद्धिमताले आफूहरुलाई चुप लाग्ने आदेश दिएकोमा सार्मन र सुस्मिता दुवैलाई झोक चल्यो। तर मानवभन्दा शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्सलाई केही जवाफ फर्काएनन् दुवैले।
सेरेनाले लगभग नौ हजार इसा पूर्वको समयतर्फ मेसिनलाई बेतोडसँग समयको उल्टो परिभ्रमण गराई। प्रकाशको गतिको वर्गफलभन्दा तीव्रता थियो मेसिनको गतिमा।
केही जवान मानिसहरू कुरा गरिरहेका छन्। कुरा कुन भाषामा थियो त्यो सार्मन र सुस्मितालाई फरक पार्ने विषय थिएन। उनीहरूको मस्तिष्कमा जडित मेसिनले हालसम्म ब्रंहाण्डमा सञ्चार कार्य गर्नका लागि विकसित सम्पूर्ण भाषाहरू सहजै बुझ्थ्यो र सोही बमोजिम मस्तिष्कलाई जानकारी गराउँथ्यो। ती नवजवानका कुराहरू उनीहरू सजिलै बुझिरहेका थिए।
'हामीहरू अहिले समूहमा बसोबास गर्दछौँ। यसो गर्दा महिलाहरू हामीमाथि हावी छन्। हामी पुरुषहरू जसले शिकार गर्छौं, उनीहरूको निम्ति खानेकुराको व्यवस्था गर्छौं। तर खै हामीले के पायौँ। उनीहरू हामीसँगको समागमबाट सन्तान उत्पादन गर्छन्। तर सन्तानको माया उनीहरू एकलौटी उपभोग गर्छन्। आफ्नो सन्तानको हो, त्यसबारे हामी अनविज्ञ छौँ' एउटा नवजवानले आवाज निकाल्यो।
'त्यसो भए अब एउटा यस्तो उपाय लगाऔँ ताकि सबै महिलालाई हामीले नियन्त्रणमा राख्न सकौँ।' अर्को तन्नेरीले 'हो हो' मिलायो।
'हामी अब महिलाहरूसँगको सामूहिक जीवन पद्धतिलाई त्याग्ने छौँ' तेस्रोले भन्यो।
'तर कसरी?' पहिलो बोल्यो।
'हामीसँग जनावरहरूको शिकार गर्ने सीप छ। अब हामी जनावरहरू छोप्नेछौँ। त्यसलाई आआफ्नै तरिकाले पाल्नेछौँ। यसलाई हामीले समूहमा राख्ने छैनौँ। एक्लै एक्लै सेहार गर्नेछौँ। ती हाम्रा व्यक्तिगत हुनेछन्। यसपछि ती पशुबाट प्राप्त प्रतिफल पनि हामीले कसैलाई बाँड्ने छैनौँ।
त्यसपछि महिलाहरू बिस्तारै कमजोर हुनेछन्। उनीहरू प्रायः छाप्राको काममा मात्र व्यस्त हुनुपर्ने भएकाले शिकार गर्ने तरिकामा हामीभन्दा पछाडि नै छन्। त्यसको फाइदा उठाउनेछौँ हामीले' अर्को नवजवानले भावी रणनीति प्रष्टायो।
सेरेनाले मेसिन अगाडि बढाई। पुरुष र महिलाहरू छुट्टिएको दृश्य देखियो। पुरुषहरू पशुपालनमा थिए। महिलाहरु पनि पशु पालनमै थिए। यद्यपि साना बाल बच्चाको स्याहार गर्नुपर्ने कार्यले उनीहरू पुरुष समान काममा खट्न सकिरहेका थिएनन्।
यता पशुहरू थुपार्ने शोखले पुरुषहरुले आहारमा ध्यान पुर्याउन नसक्दा शरीर कमजोर बनाउँदै थिए। जनावर संकलनको शोखले जनावरकै आहार बनेका थिए कैयौँ पुरुषहरू। आफूले सक्ने जति जीवलाई आफ्नो अधिनस्थ बनाउने कार्यमा खटिरहेको देखियो।
