जब जब हुन्छ यहाँ कोरोनाको डर
तब सरकारले भन्छ फर्क आफ्नै घर ।
जब जब हुन्छ यहाँ भूकम्पको डर
तब सरकारले भन्छ फर्क आफ्नै घर ।
जब जब हुन्छ यहाँ महामारीको त्रास
नागरिकले नगरे हुन्छ सरकारको आश ।
सुरक्षा दिन नसकेर फर्क भन्छ गाउँ
निम्न आय भएकालाई छैन यहाँ ठाउँ ।
सधैं हुन्छ नाटक यहाँ, सधैं हुन्छ जात्रा
राजधानी किन आउने? कर तिर्नलाई मात्र ।
गुण्डालाई मन्त्री बनाऊ, भष्ट्रलाई नेता
नागरिकको पीडा यहाँ सरकारलाई के थाहा ।
अस्पताल, स्कुल भत्केका छन्, ठडाऊ धरहरा
वनङ्गल जत्ति उजाडिए, छ कतै हराभरा?
अर्बौं खर्चेको धरहराको उद्घाटन गर्छ
बिरामीले उपचार नपाई छट्पटाई मर्छ।
नेताहरूको काम छैन, पार्टी जुटाऊ–फुटाऊ
सरकारको काम छैन, कर मात्र उठाऊ ।
न छ कुनै नियम यहाँ, न छ कुनै थिति
यत्रो महामारी फैलिँदा खै त सरकारको उपस्थिति?
नागरिकको पीडाभन्दा आफ्नै स्वार्थको सरोकार
जनताको दुःख, पीर नबुझ्ने यो बेकामे सरकार ।