कुरा २०६३ सालको दसैंताकाको।
तीनवर्षपछि गाउँमा पुग्दा मनै फुरुङ्ग। द्वन्द्वकालमा सुनसान बनेका गाउँमा फेरि रौनक थपिँदै थियो। देउरालीमा लिङ्गेपिङ हाल्दै थिए युवाहरू। ब्रुङ र नगराको सुमधुर आवाज सुन्दा मनै पुलकित हुन्थ्यो। घरहरूलाई आपसमा जोड्ने बाटाहरू पुरपार र तासतुस गरेर मर्मत गरिएका थिए। रातोमाटो र कमेरोले घरहरू चिटिक्क पारेर दसैं भित्र्याउने काममा सबै व्यस्त देखिन्थे।
प्रहरीको जागिरले गर्दा तीन वर्षसम्म गाउँ जान पाइएको थिएन। ब्यारेकमा कामको चटारोसँगै संगठनले गाउँ जान अनुमति नदिँदा आफ्नै गाउँ बिरानो बनेको थियो। सबभन्दा ठूलो कुरा त आफ्नै सुरक्षाको चिन्ता थियो। द्वन्द्व सकिएर शान्ति कायम भएपछि म फुक्लाफाङ गाउँमा पुगेको थिएँ।
दसैंको मुखमा गाउँ चकाचक थियो। गाउँजस्तै म पनि बन्धनमुक्त हुँदै थिएँ। घर गएको भोलिपल्टै म १५ मिनेटको दुरीमा रहेको एक शुभचिन्तकको घरमा पुगेँ। त्यो घरमा जानु मेरो आफ्नो स्वार्थ पनि थियो। त्यही भएर घाम अस्ताउने बेलाको मौका छोपेर पुगेको थिएँ।
म लुसुक्क बाङदले साइलाको घरमा पुगेँ। उनको घर गाउँको पुछारमा थियो।
अहिले उनको नाम बाङदले साइलो भन्नुपर्दा मलाई संकोच लाग्छ। कता कता उनलाई अपमान गरेजस्तो पनि लाग्छ। उनको आफ्नै नाम पनि थियो होला तर खै कसैले हेक्का गरेनन्। सबैले बाङदले साइलो भन्थे।
अरू मान्छेका गाउँका नामको विशेष अर्थ हुन्थ्यो। घर छेउमा ठूलो अमलाको रूख हुनेलाई अमले भन्थे। खोलाको छेउतिर घर हुनेलाई छेउघरे। छोरीलाई काली भनेर बोलाउनेको नाम कालीबाउ, दाजुभाइमध्ये गोरो भएकाले गोरे माइलो, कुनातिर भिरालो जमिनमा घर हुनेलाई भिरकुने, घर छेउमा चौतारो हुनेलाई चौतारे, टारको बीचबाट पानी पलाउने जमिन भएकालाई पानीटारे, घरछेउमा ठूलो मलाताको रूख हुनेलाई मलाते आदि इत्यादि।
तर, बाङदले साइलो किन भनियो थाहा थिएन। भन्नुपर्ने त उनलाई पुछारघरे हो तर सबैले बाङदले साइलो नै भन्थे। उनकै सामुन्नेमा पनि मान्छेहरू बाङदले भनेर नाम काट्थे। हामी केटाकेटी हुँदादेखि नै त्यसै भन्थ्यौँ। उनको नामको अर्थ मलाई धेरैपछि काठमाडौँले दियो। लैनसिंह बाङदेलको लङ्गडाको साथी उपन्यास पढ्ने क्रममा बल्ल थाहा भयो उनी बाङदल थरका राई रहेछन्। उनका कोही पनि आफन्त र नातागोता हाम्रो गाउँमा थिएनन्। थिए त लोग्ने स्वास्नी र एक छोरी। खासमा उनीहरू भुटानबाट लखेटिएर आएका रहेछन्। हाम्रो गाउँमा बसाइ आएकाले उनको थरबाटै मान्छेले बोलाएका रहेछन्। उनले भुटानबाट आएको कुरालाई चाहिँ सधैँ लुकाउँथे। नत्र भोटाङ्गे साइलो पो भन्थे कि!
