ऊर्जा, जाँगर र जोसको
कुरा गर्दै छ
चुचुरोमै पुगेर छाड्ने
अठोट गर्दै छ
पसिना, थकाइ र सुस्केरा
बेवास्ता गर्दै छ
भोक, तिर्खा र निद्रा
मनोबलले मार्दै छ
मेरो हेराइमा
ऊ स्वाङ गर्दै छ
ऊ एक ‘लखतरान यात्री’।
हातमा लट्ठी
घुँडामा पट्टी
मधुरा दृष्टि
चम्किला आँखा
फुलेका कपाल
हँसिलो चेहरा
जोसिलो स्वर
सुहाउँदो चाउरी
चाम्रो शरीर
कोमल मन।
जहाँ छ
त्यही ठेगाना
जोसँग छ
तिनै परिवार
अट्टहास हाँसो
अहिले नै आनन्द
वर्तमान नै जीवन
मेरो हेराइमा
ऊ स्वाङ गर्दै छ
ऊ एक ‘लखतरान यात्री’।