उम्किएर जसोतसो प्रत्येक दिन
कोटेश्वर चोकको ट्राफिक जामजस्तो
मेरो दुरूह दैनिकी
आरोहण गरेर जसोतसो
धुराहरू आफ्ना कर्तव्यका
छिचोलेर यत्नपूर्वक जंघारहरू
लंगौटिया यारका गुनासाजस्ता
प्रशव पर्खिरहेकी प्रेयसीका
मौन नयन यूगलको भाषाजस्ता
म हरेक साँझ फर्कन्छु निवास
बोकेर एक थान मन उदास!
अनि पस्छु भान्छामा
बेसुरो कविता लेख्न!
प्रथमत: चुल्हो बाल्छु
कराहीमा डाडु चलाउँछु
र एक बटुको पानी खन्याउँछु
यसरी म
कापी, कलम र मसीको प्रतिस्थापनमा
एक छाक पुग्ने कविताको झोल बनाउँछु!
त्यसपछिका लागि मैले
करार गरेको छु निद्रादेवीसँग
कि नआउनु रातहरूमा
मेरा आँखहरूमा!
मैले जागा बस्नुपर्ने हुन्छ
जूनबिनाका रातहरूमा
संवाद गर्नुपर्ने हुन्छ बिजुलीको प्रकाशसँग पनि
मैले जाग्राम बसेर हररात
गर्ने गरेको छु प्रायश्चित
किनकी, दिनको प्रहरमा
मैले छुटाएको हुनसक्छु
सहरको नाट्य महोत्सव
महान कविहरूको कविता वाचन
छद्म प्रायोजित प्राज्ञसभाको विमर्श
समाजवादी क्रान्ति नायकको वैवाहिक प्रितिभोज
किनकी, दिनको प्रहरमा
मैले छुटाएको हुन सक्छु हरपलको ताजा समाचार
नेताको युगान्तकारी भाषण
चर्चित नायिकाको राजनीतिक यात्रारम्भ
अमुक टेलिभिजनको सोप ओपेरा
सबैभन्दा महत्वपूर्ण
मैले नदेखेको हुनसक्छ
बीस वर्षदेखि राज्य हिँडेको
समृद्धिको मार्ग!
म पक्कै पनि अवगत हुनुपर्ने हो
विविध कुराहरूसँग
जस्तो की-
अस्ति माडीमा गुडिरहेको बसमा झोसिएको आगो
कथावाचकमाथि प्रहार गरिएको गोली
वसन्त क्रान्ति
चिहान बनेका गौर र टीकापुर
हिजो मात्रै प्राण खोसिएका
चराजस्तै बालकहरू
जलिरहेको सिंहदरबार
र बाँसुरी बजाइरहेको घरेलु निरो!
भर्खरै मात्र मेरा कान
यो सुनेर पवित्र भएका छन् कि
मेरो नवीन संघीय मुलुकको मुख्यमन्त्री
वनभोज खान वायुपंखी घोडा चढेछ!
नेताले समानुपातिक बन्दसूचीमा नाम राख्न
भेटेनछ कोही पनि
सीमान्तीकृत मान्छे र दुर्गम भूगोल!
मैले समय निकालेर सम्झिनुपर्ने हुन्छ
नेताले खोला तरिसकेपछि
अरब भासिएका बेरोजगार लौराहरू
ओखती नपाएर अन्तिम श्वास पर्खिराखेका भर्याङहरू
उजाडिएका सिउँदो अनि काखहरू!
विवेकको आलोक अपाच्य हुने राज्यमा
मलाई दिउँसोसँग भर लाग्न छोडेको छ
किनकी हिजो दिउँसै ढालिए चौतारीका वरपीपल
र भर्खरै ठड्याइयो जिजस महाप्रभुको क्रुसिफिक्स
यो सब देख्दा पनि
मेरा आँखा रसाएनन्!
यस्तै परिदृश्यको साक्षात्कारले
मेरो आत्मविश्वास बन्न पुग्छ
कुनै मन्त्रीको जुत्तामुनि कुल्चिएको प्रहरी जस्तो
प्लेटोले जेसुकै भनून्
अँध्यारोमा बाँच्नेहरूलाई
जेसुकै गरून् कविता कोर्नेहरूलाई
मैले अचेल रातमा जाग्राम बस्ने गरेको छु!
मैले अचेल रातहरूसँग मितेरी गाँसेको छु!