घरमा पुग्दा उनी चोया काडेर फुर्लुङ बुन्न आँटेका थिए। उनकी श्रीमती घरका भित्तामा रातोमाटो पोत्दै थिइन्। पहेँली घाममा कुखुराका चल्ला आँगनमा दगुरेर चारो खोसासोस गर्दै थिए। नजिकैको उत्तिसको रूखमा न्याउली विरह गाउँदै थियो। सिरूले छाएको उनको घर भत्किहाल्ला जस्तो देखिन्थ्यो।
आँगनको छेउमा घोप्ट्याएको डोकोमाथि टुसुक्क बसेर भनेँ 'बाँगा नमस्ते।' छरछिमेकी राईहरू भएकाले हामी काकालाई बाँगा भन्थ्यौँ।
निकैबेर घोरिएर उनले हेरे र अनुहारलाई मुजा पार्दै बढो मिठो हाँसोमा भने 'हाउ साने हैना? हान हलक्कै पो बढेछ ता मलीबासको टुसा जस्तै।' त्यसपछि उनी निकैबेर हाँसे। उनको हाँसोमा ख्वाङख्वाङ खोकी पनि मिसियो। उनले मलाई गाउँले बोलाउने 'साने' नामबाट चिने।
'हान को आयो हाम्रो झुप्रोमा। बाटो ता बारेको पो थियो ता। कासरी आयौ है बाटो बिर्सिएर' हातमा पोतो बोकेर काकी पनि छेउमा आइन्। उनको अनुहारतिर रातोमाटोका लेग्रालेग्री देखिन्थे।
सन्चो बिसन्चोका कुरा भए। बाँगा फुर्लुङ बुन्दै बात मार्दै थिए। काकीले भित्ता लिपिसकेर कित्लीमा चिया बसाइन्। म पारिपट्टि देखिने खहरे वनतिर रमिता हेर्न थालेँ।
दसैंमै सयपत्री फुल्न थालिसकेका थिए। आकाशमा बादलका बुट्टासँगै पश्चिमतिर ढडेको सगरले वातावरणलाई निकै रोचक बनाएको थियो। आँगनको डिलमुन्तिर सुँगुर चुँ चुँ गर्दै थियो। गाई पनि ड्याँ गरेर करायो। काकी सुँगुर र गाईलाई साँझको खानपानको व्यवस्था गर्न गइन्।
मैले चारैतिर आँखा दौडाएँ। कसैको खोजीमा अथवा कसैको प्रतीक्षामा मेरा आँखा घुम्दै थिए वरिपरि।
'हान अहिले डिउटी चाहिँ कता पो?' बाँगाले सोधे 'धेरैपछि पो आयौ त। दोहोरो भिडन्तमा पर्छौ होला भनेर हामी दिनरात पिरोलिन्थ्यौँ। धन्न…'
उनका प्रश्नको जबाफ दिँदै जान्थेँ। बेला बेलामा उनी मेरो बारेमा फूलबुट्टा बुनेर बखान पनि गर्थे।
'तिमी त सारै टलेन्ट है सानैदेखि। पढ्नु पनि पन्ध्र कि सोह्र कति किलास पढ्यौ रे। बेलैमा सरकारी जागिरमा लाग्यौ। भविष्य बनायौ। हामी त लाहुरे हुन पनि सकेना। यी चाउरे भएर डोका फुर्लुङ बुन्यो। बनिबुतो गर्यो पेट पाल्यो।'
गाई र सुँगुरलाई खान दिएर काकी आइन्। कुखुरा पनि बास बसिसकेका थिए। मिरमिरे साँझमा घरभित्रैबाट सुनिथ्यो झ्याउँकिरीको सङ्गीत।
आधा बुनेको फुर्लुङ एकातिर राखेर बाँगाले रेडियो खोले। केहीबेर स्याँ गरेको रेडियो च्यार च्यार गर्दै मधुरो बज्न थाल्यो। उनले ब्याट्री झिकेर अँगेनाको डिलमा केहीबेर तताए र फेरि रेडियोभित्र राखे। रेडियोको स्वरमा केही सुधार भयो।
लामै प्रतीक्षालाई तोड्दै मैले सोधेँ- 'फुङ्मा खोइ त?'
काकीले अनौठो भावमा भनिन् 'ल थाहा पाएका छैनौ रा?' रहस्यलाई थपिन् 'हुना ता कति वर्षामा पो आयौ। के थाहा पाउनू?'
