कमरेडहरू सामन्तमा
सामन्तहरू कमरेडमा
परिवर्तन भइसक्दा समेत
परिवर्तन तिमी देख्दैनौ भने,
कि त तिमी राजनीतिमा छैनौ
कि त तिमी जनसाधारण हैनौ।
वन-पाखा खेतबारी
देउराली भन्ज्याङ वारिपारि
डोजर गाडी आइसक्दा पनि
सडक पुल ठेक्कापट्टा
कालोपत्रे भइसक्दा पनि
आफूसँग मोटर छैन भन्दैमा
विकास तिमी देख्दैनौ भने,
कि त तिमी प्रतिकृयावादी हौ
कि त तिमी जडसुत्रवादी छौ।
त्यागै त्याग सदा सदा
सेवै सेवा दशकौँ सर्वदा
हामी र हाम्रा परिवारले
गर्दा र गरिरहँदा पनि
नेपो-बेबी र नेपो-किड्स
घमन्ड, कुकर्म र कुशासन
मात्र तिमी देख्छौ भने,
कि त तिमी
बिमार हौ सामाजिक संजालको
कि त तिमी
सिकार हौ एल्गोरिदमको।