मेसिनलाई नौ हजार वर्षतिरको समयमा लैजाँदा सबै महिलामाथि पुरुषले कब्जा जमाएको दृश्य देखा पर्यो सारमन र सुस्मिताको अगाडि। उनीहरू झस्किए। 'त्यस्तो सुन्दर सुरुआत कसरी विकृत हुँदै छ सेरेना?' हड्बडाउँदै सारमनले सेरेनालाई प्रश्नसूचक जिज्ञासाले पुकार्यो।
'धैर्य गर्नुहोस्, समय यात्रा गर्ने मेसिनका आविष्कारक महामानव द्वेय। हामी यही मेसिनको सहायताले उत्तर पाउने छौँ' सेरेना बोली र मेसिनलाई केही पछाडिको समयमा पुर्याई।
एउटा सानो चौतारी, अजंगको रुखको छेउमा उभिएर पुरुषहरू गफ गरिरहेका थिए। उनीहरू योजना बनाउँदै थिए। उनीहरू पितृसत्ता स्थापना र त्यसको मजबुतीका लागि कुरा गरिरहेको पत्तो पाउन सार्मन र सुस्मितालाई कुनै अबेर लागेन।
'हामी महिलाहरूसँग छुट्टिएर त बस्यौँ। तर गाह्रो हामीलाई नै भयो। समयमा खान पाइएको छैन। शरीर पो कमजोर हुँदैछ गाँठे। कसो गर्ने होला?' एक पुरुषको आवाज सुनियो।
'अब विस्तारै हामीले उनीहरूलाई अनेकौँ नियमको दाम्लोले बाँध्नपर्छ' अर्को बोल्यो।
'कस्तो नियम?' तेस्रोले प्रश्न उठायो।
'समयसँगै विधि विधान भन्ने चिज पनि बन्दै जानुपर्छ। अहिले हामीलाई नियम सियम चाहिएको छैन' अर्को बोल्यो।
'होइन, के चाहिया छ त आजभोलि नै?' बीचमा बसेर रुखको हाँगो समात्दै सुस्केरा हालेको अर्को ठिटोले आवाज निकाल्यो।
'हामीले काम गर्छौं। हामीले मात्र गर्दा सबै काम गर्न भ्याइने पनि होइन। काम गर्ने अरु खोज्दा बाली वा पशुको उत्पादन ज्यालाको रुपमा दिनुपर्छ। के त्यस्तो उपाय लगाउन सकिँदैन, जसबाट महिलालाई हामीले ज्याला नतिरी काममा लगाउन सकियोस्? उनीहरूका सन्तानमा पनि हाम्रो हक लागोस्?' अर्को पुरुषले सोध्यो।
उनीहरूबीचको सो संवाद पूरा नहुँदै मेसिनलाई अगाडि बढाई सेरेनाले। अघिल्लो समयतर्फ।
सार्मन र सुस्मिता पुरुष जातिमा देखा परेको विकृत मानसिकता देखेर चिन्तित थिए। सुस्मितालाई त उनीहरूलाई सम्झाऔँ र संभावित भविष्य नै बदलिदिऔँ भन्ने चिन्तन नआएको होइन, किन्तु उनीहरू केबल सत्य पत्ता लगाउन आएका थिए। सत्य परिवर्तन गर्न होइन।
मेसिनले अघिल्तिरका समयमा परिभ्रमण गरेसँगै सुस्मिता र सार्मनले अनेकौँ रहस्यहरू देख्न थाले।
केही पुरुषहरू मिलेर सामाजिक नियम खडा गरिरहेको दृष्य देखा पर्यो। ती नियमहरूमा महिलालाई हमेसा दबाउने नियत देखियो। महिला र दमनचक्र उपन्यासले नेपाल र भारतका महिलाहरू इशापूर्व र पश्चातको समयमा पुरुषबाट प्रताडित रहेको गलत छन् भन्ने सुस्मिता र सार्मनको विचार गलत हुँदै थियो।