शब्दभन्दा पनि मेरो अनुहार र हाउभाउले थप प्रश्न गर्दै थिए। बाँगाले फ्याट्टै मुख खोले 'हामीलाई त सङ्कटकाल लाग्यो नि हाउ। फुङ्मा गोएको पनि दुई वर्षा पो हुन लाग्यो।'
मेरो मुखबाट कुनै प्रश्न निस्किएनन्। सबै जिज्ञासा र प्रश्नहरू किलकिलेमै गुजुल्टो परे। ऐंठन परेजस्तो भयो। चिटचिट पसिना आयो।
काकीले भनिन् 'फुङ्मा गोएपछि घर नै अँध्यारो भाको छ। के दसैं के तिहार। तै पनि यसो लिपपोत पो गरिटोपल्छु।'
बाँगाले भने 'तिम्रो कुरा साह्रै पो गर्थ्यो हाम्रो फुङ्माले।'
उनको कुराले मुटुमा चसक्क घोच्यो।
साह्रै चन्चले थिई फुङ्मा। मभन्दा दुई वर्षले कान्छी। कक्षा फरक भए पनि स्कुल जाँदाआउँदा सँगसँगै भइन्थ्यो। बिदाको समयमा ऊ हाम्रो घरमा आइरहन्थी। बहिनीसँग निकै मिल्थी। आठ कक्षापछि चटक्कै स्कुल छोडी। उसका बुबाआमाले पढाएनन् अनि उसले पनि उति जोड गरिन स्कुल जान्छु भनेर।
म काठमाडौँबाट क्याम्पस बिदामा घर जाँदा फुङ्मालाई केही न केही उपहार किनेर लगिदिन्थेँ। कुरुसले बुनेको जाले रुमाल बनाएर दिएकी थिई उसले। जिस्काउँथेँ म 'रुमाल उपहार दिनु हुन्न रे। फेरि भेट हुँदैन भन्छन्।'
'कसले भन्यो त्यस्तो कुरा?' उसका आफ्नै तर्क थिए 'यो रुमाल मात्र होइन फुङ्मा पनि हो तिम्रो लागि। तिमीले हातमा लिँदा फुङ्माको हात समाए जस्तो लाग्नेछ। अनुहार पुछ्दा मेरै हातले तिम्रो अनुहार मुसारे जस्तो हुनेछ।'खितिती हाँस्दै थप्थी 'त्यस्तो केही पनि हैना ल। फेरि एकोहोरो नहुनु है। तिमी कहाँको बाहुन, म किराँती। हामी बीचमा केही त मिल्दैना। तिम्रो नाक चुच्चो छ, मेरो थेप्चो। अनि तिम्रा आँखा बल्ढ्याङ्ग्रा जस्ता मेरो चिटिक्क परेका।'
घरबाट काठमाडौं हिँड्ने दिन बिहानै दोबाटोमा कुरेर बसेकी हुन्थी। हात पछाडि केही लुकाएर ल्याएकी हुन्थी जहिल्यै। कहिले पाँच दस रुपैयाँ अनि कहिले उसको पापाले बनाएको सानो डोको। त्यो डोकोलाई कोठाको भित्तामा किला ठोकेर झुन्ड्याएको थिएँ। त्यहाँ मेरा डटपेन, ब्रस, पेन्सिल र केही अन्य खित्रिङमित्रिङ सामान सजिएका थिए।
सुँक्क सुँक्क गर्दै भन्थी 'सहरको मायामा गाउँ नबिर्सनू। पढेलेखेका सुन्दर केटीहरू साथी होलान् तर तिनीहरुले भन्दा यो फुङ्माले तिम्रो हित चिताउँछ भन्ने कुरालाई मनमा राख्नू।'
प्रहरी भएपछि एकपटक मात्र गाउँ गएको थिएँ। छोटो समय गाउँमा रहँदा फुङ्मासँग भेट भएन। ऊ मामाघर गएकी थाहा पाउँदा न्यास्रो लागेको थियो। पछि बहिनीसँग भन्थी रे 'तेरो दाइ पुलिस बनेर चटक्कै बिर्सियो। उसको शरीरमा अब गाउँले हावापानी छैना। ऊ त सहरिया भयो। जागिरे भयो। हामीजस्ता कुनामा बसेर दुनामा खानेलाई अब चिन्दैना तेरो दाइले।'
