तिहार भनेपछि सामान्यतया सफा आकाश, पारिलो घाम र शरद ऋतुको सुहाउँदो मौसमको सम्झना आउँछ।
यो बेला वर्षा याम सकिएको हुन्छ। बिहान हल्का चिसो भए पनि दिउँसो न्यानो घाम लाग्छ।
तर यसपालि काठमाडौंमा बुधबार भाइटीकाकै दिन पानी पर्यो।
के यो सामान्य मौसमी घटना हो? कि नेपालको मौसममा आइरहेको परिवर्तनको संकेत?
यसको जबाफ पाउन पहिले नेपालमा वर्षा गराउने मौसमी प्रणाली बुझ्नुपर्छ।
नेपालमा सबभन्दा धेरै पानी असारदेखि असोजसम्म पर्छ। बंगालको खाडीबाट आउने जलवाष्पयुक्त मनसुनी हावाले देशका अधिकांश भूभागमा वर्षा गराउँछ।
असोजसँगै मनसुन कमजोर हुन्छ। मनसुन बाहिरिएपछि नेपालमा सुख्खा मौसम सुरू हुन्छ।
यस वर्षको मनसुन अक्टोबर १४ मा नेपालबाट पूर्ण रूपमा बाहिरिएको थियो। त्यसैले आज भाइटीकामा परेको पानीलाई मनसुनी वर्षा भन्न मिल्दैन।
तर मनसुन सकिनु भनेको पानी पर्नै छाड्नु होइन।
नेपालमा मनसुन बाहेक पनि पानी पार्ने अरू मौसमी प्रणाली सक्रिय हुन्छन्। त्यसमध्ये एउटा हो— पश्चिमी वायु।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
मधेस तथा कोशी र बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति देशको हिमाली भू–भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कोशी र बागमती प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
मनसुन बाहिरिएपछि पनि पश्चिमबाट आउने मौसमी प्रणालीले नेपालमा वर्षा गराउन सक्छ। पर्याप्त चिस्यान भएको हावा चिसिँदा बादल बन्छ र अनुकूल अवस्था मिलेमा पानी पर्छ। हिमाली क्षेत्रमा यही प्रणालीले हिमपात पनि गराउन सक्छ।
स्थानीय तापक्रम र भौगोलिक बनावटले समेत बादल निर्माणमा भूमिका खेल्छन्। त्यसैले एउटै समयमा काठमाडौंको कुनै ठाउँमा पानी पर्दा अर्को ठाउँमा घाम लागिरहेको हुन सक्छ।
तर तिहारमा पानी पर्नु कत्तिको असामान्य हो?
नेपालको मौसमसम्बन्धी वैज्ञानिक अध्ययनहरूले अक्टोबर–नोभेम्बरलाई वर्षकै सबभन्दा कम पानी पर्ने अवधिमध्ये राखेका छन्।
सन् २०१७ मा प्रकाशित Rising Precipitation Extremes across Nepal शीर्षकको अध्ययनले अक्टोबर र नोभेम्बरलाई मनसुनपछिको मौसमका रूपमा वर्गीकरण गरेको छ।
यस अवधिमा सामान्यतया आकाश सफा हुन्छ र वर्षा कम हुन्छ। विशेषगरी नोभेम्बर नेपालका सबभन्दा कम वर्षा हुने महिनामध्ये पर्छ। यसले तिहारमा प्रायः घाम लाग्ने हाम्रो अनुभव स्वाभाविक भएको देखाउँछ।
तर वर्षा कम हुनु र पानी नै नपर्नु फरक कुरा हुन्।
कात्तिकमा वर्षभरिका अरू महिनाभन्दा निकै कम पानी पर्न सक्छ। त्यही थोरै वर्षा हुने दिनमध्ये कुनै दिन भाइटीका पर्यो भने चाडपर्वमा समेत पानी परेको अनुभव हुन्छ।
त्यसैले बुधबारको वर्षाले मात्रै यो वर्ष कात्तिकमा असामान्य रूपले पानी पर्यो भन्न मिल्दैन।

-1794387284.jpg)
-1794387284.jpg)
-1794387284.jpg)
-1794387284.jpg)
-1794387284.jpg)
-1794387283.jpg)
-1794387283.jpg)