इसा पूर्व आठ हजार वर्षतिर। पुरुषहरू विस्तारै कृषि कार्यमा समेत केन्द्रित हुन थाले। एकलै काम गर्न नभ्याइने भएपश्चात उनीहरूले संस्कार र नियमको टेको लिए।
पुरुषको निशुल्क कामदार बन्न महिलाहरूलाई बाध्य पारिँदै थियो। महिलाहरूलाई कैद गर्न थालेको दृश्य देखा पर्यो। संस्कार र संस्कृतिहरूको जन्म हुन थाल्यो। समाज पहिलाभन्दा विकसित जस्तो थियो।
मानिसहरू सामूहिक जीवन पद्धति त्यागिसकेका थिए। उनीहरू व्यक्तिगत भूमि निर्माणमा जुटे। विस्तारै बुझ्रुक र बुद्धिमान एवं प्रभावशाली व्यक्तिहरूले निर्माण गरेको संस्कृतिले महिलाहरू उत्पीडनमा पर्दै गरेको देख्दा सुस्मिताले लेखकलाई लगाएको आरोप कमजोर बन्दै थियो। सार्मन पनि असमञ्जस्यमा देखिन्थ्यो।
विवाहको संस्कारमार्फत मानिसहरूलाई एउटा तरिकाले प्रशिक्षित गर्ने र त्यसको माध्यमबाट आफ्नो स्वार्थ परिसिद्दी गर्ने कार्यमा पुरुषहरू सफल बन्न थाले। यसले उनीहरूलाई महिलालाई कमजोर पार्ने सभ्यता निर्माणमा हौसला मिलेको दृश्य सार्मन र सुस्मिताले समय परिभ्रमण गर्ने मेसिन र यन्त्रमानवसँगै अवलोकन गरे।
घरको काम गर्ने कामदारलाई पैसा पनि तिर्न नपर्ने, यौन आवश्यकता पनि पूरा हुने, महिलाका सन्तानमाथि आफ्नो पनि हक लाग्ने भएपश्चात पुरुषहरूले विवाहलाई अनिवार्य प्रथाको रुपमा विकास गर्दै गए। जसले यस्ता प्रथा स्वीकार गर्दैन, उनीहरूलाई समाजबाटै बहिस्कार गर्ने प्रचलन समेत देखा पर्दै गयो।
पुरुष भित्र पनि भिन्न भिन्न खाले व्यक्तिहरूको उदय भयो। एउटा पुरुष र अर्को पुरुषबीचको चिन्तनको लडाइ र बाँझिएका स्वार्थहरूले उनीहरू आफैमा विभाजित हुँदै गए। कमजोरलाई बहिस्कार गर्न थालियो। गुलाम बनाउन थालियो। दास बनाउन थालियो।
बलियो मानिसको गुलाम थियो कमजोर मानव, जसको जिन्दगी पशुतुल्य थियो। यो देख्दा हठात् आफू पनि कतै आर्टिफिसियल इन्टेलिजेन्स्को गुलाम पो बनिने हो कि भनेर सार्मन र सुस्मिता एकपटक झसंग भए।
मेसिन अगाडि बढ्दै गयो। सुस्मिता र सार्मन मानव जाति भित्रको त्यो असमानताको जरो झाँगिएको अवलोकन गर्दै मेसिनकै रफ्तारमा समयको परिभ्रमण गरिरहे।
'बाजे! एउटा अर्को संस्कार बसालौँ। हामीले धागो बान्ने, आइमाईलाई बान्न नदिने,' समयको परिभ्रमणका क्रममा सेरेनाले यो आवाज आएतर्फ टक्क अडाई।
'होइन, धागो बेरेर के हुन्छ र कान्छ?' बाजेले उत्तर फर्काए।
'एउटा कथा बनाइदिने, भगवानले बान्न लगाका हुन् भन्दिने। हामी ठुला मान्छेले मात्र लगाम्। केटाले मात्र लगाम्। अनि केटी र तल्ला जातिलाई लगाउन नदिम्। अनि केटी र अरु तल्ला जातिभन्दा हामीहरू विशेष बनिन्छ। कसो लाग्यो बाजे कुरो?'