म त फुङ्माको सम्झनामा कता कता हराइसकेछु। काकीको बोलीले झस्किएँ। काकी भन्दै थिइन् 'हान के सोच्न थाल्यौ? चिया सेलायो ता।'
साँच्चै चिया चिसो भइसकेको रहेछ। मैले स्वाट्टै पारेँ। अनि निकै कठिनका साथ समवेदना र सान्त्वनाका शब्दहरू तौली तौलीकन ओकल्न थालेँ।
'बाँगा यस्तै जिन्दगी। हामी एक्लै जन्मिएर एक्लै बाँच्नुपर्छ। खाली हात आएर खाली हातै फर्कनुपर्छ। यी हेर्नु न। प्रहरीको जागिर खाएको पाँच वर्ष भयो। जागिर सुरू गर्दा द्वन्द्व उत्कर्षमा थियो। बेकार प्रहरी भएछु भन्ने पनि लागेको थियो। बाँचिन्छ कि मरिन्छ केही टुङ्गो थिएन। गाउँ आउन पनि पाएको थिइनँ। अब त शान्ति भयो। सहज भएको छ। तर फेरि भविष्यमा कुनै द्वन्द्व नहोला भन्ने के टुङ्गो छ र।'
केही लामो सास तानेर भनेँ 'फुङ्मा हुँदा गाऊँ नै उज्यालो हुन्थ्यो। त्यस्तो मान्छे त मैले अहिलेसम्म देखेकै छैन। कसैको आँखामा हाल्दा पनि नबिझाउने।'
'हो नि हाउ। गाउँमा कुनै कार्जे आयो भने सारै खटेर काम गर्थ्यौ हाम्रो फुङ्मा।' सोतेले आगो फुक्दै काकीले भनिन् 'हान यो सङ्कटकालले पो' धुँवा सर्केर ख्वाङक्वाङ खोक्न थालिन्।
'साँच्ची कहिले फर्कन्छौ काठमाण्डू' बाँगाले सोधे 'फुङ्माले तिम्रो लागि स्वीटर बुनेर राखेको थियो।'
म भक्कानिएँ। लिन्नँ भनौँ फुङ्माको आत्मा रूवाउन चाहन्नँ थिएँ। लिन्छु भनौँ मसँग त्यो आँट थिएन।
काकीले माथिल्लो तलाबाट स्वीटर लिएर आइन् र मेरो हातमा राखिदिँदै भनिन् 'फुङ्माले तिम्रा लागि बनाएको चिनो।'
हिकहिकाउँदै मैले भनेँ 'मन दरिलो बनाउनुहोस्। गाउँघरमा थुप्रै फुङ्माका साथीहरू छन्। उनीहरू पनि तपाईंकै छोरी जस्तै हुन्। अब त म हरेक दसैंतिहारमा गाउँमा आउँछु। हरेकपटक तपाईंहरूलाई भेट्नेछु।' त्यसपछि म बोल्न सकिनँ र स्वीटर हातमा बोकेर फुत्त निस्किएँ।
साँझ हुर्किएर रातमा परिणत भइसकेछ। घुर्मैलो जुनेली रातमा म घरतिर फर्किएँ। १५ मिनेट लाग्थ्यो घर पुग्न। बीचमा पाङ्ग्राघारीको सानो खोल्सी थियो। कुनैबेला त्यहाँ मान्छे झुण्डिएर मरेको भन्थे र रातबिरात हिँड्दा तर्साउँछ भन्थे। त्यो पाङ्ग्राघारी कटेपछिको डाँडालाई चिहानघारी भन्थे। त्यसको माथिल्लो भागमा दोबाटो थियो। त्यहाँ नयाँ चौतारो पनि बनाइएको रहेछ। सायद फुङ्माका नाममा चिनिएको चौतारो होला।
केहीबेर चौतारोमा सुस्ताएँ। आँखै अगाडि फुङ्मा उभिई। उसले मिठो मुस्कानका साथ सोधी 'स्वीटर मन पर्यो?'
