यो गणतन्त्रमा
महारानीजस्तै जीवन
बाँच्न बाध्य मेरी जहान कठै!
राजकुमारजस्तै जीवन
बाँच्न बाध्य मेरो छोरो बरा!
राजकुमारीजस्तै जीवन
बाँच्न बाध्य मेरी छोरी हरे!
शाहज्यादा मेरो भाइ उफ्!
शाहज्यादी मेरी बहिनी च्व!
भित्तामा श्री तीन सरि
फोटामा बिराजमान बुबाहजुर
मुमाबडामहारानी वा सो सरह
मेरी आमा र सासूहजुर
राजाकै राँगो फुकाको जस्ता
उन्मत्त मेरा नातेदारहरू
यो गणतन्त्रको परिबन्धमा
गणकै चाहना मुताविक
बाध्य छौँ बाँच्न यसरी
म, मेरो परिवार र आफन्तगण
यो गणतन्त्रमा।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९, ०७:५६:०८