'कुरो त गाँठी ठिकै गरिस् मोरा। बरु सुन्। त्यो धागो भिरेका केटा मान्छेलाई केटीले पन्छेका बेला छुन नपाउने नियम बसालम्। धागो बानेका केटा मात्र मलामी जाउन पाउने, अरु जान नपाउने नियम पनि बनाम्। हुन्न कान्छा?' कपाल र दारी फुलेर सेतै भैसकेको बुढो मान्छेले महिलालाई मनोवैज्ञानिक रुपमा कमजोर बनाउने अर्को अस्त्र झिक्यो।
'त्यति मात्रले अलि नपुग्ला कि बाजे?' ठिटो बोल्यो
'अरु के सोचेको छस् त नि कान्छा भन् न तँ आफै।'
'हाम्रा लेखापढी गरेका बाजेहरूलाई नक्कली कथा बनाम्न लगाइदिम्। मान्छेको उत्पति भको झुटो कथा। मान्छे कसरी बनो तपाईलाई पनि थाहा छैन। मलाई पनि थाहा छैन। कथा बनाइदिम्। राम्रा मान्छे केटा भए। पापीहरू केटी भए भन्दिम् न त।'
'कुरो सही गरिस् केटा। हाम्रा ऋषि बाजेलाई बोला त। यस्तै कथा लेख्न पर्छ। केटीलाई तल्लो दर्जा दिएर खेलौना जस्तै बनाएर।'
'हस् बाजे। यस्तै हुन्छ, पिर नगर्नु तपाई।'
समय परिभ्रमण गर्ने मेसिन अगाडि बढ्दै जाँदा माथिको संवाद जस्तै गरी महिलालाई थप कमजोर बनाउँदै गएको दृश्य देखा पर्यो। धर्म र संस्कृतिको सिर्जना मार्फत महिलालाई नियन्त्रण गर्ने संस्कार विकास गरिँदै लगियो।
'सेरेना! हामी इसा पूर्वमा धेरै डुलियो। अव इस्वी संवतको यात्रा तर्फ जाऔँ' सुस्मिताले प्रस्ताव गरी।
'धैर्य गर्नुहोस् महान् महिला, म मेसिनलाई सोही निर्देशन दिँदै छु' सेरेनाले प्रत्युत्तर फर्काइ र मेसिनलाई इस्वी संवतको सत्रौँ शताब्दीतर्फ लगी।
राजा र रैतिहरूको अनौठो सम्बन्ध। राजाको देवत्वकरण गरिएको थियो। राजाले जे चाह्यो त्यही भैरहेको थियो समाजमा। सबै राज्य पुरुषको एकलौटी पेवा। महिलाहरू, सेना, राज्य कहीँ पनि देखिएनन्। घरभित्र, राजाको खोपीमा, यस्तैमा मात्र देखिए महिलाहरू।
मेसिन अगाडि बढ्यो। मेसिनलाई भोजपुरको दिङ्ला पुर्याइयो। बिसौँ शताब्दीको दृश्य थियो त्यो। योगमाया भनिने महिलाले पुरुष र महिला समान भएको भन्दै अर्ति दिइरहेकी थिइन्। उनको विरोधमा उच्च जातिका पुरुषहरू धुइरिइरहेका थिए।
'ए सुन् त, त्यो योगमाया बोक्सीलाई कसरी धपाउने?' पण्डित्याइँ गरिरहेको उच्च कुलको पुरोहित करायो।
'त्यसलाई पोइ टोकुवाइको आरोप लगाएर दश गाम कटाम्न पर्छ' अर्कोले जवाफ दियो।
'होइन, त्यसको उपचार मसँग छ। त्यस्ता आइमाईलाई तह लगाउन बलात्कार गर्न पर्छ' अर्को मान्छे जङ्गियो। उसैको प्रस्ताव पारित गरे त्यहाँका बुझ्रुकहरूले।
उनीहरू चन्द्र शंशेरसँग योगमायालाई पक्राउ गर्न माग गर्दै काठमाडौँ पुगेको खबर दिङ्लामा आइपुग्यो। सबैले भक्तिनी भनेर चिन्ने योगमायालाई गिरफ्तार गरियो।
अन्तिममा योगमायाको नेतृत्वमा ६९ जनाले नारी अधिकार, समानता र विभेदरहित समाजको माग पूरा नभएकोले अरुणमा आत्महत्या गरे। यो दृश्यले सार्मन स्तब्ध देखियो। सुस्मिता पनि दुखित देखिन्थी।