म झसङ्ग भएँ। त्यहाँ फुङ्मा थिइन। मेरा आँखाबाट बरर्र आँसु झरे। संकटकालले थुप्रै आमाबुबाका काख रित्याएको छ। थुप्रै बालबालिका टुहुरा भएका छन्। मैले समाचारमा सुनेको थिएँ टंक सुवेदीकी छोरी कलालाई घरमै आएर नेपाली सेनाले गोली हानेर मार्यो। उनीसँगै छिमेकी गाउँका अन्य दुई जनाको पनि हत्या भयो। पुन्य भण्डारी र ख्याम घिमिरेलाई बिद्रोहीले हत्या गरे। तर आफ्नै छिमेकी फुङ्मा मारिएको मैले सुनेको थिइनँ।
फुङ्मा मलाई असाध्यै माया गर्थी। माया त म पनि गर्थेँ उसलाई। तर ऊ व्यक्त गर्थी म सक्दिनथेँ। हाम्रा दुवैका परिवारलाई थाहा थियो यो कुरा। त्यही भएर मेरा घरका मान्छेले कुरा लुकाए जस्तो लाग्यो मलाई।
मैले अँध्यारैमा चिहानघारीतिर दृष्टि दौडाएँ। यहीँ कतै गाडेको हुनुपर्छ फुङ्मालाई। मैले उसका पापाआमालाई सोध्न सकिनँ कहाँ छ फुङ्माको चिहान भनेर। भोलि दिउँसो आएर उसको चिहानमा फूल चढाएर श्रद्धाञ्जली अर्पण गर्छु। म धेरैबेर सुँकसुँकाएँ। घुँक्क घुँक्क गर्दै स्वीटरलाई अँगालोमा च्यापेर बसिरहेँ। चिच्याएर भन्न मन लागेको थियो 'फुङ्मा तिमीलाई मार्ने एक व्यक्ति म पनि हुँ। हो फुङ्मा तिम्रो हत्या मैले गरेको हुँ। किनभने म एक सुरक्षाकर्मी हुँ। मजस्तै कुनै सुरक्षाकर्मीले सरकारी गोली दागेर तिम्रो प्राण लिएको हो। त्यसको भागीदार म पनि हुँ फुङ्मा मलाई माफ गर।'
जुरेली चरी जस्तै निर्दोष थिई ऊ। डाली डाली चहारेर नाच्थी। झरनाको पानी जस्तै निच्छल थिई। कुनै कुराको वास्ता नगरिकन बगिरहन्थी। लालिमा बिहानी र गोधुली साँझ उसका सिँगारपटार थिए। शुद्ध शाकाहारी ऊ सबै जीवजन्तुलाई अगाध माया गर्थी। तर उसको प्राणलाई खै कसले माया गर्यो? म आफैले पनि उसको भावना बुझ्न सकिनँ। उसले बारम्बार प्रेम जताउँदा पनि म कहिले समाजको डरमा त कहिले जातीय आडमा उसलाई बेवास्ता गरिरहेँ। उसको भावनालाई त मैले धेरै पहिले नै मारिसकेको थिएँ।
त्यही दोबाटोमा बालाचतुर्दशी मेला भर्न जाँदा फुङ्माले भनेको कुरा फेरि मुटुमा बज्रियो। दस वर्ष अगाडिको कुरा हुनुपर्छ। फुङ्मा मलाई कुरेर बसेकी थिई त्यही दोबाटोमा। अरू पनि थुप्रै मान्छे थिए। म गएपछि फुङ्मा मतिर हेरेर मुसुक्क हाँसी तर मैले उसको मुस्कानको प्रत्युत्तर दिन पनि सकिनँ। म अनदेखा गरेर अरूसँग कुरा गर्दै अगाडि बढेँ। त्यसपछि त के चाहियो र फुङ्माले पहरा नै थर्किने गरी गीत गाई 'बोलाऊँ भने तिमीलाई बात लाग्ने डर नबोलाऊँ त तिम्रै प्रीतको पाप लाग्ने डर।'
गाउँलेहरूले छोडेको अट्टहासले मलाई झनै खिस्यायो। फुङ्माले मेरो छेउमा आएर भनी 'गीत त मन पर्यो होला नि। कि अर्को पनि गाइ दिऊँ?'
मैले केही भन्नै नपाइ गाउँलेले फर्माइस गरिहाले। बाँदरलाई लिस्नु भने झैँ उसले अर्को झटारो हानी 'शर्माएर बोलिन म भेट हुँदा पैले, रोइ रोइ माफी माग्नू कोसँग म ऐले।'
ऊ गीत गाउँथी। घाइते हुन्थेँ म। ऊ खितखिताउँथी, पिरोलिन्थेँ म। घरमा सधैँ रेडियो सुनेर गुनगुनाउने फुङ्मा पहराको गुराँस जस्तै फक्रेकी थिई।
