रोल्पाका भन्ज्याङहरूबाट
धुवाँभित्र हराएका स्वरहरू
रातभरि टुकी बालेर
इतिहासलाई प्रश्न गर्दा पनि
बारुद र गोलीभन्दा चर्को
अर्थोक केही नसुनिएपछि
सपनाका झिल्काहरू
सशरीर शहीद भए अरे
आमाहरूका सुस्केरासँगै
र राता क्रान्तिका अस्तित्वसँगै।
घुँडा काटिएका सालिकसँगै
आफ्नो विचार ढलिरहँदा
इष्टदेवको मृत्युसँगै
आफ्नै प्वाँख झरिरहँदा
असल छेपारो बन्ने
सपनाहरूको झुन्ड पनि
नवयुगसँगै उडेपछि
घामका किरण खोज्न
उत्तरतिर लाग्न थाले
विष निकालिएका सर्पहरू।
आएको बाटो बिर्सिसकेका
र अगाडिको बाटो नदेखेका
विगत, वर्तमान र भविष्यहरू
पाखण्डीहरूको कुर्ची जोगाउन
हजार पटक आँखा चिम्लिसकेपछि
अब त अति भो है भनेर
अन्त्यमा सुशासन खोज्न
जुरुक्क उठ्नेवित्तिकै
सशरीर ढले सडकमै
नभेटाइएका सुशासनसँगै।
लासहरूको अंकगणितमा
जनगणना हुँदै छ शहीदहरूको
राष्ट्र बैंकका कागजी नोट
बलिदानी शहीदका ती चोट
मूल्य समायोजन चल्दै छ
हुँदैछन् सपनाहरू नामेट
शहीदहरूको जनगणना
र आमाहरूको सपना
अपूर्णताको निरन्तरतामा
लम्पसार छ इतिहास।