यस्तो दुरावस्थाले सार्मन र सुस्मिता रन्थनिए। लेखकलाई गलत सावित गर्ने उद्देश्यले समय यात्रा गरेका द्वेय आफै गलत सावित हुनुपर्दाको पीडाले भने कदापि रन्थनिएका थिएनन् उनीहरू। त्यो त मानव जाती भित्र जन्म लिएको पितृसत्तात्मक अहंकारप्रतिको बेचैनी थियो।
पति मरेकी महिला मृत लाससँगै ज्युदै पोलिएको कारुणिक दृश्यले संवेदनाहीन आर्टिफिसियल इन्टेलिजेन्स सेरेनाका आँखामा समेत आँसु छचल्किएको देखे सार्मन र सुस्मिताले। उनीहरू झसंग भए। कृतृम बुद्धिमतामा संवेदना पलाएको अर्को अनौठो दृश्यले।
समानान्तर ब्रम्हाण्डका अनेकौँ समानान्तर सौर्यमण्डल मध्यको एउटा समानान्तर पृथ्वीमा उनीहरूले जुन दृश्य देखे त्यो उनीहरूको पृथ्वीका बासिन्दाको निम्ति परिकल्पना बाहिरको कुरा थियो।
सुन्दर शान्त वातावरणमा बसिरहेका मानिसहरू जसमा क्लेस मात्र पनि विभेदको बाछिटा मडारिएको छैन। त्यस्तो पृथ्वीबाट मानव सभ्यताको प्रादुर्भाव भएको पृथ्वीमा टाइम मेसिनको सहायताले अवलोकन गर्न आएका सार्मन र सुस्मिता आश्चर्य परिरहे। मानिसहरूको चर्तिकलाले।
साहित्यमा पनि महिलालाई दबाइएको देखेर सुस्मिता पूर्खाहरूसँग रिसाई। मन त नलागेको होइन, उसलाई ती पुर्खाको इतिहास नै बदलिदिन। तर प्रविधिको दुरुपयोग गर्ने नैतिक वैधता उसलाई प्राप्त थिएन।
समय परिभ्रमणको क्रममा घरघर लागु गरिएका भानुभक्तिय बधुशिक्षाका श्लोक र हाँस्ने महिला बेस्या हुन् भन्ने नारी स्वतन्त्रता कुण्ठित पार्ने अभिव्यक्तिको पुनरोत्पादनले सार्मनको मन पनि बेतोडले हल्लिन्थ्यो।
सेरेनाले समय परिभ्रमण गर्ने मेसिनलाई सन् दुई हजारको सेरोफेरोमा पुर्याई। महिलाहरू पुरुषसँग अधिकार खोज्न र खोस्न तम्तयार भएका थिए। ठाउँ ठाउँमा त युद्ध समेत भएको देखियो।
उत्पीडित महिलाहरूको विद्रोह दबाउन पुरुषहरूले उनीहरूलाई बलात्कार गरेर कमजोर तुल्याउन प्रयोग गरेको हत्कन्डा कारुणिक नै थियो। यद्यपि महिला र पुरुषको समान सहभागितामा मात्र प्रगति सम्भव छ भन्ने कित्तामा महिला मात्र नभएर पुरुषहरू समेत रहेको कुराले सबै पुरुषप्रति बितृष्णा उब्जाउने ठाउँ रहेन सार्मन र सुस्मिताको मानसपटलमा।
सेरेनाले २० वर्ष अगाडि पुर्याइ समययात्राको भाँडोलाई।। आफ्नै बहिनीका बलात्कारी दाजु, श्रीमती कुटुवा जड्याहाहरू, आदिको मानसिकतामा लट्पटिएको कालो डंगुर मेसिन भित्रै गन्हाएजस्तो लाग्यो सुस्मिता र सार्मनलाई।
महिला र दमनचक्रको विषयवस्तु यही थियो। लेखक सत्य नै रहिछन्। दुवै यही निष्कर्षमा पुगे। दुवैले क्यामेरामा दर्दनाक तस्बिरहरू पनि उतारेका थिए। सप्रमाण लेखकको लेखनीको तारिफ र समालोचना गर्ने निर्णयसहित उनीहरूले मेसिनलाई थप अगाडि बढाउन सेरेनालाई आदेश दिए। यन्त्रवत रुपमा मेसिनलाई सन् २०५० सालमा पुर्याइ सेरेनाले।
'अनौठो। घोर अनौठो। आश्चर्य! के यो सत्य हो?'