उसले भनेकी थिई किराँती बोलीमा फुङ्मा भनेको फूल हो। उसकी आमाले राखिदिएको नाम रे। साँच्चै ऊ मगमगाउँदी फूल थिई। तुसारो, हिउँ, ठिही, झरी, खडेरी जस्तोमा पनि फुलिदिने। उसका ओठबाट फुत्किने गीतमा खोलाको सुसाहट, धानबारीको वहेली, पहराको प्रतिध्वनि, सुइरे मकैका पातको पिपिरीले सङ्गीत भरेका हुन्थे। उसलाई न सारङ्गी चाहिन्थ्यो, न बाँसुरी। बेपत्तासँग उडेको वायुपङ्खी घोडाजस्तै फुराइदिन्थी गीतहरू। तत्कालै परिवेशमा ढालेर गीत सम्झनु उसको खुबीले मलाई कायल बनाएको थियो।
मान्छेहरूका बीचमा उसको बानी अस्थिर र चन्चल देखिए पनि एक्लै भेट्दा पत्याउनै नसकिने गाम्भीर्य उसमा देखिन्थ्यो। भन्ने गर्थी 'जिन्दगी सधैँ गीत जस्तो हुँदैन साने। जिन्दगी त बगरमा छोडिएको ढुङ्गा जस्तो पो हुन्छ। कोशौँ टाढादेखि लड्दै र पड्दै, खिइँदै र पातलिँदै, फुट्दै र चोइटिँदै,आफ्नो ठाउँबाट बग्दै आकार सिर्जना गर्नुपर्छ। देख्नेहरूले त आहा कति गोलो, चिल्लो, बाटुलो, राम्रो, आकर्षक, सजावटका लागि उत्कृष्ट भन्छन्। त्यस्तो रूप बनाउन त्यो ढुङ्गाले सामना गरेको प्रतिकूल अवस्थाका बारेमा उनीहरूलाई के थाहा।'
एकपटक मैले उसलाई सोधेको थिएँ 'फुङ्मा तिमीलाई यस्तो कुरा कसले सिकाउँछ? कुन किताब पढेर जान्दछेउ यस्ता ज्ञान? फ्याट्ट फ्याट्ट कुरा बनाउने भट्टी कहाँ लुकाएकी छौ?'
उसको जबाफ उस्तै तोडिलो थियो 'तिमी किताब पढ्छौ। किताबमा सबै कुरा लेखिएका हुँदैनन्। जिन्दगी पढ्न जान्नुपर्छ। चराचुरुङ्गीको भाषा बुझ्नुपर्छ। बोटबिरूवाको माया चिन्नुपर्छ। सबभन्दा ठूलो कुरा माटोको सुगन्ध हो। तिमी त पढेर ठूलो मान्छे बन्छौ। ठूला मान्छेहरू माथिमाथि मात्र हेर्छन्। भुइँ हेर्न जान्दैनन्। आफैले टेकेको धर्ती हेर्यो भने सबै कुरा त्यहीँ हुन्छ।' अनि खितिती गर्दै हाँसेकी थिई।
विश्वविद्यालयमा प्रवचन दिने प्राध्यापकको दर्शनशास्त्रभन्दा गहन हुन्थे उसका कुरा। कहिले केही पनि नजान्ने बालसुलव बानी पनि थियो उसमा। भन्थी 'मान्छे कसरी जन्मन्छ होला है। बोटबिरूवाजस्तो जमिनबाट उम्रिए हुने नि। त्यसो गरेमा न कसैसँग रिसराग न कसैसँग झगडा। कसैले काट्दा पनि ऐंया भन्नु पर्दैन। उखेलेर सुकाउँदा पनि रूनु पर्दैन। मान्छे त दुःखैदुःखको भकारी लाग्छ मलाई।'
उसका हरेक बोलीमा मातृभूमिप्रति आस्था र आफन्त छुट्दाको पीडा हुन्थ्यो। आफ्नो जिन्दगी बगरको ढुङ्गा भनेर शरणार्थी हुनु परेको पीडा ओकलिरहेकी हुन्थी ऊ।
चौतारोमा घण्टौँ घोत्लिएँछु। आँखाबाट बगेका आँसुले गालाबाट तप्केनी लगाउँदै फुङ्माले बुनेको स्वीटर भिजाइसकेछ। मसँग फुङ्मा थिइन। तर मेरो अँगालोमा फुङ्माको स्वीटर थियो। उसले जाले रुमाल दिँदा बोलेका हरेक शब्द स्वीटरसँग साट्दै थिएँ म। मेरो अँगालोमा फुङ्मा थिई कि स्वीटर दोधारमा पुगेँछु।
घर पुग्दा सबैले खाना खाइसकेका रहेछन्। ढिला घर फर्केकोमा आमाले अलिकति चिन्ता, अलिकति माया र अलिकति गाली मिसाएर भन्नुभयो 'यत्रोबेरसम्म कता हराइस्। भनेर जानुपर्छ नि।'
बहिनीले आगोमा घिउ थपी 'त्यही त फुङ्मा भएको भए पनि त्यता भुलियो भन्नु। कता लापत्ता अहिलेसम्म? भातमा काँडा उम्रिसक्यो।'
मेरो हातको स्वीटर देखेर थपी उसले 'यी फुङ्माले बुनेको स्वीटर। हन यत्रोबेर सासूससुराको मेजमानमै भुलिएको कि कसो?'
