म मौन छु आजकल
मौनतामा आफैसँग मग्न छु
आफैसँग उठ्छु, आफैमा सकिन्छु
कुनै आवाज छैन केवल मौन छु।।
म मौन छु आजकल
किनकि मैले बोल्नुको अर्थ बुझेँ
आफ्नै भाषाहरूका कथाहरू बुझेँ
साँच्चिकै आफ्नै जीवनको अर्थ बुझेँ।।
बोल्दा बोल्दा बगिरहेका आँखाहरू बुझेँ
सागरबाट उम्लिरहेको अंगारहरू बुझेँ
कर्तव्यको पहाड माथि समर्पण बुझेँ
निश्चय छन् मनहरू अहंकारको पाठ बुझेँ।।
कसलाई कसले के बुझाउने हो
बुझाइहरूको महाभारत बुझेँ
जीवन चक्रको यस घडीमा
आफ्नै जीवनको गति बुझेँ।।
म मौन छु आजकल
म मौनतामा आफैसँग मग्न छु
रून्छु आफैसँग, रूवाउँछु आफैलाई
प्रश्नहरू आफैलाई सोध्छु
उत्तरहरूमा उत्सव मनाउँछु
मौनतामा मग्न म आजकल मौन छु।।
-