सार्मनका अविश्वासी नजरले पहिले सेरेना र पछि सार्मनलाई नियाले।
'असत्य हुन सक्छ र आँखा अगाडिको कुरा?' सार्मन बोल्यो।
'इलुजन वा हेलुसिनेसन पो हो कि?' फेरि मुख खोली सुस्मिताले।
'विगत आठ/दश हजार वर्षदेखिका दृश्यहरू नामेट देखिन्थे त्यहाँ। जताततै महिलाहरू हुल बाँधेर उर्लिएका थिए। अझ भनौँ विद्रोही बनेका जस्ता देखिन्थे।
तिम्रा काला कागजका पानाहरू चाहिँदैन भन्दै संविधान र अन्य ऐन कानुन भर्यातभुरुत च्यातिँदै थिए। त्यसमा सामेल थिए केही पुरुषहरू पनि।
'तपाईहरू किन यसरी देशको संविधान र ऐनको अपमान गर्दै हुनुहुन्छ? यसमा त महिला समानतालाई प्रस्टसँग लेखिएको छ।' टेलिभिजनको पत्रकारले सडक तताइरहेकी एक महिलालाई प्रश्न गर्यो।
महोदय! हामीले यस विधानको सम्मान पो गरेका हौँ। यो विधानमा लिपिबद्ध अक्षरमा मात्र अधिकार दिएर बच्चाबच्चीलाई ललीपप देखाएजस्तै गर्दै झुक्काइँदै आइएको छ। आक्रोश मिश्रित प्रतिक्रियाले पत्रकारले थप प्रश्न गर्ने वा नगर्ने असमञ्जस्यतापूर्वक उनलाई हेर्यो।
'कसरी?' फ्वाट्टै बोलिहाल्यो पत्रकार।
'बच्चाबच्चीलाई ललीपप देखाएजस्तै कानुनी रुपमा सबै समान छन् भनेको छ। तर व्यवहारमा यस्तो छैन। बलात्कारीलाई उन्मुक्ति छ। महिलाहरूलाई नेतृत्व मण्डलीबाट नै खुलेआम विभेद छ।
हामीलाई चबाउने र देखाउने दाँत एउटै चाहिन्छ। कि विधानका कुराहरू सबै जस्ताको त्यस्तै हुबहु कार्यन्वेयन गर, नत्र यस्तो खोस्टा देखाएर हामीलाई उल्लु बनाउन पर्दैन।'
'तपाईहरूका शत्रु पुरुषहरू हुन्?' पत्रकारले सोध्यो।
'पुरुष शत्रु हुँदो हो त म तपाईलाई अन्तर्वार्ता लिनु अगाडि नै मारिसक्थेँ कि?'