उसले मेरो हातबाट स्वीटर खोसेर आमालाई पनि देखाउँदै भनी 'हउ प्रेम होस् त यस्तो बाबै। अनि आँखा चाहिँ किन राता न राता बनाएको। सारै सम्झना आएर रुइ पठाएको पनि पो।'
मसँग कुनै जबाफ थिएन। खाना खान मन पनि भएन। खाटमा भारी बिसाए जस्तै आफ्नै शरीरलाई फ्यात्त थचारेँ।
आमाले भन्नुभयो 'फुङ्माले भन्थी बढी तिम्रो बुहारी हुन मन छ तर तिम्रो छोराले आँटै गर्दैन। के गर्नु ताप्के नताती बिँड तातेर।'
'आमा फुङ्मा कसरी मारिई?' रोदन मिस्रित स्वरमा सोधेँ मैले।
'हन के भन्छ यो! कहिले मरी त्यो मृगको पाठो जस्तै केटी।' आमाले अचम्म मानेर सोध्नुभयो।
बहिनीले थपी 'के भयो दाइ? कसरी मरी फुङ्मा? के सुन्नु पर्यो आज।'
'संकटकालमा मारिएकी भन्दै थिए त बाङदले साइलाले। घर नै कस्तो सुनसान ओडारजस्तो। निकै बिलौना गर्दै थिए बाँगा र काकीले।' मैले एकै सासमा सुनाएँ।
एकैचोटि बहिनी र आमा हाँस्न थाले। म अक्क न बक्क परेँ।
बहिनीले भनी 'हैट म त साँच्चै पो मरिछे भनेको त। कुरै नबुझिकन के अबासी बोलेको यो दाइले पनि।' आमाले थप्नुभयो 'त्यही त। मेरो त होसहवास नै उडेको। राम्ररी सोध्नुपर्छ नि।'
बहिनीले स्पष्ट पार्दै भनी 'बाङ्दले साइँला बाँगाले भनेको संकटकाल युद्धको अवस्था होइन के। उनको आफ्नै आर्थिक संकटको कुरा गरेका तिनले। खासमा आर्थिक संकट परेर छोरीलाई विदेश पठाउनु पर्यो भनेको के। फुङ्मा कुवेत गएकी दुई वर्ष भइसक्यो। कसैले छोरी खोई भनेर सोध्यो भनेर संकटकाल लाग्यो भन्दा रहेछन्। बाबु त्यस्तो साहित्यिक भाषा बोल्ने भएर त होला नि फुङ्गमा पनि फूलबुट्टा भरेर बोल्ने भएकी।'
कुरा बुझेर म झल्यास्स भएँ। मनले केके सोचेको थियो। मान्छे मरेको ठानेर समवेदना र सान्त्वनाका शब्दहरू खर्च गरेको कुराले आफैलाई लाज लाग्यो। बाङ्दले बाँगा आग्राको कुरा गर्दै रहेछन्। म बुझ्दै रहेछु गाग्राका कुरा। दिमागमा संकटकाल भनेको त्यही राजनीतिक परिदृश्य मात्र आउँदो रहेछ। राज्यले घोषणा गरेजस्तै त थियो बाङ्दले बाँगाको परिवारमा। एउटी छोरी त्यो पनि परदेश गएकी छे। न दसैंमा आउँछे न तिहारमा। घर सधैँ सुनसान। गाउँमा फोन छैन। केही महिनाको फरकमा सदरमुकाममा गएर फोन गरेर केही मिनेट बोलेर मनलाई सन्तोक बनाउनु मात्र। आफूले प्रहरीको जागिर खाँदा भोगेको उकुसमुकुसपूर्ण अवस्थाको संकटकाल र बाङदले बाँगाको घरको परिस्थितिमा के फरक थियो र! त्यही भएर उनले ठीकै शब्द चयन गरे जस्तो लाग्यो मलाई सङ्कटकाल।
दसैं मानेर म काममा फर्किएँ। केही वर्षपछि आमा र बहिनी पनि मधेसतिर बसाइ सरे।
१८ वर्षपछि २०८१ सालको हिउँदमा म फेरि गाउँमा गएँ। पुरानो पैत्रिक जग्गा बेच्न बाँकी थियो। प्रहरीको जागिरबाट सेवा निर्वित्त भइसकेको थिएँ। आफ्नै गाउँ पनि मेरा लागि बिरानो लाग्यो।
