यस पटकको चुनावमा तपाईं आउनु भएछ
अघिल्लो पटक तपाईंको दाजु आउनु भएको थियो
त्यसअघि तपाईंको भान्दाइ
त्यसअघि तपाईंहरूलाई सघाउने मान्छे
त्यसअघि तपाईंको पिताजी
हरेक चुनावमा सोध्दै आएको प्रश्न
यस पटक तपाईंलाई पनि सोध्नु छ-
यो सडक कहिले बन्छ?
आएको बेला 'सदनमा कुरा उठाउँछु’ भन्नुहुन्छ
बजेट पारिदिने कुरा गर्नुहुन्छ
उसो त चुनावको बेला–
ओल्लो र पल्लो डाँडा नै जोडिदिने कुरा गर्नुहुन्छ
चुनाव जित्नु हुन्छ
त्यसपछि हराउनु हुन्छ
सहरमा अर्को नयाँ घर थप्नु हुन्छ
यता भ्युटावर नामको अर्को घर बनाउनु हुन्छ
यदाकदा भ्युटावरको माथिल्लो तलाबाट आँखा झिम्क्याउनु हुन्छ
र भ्युटावरलाई देखाएर भन्नु हुन्छ–
'विकास भएको छ।’
हामीलाई छुने विकास कहिलेबाट हुन्छ?
यो सडक कहिले बन्छ?
सडक बन्यो भने
राइट साइडबाट हिँड्न बानी पर्दै हुर्किन्छन् हाम्रा बालबच्चा
सडक बन्यो भने
सदरमुकाम पुग्न पनि सजिलो हुन्छ
जग्गा नामसारी गर्ने बाटो पनि स्पष्ट देखिन्छ
सडक बन्यो भने
अनावश्यक मान्छेसँग ठोकिने छैन हाम्रो टाउको
र अमर्यादित हुनुपर्ने छैन हाम्रो यात्रा
लोकतन्त्र भनिए पनि रैतीबाट नागरिकसम्म पुग्नै पाएनौँ हामी
नागरिक बनौँ भन्छु-
यो सडक कहिले बन्छ?
यस पटक अझ राम्रो गातामा घोषणापत्र ल्याउनु भएछ
चुनाव जितेपछि-
सरोकार राख्नु नपर्ने उद्देश्यहरू
नाघ्नु नपर्ने लक्ष्यहरू
पूरा गर्नु नपर्ने प्रतिविद्धताहरू
चुनावी घोषणापत्र-
हाम्रा लागि चकलेट होइनन्
चकलेटका खोल मात्र हुन्
हामीलाई खोल नभए पनि हुन्छ
घोषणा चाहिएको छ-
यो सडक कहिले बन्छ?