अनपेक्षित जवाफले पत्रकार झस्कियो। उसको हातको माइक्रोफोन झण्डै अनियन्त्रित भएर भुइँमा नबझ्रिएको।
महिला भन्दै गई। 'हाम्रो शत्रु पितृसत्ता हो। पुरुषप्रधानता हो। व्यवस्था शत्रु हो। प्रवृत्ति शत्रु हो। विद्यमान चेतना शत्रु हो। व्यक्ति निमित्त शत्रुको रुपमा देखा पर्न सक्छ तर मूल शत्रु पितृसत्ता हो।'
आक्रोशित महिलाका कुराहरू नबुझे पनि बुझेजस्तो गरेर त्यहाँबाट पत्रकार गायब भयो। महिलाहरू भने विरोधका स्वरले आगो ओकलिरहे।
'हामी तिमीभन्दा कमजोर छैनौँ। हामी तिम्रा दासी होइनौँ। हामी तिम्रो भोग्या होइनौँ। हामी तिम्रा गुडिया होइनौँ। हामी तिम्रा पुच्छर बनेर पछि पछि हिँड्न मन्जुर गर्दैनौँ। हामी हातेमालो गरेर हिड्छौँ।'
यी र यावत् नाराले वायुमण्डल प्रतिध्वनित थियो। महिलाहरू पितृसत्ताको विरुद्ध सुसंगठित विचारका साथ आन्दोलन गरेको सायद त्यो पहिलो घटना थियो। यो विद्रोही कदम महिलाहरूले उठाएकोमा सार्मन र सुस्मिता दुवै उत्साहीत देखिन्थ्ये।
यन्त्रमानव सेरेनाले टाइम मेसिनलाई सन् २१०० मा पुर्याई। अनौठोसँग मान्छेहरू परिवर्तन भएको देखियो।
देश स्वच्छ छ। सबका घर सफा छन्। सबका मन पनि सफा छन्। मन सफा भएकाले घर सफा भएका हुन् वा घर सफा भएकाले मन सफा भएका हुन् मानिसहरू नै जान्दछन्।
तर सार्मन र सुस्मिता यति कुरामा विश्वस्त भए कि त्यहाँ हिंसाको लेश मात्र पनि अवशेष जीवित थिएन। पुरुष र महिलाहरू सुसंगठित ढंगले कार्यसम्पादनमा लागेका देखिन्छन्।
महिला वा पुरुष, लिंगका आधारमा कामको विभाजन देखिएन। अझ भनौँ विज्ञान र प्रविधिको प्रयोग यस धरातलका मान्छेले पनि उच्चतम तरिकाले गरिरहेको देख्न पाइयो।
एउटा अस्पताल अगाडि टाइम मेसिन अदृश्य तवरले अडियो। अस्पताल भित्र प्रवेश गरेको एक दम्पति चिकित्सकसँग गर्भावस्थाको विषयमा परामर्श गर्दै थिए। त्यहाँ भएको कुराले सार्मन र सुस्मिता दुवै रोमाञ्चित र किञ्चित बिस्मित पनि भए।
'श्रीमानको डेलिभरी कहिलेसम्म हुन्छ मिस?' श्रीमतीले प्रश्न गर्दै थिई।
आर्टिफिसियल प्रेग्नेन्सी भएकोले यस हप्ता नै उहाँलाई अप्रेशन गर्नुपर्ने हुन्छ। अस्पतालकि गर्भावस्था विशेषज्ञको आवाज सुनियो।
विज्ञान र प्रविधिको उच्चतम चमत्कारले पुरुषले समेत गर्भ धारण गर्ने प्रचलन बढेको पाएर सार्मन र सुस्मिता सन्तुष्ट देखिए। मानव सभ्यताले अनेकौँ सफलता प्राप्त गर्नका निम्ति एकअर्काको हातेममालो चाहिन्छ भन्ने तथ्य पुरुष र महिलाका अलावा समलिङ्गी समुदायले पनि बुझिसकेको थियो।
व्यक्ति महिला, पुरुष वा समलिंगी जुनसुकै लैंगिक भूमिकामा रहे पनि लैंगिक विभेदको अन्त्य भएको देखिन्थ्यो। एक व्यक्ति कसैको बाबा र कसैको मामु हुन सक्ने पद्धति विज्ञानले चामत्कारिक ढंगले विकास गरेको थियो।