गाउँमा बाटो पुगेछ। बाटोसँगै गाडी पनि पुगेछ। घरघरमा बिजुली बत्ती अनि हात हातमा मोबाइल फोन। घरका सिकुवा र आँगनमा मोटरसाइकल राखेको देखेँ। तर युवा छैनन् गाउँमा। पहिले खेती हुने जग्गा सबै बाँझो। बिहे गरेर युवा विदेशमा श्रीमती बच्चालाई निजी स्कुलमा पढाउन कि सदरमुकाम कि मधेस। छोराछोरीले कमाएको पैसाबाट मोटरसाइकल कुदाउँछन् बाबुहरू।
गाउँबाट युवासँगै हराएछन् कोदोबारीहरू। युवा विदेशिएपछि मकै र भटमास विदेशबाट गाउँमा आउन थालेछन्। आँगन छेउमा फूल फुल्न छोडेर चाउचाउका खोलहरू फक्रिन थालेछन्। बाङदले बाँगाले बुनेका डोकोमा भित्रिने मकै ट्याक्टरबाट गाउँमा आउँदोरहेछ। सिरुले छाएका घरहरू सेता टिनले छाएका तर घरमा बुढाबुढी मात्र आँखामा लाछी लगाएर हेर्थे मलाई।
म बाङदले बाँगाको घरमा पुगेँ। अनुहार चाउरी परे पनि हाँसो उस्तै। फुङ्माले विदेशबाट पठाएको पैसाले टिनको टोपी लगाइदिएछन् घरमा। सात वर्ष विदेशमा काम गरेर नेपाल फर्केपछि बिहे गरिछे उसले पल्लो गाउँमा। मलाई कहिल्यै सुनाइन। बाँगाले थोतो मुखमा चुरोट तान्दै भने 'हान भेट त हुने रहेछ है। तिम्रो काकीले सारै कुरा गर्थ्यो। फुङ्माले पनि सोधिबस्छ अझै।'
'काकी खै त?' मैले सोधेँ।
'ऊ त्यहाँ छ। मबाट छुट्टिएर अर्कै घरमा पो बस्छ' ख्वाङ ख्वाङ खोक्दै मज्जाले हाँसेर उनले देखाए। उनले औँल्याएतिर हेरेँ। त्यहाँ सेतो ६ फुटको सिमेन्टेड चिहान थियो। म अवाक भएँ। केही बोल्नै सकिनँ।
'आ जिन्दगी के नै छ र साने' चुरोटको सर्को तान्दै भने 'बेलैमा दुःख लुकायो उसले। पोहोर साल केही दिनको बिरामले उसलाई लग्यो। अब मेरो पालो। ऊजस्तै सुविस्ताले जान पाए हुन्थ्यो।'
'काकी बित्नु भएछ। साह्रै दुःख लाग्यो बाँगा। यस्तै हो चलन' मैले १८ वर्ष अगाडि जस्तै तर अलिक हच्किएर भनेँ।
'के दुःख हाउ मलाई। एक दिन सबैले जानुपर्छ। तर दुःखको कुरा त अर्कै पो छ त' उनले रहस्यको पोको देखाए।
मैले प्रश्न गर्नुभन्दा अगाडि उनले गम्भीर भएर भने 'सङ्कटकालले सबैलाई सक्ने भयो साने।'
चुरोटको ठुटोलाई पेटीमा निमोठेर आगो निभाउँदै भने 'गाउँमा कोही युवा छैनन्। अहिले त पूरै गाउँलाई संकटकाल लागेको छ। अब हाम्रो लाशलाई चिहानसम्म लाने मान्छे पनि छैना। बल नभएका बुढाखाडा मात्र छौँ हामी। कोही रहरले बिदेशियो कोही कहरले। यो अत्यास त दिनदिनै पो बढ्दो छ त हउ। यस्तो गाउँ नै रित्तिने कुराभन्दा अर्को के दुःख हुन्छ भन त तिमी नै।'
बाङदले साइलाले भने जस्तै गाउँ रित्तिनुजस्तो संकटकाल के हुनसक्छ? सपना बोकेर गएकाहरू बाकसमा बोकिएर फर्कँदा निम्तिने पीडाभन्दा ठूलो अर्को कुनै संकट होला? एउटा गाउँमा मात्र होइन यस्तो संकटकाल राष्ट्रभरि फैलिएको छ भुसको आगोजस्तै। अनि दिनदिनै संकटकाल भासिँदै गएको छ बाङदले साइलाको अनुहारको चाउरी जस्तै।