समय यात्रा गर्ने मेसिनमा बसेका उनीहरू समानान्तर ब्रहाण्डको मानव सभ्यताको पहिलो उद्गम बिन्दु पृथ्वीमा आएको पनि निकै समय व्यथित भैसकेको थियो। यद्यपि प्रकाशको गति समान समय परिभ्रमण गर्ने मेसिनको गति भएका कारण प्रकाशभन्दा छिटो यात्रा गर्न सम्भव भएको थियो।
विज्ञानका कैयौँ खगोलीय सिद्धान्तहरू समयसँगै गलत पनि सावित भएका थिए। कैयौँ सिद्धान्तमा टेकेर वैज्ञानिकहरूले जटिल कुराहरू पनि समाधान गर्दै गएका थिए।
आफ्ना पूर्खाको उद्गम बिन्दु पृथ्वीमा सरिताले उपन्यासमा संकेत गरेकै समयको सेरोफेरोमा जन्मिएका स्टेफन्स हकिंसको समयको संक्षिप्त इतिहास नामक पुस्तकलाई आधार बनाई सुस्मिता र सार्मनको जोडीले जुन समय मेसिन निर्माण गरेको थियो। त्यसले दुनियाँ नै बदलिने वाला थियो।
'सार्मन, पुरुष र महिला दुवै मिलेपश्चात मात्र नेपालले विज्ञानमा क्रान्ति गरेछ नि?' सन् चौबिस सय सालमा पुग्ने बेलामा सार्मनलाई सुस्मिताले भनी।
'तिमी र म मिलेर मात्र त टाइम मेसिन बनेको हो प्यारी' प्रेमपूर्ण भावमा ऊ बोल्न थाल्यो। 'नेपाल मात्र होइन, प्यारालल युनिभर्सका सम्पूर्ण आकाशीय पिण्डका जीवात्माहरूमा यही स्थिति छ।
हाम्रै पृथ्वीको नेपाललाई हेर न तिमी। त्यहाँ महिला र पुरुषले के फरक पारेको छ र? लिंगका आधारमा पनि हिंसा हुँदो रहेछ भन्ने सुन्दै अपत्यारिलो रहस्य हामीले हेरेर आयौँ र पो। नत्र हामी पनि लेखकलाई बौलाहको संज्ञा दिइसकेका त थियौँ।'
सहमतीमा मुन्टो हल्लाउँदै सुस्मिता बोली, 'हामीले सूर्यमण्डलको पृथ्वीमा धेरै समय बिताइसक्यौँ सार्मन। अब हामी तुरुन्त प्यारालल युनिभर्सको सबैभन्दा अन्तिममा पत्ता लागेको पृथ्वीको हाम्रो मुलुक नेपाल फर्किने छौँ।'
'पक्कै सार्मन। सेरेना! हामीलाई हाम्रो समयमा लैजाऊ। हामी त्यहाँ गएर सप्रमाण लेखकको सही समालोचना गर्नेछौँ। दुनियाँलाई सत्यको दर्शन गगराउने छौँ। त्यसै अवसरमा हामीले हाम्रो टाइम मेसिन पनि सार्वजनिक गर्नेछौँ।'
यतीl भनेर दुई प्रसिद्ध वैज्ञानिक सार्मन र सुस्मिताले सेरेनालाई उनीहरूको वास्तविक समयमा उनीहरूको वास्तविक स्थानमा समय परिभ्रमण गर्ने मेसिनलाई पुर्याउन आग्रह गरे।
सेरेनाले मेसिनलाई उनीहरूको वास्तविक समयमा पुर्याई। सन् ६१५० मा। समय परिभ्रमणमा उनीहरूले ९० वर्ष व्यतीत गरेछन्, पत्तै नपाई। दुवै झसंग भए। आफ्नो स्थानमा पुग्दा उनीहरूकी लेखक सन् ६०६० कि नोबेल पुरस्कार बिजेता सरिता इतिहास भैसकेकी थिइन्।
तथ्यहीन उपन्यास लेखेको आरोपमा उनको नोबेल पुरस्कार फिर्ता गरिएछ। सार्मन र सुस्मिता पनि बेपत्ता व्यक्तिहरूको सूचीमा थिए।